कोरोना कहर : इटालीमा घरैमा मर्न बाध्य छन् संक्रमितहरू | Khabarhub Khabarhub

कोरोना कहर : इटालीमा घरैमा मर्न बाध्य छन् संक्रमितहरू


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उच्च ज्वरो आएका र सास फेर्न समस्या परेका आफ्ना ७८ वर्षे पिता अलेसान्द्रोलाई उपचारका लागि डाक्टरसँग भेट्न सिल्भिया बेर्तुलेत्तीलाई ११ दिन लाग्यो । उनले धेरैपटक डाक्टरलाई फोन गर्नुपर्‍यो ।

जब मार्च १८ का दिन डाक्टर इटालीमा कोरोना भाइरसको महामारीको केन्द्रविन्दु मानिने बेर्गामो प्रान्तनजिकै रहेको उनको घर पुगे, निकै ढिला भइसकेको थियो ।

मार्च १९ का दिन बिहान १ बजेर १० मिनेटमा अलेसान्द्रो मृत घोषणा गरिए । यसअघि उनलाई अस्पताल लैजान एम्बुलेन्सलाई सम्पर्क गरिएको थियो ।

अलेसान्द्रोलाई मृत भनेको १० मिनेटपछि बल्ल एम्बुलेन्स आइपुग्यो । टेलिफोनमा डाक्टरले उनलाई दुखाइ कम गर्ने औषधि र एन्टिबायोटिक दिन भनेका थिए ।

‘मेरा पितालाई कसैको सहयोग बिना घरमा एक्लै मर्न छाडियो,’ ४८ वर्षे सिल्भियाले भनिन्, ‘हामीलाई कसैले पनि हेरेनन्, कसैले पनि यस्तो अन्त्य चाहँदैन ।’

इटालीमा कोरोना भाइरसले सबैभन्दा धेरै असर पारेको लोम्बाडी क्षेत्रमा मानिसहरूसँग कुराकानी गर्दा सिल्भियाको जस्तो नमिठो अनुभव गरेका धेरै भेटिन्छन् । धेरै मानिसहरू घरैमा मर्न बाध्य छन् । स्वास्थ्य परीक्षण भइरहेको छैन र टेलिफोनमा दिइने परामर्श पर्याप्त छैनन् ।

पछिल्लो तथ्यांकअनुसार बेर्गामो प्रान्तमा मात्रै २०६० जनाभन्दा धेरैको मृत्यु भइसकेको हुनसक्छ । त्यस क्षेत्रमा कोरोना भाइरसले अस्पतालमा मृत्यु भएका मानिसको मात्र तथ्यांक राखिन्छ ।

सिल्भियाका फेमिली डाक्टर अस्पतालमा खटिएका थिए । उनको स्थानमा खटिएका अर्का डाक्टरलाई सिल्भियाले बारम्बार फोन गरिन् । टेलिफोनबाटै शुरुमा ती डाक्टरले ज्वरोले सिकिस्त सिल्भियाका पितालाई पारासिटामोलमा आधारित पेनकिलर दिन सिफारिस गरे ।

विश्व अहिले कोरोना भाइरसविरुद्धको लडाइँमा अस्पतालमा भेन्टिलेटर पूर्ति गर्न केन्द्रित भइरहेको अवस्थामा कोरोना भाइरसकै कारण घरमै मर्न बाध्य मानिसहरूको लेखाजोखा छैन । डाक्टरहरू बिरामीको घरमा जान पाएका छैनन् । टेलिफोन वा इन्टरनेटका माध्यमबाट डाक्टरले दिने स्वास्थ्य परामर्श पर्याप्त छैन ।

रिकार्डो मुण्डा भन्छन्, ‘फेमिली डक्टरहरू बिरामीको घरमा नगएका कारण यस्तो अवस्था आएको हो । उनीहरू हप्तौँसम्म पनि बिरामीको घर जाँदैनन् ।’ पेशाले चिकित्सक उनी सेल्भिनो र नेम्ब्रो शहरमा सेवा दिइरहेका छन् । उनका एकजना सहकर्मी कोरोना भाइरसबाट संक्रमित छन् ।

उनी भन्छन्, ‘म उनीहरूलाई दोष दिन पनि चाहन्न तर उनीहरू पनि त जोगिनुपर्‍यो ।’

रिकार्डोका अनुसार घरमै स्वास्थ्य सहयोग प्राप्त गरेको भए धेरैको ज्यान बच्ने थियो । चिकित्सकहरूको पनि आफ्नै समस्या छ । धेरैसँग मास्क, पीपीई छैन । अत्यन्त आवश्यकबाहेक घरमै गएर बिरामी हेर्न निरुत्साहन गरिएको छ ।

‘डाक्टरले घरमै गएर बिरामीको उपचार गर्छन् । डाक्टरको त्यो उपचारले काम गरेन भने उपचार विधि, सिफारिस गरिएको औषधि व्यवस्थापन गर्न अर्को डाक्टर हुँदैन अनि बिरामीको मृत्यु हुन्छ,’ रिकार्डोको भनाइ छ ।

मास्क र अरू उपकरण अस्पतालमा काम गर्ने डाक्टरहरूलाई प्राथमिकतामा राखेर बाँडिएको छ । यसै कारण फेमिली डाक्टरहरू बिरामीलाई भेट्न आनाकानी गरिरहेका छन् ।

लोम्बार्डी क्षेत्रको बेर्गामो प्रान्तमा राज्य सञ्चालित एटीएस स्वास्थ्य निकायले विश्वकै सबैभन्दा प्रभावकारी स्वास्थ्य सेवा दिएको बताइन्छ । उक्त निकायकी प्रवक्ताले पनि फेमिली डाक्टरहरूलाई ‘बिरामीलाई सकेसम्म टेलिफोनबाटै परामर्श दिनू’ भनेकी छिन् । बिरामीको घरमा पुगेर उपचार गर्न जति कम गर्न सक्यो उति ‘संक्रमण फैलिने जोखिम कम हुने र स्वास्थ्य सुरक्षाका उपकरण पनि नाश नहुने’ उनको भनाइ छ ।

उनका अनुसार बेर्गामो प्रान्तका १४२ जना चिकित्सक कि त बिरामी छन् या क्वारेन्टाइनमा । उनीहरूको स्थान अरू डाक्टरले पूरा गर्नुपरेको छ ।

अधिकारीहरू विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को निर्देशनअनुसार प्राथमिक सेवा दिन लागिपरेका छन् । डब्ल्युएचओले सघन उपचार क्षमतापछि हरेक राज्यले प्राथमिक सेवालाई ध्यान दिन आह्वान गरेको छ ।

मार्च १९ देखि बेर्गामो प्रान्तमा चिकित्सकहरूको ६ विशेष एकाईले सेवा दिइरहेको छ । हरेक एकाईले बिरामीलाई घरमै गएर उपचार गर्ने क्षमता राख्छ ।

नजिकैको मिलान शहरमा भने मार्च ३१ मा मात्रै यस्ता एकाईले काम शुरु गरेका छन् । मिलान त्यही शहर हो, जहाँ मार्च महिनाको पूर्वाद्र्धमा वृद्धाश्रम र घरैमा वृद्धवृद्धाको मृत्युदर दोब्बर भएको पाइएको छ ।

आइतबारसम्म इटालीमा कोरोना भाइरसका कारण १५ हजार ३६२ जनाको मृत्यु भएको छ । यो विश्वभर कोरोना भाइरसका कारण मृत्यु भएका मानिसको कुल संख्याको झण्डै एकतिहाई हो । घरमै धेरै मानिसको मृत्यु भइरहेको तर अस्पतालमा मृत्यु भएका मानिसको मात्र गणना गरिने भएका कारण इटालीमा कोरोना भाइरसले मर्नेको संख्या आधिकारिकभन्दा धेरै रहेको अनुमान गर्न सकिन्छ ।

स्थानीय अखबार लेको डि बेर्गामो र रिसर्च कन्सल्ट्यान्ट संस्था इनट्वीगले स्थानीय नगरबाट प्राप्त तथ्यांक विश्लेषण गर्दा मार्चमा मात्र बेर्गामो प्रान्तमा ५ हजार ४ सय जनाको मृत्यु भएको हुनसक्छ । गत वर्षको यही अवधिको भन्दा यो संख्या ६ गुणभन्दा धेरै हो ।

तीमध्ये ४ हजार ५ सय जना कोरोना भाइरसले मरेको शोधको अनुमान छ । शोधको निष्कर्ष सत्य हो भने यो संख्या इटालीको आधिकारिक तथ्यांकभन्दा दोब्बर हो । नर्सिङ होमहरूमा निधन भएका ६ सय जना र डाक्टरहरुले दिएको प्रमाणका आधारमा शोधबाट यस्तो निष्कर्ष निस्केको बताइएको छ ।

एटीएसले यसबारे कुनै टिप्पणी गरेको छैन ।

पिएट्रो जुचेली बेर्गामो नजिकै रहेको सेरिआना उपत्यका आसपासका गाउँका मानिसहरूको अन्त्येष्टी गर्ने संस्था चलाएका छन् । उनका अनुसार पछिल्ला दुई सातामा उनको आधा काम नै घरहरूबाट शव संकलन गर्ने थियो ।

त्यसअघि अधिकांश शव उनी नर्सिङ होम र अस्पतालबाट संकलन गर्थे ।

सेल्भिनो र नेम्ब्रो शहरमा सेवा दिइरहेका डाक्टर मुण्डाका अनुसार उनी गत फेब्रुअरी महिनाको अन्त्यदेखि घरघरमा गई बिरामी हेर्दै छन् । उनी ब्याक्टेरियल निमोनिया भएका बिरामीलाई एन्टिबायोटिक्स र आवश्यक परे अक्सिजन थेरापी सिफारिस गर्छन् ।

उनका अनुसार भाइरसका लागि एन्टिबायोटिक्सबाट उपचार नभए पनि यसले बिरामीका केही लक्षण कम गरी अस्पताल भर्ना नभई बिसेक हुन मद्दत गर्छ ।
आफूलाई बचाउन उनले ६ सय युरोको मास्क किनेका छन् । मास्क दैनिक बेलुकी सफा गर्छन् ।

इटालीमा ११ हजारभन्दा धेरै स्वास्थ्यकर्मीहरू कोरोना भाइरसबाट संक्रमित छन् । यीमध्ये ८० जनाको त मृत्यु भइसकेको छ । तीमध्ये धेरै फेमिली डाक्टर छन् ।

सिल्भियाको परिवारमा भएको घटनाले स्वास्थ्य सेवाको अग्रमोर्चामा रहेको प्राथमिक सेवा कोरोना भाइरसको महामारीसँगै चपेटामा परेको देखिन्छ ।

धेरै युरोपेली मुलुकहरू र अमेरिकामै पनि डाक्टरहरूलाई घरमै पुगेर बिरामी भेट्नभन्दा पनि टेलिफोनमार्फत् परामर्श दिन प्रोत्साहन गरिएको छ ।

सिल्भियाका फेमिली डाक्टर अस्पतालमा खटिएका थिए । उनको स्थानमा खटिएका अर्का डाक्टरलाई सिल्भियाले बारम्बार फोन गरिन् । टेलिफोनबाटै शुरुमा ती डाक्टरले ज्वरोले सिकिस्त सिल्भियाका पितालाई पारासिटामोलमा आधारित पेनकिलर दिन सिफारिस गरे ।

तैपनि ज्वरो बिसेक भएन । उनले फेरि डाक्टरलाई फोन गरिन् । उत्तर आयो, ‘मैले तपाईंको घरैमा आएर उपचार गर्नुपर्छ भन्ने छैन, धैर्य गर्नुहोस् ।’

सिल्भियाका पिताको उपचार गर्ने डाक्टरले पहिचान खुलाउन चाहेनन् । उनले गहभरी आँशु पार्दै भने, ‘डाक्टरहरूले यस्ता डरलाग्दा निर्णयहरू गर्नुपर्ने रहेछ ।’ उनका अनुसार उनी आफैँ अहिले सहकर्मीको हेरचाहमा छन् ।

त्यसमाथि दैनिक ३ सय देखि ५ सय फोन आउने उनको भनाइ छ । उनले भने, ‘मैले छान्नुपर्छ, कसैलाई ज्वरो आए वा खोकी लागे पनि म त्यहाँ जान सक्दिनँ । बिरामीको अवस्था निकै गम्भीर छ भनेमात्र म जान्छु ।’

बेर्गामो प्रान्तको फेमिली डाक्टरहरूको संघका अनुसार त्यस प्रान्तमा मात्र ७० हजारभन्दा धेरै मानिस संक्रमित भएका हुन सक्छन् ।

‘हाम्रो प्रयासका बावजुद सबैलाई अस्पताल भर्ना सम्भव नै छैन । कहिलेकाहीँ परिवारले घरैमा बिरामी राख्न चाहन्छन् । अस्पतालमा बिरामी राख्दा अन्तिम बिदाइ गर्न पनि नपाइने हो कि भन्ने परिवारको चिन्ता हुन्छ’ बेर्गामोका मेयर जियोर्जियो गोरीले भने ।

उनीजस्तै लोम्बार्डी क्षेत्रका धेरै मेयरहरू सहयोगको याचना गरिरहेका छन् ।

‘हामीसँग घरमा बिमारी परी त्यसै छाडिएको महसुस गरिरहेका धेरै नागरिकहरू छन् । यस्ता सयौं उदाहरणहरू म पेश गर्न सक्छु,’ सो क्षेत्रका मेयरहरूका तर्फबाट प्रान्तीय अधिकारीहरूलाई मार्च २७ मा लेखेको पत्रमा बोर्गेतो लोदिजियानोका मेयर गियोभान्नी गार्जिओनीले भनेका थिए ।

इटालीको आर्थिक राजधानी र लोम्बार्डी क्षेत्रको सबैभन्दा महत्वपूर्ण शहर मिलानका डाक्टरहरू पनि पर्याप्त स्वास्थ्य उपकरण नपाएको गुनासो गर्छन् । क्षेत्रीय अधिकारीले मास्क र अरू उपकरण दिने बाचा गरे पनि आफूहरूले नपाएको उनीहरूको भनाइ छ ।

‘हामी सुरक्षाविना काम गरिरहेका छौँ, कसैले पनि हाम्रो परीक्षण गरेको छैन,’ शहरमा सर्जन र फेमिली डाक्टरको रूपमा काम गर्दै आएका रोबर्टो स्कारानो भन्छन् । ‘यही बेला भाइरस मानिसहरूको घरभित्र पसेर पूरै परिवारलाई संक्रमित पारिरहेको छ, कसैले पनि उनीहरूको ख्याल गरेको छैन,’ उनको भनाइ छ ।

बोलाएको केही मिनेटभित्र आइपुग्ने एम्बुलेन्स आउन आजकाल घण्टौँ लाग्छ । अक्सिजनको अभाव यतिसम्म छ कि मृत्यु भएका बिरामीलाई दिइएको अक्सिजन जोहो गरी चलाउनुपर्ने बाध्यता छ ।

‘हामीले मानिसहरूको मृत्यु नदेखेका होइनौँ । पहिले मानिसहरूको निधन हुँदा हामीले उनीहरूलाई अन्तिमसम्म साथ दिएको महसुस हुन्थ्यो,’ स्थानीय नर्स माउरा जुचेली भन्छिन्, ‘आजकल हामी बिरामीको घर पुगेको ४८–७२ घण्टाभित्रै बिरामीको मृत्यु हुन्छ । यसले विचलित बनाउँछ । ठूलो युद्धजस्तै अवस्था छ ।’(रोयटर्सको सहयोगमा)

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : ३५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम