चट्याङको उच्च जोखिममा नेपाल « Khabarhub
Logo
१५ जेष्ठ २०७७, बिहीबार

चट्याङको उच्च जोखिममा नेपाल

वर्षेनी सय जनाभन्दा बढीको मृत्यु, यसरी अपनाऔँ सावधानी



काठमाडौँ– नेपालमा प्राकृतिक प्रकोप ठूलो चुनौती छ । बेग्लाबेग्लै प्राकृतिक प्रकोपमा ज्यान गुमाउने नेपालीको संख्या पनि वर्षेनी बढ्दो छ ।

अहिले प्रिमनसुन सुरु भएको छ । प्रिमनसुनसँगै सुरु हुने प्राकृतिकक घटना हो चट्याङ । मनसुनमा बाढी पहिरोबाट हुने घटना छँदैछ ।

गृहमन्त्रालयका अनुसार चट्याङबाट नेपालमा हरेक वर्ष अन्य प्राकृतिक घटनामा भन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।

गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार, यस वर्ष वैशाख लागेयतामात्र देशका विभिन्न स्थानमा चट्याङ लागेर ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

वैशाख २ गते दार्चुलाको शैल्यशिखर नगरपालिका–६, तिखाधारका सात वर्षीया लक्ष्मी खातीको चट्याङ लागेर मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार, घटनामा अन्य पाँच जना घाइते भए ।

वैशाख ३ गते मकवानपुरको राक्सिराङ गाउँपालिका–७, धिराङमा चट्याङले ४१ वर्षीय चैत्र प्रजाको मृत्यु भयो । त्यही वडामा तीन जना घाइते भए ।

वैशाख ८ गते पर्वतको फलेवास नगरपालिकाको टारीकी २८ वर्षीया कल्पना भुसालको र ९ गते धादिङको थाक्रे गाउँपालिकामा २ जनाको मृत्यु भयो । थाक्रेमा ७ जना घाइते भए । सोही दिन डोटीको सायल गाउँपालिका–३, तोलेनीमा २२ वर्षीया उजली बयाडी मृत्यु भयो ।

वैशाख १० गते बाग्लुङको गलकोट नगरपालिका–१, दुधिलाभाटीमा चट्याङ लागेर स्थानीय ५५ वर्षीया बिजुली खत्रीको ज्यान गयो । वैशाख १४ गते अछामको मेल्लेख गाउँपालिका–३, ठाँटी बगुडामा २५ वर्षीया अनिता शाहको मृत्यु भयो । यही घटनामा दुई जना घाइते भए ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार, चट्याङले बर्सेनि एक सय जनाभन्दा बढीको ज्यान लिने गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार चट्याङ बाढी–पहिरोले भन्दा धेरैको ज्यान लिने प्राकृतिक विपद् हो । केन्द्रले तयार पारेको पछिल्लो ९ वर्षको तथ्याङ्कअनुसार चट्याङले १ हजार ४२ जनाको मृत्यु भएको छ, २ हजार ५६ जना घाइते भएका छन् ।


चट्याङको जोखिममा नेपाल

प्रायः वर्षायाम र त्यसअघि पनि बादल हुँदै आकाशबाट जमिनमा विद्युतीय लहरको झट्का खस्ने जोखिम हुन्छ । चट्याङविद् प्रध्यापक डा. श्रीराम शर्माका अनुसार, प्रिमनसुन तथा मनसुनी वायु सक्रिय भएका वेला बादलमा हुने घर्षणबाट विद्युतीय लहर जमिनमा खस्छ । यही हो चट्याङ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, सरजुकुमार वैद्यका अनुसार यो विद्युतीय शक्ति धर्तीमा पुग्दा धेरै क्षति हुन्छ ।

सामान्यतया वर्षायाममा वायुमण्डलमा विपरीत दिशामा बहने तीव्र गतिको वायु एक आपसमा ठोक्किदा वा घर्षण हुँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर खास बाटो बनाएर जानु नै चट्याङ हो ।

यो अचानक हुने विद्युतीय विस्फोटन जस्तै हो । यस्तो प्रकोप प्रिमनसुन अर्थात चैत, वैशाख र जेठमा बढी हुने गर्छ ।

प्राध्यापक डा. शर्माका अनुसार, चट्याङको जोखिममा पर्ने तीन क्षेत्रमध्ये नेपाल एक हो । उनी भन्छन्, ‘अफ्रिका बाहेक बाँकी महादेशमा चट्याङबाट सबैभन्दा धेरै मृत्युदर हुने देश नेपाल हो ।’

उनका अनुसार चट्याङबाट सबैभन्दा बढी जोखिम क्षेत्र अफ्रिकाको कङ्गो हो । त्यसपछि दक्षिण अमेरिकाको भेनेजुएला वरपरको क्षेत्र र दक्षिणपूर्वी एशियाका इन्डोनेसिया, मलेशिया हुँदै नेपाल तथा बंगालको खाडी क्षेत्र पर्छन् ।

चट्याङबाट जोगिन के गर्ने ?

प्राध्यापक डा. शर्माका अनुसार, चट्याङबाट हुने क्षतिको न्युनीकरणको मुख्य उपाय सावधानी नै हो ।

त्यसैले आफू जुन ठाउँमा बसोबास गर्ने हो, त्यही अनुसारको सावधानी अपनाउनुपर्छ । विशेषतः आममानिस घरभित्र या त घर बाहिर हुन्छ । यी दुवै समयमा फरक–फरक सावधानी अपनाउनुपर्छ ।

घर बाहिर हुँदा पानी परेको तथा गड्याङगुडुङ गरिरहेको समयमा विशेष सावधानी अपनाउनुपर्छ । त्यस्तो बेलामा अग्लो र एक्लो रुखमा नजिक बस्नु हुँदैन ।

पानी भएको ठाउँमा पनि जानु हुँदैन । गड्याङगुडुङ गर्न थालेपछि पौडी खेल्ने, माछा मार्ने र र्‍याफ्टिङ गर्ने जस्ता काम बन्द गर्नुपर्छ ।

घरभित्र हुँदा पनि चट्याङबाट हुने क्षति कम गर्न सावधानी अपनाउनुपर्छ । घरभित्रका विद्युतीय उपकरण टिभी, कम्प्युटर, फ्रिज प्रयोग गर्नुहुँदैन ।

टेलिफोन तथा मोबाइलको प्रयोग नगर्नु, घरबाट बाहिर ननिस्कनु र धारामा नहाउनु सावधानिका हउपायहरू हुन् । नुहाउनै पर्ने भए बाल्टिनको पानीले नुहाउनु पर्छ ।

लुगाधुने तथा भाँडा माझ्ने काम नगर्नु, झ्यालढोका बन्द गर्नु र घरको भित्ताभन्दा अलिक पर बस्नु पनि साधवधानीका उपायहरू हुन् । घरमा विद्युतीय तार, टेलिभिजनको केबल तथा एन्टेना जडान गरिएका उपकरणबाट छुट्याउनु पर्छ । कुनै पनि विद्युतीय उपकरण प्रयोग गर्नुहुँदैन ।

मौसमविद् राजुधर प्रधानाङ्गका अनुसार, चट्याङ एक प्राकृतिक प्रकोप हो । प्रिमनसुनको समयमा जहाँ पनि चट्याङ पर्न सक्छ । यसबाट बच्न घरभित्र र घरबाहिर जहाँ भए पनि विशेष सावधानी अपनाउनुपर्छ । गड्याङगुडुङ शुरु भएपछि सावधान रहन उनको सुझाव छ ।

उनका अनुसार घरबाहिर खुला मैदानमा नबस्ने, मैदानमा लमतन्न परेर नसुत्ने र नखेल्ने, मानिसको समूह, मेला, हाटबजार या महोत्सवमा नबस्नेजस्ता सावधानी अपनाउनु पर्छ । फूटबल, क्रिकेट, गल्फ जस्ता खेल भइरहेको छ भने तत्काल बन्द गर्नुपर्छ । गाइबस्तुलाई सुरक्षित स्थानतर्फ लैजानु पर्छ ।

धातु तथा करेन्ट प्रवाह हुने वस्तुबाट टाढा बस्नुपर्छ । जंगलमा भएको बेला त्यहाँ रहेका स–साना रुखको बीचमा बस्नु हुँदैन । पक्की घर या गाडीमा भएको बेला पनि झ्याल ढोका बन्द गरेर बस्नुपर्छ ।


भर्खर

0