कोभिडको पीडामा एक अनुभूति « Khabarhub
Logo
७ मंसिर २०७७, आइतबार

कोभिडको पीडामा एक अनुभूति



झण्डै एक वर्षअघि, सन् २०१९ को डिसेम्बरमा, चीनको बुहानलाई मुहान बनाएर तरङ्गित कोरोना भाइरसले संसारलाई कोभिड उपहार दियो । यो कोभिड दुनियाँको लागि महापीडक त भएकै छ, साथै पीडितलाई अस्पताल र स्वास्थकर्मीहरूका कारण सृजित पीडाले थप दुःखित बनाउँदो रहेछ ।

अस्पताल र स्वास्थकर्मी बिरामीको पुनर्जीवनको लागि मन्दिर तथा भगवानतुल्य मानिन्छन् । त्यसैले, कोभिड संक्रमणको प्रारम्भिक कालमा स्वास्थ्यकर्मीहरू पुजनीय मानिए । उनीहरूलाई दुश्मनविरुद्धको घम्साघम्सी लडाइँको युद्धभूमिमा अग्रस्थानमा लडिरहेका साहसी लडाकुजस्तै सम्झेर हिरोको उपाधि पनि दिइयो । अस्पतालका भित्ताहरूमा अंग्रेजी भाषामा ‘हिरो वर्क हियर’ लेखिएका ब्यानर झुन्ड्याइएका थिए । अझै पनि छन् ।

सरकारी अस्पताल व्यवस्थापकीय कमजोरीका कारणले समस्याग्रस्त छन् । यी सारा अव्यवस्थाको सिकार चाहिँ सामान्य नागरिकहरू भइरहेका छन् ।

लम्बिँदो महामारीसँगै उनीहरूले त्यो मनोभावना, मानसम्मान, विश्वास र साख कायम राख्न नसकेको अनुभूति भएको छ । वास्तविक अवस्था भोग्नेले मात्र खास अनुभूति गर्न सक्छ । निजी क्षेत्रबाट सञ्चालित अस्पताल महामारीको विकराल अवस्थामा पनि सेवा दिनेभन्दा कमाउने धुनमा तल्लीन देखिन्छन् । सरकारी अस्पताल व्यवस्थापकीय कमजोरीका कारणले समस्याग्रस्त छन् । यी सारा अव्यवस्थाको सिकार चाहिँ सामान्य नागरिकहरू भइरहेका छन् ।

विशेषगरी राजधानी शहर काठमाडौँका घोषित कोभिड अस्पतालका स्वास्थ्यकर्मीले अस्पताल खोज्दै आत्तिँदै आशावादी भएर उनीहरूसम्म पुगेका कोरोना संक्रमित सिकिस्त बिरामी र उसका आफन्तसँग असंवेदनशील र गैरजिम्मेवारीपूर्णरूपमा प्रस्तुत भए । एकै पटक धेरै जना स्वास्थ्यकर्मीले एउटै लयमा ‘बिरामीको अवस्था नाजुक छ, जतिबेला जे पनि हुन सक्छ, बेड छैन, आफ्नै जोखिममा राख्ने भए जुनसुकै बेला बिरामीलाई जे भए पनि कुनै आपत्ति जनाउने छैन’ भन्ने व्यहोराको कागज आफन्तसामु हस्ताक्षरका लागि तेर्स्याउँछन् ।

कोरोना संक्रमित बिरामीहरू राख्ने वार्डमा बस्ने गरी स्वाब परीक्षण र उपचारका लागि रकम धरौटी राखी स्वव्यवस्थापनमा कुरुवा बस्नुपर्ने र बिरामीको उपचारका लागि ठूलो परिमाणमा रकम धरौटी राख्नुपर्ने पूर्वशर्त शर्त राखिएको हुन्छ ।

जनताको रगतपसिनाको अंश कर उठाएर, गरिब नागरिकको नाममा प्राप्त वाह्य सहयोग खर्चेर खरिद गरिएका पिपिइ छिनछिनमा फेर्दै लगाउने अधिकांश स्वास्थकर्मीहरू सकेसम्म बिरामीलाई छुन हिच्किचाउँछन् ।

यसरी सुरुमै बिरामी र अफन्तलाई निराश पार्ने, हतोत्साहित गर्ने, पैसा जम्मा गर्न नसक्नेलाई अनेक बाहाना बनाएर पन्छाउने प्रवृत्ति छ । आफन्तहरू बिरामी लिएर एकपछि अर्को अस्पताल चाहर्न बाध्य हुनुपर्छ । यस्तो व्यवहारले बिरामी र उसका आफन्तलाई थप पीडा हुने गरेको छ । सोचौँ त, यस अवस्थामा बिरामी र उसका साथमा रहेको आफन्तको अवस्था कस्तो होला !

यी सबै बाधा, व्यवधान र चुनौती सामना गर्दै कथंकदाचित बिरामी भर्ना भएमा पनि उपचारमा लापरबाही र बेवास्ता पनि हुने गरेको छ । यस्तो व्यवहार र प्रवृत्तिले बिरामी र उसका आफन्त किंकर्तव्यविमूढ हुँदै त्रासमा तड्पिने क्रम निरन्तर चलिरहन्छ ।

जनताको रगतपसिनाको अंश कर उठाएर, गरिब नागरिकको नाममा प्राप्त वाह्य सहयोग खर्चेर खरिद गरिएका पिपिइ छिनछिनमा फेर्दै लगाउने अधिकांश स्वास्थकर्मीहरू सकेसम्म बिरामीलाई छुन हिच्किचाउँछन् । बिरामीका आफन्त जोसँग मुश्किलले हातमा पन्जा, मुखमा मास्क र स्यानिटाइजरमात्र छ, उसलाई अशक्त संक्रमित बिरामीको स्याहारसुसार गर्न अह्राउँदा संक्रमणको जोखिम बढिरहेको छ ।

यस्तो हण्डर भोग्दै महँगो खर्चमा निजी अस्पतालमा उपचार गराएर बिरामीको अवस्था सामान्य हुँदै जाँदा बिरामीको स्याहारसुसार गर्ने आफन्तहरू चाहिँ आइसोलेसनमा बस्नु परेको छ । कोभिड संक्रमित बिरामीको स्याहार आफन्तले नै गर्नुपर्ने तर मृत्यु भएपछि भने आफ्नो परम्पराअनुसार अन्त्येष्टी गर्न नपाउने नियम छ ।

मृतकका आफन्तलाई छेउछाउसम्म जान पनि संवेदनहीन ढङ्गले बन्देज लगाइएको छ । दुई मिटरको भौतिक दूरीमा जिउँदो संक्रमितबाट नसर्ने रोग मृत शरीरबाट चाहिँ टाढैबाट सर्ने ठानेर स्वास्थ्य प्रोटोकल बनाइएको छ । यसमा कहिँकतै तादात्म्य देखिँदैन । यस्तो मापदण्ड संशोधन गरेर वस्तुगत एवं विश्वसनीय बनाउन जरुरी छ । महामारीबाट प्रताडित निमुखा नागरिकको हदैसम्म हुर्मत लिने गतिविधि बन्द हुनुपर्छ ।

कोरोना महामारी व्यवस्थापन र यसका लागि गरिएको खर्चको प्रभावकारिता र औचित्यमाथि प्रश्न खडा भएको छ । यस्तो लापरबाही र गिर्दो मानवीय संवेदनाका कारण उत्पन्न निराशाजनक अवस्थाको असरका बारेमा बेलैमा ध्यान पुर्‍याउन आवश्यक छ । स्वास्थकर्मीले पाएको ‘हिरो’ सम्मान, सामाजिक मर्यादा र अपेक्षा, व्यावसायिक जिम्मेवारी र मूल्यमान्यता कायम राख्न पनि उत्तिकै आवश्यक छ ।

स्वास्थ्यकर्मीले पनि बिरामीको स्वास्थ्य अवस्थाअनुरूप सकरात्मक काउन्सेलिङ र व्यवहार गर्न सक्नुपर्छ । बिरामीका आफन्तलाई ढाडस र आडभरोसा दिँदै विश्वास दिलाउन सक्नुपर्छ । त्यसैले त भनिन्छ नि, बिरामीको आधा रोग त औषधि सेवन नगर्दै चिकित्सकको असल व्यवहारले नै निको हुन्छ ।

सेवा प्रदायक स्वास्थ संस्था र व्यवस्थापनका पनि सीमा र बाध्यता होलान् । बिरामीको उच्चचाप र कार्य बोझका कारण स्वास्थकर्मीमा थकान र दिक्दारी उत्पन्न हुँदो हो । यसको उपयुक्त व्यवस्थापन गरी आफ्नो व्यावसायिक धर्म आत्मसात गर्नुको विकल्प पनि त छैन । प्रतिकूल परिस्थिति त आफ्नो विशेष पहिचान र क्षमता देखाउने मौका पनि हो ।

मिडियामा व्यक्त हुन थालेका आम अनुभवका नमिठा प्रतिक्रियालाई प्रतिशोध वा नकारात्मक ढङ्गबाट ग्रहण नगरी त्यसउपर बेलैमा ध्यान पुर्‍याउन आवश्यक छ । होइन भने सर्वसाधारणमा उत्पन्न हुने आक्रोशले अकल्पनीय क्षति गर्न सक्छ । एक्काइसौँ शताब्दीको मानव सभ्यताले अपेक्षा गरेअनुरूप मानवीयता प्रवर्द्धन गरौँ ।

(लेखक लमजुङ निवासी हुन् ।)


भर्खर

0