रंगशाला नै रणभूमि बनेपछि...! | Khabarhub Khabarhub

रंगशाला नै रणभूमि बनेपछि…!



काठमाडौं– सोमबार दिउँसो ३ बजेका लागि साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल शुरु भएको थियो ।

मनाङ र मछिन्द्रबीचको खेलमा दर्शक अहिलेसम्मकै सबैभन्दा धेरै थिए । यस सिजनको लिगमा मनाङ र मछिन्द्रबीचको खेल सबैको चासोको विषय थियो । कारण स्टार खेलाडीको जमघट रहेको मछिन्द्र र साविक विजेता मनाङले कस्तो खेल्लान भन्ने नै हो ।

तर, यसमा यो सिजनमा मनाङबाटै १२ जना खेलाडी मछिन्द्रमा आएकाले पनि यसलाई सबैले विषेश चासोका रुपमा लिएका थिए ।

आजको खेलमा मनाङका लागि फेमी जोसुवा र विमल रानाले गोल गरे भने मछिन्द्रका लागि सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले गोल गरे । ९० मिनेट र थप गरिएको ५ मिनेटको समयमा २–२ गोलको बराबरीमा खेल सकियो ।

त्यतिमा केही शारीरिक खेल भएपनि दर्शकहरुका लागि भने खल्लो भएको थिएन । तर, म्याच रेफ्रि सर्वण कुमार तामाङले जब खेल सकिएको ‘हुइसिएल’ बजाए तब मैदानमा केही फरक ‘खेल’ शुरु भयो ।

जुन  लिग हेर्न आएका दर्शक, म्याच अफिसियल, खेलाडी र मिडियाकर्मी कसैले पनि अपेक्षा गरेका थिएनन् । खेल मैदानमा एकाएक खेलाडीबीच हात हालाहालको अवस्था देखियो ।

झगडाको शुरुवात मनाङका अनुभवी खेलाडी जगजित श्रेष्ठ र दीपक राईबाट भएको थियो । जगजितले खेल समापनको हुइसेल बजेपछि मछिन्द्रका दीपकमाथि मुक्का प्रहार गरेका थिए । जगजितले हिर्काएपछि किन हानेको भनेर फर्किएका दीपकलाई पुनः जगजितले हातपात गरेका थिए ।

जगजित तिनै खेलाडी हुन् जोे खेलको ६७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । दीपक पनि खेलको ७२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

लगत्तै मछिन्द्रका विजय धिमाल मैदान प्रवेश गरेका थिए । त्यसपछि एक–एक गर्दै दुवै क्लबका खेलाडी र प्रतिनिधि समेत मैदानमा एक अर्काकाविरुद्ध खनिएका थिए ।

झगडा ठूलो हुने अवस्था आएपछि मैदान छेउबाट खेल हेरिरहेको नेपाल पुलिस र सुरक्षा गार्डहरु मैदान प्रवेश गरेका थिए । स्थिति नियन्त्रण गर्न प्रहरी र सुरक्षा गार्डलाई हम्मेहम्मे परेको थियो ।

म्याच रेफ्रि र असिस्टेन्ट रेफ्रिहरुलाई बचाउन पनि सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । दुवै क्लबका खेलाडीलाई प्रहरी ‘स्कटिङ’ मा ‘ड्रेसिङ’ रुमसम्म ल्याएका थिए ।

झगडा पुनः नब्यूतियोस् भनेर दुवै क्लबको ड्रेसिङ रुम अगाडि प्रहरी र सुरुक्षा गार्ड लाइनमै बस्दै क्लबका प्रतिनिधि र अफिसियललाई बाहिर पठाइएको थियो ।

टेलिभिजनमा लाइभ भइरहेको बलियो दुई टोलीबीचको खेल रणभूमिमा परिणत हुनु राम्रो संकेत होइन् । खेल मैदानको रणसंग्राम कसैले अपेक्षा गरेका पनि थिएनन् । सब्स्टीच्युट खेलाडीका रुपमा बेञ्चमा रहेका मनाङका गोलकिपर अशोक बरालले मैदान प्रवेश गरेपछि उनलाई तत्काल रातो कार्ड दिइएको थियो ।

रंगशालामा प्रहरीको प्रवेश हुनु हुँदैन । तर, नेपालमा जहाँ खेल हुन्छ त्यहाँ प्रहरीको सुरुक्षा फौज हुन्छ । एन्फाले परिचालन गरेको सुरुक्षा गार्डको टोली भएपनि त्यो अपर्याप्त हुँदा प्रहरी नै मैदान प्रवेश गरेका थिए ।

खेल पछि सञ्चारकर्मीसँग बोलेका मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले नहुनु पर्ने घटना घटेको बताए ।

‘मैदानमा जे भएको थियो । त्यो दुई जना खेलाडी (जगजित श्रेष्ठ र दिपक राई) थाहा छ । त्यहाँ जे हुन गयो । त्यो अनुसाशनहीन काम हो,’ प्रशिक्षक कटुवालले भने ।

तर, विपक्षी टोली मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले भने गैर जिम्मेवार अभिव्यक्ति दिए । उनले मैदानमा के भयो त्यो आफूले जानकारी नपाएको बताए । ‘मैले खासै देखिन । म ‘बल्क’ गरिरहेको थिए,’ प्रजापतिले भने ।

खेलमा फरक माहोल बनाएका जगजित श्रेष्ठ टोलीले खेल अगाडि गरेको ‘वामअप’ गरेका थिएनन् । तर, उनी खेलको ६७ औं मिनेटमा नाइजेरियन खेलाडी भिडाल लुइसको स्थानमा प्रवेश गरेका थिए ।

जगजित बारे प्रशिक्षकले भने,‘त्यस्तो, खासै केही होइन । उसको पाखुरामा दुखि रहेको थियो । हामीले परिवर्तन गर्दा मात्रै रेडि हुन भनेका हौं । गयो होला । आफ्नो केही कारणले मलाई थाहा भएन ।’

मछिन्द्रका प्रशिक्षक कटुवालले भने मनाङबाट केही खेलाडी आएको भएर पनि उनीहरु ‘एग्रेसिभ’ भएको हुन सक्ने अनुमान लगाए ।
‘मनाङबाट हाम्रोमा ६–७ जना खेलाडी आएका थिए,’ प्रशिक्षक कटुवालले भने,‘खेल अलि बढी एग्रेसिभ भयो । एग्रेसिभ हुनुपर्छ । तर, हानाहान गर्ने गरि होइन्, टेक्निकल एग्रेसिभ हुनुपर्छ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले रिपोर्ट अनुसार दोषीलाई कारबाही गरिने बताएका छन् ।

‘घटना नहुनु पर्ने हो तर, भयो । यसमा रेफ्री, म्याच कमिस्नरको रिर्पोट नहेरी केही भन्न सकिँदैन । कमजोरी जसको हो उसलाई कारबाही हुन्छ,’ तुलाधरले भने ।

लिग कमिटि निर्देशक सञ्जीव मिश्रले पनि दोषीलाई कारबाही हुने बताए । दुई क्लबका खेलाडीबीचको झगडाले ४५ दिन लामो अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतिबन्ध सकाएर खेलमा फर्किएका अञ्जन बिष्ट भने ओझेलमा परेका थिए ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ०० बजे

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर

युक्रेन युद्धमा रुसलाई समर्थन गरेको अमेरिकी दाबीमा चीनको आपत्ति

बेइजिङ– बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार

रूसी लगानीकर्तालाई नेपाली लगानी गर्न एफएनसीसीआइको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर

उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं– नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका

सीपीको आक्षेप- भारतको दाल, डुकू खाएर माओवादीले एक दशक हतियार चलायो

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा १९ दिन