प्युरे पहिरो पीडित भन्छन्– हामी यो देशको नागरिक नै होइन जस्तो लाग्छ | Khabarhub Khabarhub

प्युरे पहिरो पीडित भन्छन्– हामी यो देशको नागरिक नै होइन जस्तो लाग्छ

दीर्घकालीन समाधान खोज्दै स्थानीय सरकार



इलाम– इलामको रोङ गाउँपालिका वडा नम्बर ४ प्युरेका टेकबहादुर मगर अपाङ्गता भएका व्यक्ति हुन् ।

२०७४ सालबाट अपाङ्गग बनेका उनी घरमा एक्लै बस्दै आएका छन् । जेनतेन गुजारा गर्दै आएका टेकबहादुरलाई वर्खायाम रमाइलो लाग्दैन । यसवर्षको वर्खा पनि उनका लागि समस्या बनेर आयो ।

एक्लै बस्दै आएको घरसमेत पहिरोका कारण भासिन थालेपछि अब कसरी बस्ने भन्ने उनको चिन्ता छ । मनसुनको सक्रियतासँगै केहि हप्ता अघिको अविरल वर्षाले उनको घरबारीमा ठूलो धाजाँ फाटेको छ ।

पहिरोले घर भएको जमिन फाटेपछि वर्षौदेखि बस्दै आएको उनको घर छिमेकीको सहयोगमा भत्काइएको छ ।

‘घरको खावो बाङ्गिएकोले घरको टीन उप्काउन गाउँको साथिभाइ डराए । पाँचवटा खावा लडेपछि घर भत्काइयो,’ उनले भने ।

दाजुको घरमा आश्रय लिदै आएका उनी अब स्थानीय सरकारले सहयोग गर्ला कि भन्ने आशमा छन् ।

भत्काइएको घर अगाडि उभिएका टेकबहादुर मगर ।

टेकबहादुरको जस्तै पीडा छ मनु बस्नेतको पनि । उनी अनिदो बसेको धेरै रात भयो । घरको बलेसी नै पहिरोका कारण भाँसिएपछि उनको निद्रा हराएको छ ।

‘आगनबाट भाँसिन शुरु भएको छ । कतिबेला पानी पर्छ र पहिरोले लाने हो भन्ने डरकाबीच सुन्तुपर्छ । निदाएको बेला ठूलो पानी आयो भने के गर्ने ?’ उनले भनिन्, ‘त्रासैत्रासका बीचमा बस्नुपरेको छ ।’

धस्केको आँगन देखाउँदै उनी भन्छिन् ‘मध्यरात १२/१ बजे तिर अलि ठूलो पानी आयो भने छिमेकीको तिर भाग्नुपर्छ ।’

इलाम र झापाको सीमानाको प्युरेमा रहेका स्थानीयले २०७३ साल देखिनै यो समस्या भोग्दै आएका छन् । करिब १ सय घरधुरी रहेको यो गाउँको दक्षिण क्षेत्र पहिरो बनेर बगेको छ । गाउँका अधिकाशं घर र जमिनमा ठूलठूला धाजाँ फाटेका छन् । ९ घर पहिरोमा बगेका छन् ।

यो वर्ष पनि अवितर वर्षासँगै ५ घर पहिरोले बगाउने अवस्था आएपछि स्थानीय मिलेर घर नै भत्काएका छन् ।

पहिरोले अधिकाशंका बारी धस्किएर घरमा क्षति पुगेको छ भने सयौ रोपनी खेतीयोग्य जमिन पनि बगाइसकेको छ ।

दक्षिणमा झापाको बुद्धशान्ति गाउँपालिका हुँदै बग्ने टिमाइ खोलाको कटानले प्युरे गाउँ पहिरोको जोखिममा परेको हो ।

पहिरोले २०७३ सालमा घर बगाएपछि स्थानीय सोमदत्त अर्यालको घरमा बस्दै आएका भिमबहादुर मगर यसपालि पनि अहिले बसेको घर छाड्नु पर्ने अवस्थामा पुगेका छन् ।

आगँनको डिलैमा पहिरो आइपुगेपछि घर छोड्नुको विकल्प नभएको उनको भनाइ छ । पहिरोले बगाएको पुरानो घर भएको भीर देखाउदै भिमबहादुर भन्छन्–‘जता गएपनि पहिरोले छोडेन, सरकारले केही सहयोग पनि गरेन । हामी त यो देशको नागरिकै होइन कि जस्तो लाग्न थाल्यो, कमसेकम बस्ने वातावरण सरकारले मिलाइदिए हुन्थ्यो ।’

यस्तै घरसँगै कृषकले लगाएको बाली पनि पहिरोको जोखिममा पर्दा थप पीडा हुनेगर्छ उनीहरुलाई । पहिरोको डरले अहिले खेती नै गर्न छाडेको उनीहरु बताउँछन् ।

पिता पूर्खाको पालादेखि बस्दै आएको क्षेत्र छाडेर जाने मन नभएको बताउने प्युरेबासी सरकारको उचित राहतको पर्खाइमा छन् ।

यता रोङ गाउँपालिकाका अध्यक्ष शमरेर राई भने पहिरो पीडितलाई व्यवस्थापन गर्दै लैजाने बताउँछन् ।

‘पुख्यौली थलो नछोड्ने स्थानीय भनाई छ । गाउँ नै पहिरोको जोखिममा भएकाले गाउँ नै बगाउला भन्ने पीर हामीलाई छ,’ अध्यक्ष राईले भने, ‘स्थानीयलाई गाउँपालिकाले व्यवस्थापन गर्दै आएको छ ।’

उनले स्थानीय सरकारलाई प्रदेश र केन्द्रीय सरकारले सहयोग नगरेको पनि गुनासो गरे । ‘चुरे क्षेत्रमा पर्ने यो पहिरोको दीर्घकालीन समाधान गर्न पटक–पटक केन्द्र र प्रदेश सरकारसँग मौखिक र लिखत आग्रत गरिएको छ । तर, कतै सुनुवाइ भएको छैन,’ उनले भने, ‘बस्ती नै व्यवस्थापन गर्न गा¥हो छ । तर समस्यासँग हामी भाग्दैनौं समाधानका लागि निरन्तर लागिरहेको छु ।’

हालसम्म प्युरेका ९ परिवारलाई स्थानीय सरकारले बसोबासको व्यवस्था मिलाएको पनि राईले बताए । उनले यसपाली बिस्थापित भएका अन्य पाँच परिवारको समेत ब्यवस्थापन गर्ने बताए ।

चुरे र पहाडी क्षेत्रमा यस्ता प्राकृतिक बिपत्तिका कारण देशभर वर्षेनी हजारौ परिवार प्रभावित हुँदै आएका छन् । तर, दीर्घकालीन समाधानको बाटो नजोजिएको सरोकारवाला निकायको भनाई छ ।

यस्ता समस्याको समाधान गर्न प्राविधिक अध्ययन गरी निकास निकाल्न आवश्यक छ । राष्टपति चुरे संरक्षण कार्यक्रमलाई चुरे संरक्षणको अभियान बनाउन सके प्रभावकारी हुनसक्ने चुरे क्षेत्रका पीडितहरुको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ३ : २७ बजे

क्रिकेटर लामिछानेको पुनरावेदन निवेदनमा आज सुनुवाइ

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो