राजधानीमा नेपाली नक्कली नोटको धन्दा फस्टाउँदो | Khabarhub Khabarhub

राजधानीमा नेपाली नक्कली नोटको धन्दा फस्टाउँदो

दुई वर्षमा करोडौं बराबरको नक्कली नोट बरामद



काठमाडौं– बेला बेला भारतीय नक्कली नोटको चर्चा चलिरहने राजधानी काठमाडौंमा नेपाली नक्कली नोटको धन्दासमेत बढ्न थालेको छ । पछिल्लो समय प्रहरीले बरामद गरेको नक्कली नेपाली नोट र नोट छपाइ उपकरणले पनि राजधानीमा नक्कली नोटको कारोबार बढेको पुष्टि हुन्छ ।

शुक्रबारमात्र काठमाडौंको शान्तिनगरबाट नक्कली नेपाली नोट र नोट छाप्ने उपकरणसहित एक व्यक्ति प्रहरीको फन्दामा परे । पक्राउ पर्नेमा स्याङजाको चापाकोट घर भई काठमाडौंको शान्तिनगर स्टेशनरी पसल सञ्चालन गर्दै आएका नारायण पौडेल रहेका छन् ।

महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार प्रहरी टोलीले नक्कली नोट फोटोकपी गर्दै गरेको अवस्थामा पौडेललाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नक्कली नोट प्रिन्ट गर्ने प्रिन्टर, सक्कली एक हजारको नोट र फोटोकपी गरी तयार पारिएका १० थान एक हजारको नक्कली नोट समेत बरामद् गरेको छ । अहिले यो विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ ।

परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली यो विषयमा अनुसन्धान भइरहेकाले थप विवरण आउन केही समय लाग्ने बताउँछन् । एसएसपी ज्ञवाली भन्छन्, ‘अहिले उनी नक्कली नोटसहित पक्राउ परेका छन्, यसअघि पनि उनले कति नक्कली नोट छापे ? कसरी कारबार गर्थे थप अनुसन्धान भइरहेको छ ।’

शुक्रबार देखिएको यो घटना त एउटा प्रतिनिधिमूलक उदाहारण मात्र हो । पछिल्लो दुई वर्षको अवधिमा प्रहरीले काठमाडौंबाट मात्र पटक–पटक गरी करोडौं रुपैयाँ नक्कली नोट बरामद गरिसकेको छ ।

दुई वर्षमा काठमाडौंबाट बरामद नेपाली नक्कली नोट

२०७७ साउन १६ गते : काठमाडौंको शान्तिनगरबाट १ हजार दरका १० थान नक्कली नेपाली नोटसहित एकजना पक्राउ

२०७७ साउन ९ गते : काठमाडौं बुढानीलकण्ठबाट १ हजार दरको १९ थान नक्कली नेपाली नोटसहित १ जना पक्राउ

२०७६ पुस २४ गते : काठमाडौंमा नक्कली नेपाली नोट बनाउने कारखानामा छापा मारी ४ लाख १३ हजार बराबर नक्कली नोटसहित ४ जना पक्राउ

२०७६ कात्तिक ४ गते : काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट १ हजार दरका ३४ थान नक्कली नोट र नोट छाप्ने उपकरणसहित तीन जना पक्राउ ।

२०७५ माघ २६ गते : काठमाडौंको गोँगबुबाट १ लाख ५० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना पक्राउ ।

२०७५ कात्तिक ४ गते : काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जना पक्राउ

२०७५ असोज २६ गते : काठमाडौंको रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना पक्राउ

२०७५ असोज २३ गते : काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना पक्राउ

२०७५ जेठ २ गते : २ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ६ जना पक्राउ

(स्रोत : महानगरीय प्रहरी परिसर, काठमाडौं)

यसबाहेक पनि काठमाडौंमा फाट्टफुट्टरूपमा नक्कली नोट बरामद भइरहेका छन् । परिसर प्रमुख एसएसपी ज्ञवालीका अनुसार काठमाडौंमा नेपाली नक्कली नोट बरामदका घटना पटक–पटक देखिएका छन् ।

उनी भन्छन्, ‘पहिले–पहिले भारतीय नक्कली नोटको कारोबार बढी हुन्थ्यो तर अहिले काठमाडौंको बजारमा नक्कली नेपाली नोट भेटिन थालेका छन् ।’ एसएसपी ज्ञवालीका अनुसार रङ्गीन फोटोकपी मेसिन राखेर नेपाली बजारमा नै नक्कली नोट छापिने गरेको छ । प्रहरीले नक्कली नोट बरामद गर्दै गर्दा अधिकांश स्थानबाट नक्कली नोट छाप्न प्रयोग गरिने उपकरण पनि बरामद गरेको छ ।

पटकपटक दोहोरिएको नक्कली नोटको उदाहारण हेर्दा काठमाडौंमा नक्कली नोटको बिगबिगी बढेको देखिन्छ । विशेष गरी चाडपर्व नजिकिँदै गर्दा नक्कली नेटका कोरोबारी गिरोहहरू झनै सक्रिय हुने गरेका छन् । प्रहरी अनुसन्धान अनुसार आर्थिक कारोबार बढी हुने, रेस्टुरेन्ट, पसल र बढी भिडभाड हुने स्थानमा नक्कली नोटको बढी प्रयोग हुने गरेको पाइएको छ ।

नक्कली नोट कारोवबारमा संगठित गिरोह

नेपालमा नक्कली नोट छाप्न संगठितरूपमा नै गिरोह सक्रिय रहेको जानकारहरू बताउँछन् । लामो समयसम्म अनुसन्धानमा काम गरेका नेपाल प्रहरीका पूर्वएआइजी देवेन्द्र सुवेदीका अनुसार काठमाडौंबाट अहिलेसम्म नक्कली नोटसहित पक्राउ परेका उदाहारण हेर्दा यसमा संगठितरूपमै गिरोहहरू सक्रिय छन् ।

सुवेदी भन्छन्, ‘विशेष गरी महत्वकांक्षी युवाहरू संगठित भएर नक्कली नोट छाप्नेदेखि कारोबार गर्नेसम्मको धन्दामा लागेका छन् । केही घटनामा भारतीय नागरिकको समेत संलग्नता देखिएको छ ।’ उनका अनुसार नक्कली नेपाली रुपैयाँको बजार भनेको नेपालमै हो ।

कारोबारीहरूले मुख्य गरी भीडभाडमा किनमेल गर्दा तथा धेरै रुपैयाँको कारोबार गर्दा बीचमा नक्कली नोट घुसाएर बजारमा पठाउने गरेको पाइन्छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, विशेष ब्यूरो लगायतको कमाण्ड सम्हालिसकेका पूर्वडिआइजी हेमन्त मल्ल पनि नेपालमा नक्कली नोटको कारोबार फष्टाउन थालेको दाबी गर्छन् ।

उनी भन्छन् केही वर्षअघिसम्म भारतीय नक्कली नोटको बढी चर्चा हुन्थ्यो तर अहिले नेपाली नक्कली नोटको कारोबार बढेको छ । यो चुनौतीको विषय हो । अझ नेपाली बजारमै नक्कली नोट छाप्ने कारखान भेटिनुले झनै समस्या थपेको छ । यसतर्फ सुरक्षा संयन्त्रमात्र नभएर आम सर्वसाधारण पनि सचेत बन्नुपर्छ ।

यस्तो छ कानूनी व्यवस्था

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २५६ अनुसार खोटा मुद्रा बनाउने काममा संलग्न भएमा खोटा मुद्राको परिणाम र मूल्य विचार गरी ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुन्छ ।

सामान्यतया प्रहरीले यही ऐन अन्तर्गत कारबाही अगाडि बढाउँदै आएको छ । बजारमा नक्कली नोटको बिगबिगी बढेको र यसको रोकथामका विषयमा पूर्वएआइजी सुवेदी भन्छन्, ‘नक्कली नोटको कारोबार नियन्त्रणका लागि कानूनको कार्यान्वयमात्र होइन, आम नागरिक पनि सचेत हुनु जरुरी छ ।’

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : ३७ बजे

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु

आगलागी नियन्त्रणमा लिई तत्काल राहतको व्यवस्था गर्न सभापति देउवाको माग

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण गर्न

‘अर्थतन्त्र मिश्रित अवस्थामा छ’ : गभर्नर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र

सहकारी प्रकरणमा धरौटी बुझाएर छुटे दीपेश, सुन तस्करीमा सीआईबीले अनुसन्धान थाल्ने

बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका नेकपा मा‌ओवादी