जनताको तारोमा नेता, संसारभर छन् जुत्ता प्रहारका यस्ता घटना « Khabarhub
Logo
१२ मंसिर २०७८, आइतबार

जनताको तारोमा नेता, संसारभर छन् जुत्ता प्रहारका यस्ता घटना



काठमाडौं – आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रमणको प्रयास भयो ।

राष्ट्रियसभा गृहमा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको पहिलो स्मृति सभाका अवसरमा आयोजित कार्यक्रममा जुम्लाको सिञ्जा गाउँपालिकाका रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरे ।

कार्यक्रममा प्रमुख अतिथि रहेका प्रचण्डले सम्बोधन सकेर मञ्चमा भएको कुर्सीमा फर्किदै गर्दा रतनले दर्शक दीर्घाबाट जुत्ता प्रहार गरेका थिए ।

तर प्रचण्डलाई ताकेर गरिएको उनको प्रहार सफल भने हुन सकेन । उनले प्रहार गरेको जुत्ता प्रचण्ड कहाँ नपुग्दै सुरक्षाकर्मीले रोके र प्रचण्डमाथिको निशानाले धोका खायो । त्यसलगत्तै प्रहरीले रतनलाई पक्राउ गरी सिहंदरबार प्रहरी वृत्तमा राखेर छानविन गरिरहेको छ ।

प्रहरीसँगको वयानमा तिरुवाले प्रचण्डले दिएको वर्ग संघर्षका कुरामा सत्यता नभेट्टाएपछि आक्रोशस्वरुप जुत्ता प्रहार गरेको बताएका छन् ।

वयानका क्रममा उनले जनयुद्धका बेला राज्यपक्षद्धारा बुवा मारिएको दाबी गरेका छन् । तर, जनयुद्धको सत्य तथ्य बाहिर ल्याउन तत्कालीन माओवादीले तयार पारेको ११ हजार २ सय २० जनाको शहीद सूची र एक हजार ९४ जनाको बेपत्ता योद्धाहरुको सूचीमा रतनका बुवा मुन तिरुवाको नाम भेटिएको छैन ।

प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरे लगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाले विज्ञप्ती जारी गर्दै जनयुद्धमा बुवा मारिएको भन्ने तिरुवाको दाबी असत्य भएको उल्लेख गरेको छ ।

नेकपाका जुम्ला अध्यक्ष बीरबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा उनी विप्लवको कार्यकर्ता भएको र विप्लव निकट गतिविधिमा संलग्न हुँदैं आएको दाबी गरेका छन् ।

पछिल्लो यो घटनाले राजनीतिक नेतृत्वबाट दिइने आश्वासन र व्यवहारको तालमेल नमिल्दा कार्यकर्ता तथा सर्वसाधारणमा परेको चरम असन्तुष्टिलाई बाहिर ल्याएको छ ।

यतिमात्र नभएर नेताहरु थप सतर्क र संवेदनशील हुनपर्ने आवश्यकता पनि औल्याएको छ । यदि तिरुवाले जनयुद्धमा बुवा गुमाएकै हुन् भने एउटा पीडित व्यक्तिले राज्यसंग असहमति र असन्तुष्टि राख्ने ठाउँ कहाँ हो भन्ने प्रश्न समेत खडा गरेको छ ?

घटनालाई प्रत्यक्ष रुपमा नियालेकी नेकपाकी नेतृ दीलु पन्तले सार्वजनिक कार्यक्रममै पार्टीको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिमाथि आक्रमणको प्रयास हुनु निन्दनीय भएको बताएकी छन् ।

‘सुरक्षा घेराभित्रै जुत्ता प्रहार हुनु फितलो सुरक्षा व्यवस्थापनको पनि उपज हो ।’ खबरहबसँगको कुराकानीमा नेतृ पन्तले भनिन्, ‘यस्ता घटनाहरु नियोजित रुपमा पनि हुनसक्छन् यसप्रति आयोजक सचेत हुनुपर्छ ।’

आयोजक रहेको भरतमोहन स्मृति फाउण्डेसनका सदस्य खम्ब खत्रीले भने सोच्दै नसोचेको अप्रत्यासित घटना हुन पुगेको भन्दै क्षमा याचना गरेका छन् ।

त्यसो त दाहाललाई सार्वजनिक स्थल तथा कार्यक्रममा भएको आक्रमण यो नै पहिलो होइन । यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा गरी पाँचौं पटक उनीमाथि आक्रमणको प्रयास भइसकेको छ ।

यसअघि २०६९ मंसिर १ गते काठमाडौंको भृकुटीमण्डपमा भएको एक कार्यक्रममा दाहालले आफ्नै कार्यकर्ताको झापड खाएका थिए ।

नेपाल सम्वंत ११३३ को अवसरमा तत्कालीन एकीकृत नेकपा माओवादीले आयोजना गरेको चियापान समारोहमा प्रचण्डलाई बाग्लुङका पदम कुँवरले थप्पड हानेका थिए ।

त्यतिबेला थप्पड हान्ने कुँवरका दिदी र दाइ माओवादी थिए । कुँवरका दाइ पूर्व लडाकुसमेत रहेको बताइएको थियो । घटनापछि बसेको तत्कालीन माओवादीको बैठकले घटनालाई नियोजित र षड्यन्त्रमूलक भनेको थियो ।

उनै कुँवर तीन साता जेलमा बसेपछि प्रचण्ड दिएको माफीमा रिहा भएका थिए । २०७० को संविधानसभा चुनावमा उनै कुँवर दाहालसंग काठमाडौं क्षेत्र नम्बर-१० मा चुनाव लडेका थिए ।

२०७० कात्तिक २७ मा प्रचण्डमाथि कञ्चनपुरमा पनि आक्रमणको प्रयास भयो । जिल्लाको देखतवली–१ स्थित कालागौंडी भन्ने स्थानमा दाहाललाई लक्षित गरि बम बिस्फोट गरियो ।

महेन्द्रनगरबाट बेलौरीतर्फ जाँदै गरेको अवस्थामा उनी चढेको गाडी भन्दा ८० मिटर पर अज्ञात समूहले बम बिष्फोट गराएको थियो ।

यो घटना भएको करिब तीनसाता अघि सिरहाको मुक्सारमा पनि प्रचण्ड उपस्थित कार्यक्रम भन्दा डेढ किलो मिटर टाढा २ वटा सकेट बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको थियो ।

२०७२ साउन ४ गते सिरहामा संविधानको मस्यौदा सुझाव संकलनका लागि खटिएका प्रचण्डमाथि सामूहिक आक्रमणको प्रयास भएको थियो । सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित दाहाललाई ठूलो संख्यामा आएका प्रदर्शनकारीले कार्यक्रम स्थलको चारैतिरबाट ढुङ्गा, र बोतल प्रहार गरेका थिए ।

नेपाली राजनीतिमा कार्यकर्ता वा सर्वसाधारणको तहबाट आक्रमणमा पर्ने प्रचण्ड एक्ला पात्र भने होइनन् । सुशील कोइरालादेखि, झलनाथ खनालसम्मका कयौं नेता कार्यकर्ताको तारोमा परेका छन् ।

रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि २५ वर्षअघि आक्रमण भएपछि नेताहरुमाथिको आक्रमण शिलशिला रोकिएको छैन् ।

विक्रम संवत २०५१ सालमा स्थानीय विकास मन्त्री रहेका बेला तत्कालीन राष्ट्रिय सभाका सदस्य गोल्छे सार्कीले पौडेललाई सभाहलमै हात हाले ।

सार्कीले तत्कालीन एमाले महासचिव मदन भण्डारीको हत्या काण्डलाई लिएर पौडेलमाथि हातपात गरेका थिए ।

झलनाथ खनाल

२०६७ माघ ८ गते तत्कालीन एमालेका अध्यक्ष रहेका झलनाथ खनालले आफ्नै कार्यकर्ताको झापड खाएका थिए ।

खनाललाई आफ्नै पार्टी कार्यकर्ता देवीप्रसाद रेग्मीले कार्यक्रम हलभित्रै चड्कन हानेका थिए । रेग्मीले सुनसरीको भरौलमा एक सार्वजनिक कार्यक्रममा खनालमाथि हातपात गरेका हुन् ।

२०४६ सालदेखि नै खनालको कार्यकर्ता रहेका सुनसरीको भरोल–१ का रेग्मीले सुनसरीमै आयोजित एक कार्यक्रममा खनालमाथि झापड हानेका हुन् ।

पेशाले किसान रहेका रेग्मीले तत्कालीन समयमा देशलाई अनिर्णयको बन्दी बनाएको भन्दै खनाललाई झापड हानेको स्वीकारेका थिए ।

झापड हानेर पाँच दिन हिरासतमै बसेका उनलाई पाँच दिनपछि जिल्ला अदालतले एक रुपैयाँ धरौटीमा रिहा गरेको थियो । खनालले नै माफी दिएर आफू रिहा भएको रेग्मीले प्रतिक्रिया दिएका थिए ।

सुशील कोइराला

तत्कालीन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालामाथि वि.सं २०६८ सालमा आफ्नै कार्यकर्ताले आक्रमण गरे ।

काठमाडौँको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा नेविसंघका पूर्वक्षेत्रीय सभापति प्रवेश बस्नेतले कोइरालालाई फोटो फ्रेमले हिर्काए ।

कार्यक्रममा कोइरालालाई सम्मानस्वरुप खादा ओढाउँदै गर्दा अगाडिबाट बस्नेतले काठको फ्रेमले हानेका थिए ।

पार्टी भित्रको आन्तरिक विवाद नमिलाएका कारण आक्रमण गरेको बस्नेतले प्रतिक्रिया दिएका थिए । कोइरालालाई आक्रमण गरेका बस्नेतलाई नेपाल विद्यार्थी संघले दुई वर्षका लागि साधारण सदस्यसम्म नरहने गरी निलम्बन गरेको थियो ।

डा. बाबुराम भट्टराई

२०७३ मंसिर २२ गते पूर्वप्रधानमन्त्री तथा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईमाथि पोखराको एक कार्यक्रममा जुत्ता प्रहार भयो ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति नेपालका नवआगन्तुक विद्यार्थीको स्वागत गर्न पोखरा गएका डा.भट्टराईमाथि सञ्जीव भट्टराई नाम गरेका एक विद्यार्थीले जुत्ता प्रहार गरे ।

भट्टराईमाथि जुत्ता प्रहार भएपछि नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीहरुले सञ्जीवलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

झक्कुप्रसाद सुवेदी

२०६८ वैशाख १९ गते तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट सभासद रहेका झक्कुप्रसाद सुवेदीमाथि तीनकुनेमा आक्रमण भयो ।

सुवेदीलाई काठमाडौंको तीनकुनेस्थित एक चिया पसलमा संविधान बनाउन ढिलाई गरेको भन्दै प्रेमराज देवकोटाले चड्कन हानेका थिए ।

पूर्णबहादुर खड्का

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कालाई एक महिला सभासद्ले सार्वजनिक कार्यक्रममै चप्पल बर्साइन् ।

बिक्रम संवत २०६५ जेठ १५ गते एमालेकी सभासद् कमला शर्माले खड्कामाथि चप्पल प्रहार गरिन् ।

उनले पहिलो संविधानसभाको निर्वाचनताका एमाले उम्मेदवार ऋषिराज अधिकारीको हत्याको रिस पोख्दै खड्कालाई चप्पल हानेकी थिइन् ।

नेपालकै इतिहासमा बहुदल आएपछि र त्यसपूर्व पनि राजनीतिज्ञहरु बारम्बार जनस्तरको तारोमा परेको पाइन्छ ।

गिरिजाप्रसाद कोइरालाले कयौं पटक जनस्तरबाट आक्रमणको प्रयास खेप्नु पर्यो भने सार्वजनिक रुपमा भएका कालो झण्डा प्रदर्शनको लेखाजोखा राख्ने अवस्था छैन ।

उनकै दाजु बीपीले पनि जनमत संग्रहमा बहुदलको पक्षमा भाषण गर्दा कालो झण्डादेखि जुत्ता प्रहारसम्मको सामना गर्नु परेको थियो ।

राजनीतिक विश्लेषक सुरेन्द्र केसीका बुझाइमा राजनीतिज्ञमाथि भइरहेका आक्रमण उनीहरुले नै गरेको बेइमानीको उपज हो ।

‘नेताहरुले गरेको बेइमानीबाट असन्तुष्ट बनेका कार्यकर्ताहरु आक्रोशपूर्ण रुपमा प्रस्तुत हुनु स्वभाविक हो ।’ केसीले भने, ‘ जनतालाई अनेकथरी आश्वसन बाँडेका नेताले सत्तामा आएपछि छोरी, बुहारी र आफन्तहरु मात्रै पोस्ने काम भयो, यस्ता प्रहारले नेतृत्वलाई सवक सिकाउँछ।’

विश्वभरका नेताले पनि खाएका छन् जुत्ता

विदेशको उदाहरण हेर्ने हो भने राजनीतिज्ञमाथिका आक्रमण प्रयास सामान्य हुन् ।

सन् २००८ मा एक पत्रकारले अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसमाथि जुत्ता प्रहार गरेका थिए ।

बुसमाथि दुईवटा जुत्ता प्रहार गर्ने ती पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको थियो । सन् २०१४ मा अमेरिकाका पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनमाथि जुत्ता प्रहार भएको थियो ।

नेभाडाको लस भेगासमा जुत्ता प्रहार हुँदा उनी मुस्किलले छलिएकी थिइन् । जुत्ता प्रहारको सामना चीनका पूर्वप्रधानमन्त्री बेन जियाबाओदेखि इरानी पूर्वराष्ट्रपति मोहम्मद अहमदिनिजादसम्मले गर्नुपरेको थियो ।

फेब्रुअरी २००९ मा लन्डनमा तत्कालीन चिनियाँ प्रधानमन्त्री बेन जियाबाओमाथि एक जर्मन नागरिकले जुत्ता प्रहार गरेका थिए ।

डब्लिनमा सेप्टेम्बर २००९ मा बेलायती प्रधानमन्त्री टोनी ब्लेयरमाथि जुत्ता र अण्डा प्रहार भएको थियो ।

अगस्ट २००९ मा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीमाथि बेलायतको बर्मिङघममा जुत्ता प्रहार भएको थियो ।

फेब्रुअरी २०११ मा पाकिस्तानका पूर्वराष्ट्रपति परबेज मुसर्रफ लन्डनमा एक सभालाई सम्बोधन गरिरहेका बेला एक व्यक्तिले जुत्ता हानेका थिए । उनीहरूले अमेरिकामा पाकिस्तानी नागरिकको गिरफ्तारीको विरोध गरिरहेका थिए ।

११ मार्च २०१७ मा लाहोरमा पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफमाथि पनि जुत्ता प्रहार भयो । यसको एक वर्षपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानमाथि पनि जुत्ता हानिएको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि ३ वर्षकोबीचमा २ पटक जुत्ता प्रहार भए ।

केजरीवालमाथि सन् २००८ र २०११ मा जुत्ता प्रहार भएका थिए ।

भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीमाथि उनकै पार्टीका कार्यकर्ता पावस अग्रवालले चप्पल प्रहार गरे ।

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहमाथि अहमदाबादको एक चुनावी र्‍यालीमा जुत्ता प्रहार भएको थियो ।

१५ अगस्ट २००९ को स्वतन्त्रता दिवसमा जम्मू काश्मिरका तत्कालीन मुख्यमन्त्री उमर अब्दुल्लामाथि जुत्ता प्रहार भएको थियो ।

२३ जनवरी २०१२ मा देहरादूनको एक चुनावी सभामा कांग्रेस नेता राहुल गान्धीमाथि पनि जुत्ता प्रहार भयो ।

यसअतिरिक्त भारत, चीन, रुस, ताइवान, क्यानडासहितका मुलुकहरुमा राजनीतिज्ञमाथि पटक/पटक जुत्ता प्रहार हुँदै आएको छ । यवात घटना सामान्यत: सुनियोजित हुन्छन् । तर, त्यति भनेर मात्रै धर पाइने अवस्था भने छैन् ।

जव नेतृत्व वा सरकारले जनताको अपेक्षा अनुसारको काम गर्दैन, तब आक्रोशित सर्वसाधारण जनता यसरी जाइलाग्ने गर्दछन् । जुन विकृत बन्दै गएको राजनीतिबाट सृजित परिणाम हो ।


भर्खर

0