ईपीएलमा सर्वाधिक राशीमा अनुबन्ध भएका खरेलको लक्ष्य अब सिनियर टीमबाट खेल्ने | Khabarhub Khabarhub

ईपीएलमा सर्वाधिक राशीमा अनुबन्ध भएका खरेलको लक्ष्य अब सिनियर टीमबाट खेल्ने



काठमाडौं– सन् २०१४ अगस्ट (२०–२४) मा नेपाली युवा टोलीले मलेसियामा एसीसी यू–१६ प्रिमियरको उपाधि उचालेको थियो । सुमित महर्जनको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टोलीका खेलाडी पवन शरार्फ, आसिफ शेख लगायत थिए ।

त्यहिँ टोलीमा थिए, १३ वर्षीय अनिल खरेल । देब्रे हाते स्पिनरको भूमिकामा रहेका उनले त्यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चर्चा पाएका थिए ।

अनिलले ओमानको युवा टोलीविरुद्ध ६ विकेट लिँदै प्रशंसा बटुलेका थिए । सो खेल नेपालले १ सय २ रनले जितेको थियो । त्यतिमात्रै होइन उनी प्रतियोगिताको ‘मोस्ट प्रमिसिङ प्लेयर’बाट सम्मानित पनि भए । उनले प्रतियोगिता भर १३ विकेट लिएका थिए भने उत्कृष्ट बलर १५ विकेटसहित नेपालकै जितेन्द्र सिंह भएका थिए ।

२०१४ मा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका उनी पछिल्लो ६ वर्ष भने गुमनाम रहे । एसीसीको प्रतियोगितामा उदयमान खेलाडीको अवार्ड पाएका उनको क्रिकेट करियरले अपेक्षा अनुरुपको उचाई लिन सकेन । यी ६ वर्षपनि उनी क्रिकेटमै थिए । भन्छन्, ‘क्रिकेट खेलिरहेको थिए । तर, फ्रेन्चाईज लिगसम्म पुग्न सकेको थिइन ।’

राष्ट्रिय टोलीसम्म आउने धेरै जसो खेलाडी उमेरसमूहबाटै छनोट भएर आउँछन् । ५ वर्ष अगाडिको त्यो प्रतियोगिता सम्झँदा उनलाई अहिले पनि रमाइलो अनुभूति हुनेगर्दछ।

त्यतिबेला मात्रै उनी १४ वर्षका थिए । होचो कद, फोटोमा हेर्दा नपत्याउने जिउडाल थियो उनको । तर, अहिले उनी फरक तरिकाले चर्चामा छन् । ५ वर्षपछि आउँदा उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा केही दिन अगाडि सार्वजनिक भएको खेलाडीको सूचिमा बोलकबोलमा सबैभन्दा महंगो खेलाडीका रुपमा विराटनगर वारियर्सले टिममा भित्र्याएको छ । योसँगै उनी पहिलो पटक ईपीएल खेल्ने भएका छन् ।

उनका लागि विराटनगरले १ लाख २७ हजार खर्च गर्दा यू–१९ टोलीका रित गौतमका लागि पोखरा राइनोजले १ लाख २० हजार खर्च गरेको छ । अन्य खेलाडीले खासै ठूलो रकम पाएका छैनन् ।

अघिल्लो संस्करणको धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग (डीपीएल) खेलेपछि उनले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) पनि खेलेका थिए भने अहिले ईपीएल खेल्ने भएका छन् ।

करियरले लय समात्दै !

मोफसलका क्रिकेट प्रतियोगितामा संघर्ष गरिरहेका अनिल २०१८ को सिजनमा बुटबलको तिलत्तोमा प्रिमियर लिगमा उत्कृष्ट बलरको अवार्डबाट सम्मानित भएका थिए ।

त्यसपछि उनीमाथि सबैको नजर पर्यो । त्यसको परिणाम अघिल्लो संस्करणमा धनगढी प्रिमियर लिग (डीपीएल)मा राष्ट्रिय टोलीका भरपर्दा अनुभवी स्पिनर बसन्त रेग्मी कप्तान गरेको रुपन्देही च्यालेन्जर्सबाट खेले ।

उनले रुपन्देहीबाट धेरै खेल त खेल्न पाएनन् । तर, पनि स्पिनर बसन्त रेग्मीसँग धेरै कुरा सिक्न पाएको सुनाए । उनले ३ खेलमा २ विकेट लिएका थिए ।

डीपीएलपछि उनले गएको बैशाखमा भएको राष्ट्रिय खेलकुदमा प्रदेश ५ को सिनियर टोलीबाट खेलेका थिए । जसमा उनले गण्डकीविरुद्ध ५ विकेट लिए । गण्डकीविरुद्ध लिएका ५ विकेटले आफ्नो करियरलाई उचाई दिनसक्ने उनले अनुमान लगाएका थिए । फलस्वरुप उनी पोखरा प्रिमियर लिग (पीपीएल) मा टोली एक्सपर्ट धनगढी ब्लुजमा आवद्ध भए ।

राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रिएका उनले पीपीएलमा उत्कृष्ट प्रदर्शन गरे । जसमा उनले ५ खेलबाट ८ विकेट लिएका थिए ।

डीपीएल खेलेपछि पीपीएल र पीपीएलपछि ईपीएलमा पर्छु भन्ने अनुमान उनले लगाइसकेका थिए । अनिल भन्छन्, ‘पीपीएलमा राम्रो भएको थियो । मेरो अपेक्षा पनि राम्रै थियो ।’

पीपीएलमा उनले इमर्जिङ खेलाडीको अवार्डसमेत हात पारे । योसँगै अनिल आफ्नो करियर स्टेप–स्टेपमा अघि बढेको बताउँछन् । ‘एक–पछि अर्को गर्दै सफलता हात पारिरहेको छु । अब ईपीएलमा राम्रो गर्ने प्रयास गर्छु,’ खरेलले भने ।

फ्रेन्चाईज लिगहरुमा सिनियर खेलाडीसँग खेल्न पाउँदा धेरै कुरा सिक्न पाएको उनको अनुभव छ ।

‘म कन्फिडेन्टका साथ खेलिरहेको हुन्छु । सिनियर दाइहरु टोलीमा हुँदा दबाब कम हुन्छ । त्यसैले नै मैले राम्रो गर्न सकेको हुँ ।’

नेपाली क्रिकेट टोलीमा उनले फलो गर्ने खेलाडी स्पिनर बसन्त रेग्मी नै हुन् । बसन्तका सुझावलाई ध्यानमा राख्दै खेल्ने गरेको उनी बताउँछन् । ‘कुन अवस्थामा कस्तो बलिङ गर्ने, जस्ता कुराहरु सिनियर खेलाडबाट सिक्न सकिन्छ । बसन्त दाइले त्यो बेला भनेका कुराहरुलाई अहिले पनि फलो गरिरहेको छु । उहाँहरुसँग खेल्दा ‘माइन्ड मेक अप’ गर्न पनि सिकियो ।’

चोटले रोकिएको यात्रा

यू–१६ मा राम्रो गरेपछि लगातार अगाडि बढ्नु पर्ने अनिलको क्रिकेट करियरमा कहाँ निर ग्याप रह्यो त ? ‘मेरो बलिङ फिङ्गरमा चोट लागेका कारण केहि समय आराम गरे । जसले मेरो यात्रा पछि धकेलियो ।’

यो बीचमा अनिलले आफ्नो पढाईलाई अगाडि बढाएका छन् । अहिले उनी मणि मुकुन्द क्याम्पसमा बीबीएस पहिलो वर्ष पढ्दै छन् ।

‘क्रिकेट पनि खेलिरहेकै थिए । तर, केन्द्रीय प्रतियोगितासम्म पुग्न सकिरहेको थिइन । यो बीचमा पढाई पनि थियो,’ अनिलले खबरहबसँग भने, ‘पीपीएलमा ‘बेष्ट’ बलर भएपछि प्रदर्शन राम्रो हुँदै गएको छ । अब निरन्तर लाग्छु ।’

यसबीच अनिल आफ्नै लगानीमा क्रिकेट सिक्न भारत नयाँ दिल्लीको एक एकेडेमिमा भर्ना भएका थिए । उनले त्यहाँ तीन महिना अभ्यास गरेर नेपाल फर्किएका थिए ।

क्रिकेटको जग एपेक्स स्कुल !

बुटबलको एपेक्स स्कुलमा पढ्दै गर्दा अनिलले क्रिकेट खेल्न शुरु गरेका थिए । उनलाई क्रिकेट सिकाउने प्रशिक्षक थिए, बसन्त शाही ठकुरी । ठकुरीको छहारीमा हुर्किएका उनले विद्यालयस्तरिय क्रिकेट प्रतियोगिताहरुमा राम्रो गर्दै यू–१६ सम्म पुगेका थिए ।

अनिलका बुबा–आमा जापानमा बस्छन् । यहाँ उनी हजुरबुबा र आन्टीहरुसँग बस्दै आएका छन् । अनिललाई जापानमा रहेका बुबा आमाले राम्रो गर्न भन्दै हौसला दिइरहेका हुन्छन । पछिल्लो सयम उनी ईपीएलमा पर्दा पनि बुबाले फोन गरेका थिए । राम्रो हुँदै गएको भन्दै अझै राम्रो गर्न उनका बुबाले सुझाएका थिए ।

लक्ष्य राष्ट्रिय टोली

मोफसलबाट केन्द्रीय प्रतियोगिताहरुमा आइपुगेका अनिलको लक्ष्य राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्नु हो । अहिले राष्ट्रिय टोलीसम्म आइपुग्न कठिन छ । तर, अनिललाई आफुले राम्रो गर्न सके जस्तो सुकै खेलाडीलाई पनि ‘बिड’ गर्न सकिन्छ भन्ने विश्वास छ ।

त्यहिँ आत्मविश्वासले नै उनलाई यहाँसम्म ल्याइपुर्याएको छ । ‘स्टेप बाई स्टेप अगाडि बढ्ने हो । कहाँसम्म सकिन्छ हेरौं । हरेक प्रतियोगितामा राम्रो गर्न ‘फोकस’ गरिरहेको छु,’ अनिलले भने, ‘राष्ट्रिय टोलीसम्म पुग्ने लक्ष्यसहित खेलिरहेको छु । खेलको विकास पनि भइरहेको छ । आफूलाई योग्य सावित गर्न सक्छु भन्ने विश्वास छ ।’

अहिले राष्ट्रिय टोलीमा बसन्त रेग्मी, ललित नारायण राजवंशी र सुशन भारी देब्रे हाते स्पिनर छन् । बसन्त अब रिटार्ड हुने अवस्थामा रहेपनि सुशन र ललितले आफुलाई टोलीमा ‘सेट’ गर्न खोजिरहेका छन् । यस्तोमा अन्य थुप्रै खेलाडीहरुले पनि राष्ट्रिय टोली ताकिरहेका हुन्छन् ।

यसमा अनिलले आफुलाई अब्बल सावित गर्न सक्छन् वा सक्दैनन् भने केही समय कुर्नै पर्छ । तर, उनी अनुभव सँगाल्दै एक – दुई वर्ष भित्र राम्रो गर्दै राष्ट्रिय टोलीसम्म पुग्न लक्ष्य सुनाउँछन् ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ९ : ५३ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको