वामदेवको इन्ट्रीपछि सरकार व्यवस्थापनका तगारा | Khabarhub Khabarhub

वामदेवको इन्ट्रीपछि सरकार व्यवस्थापनका तगारा


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपावृत्तमा एकले अर्काेलाई गलाउने शक्ति संघर्ष नरोकिएको पछिल्लो प्रकरण हो अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगमन र उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा इन्ट्री ।

गौतमको ६ बुँदे प्रस्तावको रक्षाकवचले ओली सरकार जोगिए पनि अब उनको व्यवस्थापन ओलीका लागि नयाँ संकट बन्न्नेछ ।

ओलीलाई धेरैपटक अप्ठेरोबाट रेस्क्यु गरेका गौतम यसपटक पहिलेजस्तो आश्वासनमा नभुल्ने र मन्त्रिपरिषदमा हाताहाती निश्चितता चाहिने भएपछि गौतम कार्ड बालुवाटारका लागि राजनीतिक एम्बुस बनेको छ ।

ओली आफ्नो पोजिसनमा ‘रिजिड’ हुने नेता हुन् तर विकल्पहीन भएपछि बिहीबार सचिवालय बैठकको सुरुमै उनले अप्रशन्न रहेको झल्को आउने हाउभाउमा आश्चर्यजनक नरम शैलीमा गौतमलाई राष्ट्रियसभामा लैजाने निष्कर्ष सुनाए ।

गौतमका गतिविधि राम्ररी नियालिरहेको बालुवाटार प्रचण्डसँग बाक्लिएको भेटवार्ता र सहयोगको वचनबारे जानकार थियो । यसपटक बालुवाटारसँग गौतमलाई रोक्ने अर्को विकल्प रहेन ।

उनलाई रोक्न खोज्दा त्यसले भर्खरै केही शान्त भएको सत्ता र पार्टीको संघर्षलाई नयाँ शंका, शैली र दाउपेचमा पुर्‍याउन सक्छ । गौतमको व्यवस्थापन भएन भने नेकपामा सात महिनादेखि चलेको विवादले फेरि नयाँ ध्रुवीकरण गराउनेछ । मन्त्रिमण्डलमा फेरबदल गर्नुपर्ने भएकाले राष्ट्रियसभामा र सरकारमा गौतमको इन्ट्री रोक्न बालुवाटार एक सातादेखि प्रयासमा थियो ।

मन्त्रिमण्डल पुनर्गठनअघि नै गौतमको राष्ट्रियसभाको यात्राको ‘च्याप्टर क्लोज्ड’ गराएर तत्कालको संकट सार्न सकिने योजना असफल भएसँगै बालुवाटारलाई गौतमको स्थापनको चुनौती थपिएको छ ।

गौतमलाई मनाउने प्रयासहरू असफल भएपछि प्रधानमन्त्री नै राष्ट्रियसभामा नलैजान गरेको दुई घण्टे निर्णायक वार्तामा पनि उनी टसमस भएनन् । देशको समृद्धि र पार्टी एकता नयाँ उचाइमा पुर्‍याउन आफू अर्थमन्त्री हुनुपर्ने दलील पेश गरे ।

तत्कालका लागि पन्छाउन सकिन्छ भन्ने बालुवाटारको विश्लेषणमा गौतमको अडानले ठेसमात्र लागेन, अझ उनले दोस्रो बरियतासहित सरकारमा जान हतार गरेपछि नयाँ संकट आइलागेको छ ।

गौतमको सत्तायात्राको महत्वाकांक्षालाई बालुवाटरले सरकार अस्थिर बनाउन इतर समूहको नयाँ चालको रूपमा विश्लेषण गरेको छ ।

गौतमलाई पार्टीभित्रै थन्क्याउन नसके प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीको बरियतासहित सरकारमा लैजानुपर्ने हुन्छ ।

यसो गर्ने प्रधानमन्त्रीको चाहना छैन । अहिलेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगै माधव नेपालको खेमाबाट समेत उपप्रधानमन्त्रीसहितको माग हुनसक्ने भएकाले कोरोना संकटको सामना गरिरहेको सरकार बदनाम हुने बालुवाटारको विश्लेषण छ ।

यसैले बालुवाटार हरहालतमा गौतम र श्रेष्ठलाई सरकारमा जानबाट रोक्न चाहन्छ ।

ओली चाहन्थे खतिवडाको निरन्तरता

आफ्ना विश्वासिला अर्थमन्त्री डा. खतिवडालाई निरन्तरता दिन नसक्नुलाई ओलीले सहज रूपमा लिएका छैनन् । बिहीबार भएको सचिवालय बैठकमा उनको हाउभाउ र लगत्तै आफू निकटस्थसँगको छलफलमा असहजता झल्किसकेको छ ।

ठूला व्यापारिक स्वार्थ समूहहरू र पार्टीभित्रै शीर्ष नेताले आफूविरुद्धको घेराबन्दीलाई अर्को तवरबाट खतिवडामा केन्द्रित गरेकोमा ओली रुष्ट छन् । ओलीले खतिवडाको बर्हिगमनलाई सांकेतिक रूपमा आफूविरुद्धको गतिविधि ठानेर इबी राखेका हुनसक्छन् ।

खतिवडालाई ओली इतर समूहबाट मात्र होइन नेकपामा योगदान नरहेको भन्दै पार्टीनिकटका अर्थविदहरू र ओलीनिकटै केही नेताहरूले रुचाउँदैनन् । तैपनि, ओली खतिवडाको कार्यसम्पादनलाई आर्थिक सूचाकाङ्कमा भन्दा दातृ निकायहरू र पश्चिमा देशहरूसँगको उनको सम्बन्धले नेपालको कूटनीतिक सन्तुलन र वाह्य सहायतामा उपयोगी हुने बुझेका छन् ।

अमेरिकासँगको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) लाई संशोधन बेगर संसदबाट अनुमोदन गराउने निर्णय नेकपाभित्र गर्न निकै अप्ठेरो छ ।

संसदबाट पारित गर्ने ओलीको चाहना असफल भएसँगै अमेरिकासँग धेरै तहमा छलफल गरी होल्ड गरिएको छ । एमसीसी होल्ड गर्नमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र डा. खतिवडाको योगदान छ । एमसीसी पारित गर्ने ओलीको चाहनामा सभामुखले ब्रेक लगाएसँगै ओलीको कदममा ठेस लागेको थियो ।

नेपालको परिमार्जित नक्सा जारीसँगै भारतसँग सम्बन्ध बिग्रिरहेकाले एमसीसी रद्द गरेर अमेरिकालाई चिढ्याउने पक्षमा ओली छैनन् । त्यसो गर्दा नेपाल चीनतर्फ ढल्केको भनी पश्चिमा देशहरू, भारत र दातृ निकायहरूले सरकार संकटमा पार्नसक्ने विश्लेषण रहेकाले अमेरिकासँगको सम्बन्धलाई बालुवाटारले निकै संवेदनशील रूपमा लिएको छ ।

यता पार्टीको निर्णयविपरीत सरकारले आफ्नै खर्चमा एमसीसी परियोजनाको कामलाई निरन्तरता दिइरहेको छ, जसमा ओलीकै निर्देशनमा खतिवडाले गर्दै आएका थिए ।

एमसीसी सहायता सम्भव भएसम्म संसदबाट पारित गर्ने र कदाचित पारित हुन नसक्ने भए सम्पूर्ण खर्च नेपाल सरकारकै भए पनि त्यसपछिको नेपाल हेर्ने अमेरिकी रणनीतिमा बदलाब नआओस् भन्ने ओलीको चाहनामा खतिवडाले पनि भूमिका निर्वाह गरिरहेका छन् ।

खतिवडालाई ओलीका लागि आफ्नै गुटका महत्वाकांक्षी नेताहरू तथा आफूइतरका नेताहरूलाई ‘चेक एण्ड ब्यालेन्स’ को रूपमा समेत बुझेका छन् । ओली गौतमलाई हरतवरबाट सरकारमा सामेल गराउन रोक्ने र त्यस्तो कदमले सत्तामा संकट नै आउन लागे गौतमलाई अर्को मन्त्रालयमा व्यवस्थापन गर्ने तर अर्थमन्त्रालय कुनै हातलमा नदिने मनसायमा देखिन्छन् ।

अर्थ मन्त्रालय कसलाई ?

खतिवडाको बर्हिगमनसँगै ओली केही महिना अर्थमन्त्रालय आफ्नै मातहतमा लिई खतिवडालाई छायाँमा राखेर मन्त्रालय चलाउने रणनीतिमा छन् । केही महिना अरूलाई गलाएर, आफूइतर समूहको रणनीति हेरेर र खतिवडाको उचित व्यवस्थापनपछि आफूनिकट व्यक्तिलाई अर्थमन्त्रीको जिम्मेवारी दिन सक्छन् ।

केही समयपछि प्रधानमन्त्री ओली आफूलाई धेरै गुन लगाउने र पटकपटकको सत्तासंकट टार्नमा सहयोगी पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालय जिम्मा लगाउने सम्भावना प्रबल छ ।

पौडेल आन्तरिक र बाह्य राजनीतिक सन्तुलन मिलाउने र सबैसँग मिजासिलो स्वभावका रहेकाले प्रचण्ड–नेपाल समूहबाट पनि सहयोग पाइने र दातृ निकायदेखि विदेशी नियोगहरूसम्मले सहर्ष स्वीकार गर्न सक्ने अवस्था छ ।

ओलीले पौडेललाई महाधिवेशन र पार्टीकै काममा खटाउन चाहे भने केही समयपछि नेपाल पक्षबाट सुरेन्द्र पाण्डेको पनि अर्थमन्त्रीमा सम्भावना हुनसक्छ । यसमा नेपालपक्षसँग लेनदेन र अगामी महाधिवेशनसम्मको परिदृष्य हेरेर मात्र ओली तयार हुनसक्छन् ।

वामदेवको उपयोगिता र रोक्ने अस्त्र

तत्कालका लागि ओलीले गौतमलाई सरकारमा जान रोक्न अर्को कुनै अफरमा भुलाउन हरतबरबाट प्रयास गर्नेछन् । गौतमलाई उनको मनसायबेगर रोक्दा उग्र विरोधमा लाग्ने र पार्टीभित्रै ओलीलाई अस्थिरतामा पार्दै अहिलेको सन्तुलन गुम्ने तथा सरकारलाई नै खतरा पुर्‍याउने डर छ ।

अर्कोतर्फ उनलाई सरकारमा भित्र्याउँदा उनको स्वभाव र कार्यशैलीले सरकारलाई नै अप्ठेरो पारिदिने बालुवाटारको निष्कर्ष छ ।

सङ्गठन विभागको प्रमुख समेत रहेका गौतमसँग अहिले खासै नेता तथा कार्यकर्ताहरू छैनन् । उनका अधिकांश विश्वासपात्र बालुवाटारनिकट भइसके पनि उनको बेग्लै ओज छ । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमात्र नभई आगामी महाधिवेशनसम्मै उनको ‘फेस भ्यालु’ र ओज बालुवाटारका लागि निकै उपयोगी छ ।

गौतमलाई धेरै नजिक नराखे पनि टाढा राख्न नसक्ने बाध्यकारी अवस्थामा बालुवाटार छ । उनी शीर्ष नेताहरूमा सजिलै फकाएर उपयोग गर्न सकिने र जतिबेला पनि ‘यू टर्न’ गराएर आफ्नो संकट टार्न सकिने पात्र रहेको चतुर राजनीतिक खेलाडी ओलीले नबुझ्ने कुरै भएन ।

बालुवाटारका लागि गौतम अहिले पनि ‘पोलिटिकल वाइल्ड कार्ड’ हुन्, जसबाट प्रचण्ड र माधव नेपाललाई ‘साइजमा ल्याउने र ब्यालेन्स गर्ने अस्त्र’ बन्न सक्छन् । उनी सरकारमा आए भने सरकार नै असफल हुने डर बालुवाटारलाई छ ।

पूर्वएमाले पंक्तिमा प्रचलित ‘वामदेव नभए पार्टी लुलो हुन्छ, वामदेव प्रमुख भए पार्टी धूलो हुन्छ’ भन्ने कथन सरकारका लागि चरितार्थ भएको छ । गौतमलाई छाड्दा समूह कमजोर हुने डर ओलीलाई छ भने सरकारमा भित्र्याउँदा असफल बनाइदिने डर छ ।

गौतमको पदप्रतिको आसक्ति पुरानै हो । राष्ट्रियसभामा जान र दोस्रो वरियतासहित अर्थमन्त्री बन्ने महत्वाकांक्षा होस् वा २०५१ सालमा मा तत्कालीन नेकपा एमालेमा उनैका लागि विधानमै नभएको उपमहासचिवको पद दिँदाको उदाहरण काफी छ ।

छिटो हौसिने स्वभावका गौतम कतिबेला सम्बन्ध बिग्रेर उग्र बन्छन् वा हार्दिकता बनाउन कस्तो पावर सेयरिङमा चित्त बुझाँछन् भन्ने टुङ्गो हुँदैन । उनको शैलीमा परिवर्तन आएको छैन ।

चुनाव हारेपछि ओलीसँग बिग्रेको सम्बन्ध सुधार्न विकास प्राधिकरणको प्रलोभनदेखि जन्मदिनमा केक काटेर फकाउँदा होस्, या पछिल्लो सात महिनादेखि जारी पार्टी विवादमा उनले देखाएको ढुलमुले शैली, उनको अस्थिरता बुझ्न काफी छ ।

अहिले पनि गौतमलाई महाधिवेशन व्यवस्थापनको जिम्मेवारी दिने बालुवाटारको चाहना छ । तर, उनले पार्टीको आन्तरिक स्थिति र साङ्गठनिक कामको जिम्मेवारीमा भन्दा राज्य शक्तिमा पुग्ने अभिलाषा राखेका छन् ।

दोस्रो संविधानसभापछि संसदीय दलको नेतामा ओलीलाई विजयी गराउने गौतमले लगत्तै तेस्रोपटक उपप्रधानमन्त्री र गृहमन्त्री पद लिए ।

शक्तिमा रमाउने स्वभावका गौतमले त्यसपछि लाभको पद नलिएकाले यसपालि अन्य तबरबाट मनाउन ओलीलाई निकै गाह्रो छ ।

नेकपा एकीकरणको दुई वर्षभन्दा धेरै समय बितिसक्दा पनि सदस्य संख्याको विवाद, तल्लो तहका कतिपय कमिटीहरू गठन हुन नसकेको तथा केन्द्रीय विभाग र निकायहरूको अन्यौलको झन्झटमा पर्नुभन्दा गौतम तत्काल महत्वपूर्ण मन्त्रालयसहित दोस्रो बरियतामा सरकारमा जान हतारो गरिरहेका छन् ।

उनको हतारोमा ब्रेक लगाउन नसके सरकार समस्यामा पर्ने बालुवाटारको बुझाइ छ । रोक्दा पनि जुनसुकै बेला दुघर्टना निम्त्याइदिने त्रास पनि छ ।

परिस्थितिको बाध्यताले निकास दिन नेकपाभित्रका तीनै गुट प्रचण्ड, नेपाल र ओलीले बटमलाइन छाडेपछि पार्टीभित्रको अन्तरद्वन्द्वमा नयाँ बदलाब आएको छ । यो बदलाब सरकारमा शक्तिको बाँडफाँड र महाधिवेशनपछिको भविष्यसँग जोडिएको छ ।

गौतम नेकपाभित्रको त्रिशंकु शक्तिसंघर्षमा ओलीका लागि सबैभन्दा अचुक कार्ड हुन् जुन ओलीइतर समूहले बुझेर नै उनलाई शक्तिमा पुर्‍याउन मद्दत गरिरहेको छ ।

बालुवाटार उनलाई उपाध्यक्ष र सङ्गठन विभागको प्रमुख बनाउन राजी हुनुमा उनलाई पार्टीमै व्यस्त राख्ने अभिरुचि थियो । तर, पछिल्लोपटक बालुवाटारको आश्वासनमा परेर एकपछि अर्को धोका खाएको निष्कर्षमा पुगेको र लाभको पद नपाएकोमा रुष्ट रहेकाले सरकारमा जाने आफ्नो रणनीतिबाट फिर्ता नहुने मुडमा गौतम देखिएका छन्

गौतमलाई सरकारमा भूमिका नदिने प्रधानमन्त्री ओलीको अडानले सरकार नै अप्ठेरोमा पर्नसक्छ । एकले अर्कोलाई गलाउने र आफ्नो ‘लिगेसी’ स्थापित गर्ने रणनीति जारी रहेका बेला गौतम कार्डको महत्व पनि बढेको छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ३५ बजे

प्रधानमन्त्री प्रचण्ड र एडीबीका उपाध्यक्षबीच भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडीबी)का उपाध्यक्ष

कर्णालीमा आगलागीबाट ५५ जनाको मृत्यु

काँक्रेविहार– कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो