मानवता दुखेको विश्व | Khabarhub Khabarhub

मानवता दुखेको विश्व


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला विश्व परिदृश्य कठोरतापूर्वक महापरिवर्तनको संघारमा उभिएको छ । मानव सभ्यता महासंक्रमणको स्थितिमा छ । यो स्थिति दोस्रो विश्वयुद्धपछिको सबैभन्दा डरलाग्दो चुनौतीको हो भन्न सकिन्छ । सिङ्गो विश्वका राज्यव्यवस्था, विज्ञान र वैज्ञानिक रणभुल्लमा परेका छन् । विज्ञान अलमलिएको छ । विश्वका करोडौँ मानिस रोग, कष्ट, व्याधि, त्रास र रोदनले छटपटाएका छन् ।

संकटको यस घडीमा सबै जनसमुदाय संयमित भई आआफ्नो मनोबल उच्च बनाउनु नै सर्वोत्तम उपाय हो ।

कोरोना भाइरस अर्थात (कोभिड-१९) का कारणले विश्व तरङ्गित छ र अनगन्ती चुनौतीहरूको सामना गरिरहेको छ । यस अवस्थामा हामीले बुझ्नु जरुरी छ कि ‘जीवन र मृत्यु दुवै गौरवपूर्ण प्राकृतिक उपहार’ हुन् । कायर अनि कमजोर मनस्थितिले स्थिति नियन्त्रण हुनेवाला छैन, बरु नवचेतना जागृत गराउँदै, आत्मज्ञानसहित, हतास नभई दृढतापूर्वक जिउने लक्ष्यतर्फ अगाडि बढेमा हामी सफल हुनेछौँ ।

प्रकृतिको देन भनौँ या मानवीय दुष्कर्मको परिणाम, कोभिड-१९ मानवजीवन तहसनहस पार्दै विश्वको यात्रा गरिरहेको छ । अचम्मको कुरा यो छ कि, यो अदृश्य भाइरसका बारेमा विज्ञानले हालसम्म कुनै पनि ठोस तथ्यसहितको जानकारी दिन सकेको छैन । नियन्त्रणको विश्वसनीय प्रणाली पनि आविष्कार गर्न सकेको छैन । विश्वका वैज्ञानिक र महामारीविद्हरू अझ पनि यसको उत्पतिस्रोत, आनुवंशिक परिवर्तन, मानिसमा सर्ने माध्यम, खोपको विकास र महामारीको व्यापकताका बारेमा अनभिज्ञ छन् । अनिश्चिताका कारणले ठूलो भयको अवस्था सिर्जना भएको छ ।

यो भाइरसले विश्वभरिका झन्डै ६९ हजार मानिसको ज्यान लिइसकेको छ, लाखौँ संक्रमणको अवस्थामा छन् (लेख तयार हुँदासम्म) । संक्रमित हुने र मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दैछ । यसको पासोमा वा छायाँमा जो पनि पर्ने स्थिति छ । यसबारे कसैले ठोकुवा गरेर केही भन्न सक्ने अवस्था छैन । कोभिड-१९ यतिसम्म खतरनाक भयो कि यसको कुनै सीधा उपचार हुनसकेको छैन । त्यसैले विज्ञान पीडामा छ र संसार घोर पीडाको अवस्थामा छ ।

जुन मृत्यको डर मानवमा थियो, त्यही मृत्यु अहिले घरआँगनमा हुंकारका साथ आइरहेको छ । यो कहिलेसम्म जारी रहन्छ भन्ने आकलन गर्न सकिएको छैन । कोभिड-१९ महामारीको समस्या स्वास्थ्य क्षेत्रको मात्र नभई, जीवनदृष्टि, सामाजिक, आर्थिक र राजनीतिक प्रणालीसँग पनि जोडिन पुगेको छ ।

यसले सोझै पछिल्लो विश्वको मानवसभ्यता, राज्यव्यवस्था, मानसिक अवस्था र पारिवारिक प्रणालीलाई चुनौती दिँदै सबै प्रणालीहरूलाई नै अस्तव्यस्त बनाउँदै लगेको छ । अझ डरलाग्दो स्थिति त के भने यसले समाजमा भएको प्रेमप्रणाली र भावनाप्रणालीको संवेदनशीलता क्षीण बनाउदै ‘हामी’ बाट अलग गराउँदै छ र प्रत्येकलाई व्यक्तिगत अर्था त ‘म’ बनाउँदै छ ।

विश्वका प्रत्येक व्यक्तिले राष्ट्र र भौगोलिक सीमाको भेदभाव नगरी विश्व मानवकल्याणका लागि एकजुट भई यो भयंकर अदृश्य शत्रु पराजित गर्नुपरेको छ । यो आत्मकेन्द्रित लोभ त्याग्नु पर्ने समय हो । ‘सर्वे भवन्तु सुखिनः’ मन्त्र सबै पक्षले मनन गरी मानवहितका लागि योगदान पुर्‍याउने समय हो ।

कोभिड-१९ को प्रवृत्तिबाट हामी मानवताको नयाँ शब्दकोश बनाउन सक्छौँ । अहिले मानव समाजले दुई किसिमका दुखाइ वा पीडा भोग्नुपरेको छ । पहिलो, पीडितको दुःखाइ, भाइरसलाई पराजित गर्न परिवारजनको सामिप्यबाट अलग्गिनु पर्ने, जीवनको कठोर पीडा परिवारजनसँग बिसाउन नपाउने अवस्था । दोस्रो, आफ्नो प्रियजनलाई अलग राख्नुपर्ने परिवारजनको आक्रान्त अवस्था ।

अझ यसको अर्को दर्दनाक पक्ष छ । यो भाइरस फैलिने त्रासमा र यसको जोखिमको कारणले आफ्नो परिवारका सदस्यको र प्रियजनको अन्तिम संस्कार गर्नसमेत अनुमति छैन । परिवारको सदस्यको मृत्युको पीडामा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नसमेत नपाउने अवस्थाले उत्पन्न थप नकारात्मक मनोवैज्ञानिक प्रभावले सामाजिक सन्त्रास सिर्जना गर्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

कोभिड-१९ ले करिब तीन महिनामा विश्वको सामाजिक, राजनीतिक आर्थिक प्रणालीहरूलाई विनाशको दिशामा प्रवेश गराइदिएको छ । चीनको वुहान शहरबाट शुरु भएको यो भाइरसले अहिले करिब सिङ्गो विश्व छिचोलिसकेको छ । विश्वका हरेक देशका मानिस भयावह स्थिति र त्रासमा देखिन्छन् ।

यसले केवल सामाजिक, आर्थिक, सांस्कृतिकरूपमा निरस बनाउने नभएर महामारीको प्रलयका साथ अनिकाल बढाउने र सामाजिक विचलन समेत बढाउने सम्भावना छ । त्यो सम्भावित सामाजिक कुरूपताको डिग्री अहिले नै कल्पना गर्न गाह्रो छ । यो महामारीका कारण विश्व नकारात्मक दिशातिर जाने अवस्थामा छ । यस्तो महामारीको बेला कुनै राजनीतिक प्रणालीले काम गर्दैन । आर्थिक समुन्नतिले पनि केही माने राख्दैन, कुनै कानुनले काम गर्दैन ।

यो अवस्था नै मानव सभ्यतामा सबैभन्दा ठूलो र कडा क्षति हुने संकेत हो । यो कानुन र प्रक्रियाको मूल्यांकन नगरी मानवहितमा कसरी योगदान पुर्‍याउन सकिन्छ भनेर सोच्ने समय हो । यस्तो बेलामा हामीले जिम्मेवार नागरिकको रूपमा अनुशासित हुँदै सरकारको निर्देशन र प्रणालीहरूमा सामूहिक, पारस्परिकरूपमा बुद्धिमानीपूर्वक सहयोग पुर्‍याउनुपर्छ । सकारात्मक वातावरण बनाउने सत्प्रयास गर्नुपर्छ । यसो गरेरमात्र हामीले यो कहर कम गर्न सक्छौँ ।

यो महामारीको अनिश्चितताका कारण अहिले हामी आन्तरिक र वाह्य दुवैरूपमा पूर्ण घाइते भएका छौँ । अझ यसले मानव सभ्यतामा थप अनिश्चितता सिर्जना गर्दै गयो भने हाम्रा सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक र वातावरणीय प्रणालीको शृंखला तोडिन सक्नेछ । भयानक दुर्घटना निम्तिन सक्नेछ । शुरुमा थोरै ढिलो गर्नाले र खतराको पूर्वानुमान गर्न नसक्नाले आज यो भयको अवस्था सिर्जना भएको छ । अझ पनि अलिक टाढासम्म सोच्न सकेनौँ, छिमेकीको दुखाइ हाम्रो पनि दुखाइ हो भनेर बुझेनौँ र विश्वले अपनाएका अनुकरणीय सुरक्षाका उपायहरू यथाशीघ्र अवलम्बन गरेनौँ भने हाम्रोजस्तो गरिब देशले पीडाको पाराकाष्ठा भोग्नुपर्ने हुनसक्छ ।

अहिलेको अवस्था यस्तो छ कि कोही घरभित्र छन्, कति देश-परदेशमा यात्राका क्रममा फसेका छन् । कति आप्रवासीका रूपमा विदेशमा कोलाहलमा छन् । कति त आफ्नै देशभित्र बिरानो भएका छन् ।

कोभिड-१९ को गर्जन र यसले निम्त्याएको महामारीको कालो बादलले हाम्रो सम्पूर्ण भूमण्डल कब्जा गरेको छ । धमाधम वर्षिरहेको छ । हाम्रो हृदयलाई छियाछिया पारेको छ । भित्रभित्र अनन्तसम्म हामी डराइरहेका छौँ ।

चिन्ता यति गम्भीर भयो कि हामीले कोरोना भाइरस त्रासको सेरोफेरोभन्दा पर केही सोच्न सकेका छैनौँ । हाम्रा चालचलनको सामाजिक कुराकानी बन्द भएको छ । मानौँ, कोरोना भाइरसभन्दा अर्को केही बाँकी छैन ।

सामाजिक सञ्जालका सबै माध्यम, पत्रिका, टेलिभिजन, रेडियो, अन्य विद्युतीय सञ्चारमाध्यम र हाम्रा नियमित वार्तालापहरूमा कोरोना भाइरसका डरलाग्दा तस्वीर र सूचनाबाहेक अरू केही छैन । द्रुतगतिका कतिपय सञ्चारमाध्यमले जानी–नजानी मानवीय भावना, संवेदनशीलता र मानवताको पक्ष बेवास्ता गरेर सामाजिक भय उत्पन्न गराएका छन् । यसबाट व्यक्तिमा नकारात्मक सोच बढ्न थालेको आभास भएको छ ।

आशा छ, यो विषम परिस्थितिले मन, वचन र कर्मले एक अर्काको भलाइको काममा विश्व समुदायलाई प्रेरित गर्नेछ । विश्व एउटा परिवारको रूपमा विकसित हुनेछ । हाम्रो अनुशासन थप बलियो बनाउनेछ । र, हामी कोभिड-१९ पराजित गर्नेछौँ । सुमधुर र सुन्दर जीवनयात्राको बाटो तय गर्नेछौँ ।

यो परिस्थिति नेपालको मात्र होइन । यसले विश्व मानव र मानवतामाथि नै संकट सिर्जना गर्न सघाएको छ ।

यसकारण, विश्वका प्रत्येक व्यक्तिले राष्ट्र र भौगोलिक सीमाको भेदभाव नगरी विश्व मानवकल्याणका लागि एकजुट भई यो भयंकर अदृश्य शत्रु पराजित गर्नुपरेको छ । यो आत्मकेन्द्रित लोभ त्याग्नु पर्ने समय हो । ‘सर्वे भवन्तु सुखिनः’ मन्त्र सबै पक्षले मनन गरी मानवहितका लागि योगदान पुर्‍याउने समय हो ।

अहंकार, घमण्ड र आत्मकेन्द्रित प्रवृत्ति हटाउने समय हो । यो प्रेमको समय हो, क्षमाको, शान्ति कामनाको र संयमको समय हो । आफ्नो र अर्काको जीवनमूल्य बुझ्ने समय हो । यो समय सबै चराचर जगतको सहअस्तित्व महसुस गर्ने समय हो ।

शुरुआतमा चीनले भोगेको कष्ट विश्वका अन्य सत्तासीन नेताहरूले जुन गहिराइमा महसुस गर्नुपथ्र्यो, त्यो गर्न सकेनन् कि ! यसको सिकार हामी पनि हुन सक्छौँ भनेर सहानुभूतिको साटो केवल प्रतिक्रियामा सिमित रहे कि !

भौतिक शक्ति अनि हतियार र धनको घमण्डले मानवता बिर्सिन पो थालेको हो कि भन्ने अनुभव हुन थालेको छ । ‘वसुधैव कुटुम्बकम्’ दर्शन बिर्सिएर राजनीतिक रिस साध्ने व्यवहार गरेको हुनाले आज मानवताको दुखाइभित्र विश्व रोइरहेछ ।

हामी सबैले उचित सामाजिक दूरी कायम राख्दै नजिक हुने र आपसमा प्रिय हुने समय आएको छ । हामीबीच प्रेम, आदर र सम्मान सुदृढ पार्ने समय आएको छ । हामीले सकारात्मक सजगताका साथ आफूसँग भएको ज्ञान र सिप मानवहितका लागि उपयोग गर्नुपर्ने बेला आएको छ ।

एकआपसमा कृतज्ञता व्यक्त गर्दै, सबैको जीवनयात्रामा साथ दिँदै, सबैले सकारात्मक ऊर्जा सिर्जना गर्दै कोभिड-१९ सँग लड्दै हाम्रा प्रियजनहरूको शीघ्र स्वस्थ्य लाभका लागि एकजुट भएर सहयोग गरौँ । प्रार्थना गरौं ।

आशा छ, यो विषम परिस्थितिले मन, वचन र कर्मले एक अर्काको भलाइको काममा विश्व समुदायलाई प्रेरित गर्नेछ । विश्व एउटा परिवारको रूपमा विकसित हुनेछ । हाम्रो अनुशासन थप बलियो बनाउनेछ । र, हामी कोभिड-१९ पराजित गर्नेछौँ । सुमधुर र सुन्दर जीवनयात्राको बाटो तय गर्नेछौँ ।

वसुधैव कुटुम्बकम् ।

(प्राडा मेदिनीप्रसाद भण्डारी अकमाई युनिभर्सिटी, हवाई र सुमी स्टेट युनिभर्सिटी युक्रेनमा अध्यापनरत छन् । ‘साइन्टिफिक जर्नल अफ बेलेस्को-बिला स्कूल अफ फाइनान्स एन्ड ल’ मा पहिलोपटक अंग्रेजी भाषामा छापिएको यो लेख आनन्द भण्डारीले संक्षेपीकरणसहित नेपाली भाषामा भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : २२ बजे

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका छ बुँदे माग

काठमाडौं‍– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र

राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन अन्तर्गत ३१ करोड

तरलता सहज भएको छ, आर्थिक गतिविधि बिस्तारै बढ्छ : गभर्नर अधिकारी

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु खाता र

एकीकृत समाजवादीले तल्लो तहको सुझाव दस्तावेजमा समावेश गर्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य