लोकगायक एलपी जोशी : पाको उमेरको तन्नेरी आवाज | Khabarhub Khabarhub

लोकगायक एलपी जोशी : पाको उमेरको तन्नेरी आवाज



झापाको दमकस्थित जोशी चौकमा अक्सर मानिसहरु ८४ बर्षीय एलपी जोशीको वरिपरी झुमिन्छन । कारण हो उनको चर्चित आवाज ।

उमेरले नै बताउँछ जोशीलाई बुढ्यौली लागिसकेको छ । चाउरी परेका गाला र सेताम्मे कपालले समेत त्यसको संकेत गर्छ ।

तर जोशीको आवाज बुढ्यौली भन्नेहरुका लागि बलियो पर्खाल सरह हो । हार्मोनी र माइक भेटे भने उनी अहिले पनि तन्नेरीहरुलाई मात खुवाइदिन्छन ।

अर्थात उही शैली, उस्तै स्वर अनि उत्तिकै तगडापनका साथ लोकगायक एलपी जोशी अहिले पनि लोक गीतका पारखीको प्यास मेटाउन सक्षम छन् । नभन्दै उनले गाईहाले ।

‘ओल्लो खोलो पल्लो खोलो
कमिलाको गोलो भनेर
हो राना ज्यू, कमिलाको गोलो भनेर ।

च्याट्टै पारी सिइदेउ दर्जी
च्याट्टै पारि सिइदेउ दर्जी
कान्छी ल्याउने चोलो भनेर हौ राना ज्यू कान्छि ल्याउने चोलो भनेर ।’

कान्छी ल्याउने चोलो सिउन दर्जीलाई विन्ती गरिरहेका जोशी बुढेसकालमा बरु एक्लै छन् । उनले कान्छी ल्याउने हिम्मत गरेनन् । श्रीमती विन्दालाई गुमाएपछि उनी ८ बर्षदेखि एक्लै जीवन गुजारिरहेका छन ।

नजरबन्ददेखि सुप्रसिद्ध लोकगायकसम्म

नेपाली लोकसंस्कृतिलाई टपक्कै आफ्नो भाकामा टिप्न सिपालु गायक जोशीका ४०/४५ वटा लोकगीत सबैजसो नै चर्चित बने ।

परिणामतः उनले २०५९ सालमा रेडियो नेपालबाट सुप्रसिद्ध लोकगायकको उपाधी पाए । त्यतिबेला हर्षले उनका आँखा टिलपिलाए ।

हिन्दी भजन गाएर सांगितिक यात्रा शुरु गरेका जोशीलाई लागेको थिएन कि सुप्रसिद्ध लोक गायक नै बन्छु भन्ने तर उनी त्यही उपाधीबाट सम्मानीत भए ।

‘बुवाले भजन गाएको देखेर १५/१६ बर्षमै हार्मेनिमा हात बसाउँदा लागेको थिएन मेरो सांगीतिक क्षेत्रकै ढोका खुल्यो । तर भइदियो त्यस्तै जुन मैले सोचेकै थिइन ’ उनले भने ‘त्यसपछिका दौडधुपले सायदै मात्र साँस्कृतिक कार्यक्रमहरु छाडे ।’

उनी जहाँ जहाँ जान्थे गीत गाउने इच्छा राखिहाल्थे । धनकुटामा जन्मिएका जोशीको मावली घर धरान ।

मावली पुग्दा उनले त्यसबेला चर्चामा रहेको शेर्पा भाषाको गीत समेत छाडेनन् । अर्थै नबुझे पनि उनले सोयाला बोलको गीत गाएर साथिसंगिलाई चकित पारे ।

कसैमाथि पनि अन्याय र अत्याचार भए खुलेर लड्नुपर्छ भन्ने हक्की स्वभावका थिए जोशी । त्यसैले त उनी २०१३ सालमा इलामको जेलमा ४ महिना नजरबन्द पनि परे ।

कारण थियो इलाम हाइस्कूलका प्रधानाध्यापक डीवी गौतमलाई विना कारण गरिएको गिरफ्तारी । त्यसैकाबिरुद्ध लड्दा उनी जेल पुगे । तर ४ महिनामै छुटे ।

सम्मान ग्रहण गर्दै जोशी । तस्वीर : सामाजिक सञ्जाल

महेन्द्रको राज्यभिषेकले जुराएको सुखद संयोग

जीवन नै संगीत हो भनेर व्याख्या गर्ने जोशी नजरवन्दबाट छुटेपछि पनि आफ्नो साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइरहे ।

यत्तिकैमा उनलाई तत्कालिन राजा महेन्द्रको राज्यभिषेक कार्यक्रममा जाने आउने अवसर जुट्यो । हो यही बेला उनको पहिलो गीत पनि रेकर्ड भयो ।

२०१३ सालमा रेडियो नेपालबाट रेकर्ड भएको उनको पहिलो गीत थियो ‘नेपाली माया नेपालै कस्तो ।’ गला र कलामा पनि उत्तिकै माहिर उनी चित्र बनाउन पनि पछि पर्दैनन् ।

२००८ सालमा नृत्य क्षेत्रमा प्रवेश गरेका जोशीले १० सालमा चित्रकला, १३ सालमा गायन र १६ सालमा साहित्य क्षेत्रमा प्रवेश गरेर आफ्नो प्रतिभालाई थप तिखारे । यसैकारण उनका घरका केही कोठा सम्मान र पुरस्कारले नै भरिएका छन् ।

२०१९ सालमा राष्ट्रव्यापी लोकगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रबाट स्वर्ण पदक थापेका जोशीले दर्जनौं सम्मान पाएका छन ।

लोकगीत संगीतकै क्षेत्रमा योगदान पुर्‍याएवापत २०२२ र २०२९ सालमा उत्कृष्ठ लोक गायक सम्मान, २०६७ सालमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्मान, २०६२ सालमा वाणि प्रकाशन जस्ता ख्याति प्राप्त संघसंस्थाहरुबाट सम्मान मात्र होइन अभिनन्दीत हुने अवसर पनि पाए ।

२०१३ सालमा रेडियो नेपाल प्रवेश गरेका जोशीको आबद्धता बोन्साई साहित्य प्रतिष्ठान दमक, अरुण उपत्यका साँस्कृतिक समूह, साहित्य कला संगम दमक, साहित्य चौतारी विर्तामोड, साधना कला केन्द्र धरान, दमक क्याम्पस साहित्यीक मञ्च जस्ता दर्जनौं संघसंस्थासँग आज पनि कायमै छ ।

साहित्य लेखनका समेत प्यासी जोशीले लोक गीत, लोक गजल र कविताको संगालो ‘अनावृत्ति’ २०६० सालमा नै सार्वजनिक गरिसकेका छन् ।

श्रीमतीसँगको बियोग

जीवनमा जतिसुकै हुण्डरी आए पनि सकारात्मक सोच भए अघि बढ्न सकिने भन्दै हिम्मतिलो कुरा गरेर अरुलाई उत्प्रेरणा दिन्छन जोशी ।

तर आफै निराश र दुःखी छन । श्रीमती विन्दासँगको प्रेममा पर्दा २०२५ साल चैत्र ४ गते हर्षका आँशु झारेका जोशीले विन्दालाई गुमाउँदाको क्षणको कुरा निकाल्न नपाउँदै आँखा रसिलो बनाइहाले ।

उनले भने ‘वुवाआमाको विछोडभन्दा पनि गारो भयो विन्दासँगको वियोगले ।’ अर्थात श्रीमती बिन्दालाई गुमाउँदाको त्यो क्षणले उनलाई असाध्यै पीडाबोध गराउँछ ।

२०६८ साल कात्तिक १८ गते मात्र होइन हरेक बर्षका कात्तिक १८ ले उनलाई झस्काइरहन्छ । अनि भन्छन ‘गीत मैले कान्छी ल्याउने चोली भनेर हो भनेर पनि गाए तर मलाई बिन्दाको यादले छाडेको छैन’ भन्छन् ‘बिन्दालाई खोजिरहेको छु, घरीघरी बिनायोमा लागेको जालो देख्दा उनलाई सम्झन्छु ।’

श्रीमतीसँग भाइटीकाको बेला भएको संवादले त उनलाई झनै नरमाइलो बनाउँछ । दाजुभाई टिका लगाएर उग्रिएका दुईटा माला ४ दिनसम्म पनि नऐलाएको श्रीमतीले देखाएपछि उनले श्रीमतीलाई भनेका थिए ‘राखन त भगवानलाई पनि काम लाग्छ नभए आफैंलाई पनि काम लाग्छ’ नभन्दै त्यही माला लगाएर उनले श्रीमतीलाई जीवनबाटै बिदाई गरे ।

जोशीलाई लागेको थिएन श्रीमती विन्दाले आफ्नै शवका लागि आफै माला उनेकी थिइन भन्ने । तर भइदियो त्यस्तै । श्रीमती विन्दालाई ५८ बर्षको उमेरमा नै विताउदा, गायक लक्ष्मी प्रसाद जोशी मात्र होइन जोशी चौक नै नरमाइलो मानिरहेको छ ।

दर्जनौं गीत गाउँदा पनि श्रीमतीप्रति समर्पित गर्न नपाएका जोशीले उनको मृत्युपछि ०६८ साल पुष ३ गते ‘मेरो मायाको मृत्यु शव वाहन भएर उभियो’ शीर्षकको कबिता लेखे।

मेरो गीतमा तिम्रो खुशी अब कसले दिन्छ २
बिनायोमा जालो लाग्दा कसले पुसिदिन्छ ।।

फोटोसँगै बोल्छु एक्लै मनैभरी बोल्छु
स्वर छैन झझल्कोमा झल्को बनि पोल्छु ।।

ओल्लो खोलो पल्लो खोलो न्याउली रुने पार्यौं २
रिटिङ रिटिङ बिनायोको मनै रुने पार्यौ ।।

दुबै मिली संसारलाई हेर्ने आँखा चिम्लिएर
तिम्रो जीवन मेरो माया खरानी भै उड्दै गयो
अभागी दिन कालो खबर भएर उभियो
एकाबिहानै मेरो मायाको मृत्यु शव बहान भएर उभियो ।।

दैबले हान्या बज्र कस्ले रोक्न सक्छ २
नियतीको भाग्य रेखा कस्ले छेक्न सक्छ ।।

आफ्नै मुटु फुट्दा पनि बाँच्नु पर्दो रैछ २
मायाले मायाले नै साँच्नुपर्दो रैछ ।

यतिबेलाको जोशीको जीवन विगत भन्दा फेरिएको छ । जोशी चौकको किराना पसलमा आफ्नी अर्धाङ्गिनीसँगै देखिने जोशी अहिले श्रीमतीको यादलाई पसलमै राखिएको फोटोमार्फत भुलिरहेका छन अझ बर्षमा एक दिन श्रीमती विन्दाको नाममा स्थापना गरिएको अक्षयकोष मार्फत उनी सष्टालाई पनि सम्मान गरिरहेका छन ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ८ : १५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम