खेल प्रशिक्षक भन्छन् : कोरोना भनेर कति दिन घरमा बस्ने ! | Khabarhub Khabarhub

खेल प्रशिक्षक भन्छन् : कोरोना भनेर कति दिन घरमा बस्ने !



काठमाडौँ– नोबेल कोरोना भाइरस (कोभिड-१९) को त्रासमा नेपाली खेलकुद ठप्प भएको सात महिना भएको छ । सरकारले खेल गतिविधि चालु गर्न कुनै निर्णय गरेको छैन । खेल संघहरू पनि सरकारकै तालमा मौन छन् ।

जोखिमकै बीच सरकारले अधिकांश क्षेत्र खुला गर्दा खेलकुदबारे भने मौनता कायमै राखेको छ । खेलकुद चालु गर्न नेपाली खेल क्षेत्रमा संलग्न व्यक्तिहरूको मौनताले काम गरेको अनुमान धेरैको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालसँग अभ्यास कहिले सुरु हुन्छ भन्ने जिज्ञासामा उनले गतसात खबरहबसँगको कुराकानीमा टोकियो ओलम्पिकमा हुने १०–१५ वटा खेलको अभ्यास सुरु भएको बताएका थिए । उनको भनाइमा सत्यता देखिँदैन ।

तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबका अतिरिक्त अन्य तीन ठाउँमा अभ्यास सुरु भएको छ ।

विभागीय टोलीहरूले ड्युटीमा रहेका खेलाडीलाई नियमित अभ्यास गराउने गरेका छन् । विभागीय टोलीका अन्य खेलाडीहरू अभ्यासमा संलग्न हुन सकेका छैनन् ।

सरकार र राखेप खेल अभ्यासबारे मौन रहे पनि नेपाल ब्याडमिन्टन संघ, बालाजु कराते डोजो र कोटेश्वर तेक्वान्दो डोजाङका प्रशिक्षकको संक्रियतामा अभ्यास चलिरहेको छ ।

बालाजु डोजाङमा चैत र भदौमा अभ्यास रोकिएको थियो । तेक्वान्दो र ब्याडमिन्टनको अभ्यास असारमा लकडाउन खुकुलो भएपछि सुरु भएको थियो । भदौमा केही दिन बन्द भएर अहिले फेरि चालु छ ।

संघ र राखेप दुवै सरकारले खेलकुद बन्द राखेको भन्दै पन्छिने गरेका छन् । युवा तथा खेलकुद मन्त्रालय सिसिएमसी र मन्त्रिपरिषद्ले निर्णय नगरेको भन्दै कानमा तेल राखेर सुतेको छ । यस्तैमा केही खेलका खेलाडी र प्रशिक्षक अभ्यासमा फर्किएका छन् ।

तिनै प्रशिक्षकहरूसँगको चालु अभ्यास र स्वास्थ्य सुरक्षा मापदण्डबारे कुरा गरेका छौँ ।

ध्रुव विक्रम मल्ल
प्रशिक्षक, बालाजु कराते डोजाङ

बालाजु औद्योगिक क्षेत्र बन्द हुँदा हामीले अभ्यास रोकेका थियौँ । त्यसयता लगातार अभ्यास चलिरहेको छ । हामीले सामाजिक दूरी कायम गरेका छौँ । ह्यान्ड सेनिटाइजर र साबुल पानीको प्रबन्ध र नियमित प्रयोग गरिएको छ ।

अहिलेसम्म कोरोनाको रूप हेर्दा सामान्य मान्छेमा लक्षण नदेखिने रहेछ । हामीले खेलाडीहरूको वर्षौंको मिहिनेत खेर नजाओस् भनेर उनीहरूलाई अभ्यासमा फर्काएका हौँ । सधैँ कोरोनालाई बहाना बनाएर हुँदैन विस्तारै सामान्य हुँदै जानुपर्छ ।

हरेक दिन अपराह्न ४ बजेदेखि साढे ६ बजेसम्म अभ्यास हुन्छ । सागका पदकविजेता र राष्ट्रिय टोलीका खेलाडीसहित ३० जना नियमित अभ्यासमा आउने गरेका छन् । खेलाडीहरू सुरक्षित तरिकाले आउँछन् । साबुनपानीले हात धोएर भित्र प्रवेश गर्छन् । वेलावेला सेनिटाइजर प्रयोग गर्छन् । घर फर्किंदा सुरक्षाका उपाय अपनाउँछन् ।

खेलाडीहरू अनुशासित हुने हुँदा अहिलेसम्म कुनै समस्या देखिएको छैन । अभ्यास रोक्ने होइन । स्वस्थ मान्छेलाई कोरोना पोजेटिभ देखिए पनि खासै असर गर्दैन ।

नवीन श्रेष्ठ
तेक्वान्दो प्रशिक्षक, कोटेश्वर डोजाङ

सरकारले लकडाउन खुकुलो पारेपछि हामीले अभ्यास सुरु गरेका थियौँ । भदौमा फेरि उपत्यकामा निषेधाज्ञा लगाउँदा तीन हप्ता अभ्यास रोकियो । अहिले चलिरहेको छ । अभ्यासमा सागका पदकविजेता खेलाडी आउँछन् । कोरोनाको जोखिमबारे खेलाडीहरू धेरै सजग छन् । उनीहरू पनि घरमा बस्न भन्दा अभ्यासमा खुसी छन् ।

कोरोना कहिलेसम्म रहन्छ थाहै छैन । केही नगरी सधैँ कति बन्द गरि राख्ने ! सधैँ बन्द राख्ने हो भने त खेलकुद परिषद् पनि चाहिएन ! बन्द विकल्प होइन ।

राष्ट्रिय खेलाडीलाई घरमा थन्क्याउनु भन्दा अभ्यास गराउने विकल्प अगाडि ल्याउनपर्छ । मैले अभ्यास सुरु गराउँदा सदस्य सचिवसँग पनि छलफल गरेको थिएँ । मौखिक कुराकानीमा सुरक्षा सामग्री प्रयोग गरेर अभ्यास गर्न भन्नुभएको थियो ।

अभ्यासमा आउने खेलाडीले सामाजिक दूरी बनाउने, हात धुने, सेनिटाइजर प्रयोग गर्नेलगायत सबै सुरक्षाका उपाय अपनाएका हुन्छन् । यसरी अरू खेलको पनि अभ्यास सुरु गर्न पर्छ ।

सुदीप योञ्जन
सहायक प्रशिक्षक, ब्याडमिन्टन

नेपाल ब्याडमिन्टन संघको सक्रियतामा अहिले हप्ताको चार दिन खेलाडीहरूले अभ्यास गरिरहेका छन् । आइतबार, सोमबार, बुधबार र बिहीबार अभ्यास हुन्छ । कोरियन प्रशिक्षकले अभ्यास गराइरहेका छन् । हामीले उनलाई सहयोग गरेका छौँ ।

ब्याडमिन्टनका कुनै प्रतियोगिता नभएकाले फिजिकलमा ध्यान दिइरहेका छौँ । काठमाडौँमा भएका १०–१२ जना खेलाडी अभ्यासमा आउने गरेका छन् ।

लकडाउनले गर्दा खेलाडीले लामो समय अभ्यास गर्न पाएका थिएनन् । अहिले हामीले २०२१ को साग गेमलाई लक्ष्य बनाएर अभ्यास गराएका छौँ । दीर्घकालीन योजनासहित अगाडि बढ्नुपर्छ भनेर संघ, प्रशिक्षक र खेलाडी लागिरहेका छौँ ।

दूरी कायम गरेर गर्न सकिने खेलको अभ्यास सुरु गर्दा हुन्छ । लामो समय घरमा बस्दा खेलाडीहरूको क्षमता ह्रास हुँदै गएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १ : २८ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको