त्यसपछि मलाई लाग्यो, अझै पनि दर्शकको माया पाइरहेको छु | Khabarhub Khabarhub

त्यसपछि मलाई लाग्यो, अझै पनि दर्शकको माया पाइरहेको छु

विराज भन्छन् - पछिल्लो पुस्ताका कलाकारले दु:ख नै गर्दैनन्



काठमाडौं – भोजपुरी चलचित्र उद्योगमा उत्कृष्ट अभिनेताको सूचीमा पर्ने धेरैजसो नायकहरुको परिचय गायकको पनि छ । जुन गायकले गाएका भोजपुरी गीत हिट हुन्छन्, उनीहरूले चलचित्रमा काम पाउँछन् । यो भोजपुरी चलचित्र उद्योगमा एउटा ‘ट्रेन्ड’जस्तै बनेको छ ।

चलचित्र हिट भएपछि उनीहरु गायकसँगै नायक पनि बन्छन् ।

अपवाद, विराज भट्ट र रवि किसन मात्र त्यस्ता ‘टप सेलिब्रेटी’ हुन्, जो हिट छन् तर गायक होइनन् ।

यी दुईमध्ये विराज भट्ट नेपाली अभिनेता हुन् । भोजपुरीमा उत्कृष्ट अभिनेताको सूचीमा अटाएका भट्ट कुनै समय नेपाली चलचित्र उद्योगमा पनि उत्कृष्ट नायकको सूचीमा शीर्ष स्थानमा थिए ।

एक्सन स्टारको परिचय बनाएका थिए विराजले । खाइलाग्दो ज्यान र मिलेको शरीर भएका विराजले हलको पर्दामा जब गुण्डालाई हिर्काउँथे, दर्शकले सिट्ठी बजाउँथे ।

तर, अहिले भने त्यस्तो परिवेश छैन । कुनै समय नेपाली चलचित्र उद्योगमा एकपछि अर्को हिट चलचित्र दिएका विराज लामो समयदेखि यो उद्योगबाट टाढिएका छन् ।

विराजलाई भने विश्वास छ – दर्शकले अझै पनि भुलेका छैनन् ।

आफ्ना समकालीन अभिनेताहरु चलचित्र उद्योगमा खासै जम्न नसकेका बेला विराज भने पुन: नेपाली चलचित्र उद्योगमा फर्किने जमर्कोमा छन् । उनले निर्देशन गरेको चलचित्र ‘साङ्लो’ प्रदर्शन हुनै लागेको छ । चलचित्र आउँदो शुक्रवारबाट प्रदर्शन हुँदैछ ।

यो विराजका लागि अग्निपरीक्षा पनि हो । किनकि, पहिलो त विराज लामो समयपछि नेपाली चलचित्र उद्योगमा कमब्याक गर्दैछन् । अर्कातिर उनले चलिआएका चलचित्रभन्दा केही फरक, आफ्नै फ्लेवरको चलचित्र बनाएका छन् ।

दर्शकले महानायक राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, रमित ढुंगाना, दिलिप रायमाझीजस्ता एकसेएक हिट चलचित्र दिने अभिनेताहरुलाई पत्याउन छाडिसकेका छन् । तर, विराजलाई भने विश्वास छ – दर्शकले अझै पनि भुलेका छैनन् ।

‘बरु दर्शकहरू पहिलेका जस्तै एक्सन चलचित्रको पर्खाइमा हुनुहुन्छ,’ विराज भन्छन्, ‘अहिले मेहनत गरेर नेपाली चलचित्रमा काम गर्ने पिँढी आएको छैन, त्यसैले नेपाली चलचित्रले दर्शक गुमाउँदै गएको छ ।’

उनका अनुसार पछिल्लो समय नेपाली चलचित्रमा केही फरक स्वादका चलचित्र बनेजस्तो देखिएको छ । तर, ती फरक नभएर ‘मेहनतको कमी’ ले बनेका चलचित्र हुन् ।

नेपाली चलचित्र उद्योगमा पछिल्लो समय थुप्रै नवकलाकारको उदय भए पनि राम्रो अभिनय र एक्सन गर्न सक्ने कलाकारको खाँचो भएको विराज बताउँछन् । ‘कलाकार धेरै आएका छन्, त्यो राम्रो हो तर एक्सनको हकमा हिरोजस्ता देखिने कलाकार आएका छैनन्,’ उनी भन्छन् ।

उनका अनुसार केही वर्ष नेपालमा स्तरीय एक्सन चलचित्रहरु बनेनन् । जसकारण एक्सन चलचित्रहरु हराएको जस्तो देखियो ।

‘पछिल्लो समय एक्सन चलचित्र चलेका छैनन्, शायद एक्सन चलचित्र गर्ने राम्रो कलाकार नभएर पो हो कि,’ विराज आफ्नो धारणा सुनाउँछन्, ‘एक्सन चलचित्र बनाउन बित्तिकै बन्दैन, यस्ता चलचित्रका लागि उस्तै हिरो चाहिन्छ, भयंकर एक्सन हिरो गर्ने मान्छेलाई कमेडी र कमेडीलाई एक्सन बनाउन खोजेर हुँदैन ।’

तस्वीर – अर्घेलो थापा

विराजका अनुसार ‘साङ्लो’ मा यस्ता कमजोरी छैनन् । फेरि यो चलचित्र एक्सन प्याक चलचित्र मात्र पनि होइन । चलचित्रमा कथा छ । दर्शक समूहलाई मन पर्ने मसला पनि मिसाइएको छ । ‘एक्सन चलचित्र त झन् विश्वमै कहिल्यै नहराउने विधा हो भने नेपालमा हराउने भन्ने हुँदैन,’ विराज सुनाउँछन् ।

हुन पनि अघिल्लो दशकमा जसरी एक्सन चलचित्र निर्माण भइरहेका थिए । त्यस्ता चलचित्र बन्न पनि सकेका छैनन् आजभोलि ।

पछिल्लो समय नेपाली चलचित्र उद्योगमा राम्रा चलचित्र बन्न नसक्दा यो उद्योग ओरालो लाग्दै गएको विराजको बुझाइ छ । उनका अनुसार पछिल्लो पुस्ताले दर्शकलाई चित्त बुझ्ने गरी चलचित्र निर्माण गर्न नै सकेका छैनन् ।

‘चलचित्र राम्रा नबन्नुमा कलाकारको दोष होइन, मेकरले नै कलाकारलाई काम लगाउन नसकेका हुन्, मेकरले त आफ्नो चलचित्रको कथाअनुसार जुनसुकै कलाकारलाई पनि छान्न सक्छ नि,’ विराज भन्छन् ।

विराज भन्छन्, ‘अहिले मेहनत गरेर नेपाली चलचित्रमा काम गर्ने पिँढी आएको छैन, त्यसैले नेपाली चलचित्रले दर्शक गुमाउँदै गएको छ ।’

उनी एक्सन हिरोमा ज्यान बनाएको हिरो र लभस्टोरी चलचित्रमा त्यस्तै हिरोलाई अभिनय गराइयो भने स्तरीय चलचित्र बनाउने बताउँछन् ।

‘तपाईंलाई मैले निर्देशकका नाताले राम्रो अभिनय गराउन सक्छु, तर तपाईंको ज्यान त मैले बनाउन सक्दिनँ नि,’ विराज भन्छन्, ‘हो, अहिलेका कलाकारमा देखिएको समस्या नै यही हो, ज्यान बनाउन कलाकारले कुनै मेहनत नै गर्दैनन् ।’

विराज बलिउड अभिनेताहरुले चलचित्रका लागि गर्ने मेहनत नेपाली कलाकारमा नभएको तर्क गर्छन् । उनका अनुसार नेपाली कलाकारले मेहनत नै गर्दैनन् । त्यसैका कारण विदेशी चलचित्र रिलिज हुँदा नेपाली चलचित्रले रिलिज मिति छोडेर भाग्नुपर्ने अवस्था छ ।

बलिउड कलाकारले चलचित्रमा डेब्यु गर्नुपूर्व निकै मेहनत गर्छन् । मार्सल आर्ट सिक्छन्, नृत्य सिक्छन् । पूर्ण रुपमा तयारी गर्छन् । उनीहरु चलचित्रको पर्दामा देखिँदा दर्शकलाई ‘वाह’ लाग्छ ।

नेपालमा त्यस्तो छैन । आफूमा जे छ, त्यही नै कलाकारिता हो भन्ने मान्यता छ ।

‘नेपालको मार्केट हेरौँ न, छपाकजस्ता चलचित्रले हाम्रो चलचित्र उद्योगलाई असर गरेका छैनन्, यहाँ सिक्स प्याक बडी बनाएका हिरोका चलचित्रहरुले नै नेपाली चलचित्रको बजार विस्थापित गरिदिएका छन्,’ विराज भन्छन् ।

नेपाली चलचित्र मेकरले पनि एक स्तरीय चलचित्र निर्माण गर्न थप मेहनत गर्नुपर्ने विराज बताउँछन् । उनको बुझाइमा पछिल्लो समय मेहनत गरेर चलचित्र निर्माण गर्ने मेकर एकदमै कम छन् ।

‘हामीले बलिउड चलचित्रले जस्तो लगानी गर्न सक्दैनौं होला, तर मेहनत त गर्न सक्छौं नि, बलिउड अभिनेताहरु त्यत्तिकै चलेका हुन् र ? यत्तिकै त्यस्तो नृत्य गर्न सकेका हुन्, ज्यान बनाएका होइनन्, यसका लागि उनीहरुले कडा मेहनत गर्छन्,’ विराज तर्क गर्छन् ।

नेपाली कलाकारले भने चलचित्रका लागि मेहनत नै नगर्ने उनी बताउँछन् ।

‘मैले पहिलो चलचित्रबाट नै आफूलाई कसरी अझै राम्रो गर्न सकिन्छ भनेर मेहनत गर्दै गएँ, आफूलाई तयार पारेँ,’ विराज भन्छन्, ‘हिरो हुन सजिलो थिएन, दर्शकको मन जित्न झन् सजिलो थिएन, अहिले त मेहनत नै नगरी हिरो हुन खोज्ने प्रवृत्ति बढेको छ ।’

चलचित्र ‘खुकुरी’ मा सानो भूमिकामा काम गर्दादेखि नै विराजलाई मेहनत गर्नुपर्छ भन्ने लागेको थियो । उनले सानो नै भूमिका भए पनि आफ्नो भूमिका दमदार होस् भन्नेमा ध्यान दिन्थे ।

‘चलचित्रमा आउनुभन्दा पहिले जुन दुःख गरिएको थियो, त्यो दुःख अहिले पनि गरिएको छ, कलाकार बन्न निकै मेहनत गर्नुपरेको थियो,’ विराज आफ्नो करिअरका शुरुवाती दिन सम्झन्छन्, ‘त्यतिबेला चलचित्रमा आफूलाई ल्याउँदा चलचित्रको सानो क्यारेक्टर गर्न पाउँदा पनि मेरो हुन्थ्यो, त्यसैमा खुशी लाग्थ्यो ।’

आफूलाई ‘हिरो’ बनाउन उनले लामो समय मेहनत गरेका थिए । नृत्य सिकेका थिए, मार्सल आर्ट र जिम्नास्टिकमा पनि उत्तिकै मेहनत गरेका थिए ।

शुरुवाती दिनमा स–साना भूमिकामा चित्त बुझाएका विराजलाई पछि निर्माता/निर्देशकले पत्याउन थाले । विराजले पनि थप कोशिश जारी राखे ।

‘दर्शकको माया बढ्दै जाँदा मैले एकपछि अर्को चलचित्रमा काम गर्ने मौका पाएँ, त्यो बेला पनि मैले दर्शकको उस्तै माया पाइरहेको थिएँ, अहिले पनि उस्तै माया पाइरहेको छु,’ विराज भन्छन् ।

दर्शकले अझै पनि माया गर्छन् भन्नेमा के विराज विश्वस्त छन् ? जबकि, लामो समय हराउँदा चलचित्र उद्योगले नै नपत्याउने भय हुन्छ ।

‘दर्शकले ममाथि अझै विश्वास गर्नुभएको छ, नेपालीमा डबिङ भएका भोजपुरी चलचित्र पनि दर्शकले हेर्ने गरेको पाएँ, सामाजिक सञ्जालमार्फत नेपाली चलचित्र चाहियो भन्ने खालका प्रतिक्रिया पनि धेरै नै पाएँ,’ विराज भन्छन्, ‘त्यसपछि मलाई लाग्यो, दर्शकले मलाई अझै उस्तै माया दिनुभएको छ ।’

दर्शकको विश्वास नटुट्ने गरी ‘साङ्लो’ निर्माण गरेको उनको दाबी छ ।

उनी भन्छन् – हो, ग्याप अलि बढी नै भयो, मैले यति लामो ग्याप होस् भन्ने चाहेको पनि थिइनँ ।

यसअघि पनि विराजले केही चलचित्रमा काम गर्ने कुरा नभएको होइन । एकथरी मेकरले विराज भट्टहरुको युग सकिएको भन्दै चलचित्रमा लिन चाहेनन् । केहीले विराजलाई चलचित्रमा अनुबन्ध गरे । तर, ती चलचित्र बन्दै बनेनन् ।

‘दर्शकको माया मसँग छ भने मैले किन चलचित्र नबनाउने भन्ने लागेपछि मैले आफै चलचित्र निर्माण गरें, यो एक्सन प्याक चलचित्र मात्र होइन, राम्रो कथा भएको चलचित्र पनि हो,’ उनी भन्छन् ।

एक समय विराजलाई एकपछि अर्को चलचित्रमा काम गर्न भ्याइनभ्याइ थियो । निर्देशकहरुबीच विराजलाई चलचित्रमा लागि रस्साकस्सी नै हुन्थ्यो । दर्शकको माया पनि उत्तिकै थियो विराजलाई ।

‘त्यो उचाइमा मलाई दर्शकले नै पुर्‍याउनुभएको हो, नेपालमा रुचाइएकै कारणले गर्दा भोजपुरी चलचित्रमा पनि अफर आयो, उता पनि मेरा चलचित्र उत्तिकै रुचाइए,’ उनी भन्छन् ।

भोजपुरी चलचित्र र नेपाली चलचित्रको मेकिङमा खासै फरक नभएको विराज सुनाउँछन् । अझ भोजपुरी चलचित्र त निकै छोटो समयमा बनिसक्छन् ।

‘एकपटक त मैले एकसाथ ३ वटा चलचित्रको छायांकन गरिरहेको थिएँ, उता चलचित्र निकै छिटो बन्छन्,’ विराज भन्छन् ।

एउटा चलचित्र त १३ दिनमै तयार भएको थियो । यो कुरा विराजले अनौपचारिक कुराकानीका क्रममा खुलाएका थिए ।

‘नेपालमा दर्शकको माग भइरहँदा भोजपुरी चलचित्रमा गएको थिएँ, उता पनि मेरा चलचित्र हिट हुन थालेपछि यता छोडेर मुम्बईमै बसेर काम गरेँ,’ विराज अगाडि सुनाउँछन्, ‘भोजपुरी चलचित्र उद्योगमा पनि दर्शकले उत्तिकै रुचाइदिनुभयो, त्यसपछि उतै निरन्तर काम गर्न थालेँ ।’

बीचमा विराज नेपाली चलचित्र पनि गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । केही वर्ष त उनले नेपाल र मुम्बई गरेरै चलचित्रको छायांकन गरिरहेका थिए । पछि यताभन्दा उतै अफर बढी आउन थाल्यो ।

‘पहिले म भोजपुरी चलचित्रमा जाँदा मलाई धेरैले नेपाली भनेपछि सानो होला भन्ने सोच्नुभएको रहेछ,’ विराज भन्छन्, ‘सेटमा पुग्दा मेरो हाइट देखेरै सबै छक्क पर्नुहुन्थ्यो ।’

बिस्तारै विराज भोजपुरी चलचित्र उद्योगमा जम्न थाले । अहिले भने भोजपुरी चलचित्र उद्योग पनि नेपाली चलचित्र उद्योग झैं धर्मराएको पनि भन्ने गरिन्छ ।

अहिले विराज भन्छन् – मैले दर्शकका लागि चलचित्र त दिनु नै छ । त्यसैले अब निर्माता र निर्देशकका रुपमा नेपाली चलचित्र उद्योगमा कमब्याक गरेको हुँ ।

‘ग्याप धेरै हुँदा कलाकार कसरी आउने भन्ने पनि हुन्छ, दर्शकको माया पाउन राम्रो चलचित्र र मेहनतको आवश्यकता पर्छ, त्यसैका लागि थप समय लाग्यो,’ विराज सुनाउँछन् ।

उनी प्रतिप्रश्न गर्छन् – दर्शकको माया छ भने आफै नेपाली चलचित्र किन नबनाउने?

‘जहाँ गए पनि आउने त आखिर नेपालमै हो, नेपाली चलचित्र उद्योगले नै त मलाई यो परिचय दिएको हो, त्यसैले मैले पहिलो चलचित्र नेपाली नै निर्माण गरें,’ विराज भन्छन् ।

विराजको बुझाइमा संसारमै सबैभन्दा रुचाइएको चलचित्र एक्सन चलचित्र हो । तर, चलचित्र स्तरीय चाहिँ हुनैपर्छ । फेरि एक्सन चलचित्र बनाउन त्यति सजिलो पनि छैन ।

‘संसारमा चल्ने भनेको एक्सन, लभ रोमान्स र पारिवारिक चलचित्र नै हो, चलचित्र उत्कृष्ट बनाउन सक्यो भने दर्शकको साथ नपाउने भन्ने कुरा नै हुँदैन,’ विराज अगाडि थप्छन्, ‘नेपालमा पछिल्लो समय एक्सन चलचित्र चलेका छैनन्, किनकि, हामीजस्ता एक्सन हिरो छैनन् ।’

विराजको बुझाइमा चलचित्रमा ‘हिरो’ बन्नका लागि प्रकृतिले पनि साथ दिनुपर्छ । आवाज पनि सुहाउँदो हुनुपर्छ, हाइट पनि हुनुपर्छ ।

‘हिरो बन्न मेहनत पनि गर्नुपर्‍यो, खाने कुरामा मुख बार्नुपर्‍यो, थप मेहनत गर्नुपर्‍यो, अहिले कुन कलाकारमा त्यो मेहनत देखिन्छ ?,’ विराज प्रश्न गर्छन् ।

यदि नेपालमा पनि स्तरीय चलचित्र बन्ने हो विदेशी चलचित्रसँग डराउनुपर्ने अवस्था नरहने विराजको भनाइ छ ।

‘हामी यो उद्योगमा हुँदा हिन्दी चलचित्र कहाँ चल्थे भन्ने हामीलाई थाहै हुँदैनथ्यो, सलमान खानको चलचित्र आउँदैछ, हामीले डेट सारौँ भन्ने खालको मैले कहिल्यै भेटिनँ,’ विराज स्मरण गर्छन्, ‘त्यतिबेला सधै नेपाली चलचित्र चल्यो, नेपाली चलचित्र क्युसिट अनुसार चल्थ्यो, हिन्दी चलचित्र घुसेको हामीले थाहै पाएनौं, अझ मोफसलमा त झन् कहिले चल्थे भन्ने पनि थाहा हुँदैनथ्यो ।’

केही दशकअघिसम्म पनि हिन्दी चलचित्रको छाप नै थिएन । त्यसो त पछिल्लो समय टेलिभिजनसँगै भित्रिएको हिन्दी भाषाले हिन्दी चलचित्रप्रति दर्शकको उत्साह जगाइदिएको छ ।

‘हामी मेहनतमा कम हुनु नपर्ने हो, हामीसँग बजेट त छैन तर मेकिङमा हामी अरुभन्दा कम छैनौं,’ उनी भन्छन्, ‘केही हदसम्म विदेशी स्तरको चलचित्र बनाउन सकेनौं भने पनि दर्शकले नेपाली चलचित्र मन पराउनुहुन्छ नि, किनकि नेपाली चलचित्रमा नेपालीपन छ, आफ्नो भाषाप्रतिको माया र सम्मान छ ।’

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : ०० बजे

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा