मनको प्रयोगशाला « Khabarhub
Logo
२२ श्रावण २०७७, बिहीबार

मनको प्रयोगशाला



मेरो मन सधैँ बिहान उठेदेखि राति नसुतेसम्म व्यस्त छ । कहिले नथाक्ने, कहिले सोच्न नछाड्ने । मलाई थाहा छैन, कति वर्षदेखि मैले सोच्न थालेँ वा मनलाई निरन्तर घुमाउँन थालेँ । ब्युझिँदा चेतन मनमात्रै होइन सपनामा पनि अचेतन मनले काम गरी रहने । चाहिने, नचाहिने सबै सोच्ने ।

मनको काम सोच्ने मात्र होइन, महसुस गर्ने, कल्पना गर्ने, विगतको कुरा वा धेरै कुराहरू सम्झनामा राख्ने, कुनै कुरा वा वस्तुप्रति धारणा बनाउने आदि इत्यादि हो । मेरो मनमात्रै होइन, सबैको मन त्यस्तै चञ्चल हो । अर्थात, मनको प्रकृति नै त्यस्तो हो ।

मेरो मन छ र म अस्तित्वमा छु । मन छ र हामी मानिस सबैभन्दा चलाख प्राणी भएको छ । यो नदेखिने अदृश्य चञ्चल मन मानिसको जीवनको एउटा महत्वपूर्ण भाग हो, जुन हरेक समय सक्रिय हुन्छ । म सोच्छु, त्यसो भए मेरो मन कहाँ छ ! भनिन्छ दिमागमा मन हुन्छ । त्यसो भए दिमाग र मन एउटै हो ?

मेरो मन राम्रो कुरा मात्र सुन्न खोज्छ । मानिसको चरित्र नै यस्तै हो । हामी राम्रो मित्र वा असल मानिस मात्रै भेट्न खोज्छौँ । हाम्रो मन पनि आफ्नो मनको शत्रुलाई हेर्न चाहँदैन । मनलाई नियन्त्रणमा राख्न र जीवनमा सफल हुन मनको शत्रु पहिचान गर्नुपर्छ । राम्रो वा नराम्रो सबै सोचाइसँग परिचित हुनुपर्छ ।

हो, साधारणतया मन र दिमाग दुई शब्द उस्तै अर्थमा प्रयोग गरिन्छन् । अनि, मनसँग सम्बन्धित अर्को शब्द छ आत्मा ? आत्मालाई के भन्ने ? कहाँ हुन्छ आत्मा ? आत्मा पनि मेरो शरीर भित्रै छ । तर, ठ्याकै भन्न सकिँदैन हाम्रो शरीरभित्र कहाँ हुन्छ आत्मा ।

सधैँ उस्तै हुँदैन मेरो मन । मेरो विचारमा समय, परिस्थिति, वातावरण, सोचाइ, भावना, मानिसको पृष्ठभूमि इत्यादि अनुसार मानिसको मन बदलिन्छ । हो, त्यसरी नै मेरो मन पनि कहिले हल्का हुन्छ र कहिले निकै गह्रौँ हुन्छ । कहिले सबैलाई आफ्नो देख्छ, कहिले आफ्नैलाई बिरानो देख्छ । कहिले खुसीले रमाउँछ, कहिले दुःखमा अमिलो हुन्छ ।

मेरो मनले मलाई जे भने पनि मेरो मनको भारी बोक्ने म आफैँ हुँ । मेरो मनको भारी बिसाउने पनि मैले नै हो बिसाउने । मेरो मन नियन्त्रण गर्ने पनि म आफैँले हो । मनलाई आफ्नो काबुबाहिर जान दिने वा नदिने म आफैँले हो । जसले मनको भारी ठिक तौल नापेर बोक्न सक्छ र समयमा ठिक ठाउँमा बिसाउन सक्छ, उही खुसी, सुखी र सफल हुन्छ । मेरो मन नै हो मलाई खुसी र आनन्द दिने ।

दिनेश अधिकारीको शब्द र नातिकाजीको संगीतमा तारादेवीले गाएको ‘सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन’ भन्ने गीत जस्तै हुन्छ मानिसको जीवन ।

सबैले सबै कुरा सोचेजस्तो गरी उपलब्ध हुँदैन । नसोचे पनि कहिलेकाहीँ भइदिन्छ । कहिले चाहेको भन्दा पनि राम्रो हुन्छ त कहिले सोचेको भन्दा धेरै नराम्रो पनि ।

ध्यानले भित्री मनमा जागरण गराउँछ र मनलाई चाहिने आवश्यक प्रकाश दिन्छ । मानिसले भित्री मनलाई सुक्ष्मरूपमा अध्ययन गर्नु जरुरी छ । आफ्नो मनको प्रयोगशालामा आफैँलाई परीक्षण गर्नुपर्छ । आफैँलाई आफू भित्र खोज्नुपर्छ । अनिमात्र आफूबाट आफू बुझिन्छ र आफ्नो मन पनि बुझिन्छ ।

कहिले धेरै सोचे पनि सोचेजस्तो हुँदैन जीवन । त्यसैले मनले सोच्दैमा केही उपलब्धि भइहाल्दैन । मनले नसोची पनि केही हुँदैन । काम गर्नुभन्दा पहिले राम्रोसँग सोच्नु आवश्यक हुँदोरहेछ ।

मेरो मन राम्रो कुरा मात्र सुन्न खोज्छ । मानिसको चरित्र नै यस्तै हो । हामी राम्रो मित्र वा असल मानिस मात्रै भेट्न खोज्छौँ । हाम्रो मन पनि आफ्नो मनको शत्रुलाई हेर्न चाहँदैन । मनलाई नियन्त्रणमा राख्न र जीवनमा सफल हुन मनको शत्रु पहिचान गर्नुपर्छ । राम्रो वा नराम्रो सबै सोचाइसँग परिचित हुनुपर्छ ।

हामीलाई रिस उठ्यो भने रिससँग लड्ने होइन, रिसलाई बुझ्ने हो । हामी सबैलाई थाहा छ, मानिसको लागि रिस एकदम नराम्रो कुरा हो तर पनि रिस उठ्छ ।

जसलाई रिस उठेको छ, उसैले आफ्नो रिसको पहिचान गर्ने हो । उसैले आफ्नो रिस नियन्त्रण गर्ने हो । कसैले आफ्नो रिस आफ्नो काबुमा राख्छन्, कसैले राख्न सक्दैनन् । जसले आफ्नो मनको तरङ्ग हेर्न सक्छ र बुझ्न सक्छ, उसले मात्र रिस नियन्त्रणमा राख्न सक्छ ।

मनमा धेरै कुरा खेल्दा अक्सर जानी वा नजानी म आफ्नो मनसँग लड्छु । मनमा निरन्तर एकपछि अर्को, अर्कोपछि अर्को गर्दै अनेकौँ तर्क–वितर्कहरू आउँछन् । म आफ्नो मनमा आउने आँधीबेहरीसँग लड्न खोँजे भने म मनको आँधीसँगै बढारिन्छु र आफैँभित्र हराउँछु ।

मलाई लाग्छ, जीवनमा सफल हुन आफ्नो मनसँग लड्ने होइन । बरु, मनमा आउने अनेक विचारहरूलाई साक्षी भावले हेर्ने हो । मनमा विचार आउँछन् र जान्छन् । कुन विचारलाई कसरी नियन्त्रण गर्ने वा ती विचारबाट के ग्रहण गर्ने, त्यो आफ्नो क्षमताको कुरा हो । त्यो क्षमताको विकास पनि म आफैँले गर्ने हो ।

मैले बाहिरी संसारमा जति पढे पनि, जति डिग्री लिए पनि त्यो केवल बाहिरी संसारकै ज्ञान हो । बाहिरी ज्ञानले दुनियाँ, जगत, विज्ञान, राजनीति, भूगोल, विश्व आदि चिनाउँछ । अध्यात्मले मनको ज्योति बल्छ र चारैतिर प्रकाश दिन्छ । चेतन मनले मानिसलाई भित्री ज्ञान र प्रज्ञा दिन्छ ।

मेरो मनप्रति म नै सचेत भइनँ भने अरू कोही पनि सचेत हुने कुरै आउँदैन । हरेक मानिस सबैभन्दा पहिले आफू, आफ्नो मन र कर्मप्रति सचेत हुनु जरुरी हुन्छ ।

जबसम्म आफैँमा जागरण भाव आउँदैन, तबसम्म आफूले आफैँलाई चिन्न सकिँदैन । सही अर्थमा, जागरण नै सकारात्मक परिवर्तन हो । जसरी जीवन गतिशील हुन्छ त्यसरी नै परिवर्तन पनि गतिशील हुन्छ । आफैँले आफैँलाई बुझ्न र आफ्नो मनलाई बुझ्न अध्यात्म र ध्यान जति सहयोगी अरू केही पनि हुन सक्दैन ।

मैले बाहिरी संसारमा जति पढे पनि, जति डिग्री लिए पनि त्यो केवल बाहिरी संसारकै ज्ञान हो । बाहिरी ज्ञानले दुनियाँ, जगत, विज्ञान, राजनीति, भूगोल, विश्व आदि चिनाउँछ । अध्यात्मले मनको ज्योति बल्छ र चारैतिर प्रकाश दिन्छ । चेतन मनले मानिसलाई भित्री ज्ञान र प्रज्ञा दिन्छ ।

ध्यानले भित्री मनमा जागरण गराउँछ र मनलाई चाहिने आवश्यक प्रकाश दिन्छ । मानिसले भित्री मनलाई सुक्ष्मरूपमा अध्ययन गर्नु जरुरी छ । आफ्नो मनको प्रयोगशालामा आफैँलाई परीक्षण गर्नुपर्छ । आफैँलाई आफू भित्र खोज्नुपर्छ । अनिमात्र आफूबाट आफू बुझिन्छ र आफ्नो मन पनि बुझिन्छ ।

म पनि आजकाल हरेक दिन आफू र आफ्नो मन बुझ्ने प्रयास गर्दैछु । तपाईं पनि गर्दै हुनुहुन्छ होला । छैन भने त्यस्तै प्रयास गर्नुहोस् । आजै थालेर केही दिनमा परिणाम हेर्नुहोस् ।


भर्खर

0