असम्भव भन्ने कुरा हाम्रो शब्दकोशमा छैन | Khabarhub Khabarhub

असम्भव भन्ने कुरा हाम्रो शब्दकोशमा छैन



नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् डा. चन्द्र भण्डारी । ‘राष्ट्र र राज्य निर्माणमा विश्वव्यापीकरणको प्रभाव’ मा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका नेता भण्डारी नेपाली कांग्रेसमा युवा नेताहरूको समूह बनाएर काम गरिरहेका छन् । कांग्रेसका ‘१२ भाइ’ भनेर पछिल्लो समय समूह निर्माण हुँदा भण्डारीसहितका अन्य युवा नेताहरू यो समूहमा छन् ।

पार्टीमा सभापति शेरबहादुर देउवाको कार्यशैलीका विषयमा असन्तुष्टि बढेको छ । आगामी महाविधेशनको मितिसमेत सार्ने तयारी देखिएको छ । महाधिवेशनको मिति सार्नकै लागि कांग्रेसले यही १७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टीमा महाधिवेशन सार्न नहुने मत बलियो देखिएको छ । आगामी नेतृत्व युवा पुस्ताको भन्ने चर्चा निकै घनिभूत छ । यही सेरोफेरोमा नेता भण्डारीसँग खबरहबका अमृतराज काफ्लेले कुराकानी गरेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशन फागुनमा नहुने त निश्चित भइसक्यो होइन त ?

विगतमा प्रजान्त्रिक आन्दोलनमा लामो लडाई लड्नु भएका दिलदार र भद्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ताको राजनीति सुरु भएपछि सिंगो पाटीको नेता बन्न सक्नु भएको छैन । गुट उपगुटमा लाग्नु भएको छ तसर्थ के गर्नु हुन्छ अनुमान गर्न अफ्ठ्यारो भएको छ । यसको आधिकारिक जवाफ दिने व्यक्ति पार्टी सभापति शेरबहादुर देउवा हुनुहुन्छ ।

फागुनमा हुने भनिएको महाधिवेशनकै विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको छ, त्यसले के निर्णय गर्ला ?

केन्द्रीय समितिको बैठकमा देशका सम्पूर्ण मुद्दा र पार्टीको आन्तरिक विषयमा समेत छलफल गर्नुपर्ने आवश्यकता छ ।

वैकल्पिक विधिबाट महाधिवेशन गर्नुपर्छ भनेर कांग्रेसका युवा नेताहरूले भन्दै आएका छन्, त्यो कति सम्भव छ ?

असम्भव भन्ने कुरा हाम्रो शब्दकोशमा छैन । अर्को कुरा, केन्द्रीय समितिको बैठकबाट नै हामी कुन विधि अपनाउने भन्ने निष्कर्षमा पुग्ने हो भन्ने मेरो विश्वास छ ।

महाधिवेशनबाट अहिलेको नेतृत्व विस्थापन गर्नुपर्छ भनेर तपाईंहरूले भन्दै आउनुभएको छ । त्यो कति सम्भव देख्नुभएको छ ?

हालको नेतृत्व विस्थापन आफैँमा गम्भीर विषय हो । नेतृत्व विस्थापनका विभिन्न कारण हुन्छन् । सबैभन्दा ठूलो कारण समय र वातावरण हो । अहिलेको समयले आफैँ नेतृत्व विस्थापनलाई इन्क्यूबेट गरेको छ ।

महाधिवेशनपछिको नेतृत्वका विषयमा युवा समूहले केही छुट्टै तयारी गरेको छ कि अहिलेकै नेताहरूसँग बार्गेनिङ गरेर पदमात्रै लिने रणनीति हो ?

महाधिवेशन सम्बन्धमा व्यक्तिगत तह, सामूहिक तह र सम्पूर्ण पार्टीको तहगतरूपमा सबैले आआफ्नो रणनीति र योजना तयार पारेर ब्लु प्रिन्ट अगाडि राखिसकेका छन् । बार्गेनिङ सिस्टम पूँजीवादको एउटा अवयव हो । जसलाई आजको पोस्ट कोभिड र पोस्ट क्यापिटलिस्टको परिस्थितिमा पनि प्रयोग गरिन्छ भन्ने मलाई लाग्दैन । युवा जोश र सोच भएकाहरूले नयाँ रणनीति अपनाउलान्, उनीहरू खुइलिसकेको बार्गेनिङमा जाँदैनन् ।

अहिले पुरानै महाधिवेशन प्रतिनिधि राखेर १४औँ महाधिवेशन गरौँ भन्ने प्रस्ताव समेत वरिष्ठ नेताले प्रस्तुत गरेको सन्दर्भमा तपाईंको धारणा के छ ?

समय रकेटको स्पिडले अगाडि बढेको छ । कोभिडले त झन् पहिलाका सबै किसिमका हाम्रा सोच र अवधारणा खारेज गरिदिएको छ । यस अवस्थामा पनि पुरानै रसिदका आधारमा, पुरानै सोच र अवधारणाहरू अँगालौँ भन्ने हाम्रो नेतृत्वको सोच स्वतः खारेज भएको म ठान्दछु ।

अहिले हुमन इन्टलिजेन्टको ठाउँ पनि आर्टिफिसियल इन्टलिजेन्टले लिइरहेको अवस्थामा हाम्रा नेताहरूले हात उठाएका भरमा नेतृत्वमा पुग्छु भन्ने सोच्नु पुरातन चिन्तन हो ।

कांग्रेसले आफ्नो इतिहास रक्षाको लागि संवैधानिक अङ्गमा भाग होइन स्किल खोज्नु पर्दछ । विधिको पालना गराउनु पर्छ । कांग्रेसको आवाज लाउड स्पिकरविनै देशैभर जनताको पक्षमा दन्किनु पर्थ्यो।

वरिष्ठ नेताको प्रस्ताव चित्तबुझ्दो नभए तपाईंहरूको विकल्प के हुनसक्छ ?

हाम्रो पार्टी भनेको मासबेस्ड हो, जहाँ कुनै पनि किसिमको सिण्डिकेट हुनुहुँदैन भन्ने मेरो मान्यता छ । साधारणभन्दा साधारण सदस्यले पनि सभापतिमा आफ्नो विचारको प्रतिनिधित्व भएको म देख्न चाहन्छु ।

गत महाधिवेशनबाट अहिले आउने महाधिवेशनका लागि योग्य र दृढ निश्चयी युवा साथीहरू आफ्ना सबै क्वालिफिकेसनहरूको सर्टिफिकेट साथमा लिएर हाम्रो पार्टीको क्रियाशील सदस्यता लिएर नयाँ जोसका साथ पार्टी प्रवेश गर्न र महाधिवेशनमा सहभागी हुन चाहन्छन् ।

उनीहरूलाई यो या त्यो नाममा तगारो तेस्र्याएर नयाँ सोचको भेल म रोक्न चाहन्नँ । रोकियो भने बितण्डा मच्चाउँछ ।

कतिपयले सरकारले गरेका गलत कामको खबरदारी गर्नुपर्ने बेलामा कांग्रेस आफैँभित्र विवाद गरेर बसेको छ भन्ने आरोप लागेको छ, यसमा के भन्नुहुन्छ ?

प्रजातन्त्रको सुन्दर पक्ष भनेकै संख्यात्मकरूपमा सरकार र प्रतिपक्षको भूमिका निर्वाह गर्न पाउनु हो । जनताले विश्वास गरेर कांग्रेसलाई प्रतिपक्षको भूमिकाका लागि चयन गरेका हुन् । अहिले सदन र सडक दुवैमा कांग्रेसको बोली लाउड स्पिकर विनै देशैभर जनताको पक्षमा दन्किनु पर्दथ्यो ।

विगतदेखि काण्डै काण्डको दलदलमा फस्दा प्रतिपक्ष मौनजस्तो दोखियो । जनताको स्वास्थ्यजस्तो विषय र कतिपयले निराश भएर आत्महत्या रोजिरहेको समयमा एक दुई पदको लागि बार्टर गरेर आफ्नो ओठमा जिप लगाएर प्रतिपक्ष बस्नु हुँदैन । कांग्रसले आफ्नो इतिहास रक्षाको लागि संवैधानिक अङ्गमा भाग होइन स्किल खोज्नु पर्छ । विधिको पालना गराउनु पर्छ ।

कांग्रेसभित्र गुटैगुट मात्रै भए भन्ने पनि गरिन्छ, के अब नेतृत्व विस्थापन गर्ने वा नेतृत्व परिवर्तन हुनुपर्ने बेला आएको हो ?

एक व्यक्तिले एउटा विचार निर्माण गर्दछ । त्यही विचारको सर्मथन वा विपक्षमा मानिसहरू जोडिँदै जान्छन् र समूह बन्दै जान्छ । त्यसलाई नै हाम्रो समाजले गुटको संज्ञा दिएको छ, जुन आफैँमा नराम्रो होइन । नेतृत्व परिवर्तनले मात्रै न मेरो, न मेरो समूहको, न मेरो पार्टीको, न जनताको, न सम्पूर्ण राष्ट्रमा कुनै प्रभाव पार्न सक्छ ।

ट्रान्सफरमेशन अफ लिडरसिप भन्ने मेरो मान्यता छ । जसका सिफ्टिङ होइन सोल्जरिङ हुनुपर्छ । वर्तमान नेपालको नेतृत्वको परिभाषाको जिनमा नै खराबी छ । देश निर्माण होइन गुट र परिवार निर्माणको जिनले उनीहरूको सोचमा राज्य गरेको छ । त्यसकारण ट्रान्सफरमेसन अफ लिडरसिप भन्नु परेको हो ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?

नेपाली जनताले धेरै ठूला साइकोलोजिकल र डरलाग्दा युद्धको सामना गर्दै आएका हुन् । तिब्बतसँगको लडाइँ, अंग्रेजसँगको लडाइँ, राणा र राजासँगको लडाइँ, विनाकारण माओवादीले जनता मार्ने हिंसा जनताले किन सहेको भन्ने महत्वपूर्ण प्रश्नको जवाफ देशको रक्षा र विकासका लागि थियो ।

आज आएर हेर्दा देश र जनताले कुनै पनि उपलव्धि हासिल गर्न सकेनन् । युवाले विदेशमा बोरा बोक्ने, चेलीको बेचबिखन, पार्टीको नाममा जे गर्न पनि छुट ! न धर्म, न संस्कृति, न सम्बन्ध, न इतिहास ! केवल बाहिरियाहरूको नाङ्गो नाच !

अब सञ्चारकर्मी र सबै जनताले सोध्ने समय भयो । हे, नेता हो ! तिमीहरू यति लामो समय विभिन्न नाममा सत्तामा राज गरिराखेका छौ, आज तिमी जवाफ दिनु पर्दछ देश र जनतालाई ।

अन्तर्राष्ट्रिय क्षेत्रमा मेरो पासपोर्टको मूल्य कति हो ? मेरो टोपीको मूल्य कति हो ? मेरो सगरमाथाको मूल्य कति हो ? मेरो लुम्बिनीको मूल्य कति हो ? नेपालीलाई वीर गोर्खाली पहिचान दिलाउने गोर्खालीको मूल्य कति हो ? गोर्खाली बनाउने मेरो कोदोको मूल्य कति हो ?

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ५ : २४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम