आमा सम्झाउने कोरोना भाइरस « Khabarhub
Logo
७ बैशाख २०७८, मंगलबार

आमा सम्झाउने कोरोना भाइरस



जब मानिस चरम पीडामा हुन्छ, जब कुनै पनि आश्रय रहँदैन र त्रासले ग्रस्त हुन्छ तब आमा सम्झिँदो रहेछ ।

आमा आफ्ना सन्तानका सबै आहत सुन्ने र पीडा पिउन सक्ने शक्ति हुन्, प्रेमधारा र प्रेरणास्रोत हुन् । उनको प्रेमधारा अनवरत बगिरहन्छ र आफ्ना सन्ततिको संरक्षणमा समर्पित भइरहन्छ ।

मातृप्रेम शाश्वत छ, आफ्ना सन्तानको हितमा जस्तोसुकै कठिन अवस्थामा पनि बगिरहन्छ, सन्तान जस्तोसुकै किन नहोस् । सन्तानले जीवनमा ताडनाबाहेक कहिल्यै केही नदिएको भए पनि सन्तानप्रति आमाको प्रेम कञ्चन भएर एकोहोरो बगिरहन्छ । आमा विशेष हुन्छिन् र त आफ्ना सन्तानलाई चिरञ्जीवी हुने आशीर्वाद दिइरहन्छिन् । आफ्ना सन्तानका लागि आमाको छाती सीमाहीन फराकिलो हुन्छ । आमा सन्तानमा आफू र आफ्नो सबै अस्तित्व देख्छिन् ।

आमाको असीम वात्सल्यकै कारणले जतिसुकै नाम, दाम र अभिमान भए पनि विपदमा प्रत्येक व्यक्ति आमाकै महत्ता सम्झिन्छ । आमाको माया विराट ब्रह्म हो, तत्वसार हो, जीवनबोध हो र बोधित्व दर्शन हो । सन्तानलाई जस्तोसुकै गल्तीमा पनि माफी दिनसक्ने वात्सल्य, र करुणा र प्रेम आमामै हुन्छ ।

जसले आमा बुझेको छ, मातृभाव बुझेको छ, आमाका कोखको र अमृतमय दूधधाराको महत्ता बुझेको छ, उसको लागि बुझन् केही बाँकी छैन । उसले समस्त जीवन बुझेको छ ।

आमाको महत्व मानिसमा मात्र नभएर समस्त प्राणीमा समान भइकन पनि एउटा ठूलो भिन्नता छ । मानिसबाहेकका प्राणीमा सन्तान आफैँ बाँच्न सक्षम नहुँदासम्म मात्र आमा रहन्छिन् । त्यसपछि बाँच्ने प्रतिस्पर्धा सुरु हुन्छ । मानिसमा जीवनपर्यन्त मातृभाव समानरूपले रहन्छ । पितृभाव पनि उसै गरी रहन्छ ।

हुर्केका सन्तानमा मातृवात्सल्य आशीर्वादका रूपमा अविच्छिन्न बगिरहन्छ, जसको न कुनै आदि छ न अन्त्य । मातृत्वभाव नै मानव चेतनाको मूलस्रोत हो । स्थिरताको मूल सिद्धान्त हो, मानव सभ्यताको मूल आधार हो । यही सत्य स्वीकार गरेर संसारका सबै दर्शनहरूले समस्त स्त्रीलिङ्गीन प्राणीहरूलाई जीवनको स्रोत मानेका छन् ।

पूर्वीय दर्शनमा माता र मातृभूमिको महिमा बराबर छ । मातृभूमि आमाको प्रच्छाया हो । त्यसैले त भनिएको छ– जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । मातापितासँगको बाल्यकाल नै मानव जीवनको सबैभन्दा उत्कृष्ट समय हो । जीवन बुझ्ने अमूल्य समय पनि यही हो ।

समस्त स्त्रीलिङ्गीनमा आमा हुने प्राकृतिक इच्छा छिपेर बसेको हुन्छ । प्रसवपीडा सहने असीम क्षमता हुन्छ । स्त्रीलिङ्गीन हुनु नै सन्तानापेक्षी हुनु हो, जननी हुनु हो, आमा हुनु हो र मातृवात्सल्यको धारा बगाउनु हो । आमा प्रकृतिको निरन्तरताको स्रोत हो, मूल तत्व हो । जननीको सम्मान र स्मरण जीवनको सर्वोकृष्ट स्तुति हो ।

 स्त्री सिर्जनशीलता, उर्वरता, वात्सल्य र समभावको प्रतीक हो । मातृशक्ति नै जगतलाई निरन्तरता दिने दिव्यशक्ति हो । यो दिव्य शक्तिमाथि अज्ञानताले राज गर्न थालेको छ । प्राणी जगतमा सर्वोत्कृष्ट भनिएको मानव समुदाय नै लैङ्गिक विभेदमा जकिडएको छ ।

मातृत्व परम्पराको आधार हो । आराधना हो, दिव्य चेतनाले सम्प्रेषित भावना हो जसलाई शब्दमा सहजै अभिव्यक्त गर्न सकिँदैन खालि महसुस गर्न सकिन्छ । मातृत्वको यो बयानको अर्थ पितृत्व दोस्रो दर्जाको भन्ने होइन ।

आमा प्रसवपीडा सहेर सन्तानलाई जन्म दिन्छिन्, हुर्काउँछिन् र सक्षम बनाउँछिन् । सन्तानको खुसी नै उनको खुसी हो । पूर्वीय दर्शनमा माता र मातृभूमिको महिमा बराबर छ । मातृभूमि आमाको प्रच्छाया हो । त्यसैले त भनिएको छ– जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । मातापितासँगको बाल्यकाल नै मानव जीवनको सबैभन्दा उत्कृष्ट समय हो । जीवन बुझ्ने अमूल्य समय पनि यही हो ।

आजको परिवेशमा मानिस जन्मभूमिमा मात्रै सीमित छैन । आजको सामाजिक परिवेश दु्रत गतिमा चलायमान छ । स्थानान्तरण अर्थात बसाइँसराइको गति तीव्र छ । मानिसको विचरणको दायरा फराकिलो भएको छ । मानिस पृथ्वीको एक कुनाबाट अर्को कुनामा बसाइँ सरिरहेको छ । तर, जुनसुकै अवस्थामा पनि देशभक्ति, राष्ट्र र राष्ट्रियताको भावना हराउँदो रहेनछ ।

मानिस आफ्नो संसारको जुनसुकै कुनामा पुगेको किन नहोस् उसले नबिर्सिने र सधैँ सम्झिरहने भनेकै जन्मभूमि हो । अन्तरहृदयमा देशभक्ति र राष्ट्रप्रेम उम्लिन्छ । यो त झन बढी जागृत हुँदै जाँदो रहेछ ।

थातथलो नयाँ भएपछि मानिसको सोच्ने प्रक्रियामा पनि परिवर्तन आउन सक्छ तर मूल थलोको प्रेम कहिल्यै हराउँदैन । नाटकार बालकृष्ण समले त्यसै भनेका होइनन्– देशभक्ति त मर्दैन चुत्थै देश भए पनि ।

मानिस जहाँ बसे पनि उसको मूल राष्ट्रियतामै बाँच्छ । देशान्तर हुँदैमा राष्ट्रियता फेरिँदैन, पुस्तौँसम्म पहिचान उही रहन्छ । यही नै आमाको पहिचान हो । जन्मभूमिमै जीवनयापन गर्ने मानिस र बाध्यतावश, रहरले वा अवसरको खोजीमा परदेश हेलिएकाहरूबीच देशभक्ति र राष्ट्रियता समान हुन्छ । बाध्यताले विदेशी भूमिमा पुगेकाहरू त मातृभूमिको थातथलो झन बढी सम्झिन्छन् ।

आफ्नी आमाभन्दा राम्री अर्की कोही हुँदैन । जति नै सम्पन्न भए पनि आफ्नो जन्मभूमि–देशभन्दा सुन्दर अर्को कुनै ठाउँ हुँदैन । आफ्नो राष्ट्रियता जस्तो प्रिय अरू केही हुँदैन । विदेशमा बस्नेहरूले आफ्नो जन्मभूमि र राष्ट्रियता सम्झेर गरेका कामहरूले यो तथ्य पुष्टि गर्छ । गैरआवासीय संघसंस्थाहरू स्वस्फूर्त राष्ट्रप्रेमबाट अभिप्रेरित भएर नै बनेका हुन् । यस्ता संस्थाहरू पहिचानका आधार हुन् । देशभक्ति नै यस्ता संस्थाको मूल आधार हो । यस्तो पहिचान आमाको पहिचान हो, आमाको सम्मान हो । मातृप्रेम र देशभक्ति स्थायी हुन्, अरू अस्थायी ।

तिनीहरू धन्य छन् जो जीवनपर्यन्त आफ्नै जन्मभूमिमा छन् । दूरदेशमा भोग्नुपर्ने ताडन, अपहेलना र विभेद जन्मभूमिको दुःखको तुलनामा असीम हुन्छ । दूरदेशको भाषाभेद, जातिभेद, रीतिथिति भेदको सामनाको तुलनामा स्वदेशको दुःख भोग्न पाउनेहरू भाग्यमानी हुन् ।

आज कोरोना भाइरस संक्रमण (कोभिड–१९) ले मानिसको सोचाइ र चेतनामा अचम्मको परिवर्तन ल्याइदिएको छ । म को हुँ, कहाँबाट आएको हुँ, मेरा असली साथीसँगीहरू कहाँ छन्, म कहाँ सुरक्षित हुनसक्छु, मेरो प्राणान्त हुनुपर्ने भूमि कुन हो भन्नेजस्ता पक्षहरूमा अनौठो चेतना जागृत भएको छ । कोभिड–१९ ले मानिसको चिन्तन जीवनका सत्यतिर डोर्‍याउँदैछ ।

स्वदेशमा गरीखान नसकेर वा कुनै बाध्यताले दूरदेशमा पलायन हुनु परेका म र मजस्तालाई न स्वदेशले स्वागत गर्छ न परदेशले । आफूसित भएको सिप, दक्षता, ज्ञान, कौशल प्रयोग गर्न स्वदेशले वातावरण बनाइदिने हो भने मातृभूमिको सेवा गर्ने थियौँ भन्ने कति होलान् संसारका छरिए बसेका !

मातृभूमिलाई परेका बेला मन, वचन र कर्मले सकेसम्म बढी सहयोग गर्न पाए हुन्थ्यो भन्नु आफ्नो देशप्रतिको माया हो, आफ्नो राष्ट्रले चिनिराखोस् भन्ने ध्येय हो । हामी धेरै परदेशीहरू यस्तै चाहन्छौँ । परदेशबाटै पनि मातृभूमिका लागि कुनै न कुनै काम गरौँ भन्ने चाहना राख्छौँ र सकेको गर्छौं ।

आमाको महत्व त आमाबाट टाढा हुनेलाई अथवा आमा नहुनेलाई थाहा हुन्छ । आमासँगै हुनेलाई त कहिलेकाहीँ आमाको अमृतवचन वनि विषाक्त लाग्न सक्छ । अमृत वचन पनि चिच्याहटजस्तो लाग्न सक्छ । आमाको खोकीले निद्राभङ्ग भयो भनेर क्रोध उत्पन्न हुन सक्छ । आमाका साथमा नहुनेलाई चाहिँ एकझल्को देख्न पाए हुन्थ्योजस्तो हुन्छ । मातृभूमिप्रतिको आस्था पनि ठ्याक्कै यस्तै रहेछ ।

मानिसको हृदयको वास्तविक वेदना पनि एउटा हदसम्म मात्रै लुकाएर राख्न सकिँदो रहेछ । एउटा बिन्दुमा पुगेपछि त पोखिँदो रहेछ ।

आज कोरोना भाइरस संक्रमण (कोभिड–१९) ले मानिसको सोचाइ र चेतनामा अचम्मको परिवर्तन ल्याइदिएको छ । म को हुँ, कहाँबाट आएको हुँ, मेरा असली साथीसँगीहरू कहाँ छन्, म कहाँ सुरक्षित हुनसक्छु, मेरो प्राणान्त हुनुपर्ने भूमि कुन हो भन्नेजस्ता पक्षहरूमा अनौठो चेतना जागृत भएको छ । कोभिड–१९ ले मानिसको चिन्तन जीवनका सत्यतिर डोर्‍याउँदैछ ।

यसबेला हामीलाई आमा चाहिएको छ । जननी र जन्मभूमिको आश्रय चाहिएको छ । मूल थातथालो चाहिएको छ । हाम्रा सँगातिहरू चाहिएको छ । आज सँगै बसेर मनको वेदना सुनाउन मन लागेको छ ।

हामी धन, विद्या, यश, भौतिक सुखप्राप्ति वा अन्य जुनसुकै उद्देश्यले परदेश पुगेका भए पनि आज थातथालो भन्दा ठूलो केही होइन, मनको सुखशान्तिभन्दा ठूलो केही होइन भन्ने सत्य बोध हुन थालेको छ ।

आज आमाको सम्झना आएको छ । मातृभूमिको मलिन स्वर टड्कारो सुनिन थालेको छ । मातृवात्सल्यबाट टाढा हुनको असीम पीडा बोध भएको छ । हामीलाई आज आमाको वात्सल्य चाहिएको छ ।

हामीलाई निजधामको महत्व ज्ञात भएको छ । हाम्रो पूर्वजको दिव्य ज्ञानले देखेको ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ को मर्म बोध भएको छ ।

हामीसँग क्रोध, लोभ, मोह, घृणा, ईर्ष्या, अहङ्कार आदि अनेक मानवीय दुर्गुणहरू छन् । वन्धुत्वको भावना कमजोर हुँदै गएको छ । आज कोभिड–१९ को संकटले मानवता र मानव जीवनको रक्षामा उन्नत जागृतितर्फ मार्गनिर्देश गरेको छ । बाँच र बाँच्न देऊ भन्ने हाम्रा पूर्वजको ज्ञान र मातृभूमिको महत्ता बोध भएको छ ।

वसुधैव कुटुम्बकम् ।

लेखक अमेरिकाको अकामाई युनिभर्सिटीमा पढाउँछन् ।


भर्खर

0