सगरमाथा चढेपछि पूरा भयो सानैदेखिको क्षितिज छुने सपना

एकराज बास्तोला

शनिबार, भदौ १४, २०७६

Reading Time: 5 minutes

सगरमाथा चढेपछि पूरा भयो सानैदेखिको क्षितिज छुने सपना

काठमाडौं– सानै उमेरदेखि ल्हाक्पा शेर्पा नयाँ क्षितिजको खोजी गर्न चाहन्थे । सन् १९९८ मा भरियाका रुपमा पर्वतारोहण एवं साहसिक क्षेत्रमा काम थालेपछि बच्चा बेलाको उनको सपना विस्तारै पूरा हुन थाल्यो । त्यसयता उनले नयाँ नयाँ हिमाल र नयाँ क्षितिजको खोजि गरिरहेका छन् ।

सन् २००३ यता ल्हाक्पाले हालसम्म ६ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसकेका छन् । उनको लागि पहिलो आरोहणले भने नयाँ उत्साह प्रदान गरेको थियो । ‘हो, मलाई विश्व नै विजय गरेको महशुस भइरहेको थियो,’ उनले विगत सम्झिए ।

कुनै विजेता वा नायकजस्तो उनको छाती चौडा हुन्छ । बाल्यकालको सपना पुरा भएको उनका लागि त्यो क्षण जीवनभर अविष्मरणीय रहनेछ ।

त्यसबेला उनको हर्ष अर्कोस्तरमा थियो । ‘जब तपाईं त्यहाँ पुग्नुहुन्छ, तपाईं अर्कै उत्साहको महशुस गर्नुहुन्छ । त्यहाँ तनाव पनि कम हुनेरहेछ,’ निकै गौरवका साथ उनी भन्छन् ।

उनको यात्रा त्यहाँमात्र रोकिएन । उनले चो ओयू, डेनाली हिमाल, मोन्ट ब्लाँक, मकालु हिमाल, धौलागिरी हिमाल, मनास्लु हिमाल र अरु धेरै हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।

‘हरेक हिमालका आ–आफ्ना कथाहरु हुन्छन्’ उनी भन्छन् । उनका अनुसार हिमालको उचाईंले केही फरक पर्दैन । उनका लागि उनले आरोहण गरेका हरेक हिमालले उनलाई अझ अघि बढ्न उत्तिकै प्रेरित गरिरहेका हुन्छन् ।

उनका अनुसार हिमाल आरोहणबाट निकै उत्कृष्ट अनुभूति प्राप्त हुन्छ । सगरमाथाबाहेक अरु हिमालले आरोहीलाई नयाँ चुनौती र अनुभव प्रदान गर्छन् । सगरमाथामा सरकारले नै डोरी टाँगिदिएका कारण आरोहीहरु केबल डोरीको पछि लाग्ने गरेका छन् ।

उनी दक्षिण रुटबाट सगरमाथाको शिखरमा पुग्नका लागि दस्तावेज तयार पार्न ३६० डिग्री क्यामेरा लिएर अध्ययनका लागि गएको टोलीको सदस्य समेत हुन् ।


भर्चुअल पर्वतारोहण निर्माणका लागि स्विट्जरल्याण्डका हिमाली खेलकुद विशेषज्ञ मामुटको परियोजना उनको नेतृत्वमा अघि बढेको थियो । उनको टिममा पेम्बा रिन्जी शेर्पा, कुशाङ शेर्पा र आङकाजी शेर्पा पनि सहभागी थिए । यहीकारण उनी र उनको टिम पूरै दक्षिणी रुटलाई ३६० डिग्री क्यामेरामा कैद गर्ने पहिलो आरोही बन्न पुगे ।

नेपाल पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष समेत रहेका ल्हाक्पाका अनुसार ३६० डिग्री क्यामेरा सगरमाथाको उत्कृष्ट दृश्यावलोकनका लागि मात्र होइन । ‘जो सगरमाथा आरोहण गर्न चाहन्छन, उनीहरुका लागि टेक्निक, प्याटर्न, मौसमी अवस्था र दृश्यहरुको जानकारी प्रदान गर्न ३६० डिग्री भिडियो खिचिएको हो ।’

उनी नेतृत्वको संघले हाल उच्च हिमाली उद्धार तालिम, आधारभूत हिमाली उद्धार तालिम, हिल वाकिङ एण्ड माउण्टेन न्याभिगेशन कोर्स, आइस क्लाइम्बिङ लेबल–१ र रक क्लाइम्बिङको प्रशिक्षण प्रदान गर्दै आएको छ ।

पर्वतारोहणको औपचारिक अनुमतिपत्र प्राप्त पर्वतारोहीबाट पर्वतारोहणको महत्वलाई उनी जोड दिन्छन् । उनका अनुसार तालिमप्राप्त गाइडले सुरक्षालाई अधिक महत्व दिनन्छन् । तालिम नपाएको र गैर अनुभवी गाइडहरुमा खतरनाक अवस्थामा तत्काल निर्णय गर्ने क्षमता हुन्न ।

अमेरिका र युरोपमा सरकारले हिमाली क्षेत्रलाई ठूलो प्राथमिकता दिने गरेका छन् र त्यसका लागि निश्चित नियम र मापदण्ड निर्धारण गरेका हुन्छन् । ती मुलुकहरुमा प्रमाणपत्र लिएका अन्तर्राष्ट्रिय स्तरका गाइडहरुसँग मात्र आरोहीहरु आरोहणका लागि जाने गरेका छन् ।

उनी नेपाल सरकारले भने नेपालका हिमाल र हिमालमा निर्भर मानिसहरुको हीतलाई महत्व दिन नसकेकोमा उनी केही निराश पनि छन् ।

सरकारले तालिम र सुरक्षातर्फ ध्यान केन्द्रित गर्नुपर्ने उनको सल्लाह छ । ‘सरकारले हरेक वर्ष २० जना पर्वतारोहण गाइड उत्पादन गर्न सक्नुपर्छ । नेपालमा केबल ६० तालिमप्राप्त गाइडहरु मात्र उपलब्ध छन् ।’

तालिमप्राप्त एवं अन्तर्राष्ट्रिय पर्वतारोही गाइडको प्रमाणपत्र लिएका नेपाली पर्वतारोही गाइडहरु युरोप, अमेरिका, रुस, चीन लगायतका मुलुकको भ्रमण गर्ने भएकाले तालिमप्राप्त पर्वतारोहीलाई विदेशमा समेत अवसर रहेको उनको भनाइ छ ।

उनी विश्वव्यापी तापक्रम बृद्धिका विषयमा पनि उत्तिकै चिन्तित छन् । यसले हिमाली क्षेत्रमा नकारात्मक असर पुर्‍याइरहेको उनी बताउँछन् । ‘सगरमाथामा नाङ्गा चट्टानहरु देखिन थालेकोमा म केही निराश अनुभव गर्छु,’ उनी भन्छन्, ‘केही वर्षअघिसम्म पूर्व हिमाल हिउँले ढाकिएका हुन्थे ।’

सो क्षेत्रमा कार्बन उत्सर्जनका विषयमा सरकार र सरोकारवालाले जागरुकता जगाउनुपर्ने उनको सल्लाह छ । उनी भन्छन, ‘सबै सरोबारवाला पक्षले यसबारे ध्यान दिनुपर्ने बेला आएको छ । अन्यथा निकै ढिलो हुनसक्नेछ ।’

भर्खर

0