मेरो रोजाइका उत्कृष्ट दश सिनेमा « Khabarhub
Logo
१८ जेष्ठ २०७७, आइतबार

मेरो रोजाइका उत्कृष्ट दश सिनेमा



काठमाडौं – आजसम्म मैले एक हजारभन्दा बढी सिनेमा हेरेँ हुँला । हुन त खासै दोहोर्‍याएर सिनेमा हेर्ने बानी छैन । उनै सिनेमा हेर्नुभन्दा मलाई नयाँ सिनेमा हेर्नमा रुचि लाग्छ ।

आजसम्म हेरेका सिनेमामध्ये धेरैले मेरो मन जितेका छन् । अझ केही सिनेमाले त बारम्बार सोच्न बाध्य बनाएका छन् । म आफैँ पनि कलाकार भएकाले होला, कलाकारको जीवनमा आधारित सिनेमा हेर्न बढी उत्सुक हुन्छु ।

बुबा (बद्री अधिकारी) ले सानैदेखि सिनेमा हेर्ने बानी बसालिदिनुभयो । हामी धेरैजसो जोरपाटीस्थित आरधना हलमा सिनेमा हेर्न जान्थ्यौँ । अहिले त सिनेमा हेर्ने प्रशस्त माध्यम छन् । मलाई अहिले पनि याद छ, त्यतिबेला सिनेमा हेर्दा मान्छेहरू हलमा हुटिङ गरिरहेका हुन्थे ।

ठ्याक्कै यस्तै सिनेमा मन पर्छन् भन्ने त छैन तर कतिपय सिनेमाले अहिले पनि एक खाले आनन्द पैदा गर्छन् ।आफूले हेरेका थुप्रै सिनेमाबाट छुट्याएर केही सिनेमा हेर्न मैले सिफारिस गरेकी छु । म ती सिनेमाका बारेमा धेरै भन्दिनँ । किनकि, मलाई मन परेको सिनेमा तपाईंलाई मन नपर्न पनि सक्छ ।

द शंशाक रिडम्सन

सन् १९९४ मा प्रदर्शन भएको यो सिनेमा जेल ब्रेकको कथामा आधारित छ । त्यतिबेला प्रदर्शन हुँदा खासै चर्चा नभएको तर पछि चौतर्फी चर्चा कमाएको सिनेमाका रूपमा पनि यसलाई लिने गरिन्छ ।

‘द शशांक रिडम्सन’ स्तरीय भएर पनि किन चर्चामा आएन भनेर बहस निर्माण गर्न सफल सिनेमा हो । यो सिनेमाले मान्छेले सधैँ स्वतन्त्रता चाहन्छ भन्ने देखाएको छ ।

सिनेमामा एन्डी नामक एक व्यक्तिको कथा छ । जो आफ्नी पत्नीको हत्या गरेको आरोपमा जेल परेको हुन्छ । उसले अपराध गरेको थियो या थिएन अर्को पाटो होला तर मान्छेले जीवनमा सधैँ स्वतन्त्रताका लागि संघर्ष गर्छ भन्ने विषय सिनेमामा चाखलाग्दो गरी देखाइएको छ ।

टाइटानिक

यो सिनेमा नहेरेका दर्शक कमै हुनुहुन्छ होला । यो सिनेमा मन नपराउने पनि संसारमा कमै हुनुहुन्छ होला । वास्तविक घटनामा आधारित यो सिनेमाले सन् १९९७ मा प्रदर्शन हुँदा पनि चर्चा कमाएको थियो ।

यो सिनेमा हेर्दा मैले त्यति बुझ्दा पनि बुझिनँ होला, किनकि मैले बाल्यकालमै हेरेकी थिएँ । अहिले पनि सिनेमाको चर्चा भइरहन्छ । कुनै राम्रो प्रेमकथा भएको सिनेमा सिफारिस गर्नुपर्दा धेरैले ‘टाइटानिक’ कै नाम लिनुहुन्छ ।

अर्को कुरा त मलाई लियोनार्डो डिक्याप्रियो एकदमै मन पर्ने अभिनेता हो । सिनेमामा प्रेमलाई जसरी प्रस्तुत गरिएको छ, त्यो राम्रो छ । सिनेमामा अरू कति राम्रा पक्ष छन् भन्ने भनिरहनुपर्छ जस्तो लाग्दैन । कतिपयलाई यो पुस्तकजस्तो पनि लाग्न सक्छ । कथा र मेकिङ यस्तो छ कि, यो सिनेमा जतिपटक हेर्दा पनि दिक्क लाग्दैन ।

केक

यो पाकस्तानी सिनेमा हो, सन् २०१८ मा प्रदर्शनमा आएको थियो । यो सिनेमा मलाई यति मन परेको थियो कि, मैले निर्देशक असिम अब्बासीलाई इमेल नै गरेकी थिएँ । उहाँको रिप्लाइ आएन, त्यो आफ्नो ठाउँमा छ । मैले अहिलेसम्म कुनै मेकरलाई त्यसरी इमेल गरेकी थिइनँ । सिनेमामा उहाँले गरेको इफोर्टले मलाई छोयो ।

हुन त मलाई पाकिस्तानी सिरिजहरू पहिलेदेखि नै मन पथ्र्यो । ती सिनेमा या सिरिजमा वास्तविक जीवनलाई जस्ताको तस्तै देखाइएको हुन्छ । त्यहाँ कलाकारलाई ‘टप अभिनय’ गराइँदैन ।

त्यसो त पाकिस्तानी सिनेमा उद्योग केही वर्षअघिसम्म पनि नेपाली सिनेमा उद्योगभन्दा पनि सानो भन्ने गरिन्थ्यो । अहिलेको अवस्था फरक हुन सक्ला ।

‘केक’ एक फ्यामिली ड्रामा हो । एक परिवारको कथा समेटिएको यो सिनेमामा दिदीबहिनी, बाबुआमा र एक भाइसहितको पारिवारिक कथा समेटिएको छ । यो सिनेमामा परिवार कति महत्वपूर्ण हुन्छ, एकले अर्काको कमजोरीलाई कसरी लिन्छन्, कसरी सहयोग गर्छन्, परिवारले एकअर्कालाई कसरी बाँच्न सिकाउँछ भन्ने देखाइएको छ ।

अन्य पाकिस्तानी सिनेमा या सिरिजमा जस्तै यो सिनेमामा पनि संवादहरू गहकिला छन् । सिनेमामा जे वास्तविक जीवनमा हुन्छ, त्यही देखाइएको छ । यो सिनेमा हेर्दा मलाई निकै आनन्द लाग्छ ।

नायक

सत्यजीत रोयको शीर्ष भूमिका रहेको यो सिनेमा हेरेको धेरै भएको छैन । पहिले पनि यो सिनेमाका बारेमा बाबाको मुखबाट सुनेकी थिएँ तर हेर्ने अवसर पाएकी थिइनँ ।

सन् १९९६ को यो सिनेमाले एक कलाकारको कथा बोल्छ । एक कलाकार चर्चामा आइसकेपछि ओरालो लाग्ने बेलामा उसको जीवनमा कस्तो अवस्था आउँछ भन्ने कथालाई सिनेमामा आकर्षक ढंगले देखाइएको छ ।

म आफैँ पनि सिनेमा क्षेत्रमा भएकाले होला, यो सिनेमाले निकै मन छोयो । हुन त सत्यजीत रोयका अरू फिल्म पनि यस्तै दमदार छन् ।

एक कलाकारले आफ्ना कमजोरी खुलस्तरूपमा भन्न पनि पाएको हुँदैन । अझ भनौँ न, उसको जीवनमा कोही साथी नै हुँदैन ।

कलाकारलाई बोल्दा पनि सेन्सर गरेर बोल्ने बानी परेको हुन्छ । कलाकारहरू हामीलाई मान्छेजस्तो नै लाग्दैन । सिनेमामा देखाइएका यस्तै कुराले मलाई छोएको हो ।

यो सिनेमामा कलाकारले त आफ्नो प्रतिविम्ब देख्नुहुन्छ नै । अरुलाई पनि कलाकारको जीवनमा देखाइएको पाटोले पक्कै छुन्छ ।

अन्धाधुन

मलाई बलिउडका प्रायः सिनेमा हेरुन्जेल मात्र रमाइलो लाग्छन् । यो सिनेमाले भने धेरै दिनसम्म दिमागमा झट्का दिएको थियो । कतिपय सिनेमा हेरिन्छ, बिर्सिन्छ तर यो सिनेमा केही दिन त दिमागमा बास बस्छ ।

यो सिनेमा हेर्दा मलाई वास्तविक जीवनकै घटनाहरू हुन् कि झैँ लाग्यो । सिनेमामा हुने कति हत्याहरु पनि स्वभाविक हुन् कि भन्ने पर्छ । जस्तो कि, ओस्कर विजेता सिनेमा ‘पारासाइट’ मा पनि कति हत्या हामीलाई सामान्यझैँ लाग्छन् । परिस्थिति नै त्यसरी निर्माण गरिएको छ । ‘अन्धाधुन’ मा पनि त्यस्तै दृश्यहरु छन् । ‘मर्डर’ पनि हामीलाई स्वाभाविक लाग्छ ।

अर्को कुरा, यो सिनेमाको कलर करेक्सन राम्रो छ । क्राइम थ्रीलर सिनेमामा यसरी कलर करेक्सन गरेको कमै पाइन्छ । सिनेमाको निर्देशन र कथा पनि उत्तिकै दमदार छ । मलाई लाग्छ, धेरै वर्षपछि पनि यो सिनेमाको चर्चा हुनेछ ।

नेपाली सिनेमामा कस्तो प्रयोग छ भने हरेक कुरालाई सिनेमाले बुझाउनुपर्छ भन्ने छ तर यो सिनेमाको क्लाइमेक्स पनि ओपन इन्डिङ छ । जसले दर्शकलाई आफ्नै तरिकाले कथा सोच्न छोडिदिन्छ ।

मिराकल इन सेल नम्बर सेभेन

गतवर्ष रिलिज गरिएको टर्किस सिनेमा ‘मिराकल इन सेल नम्बर सेभेन’ का कारण यो सिनेमाको अहिले चर्चा छ । यसको ओर्जिनल भर्सन कोरियनमा भए पनि फ्रेन्चाइज लिएर सोही कथामा अन्य देशका मेकरले पनि सिनेमा बनाएका छन् ।

मैले चाहिँ ६ वर्षअघि नै यसको कोरियन भर्सन हेरेकी थिएँ । कोरियन भर्सनको जुन छाप दिमागमा बनेको छ, त्यो नमेटियोस् भनेर मैले टर्किस सिनेमा हेरेकी छैन । सिनेमामा बुबाछोरीको सम्बन्ध देखाइएको छ । यो सिनेमा हेर्दा म धेरैपटक रोएकी थिएँ । शायद सिनेमामा सानी बच्चीको भूमिका नभएको भए सिनेमा यति राम्रो हुँदैनथ्यो ।

म्यारिज स्टोरी

हामीले प्रायः सिनेमामा डिभोर्स (पारपाचुके) लाई सिनेमाको अन्त्य देख्छौँ । यसमा भने डिभोर्सपछि सिनेमाको कथा सुरु हुन्छ । एउटा मीठो वैवाहिक सम्बन्ध टुटेपछिको दुई जनाको जीवनमा आउने उतारचढाव सिनेमामा देखाइएको छ ।

मलाई स्कार्लेट जोन्सन पनि उत्तिकै मन पर्ने अभिनेत्री हुन् । एक स्टेज निर्देशक र अभिनेत्रीको बिहे र डिभोर्सपछि उनीहरूको जीवनमा के हुन्छ भन्ने सिनेमाले बोल्छ ।

विवाह र विवाहेत्तर सम्बन्धमा त थुप्रै सिनेमा बनेका छन् । यो सिनेमामा एक महिलाले पतिका लागि गरेको त्याग र आफ्नो करिअरमा परेको प्रभाव पनि देखाइएको छ । श्रीमानकै सपना पूरा गर्न साधारण जीवन बाँचेकी एक महिलाको जीवनलाई नजिकबाट नियाल्ने मौका यो सिनेमाले दिन्छ ।

ती पात्रले आफ्नो विगतमा के हुन्थ्यो, यदि बिहे नगरेको भए के हुन सक्थ्यो, जीवनमा के के छुट्यो भन्ने कुरा जसरी केलाएकी छिन्, त्यसले मलाई छोयो ।

वडा नम्बर ६

हामी नेपाली सिनेमालाई आर्ट र कर्मसियल (व्यावसायिक) भनेर छु्ट्याइरहेका हुन्छौँ । अझ कर्मसियल सिनेमामा जिस्ट (गुदी) हुँदैन भन्ने खालको तर्क गर्छौं । मलाई ‘वडा नम्बर ६’ भने धेरै कारणले मन परेको सिनेमा हो । सिनेमाको निर्देशन पक्ष पनि राम्रो छ । प्रस्तुतीकरण सरल र सटिक छ । नेपालमा आर्ट सिनेमा राम्रा हुन्छन् र कर्मसियल सिनेमा राम्रा हुँदैनन् भन्ने छ । त्यस्तो पनि होइन । ‘वडा नम्बर ६’ मा पनि म धेरै कुरा मिलेको पाउँछु ।

बलिदान

यो सिनेमाले मलाई बाल्यकालको याद दिलाउँछ । त्यतिबेला केही नबुझीकन हेरिएको यो सिनेमा अहिले पनि मानसपटलमा ताजा छ । हलमा ‘बलिदान’ हेर्दा दर्शकको जुन गुञ्जायमान थियो, त्यो अहिले पनि सम्झिन्छु ।

यो सिनेमा मैले जोरपाटीको आरधना हलमा हेरेँ कि ! किनकि, बाबाले धेरै सिनेमा हेर्न यही हलमा लैजानुहुन्थ्यो ।

‘बलिदान’ मा हास्यव्यङ्ग्यका महारथीहरूलाई सिरियस भूमिकामा देख्दा छुट्नै आनन्द लागेको थियो । सिनेमामा समावेश ‘गाउँ गाउँबाट उठ’ गीतले त हलमा तरङ्ग नै ल्याइदिन्थ्यो त्यतिबेला ।

कालो पोथी

मिनबहादुर भामले निर्देशन गरेको यो सिनेमा मलाई पछिल्लोपटक मन परेको सिनेमामध्ये एक हो । यो सिनेमा पृथक लाग्छ । कर्णाली, मुगुका दुई बालकका माध्यमबाट समाजको चित्रण गरिएको छ ।

हामीले सिनेमा निर्माण गर्दा खासै रिसर्च गरेका हुँदैनौँ । ‘कालो पोथी’ मा पर्याप्त रिसर्च गरिएको छ । सिनेमामा बालकको आँखाबाट नेपालको मौलिक कथा भनिएको छ । मलाई लाग्छ, नेपालमा यस्ता कथामा धेरैभन्दा धेरै सिनेमाहरू बन्नुपर्छ ।


भर्खर

0