यसकारण हार्‍यो नेपालले अंग्रेजसँग युद्ध « Khabarhub
Logo
१९ मंसिर २०७८, आइतबार

यसकारण हार्‍यो नेपालले अंग्रेजसँग युद्ध



नेपाल-अंग्रेज युद्ध नेपालीको लागि ठुलो पीडा बनेको छ । युद्ध अंग्रेज प्रशासित व्यापारिक संस्था इस्ट इन्डिया कम्पनीसँग लडियो, भारतसँग होइन । तसर्थ भारतलाई यस युद्धबारे खासै ज्ञान छैन भने, भारतले चासो पनि राख्दैन । नेपालको पीडा भारतलाई थाहा छैन । अंग्रेज र नेपालको युद्ध भयो, नेपालले झण्डै आधा भु-भाग गुमायो, फाइदा भारतलाई भयो । हाम्रो ‘इतिहास’ले हामीलाई ‘वीर’ भने पनि, अंग्रेजलाई घुँडा टेकाएर राष्ट्रियता जोगाएको भनेपनि वास्तविक इतिहासमा अंग्रेजस‘गको युद्धमा नेपालले नराम्रो हार व्यहोरेको हो ।

हाल रहेको मेची-महाकाली बीचको नेपाल रहनुमा पनि, अंग्रेजले पुरै नेपाल लिन नचाहेर नै हो । अंग्रेज नेपाललाई साम्राज्यमा गास्नुभन्दा पखेटा काटेको चरा जस्तै बनाउन चाहन्थ्यो । तत्कालिन मनोविज्ञानलाई केलाउने हो भने सुगौली सन्धि हुनु १५ दिन भित्रै अंग्रेज राजधानी काठमाडौंलाई दख्खल दिन सामर्थ युद्ध थियो । जे भयो राम्रै भयो । सुगौली सन्धिले हालको नेपाल बचायो । उक्त युद्ध नेपालीले हार्नुमा मुख्य निम्न कारण हुन सक्ने देखिन्छ :-

नेपाल एकीकरणको सिलसिलामा सन् १८०९ सम्म नेपाल काँगडामा युद्ध लडिरहेको थियो

(क) नेपाल दरबारमा निर्णायक शक्ति राजा, नाबालक भएको र त्यसपछिको शक्ति भनेको भाई-भारदारहरू नै थिए । मुख्यरुपले बस्न्यात, पाँडे र थापा खलकबीचको गुट, मारकाट, षड्यन्त्रले गर्दा राजनीतिकस्थिति भयावह थियो । राजा रणबहादुर शाहको हत्यापछि नव उदयीमान शक्तिका रुपमा भीमसेन थापाको उदय भयो । पुराना भारदार प्रति उनको सम्मान रहेन । राज्य सञ्चालनको विषयमा मत मतान्तर धेरै हुन्थ्यो ।

सोही क्रममा अंग्रेजसँग युद्ध गर्ने र नगर्ने पक्षमा बिवाद भयो । बिशेष गरी आर्थिक कारणले हात हतियारको दुर्वलताले गर्दा पुराना भारदार युद्ध नगर्ने पक्षमा थिए । तर भीमसेन थापा र उनको परिवार भने युद्ध गरी अंग्र्रेजलाई तह लगाउने पक्षमा रहे । अन्ततः युद्ध गर्ने नै निधो भयो । यसरी राष्ट्रियतहको युद्धमा राष्ट्रिय एकता नभई युद्ध गर्ने र नगर्ने पक्षमा भाई भारदार बाडिनु र युद्ध भूमिमा जानु पर्दा ‘बिहानीले दिनको संकेत गर्छ’ भन्ने चरितार्थ हुन पुग्यो । कार्यगत एकता नहुनु ठुलो कमजोरी थियो ।

(ख) युद्ध लड्नका लागि नेपालको तत्कालीन आर्थिक अवस्था कमजोर थियो । संसारमा सबैभन्दा महंगो पाटो भनेको युद्ध सञ्चालन गर्नु नै हो । नेपालले नेपाल-चीन-तिब्बत युद्धमा ठुलो क्षति र खर्च ब्यहोर्नु परेको थियो । अंग्रेजसँग युद्ध गर्नु अगाडि उक्त युद्धमा जति धन जनको क्षति नेपालमा कहिल्यै भएन । तिब्बतसँगको ब्यापारले नेपालको आर्थिक पक्ष धेरै बलियो थियो । युद्धपछि सबैै समाप्त भयो । अर्को तर्फ नेपाल एकीकरणको सिलसिलामा सन् १८०९ सम्म नेपाल काँगडामा युद्ध लडिरहेको थियो । जसका लागि नेपालको ठुलो धन राशी खर्च भैरहेको थियो । युद्धको लागि पैसा नै बलवान हुन्छ तर नेपालमा तत्काल आर्थिक अवस्था एकदम कमजोर थियो ।

(ग) युद्ध सामग्रीको कमि हुनु अर्को पक्ष थियो । अंग्रेजहरूको तुलनामा नेपालीको युद्ध सामग्रीको तुलना गर्दा अंग्रेज २ सय गुणाले बलियो थियो भने उसका हात हतियार आधुनिक थिए । यता नेपाली पक्षको भने भरुवा बन्दुक, नेपालमा बनेका सानातोप, खुकुरी, घुयन्त्रो, धनु, ढाल, तरवारजस्ता परम्परागत हतियार थिए । लड्ने फौजको जोस अनुसार हात हतियार भएको भए त्यस युद्धमा नेपालीको जीत सम्भव थियो ।

(घ) समानुपातिक रुपले बन्दोबस्तीको सहयोग नहुनु अर्को कमजोरी थियो । महाकालीदेखि गढवालसम्मको युद्धहरूमा त्यहां लड्ने कमाण्डरहरूले स्थानीय जनताबाट कर असुल गरेर र घरलौरी लड्ने सिपाही झिकाएर युद्ध सञ्चालन गरेका थिए । काठमाडौंबाट गढवाल क्षेत्र झण्डै ३५० कोस टाढा भएर पनि राम्रो बन्दोबस्तीको सहयोग हुन सकेको थिएन । अर्को शब्दमा भन्नु पर्दा यो क्षेत्रमा लड्ने सैनिक कमाण्डरहरू बहादुर शाह पक्षका र भीमसेन थापाका बिरोधीको रुपमा लिइन्थ्यो ।

पछि कुमाउँ गढवालका अंग्रेज फौज मकवानपुर, हरिहरपुरगढीको युद्धमा लड्न आए र नेपालीलाई हराई सुगौली सन्धि गर्न बाध्य बनाए । नेपाल सरकारले महाकाली पश्चिमको युद्धमा पनि राम्रो व्यवस्थापकीय सहयोग दिएको भए अंग्रेजसँग युद्ध जित्ने बलियो सम्भावना थियो

चौतारा बम शाह र बडाकाजी अमरसिंह थापासँग भीमसेन थापाको राम्रो सम्बन्ध थिएन । एक प्रकारले भन्नु पर्दा वम शाह र अमरसिंह थापा आ-आफ्नै खु्ट्टामा उभिएर युद्धको खर्च र बन्दोवस्तीको सहयोग जुटाउंदै थिए । तर बुटवल पूर्व मोरङसम्मको युद्धमा भने भीमसेन थापाको भाइहरू र भतिजाले युद्ध सञ्चालन गर्दै थिए ।

यस क्षेत्रमा नेपाल सरकारको प्रत्यक्ष र सक्दो आर्थिक र व्यवस्थापकीय सहयोग नै रहेको थियो । जसरी यस क्षेत्रमा राज्यले सहयोग प्रदान गरयो त्यसरी नै पहिलो चरणको युद्धमा अंग्रेजले सानो तिनो युद्धमा नै हार्‍यो र बुटवलदेखि मोरङसम्म नेपालले सफलता पायो । तर महाकाली पश्चिमको युद्धमा भने पहिलो चरणमै अंग्रेजको जित भयो । फलस्वरुप कुमाउँ र गढवाल क्षेत्र पुरै खाली गरी नेपाली फौज फक्र्यो र अंग्रेजको राज भयो । पछि कुमाउँ गढवालका अंग्रेज फौज मकवानपुर, हरिहरपुरगढीको युद्धमा लड्न आए र नेपालीलाई हराई सुगौली सन्धि गर्न बाध्य बनाए । नेपाल सरकारले महाकाली पश्चिमको युद्धमा पनि राम्रो व्यवस्थापकीय सहयोग दिएको भए अंग्रेजसँग युद्ध जित्ने बलियो सम्भावना थियो ।

(ङ) राष्ट्रियताको भावना नभएको सैन्य शक्तिले गर्दा पनि नेपालीलाई युद्धमा बेफाईदा पुरायो । बिशेष गरी महाकाली पश्चिमको नेपाली फौजमा करिव १० प्रतिशत खांटी नेपाली र ९० प्रतिशत स्थानीय कुमाउँली र गढवाली फौज थिए । जसलाई नेपाली हौं भन्ने भावना थिएन भने उनीहरू नेपाली भाषा पनि जान्दैनथे । आर्थिक कर अति नै तिर्नु पर्ने र जवरजस्ती सेनामा भर्ना हुनु पर्दा कुमाउँली र गढवालीलाई नेपाल प्रति वैरभाव फैलिएको थियो ।

त्यसमा पनि अंग्रेजहरूको नेपालीविरुद्धको प्रोपोगाण्डाले गर्दा उनीहरू नेपाल बिरोधी जस्तै भैसकेका थिए । युद्धको दौरानमा हजारौ कुमाउँली र गढवाली नेपाली सेना भागेर गई अंग्रेजको फौजमा भर्ना भए भने तिनीहरूनै पछि नेपालीबिरुद्ध लड्न आए । जसबाट नेपाली फौजलाई ठुलो घाटा पर्‍यो । यदी नेपाली फौजमा क्षेत्रिय सन्तुलन मिलाई समावेसी बनाएको भए महाकाली पश्चिमको युद्धमा नेपालले लडाई जित्ने बलियो सम्भावना थियो ।

(च) दर्ज्यानी सन्तुलन नमिलाई सैनिक नेतृत्व बाँडफाँड गर्नुलाई पनि कमजोरी नै मान्नु पर्दछ । किनभने बुटवलदेखि मोरङसम्मको युद्ध कर्नेल र जर्नेलहरूले नेतृत्व गरेका थिए भने महाकाली पश्चिम काजी र चौताराले । जनरल भीमसेन थापाका पिता, भाइ र भतिजहरूले मात्र जर्नेल-कर्नेल पाएका थिए । एउटै सेनामा जर्नेल ग्रुप र काजी ग्रुप बनाई युद्ध संचालन गर्नुको सट्टा भीमसेन थापाले आफ्ना भाइ भतिजहरूलाई पनि महाकाली पश्चिमको नेतृत्व दिएको भए ठाडै मन मुटाव हुने थिएन ।

(छ) यातायात तथा सञ्चार मार्ग (Line of communication) अव्यवहारिक र टाढा भएर पनि लडाईले नेपालीलाई साथ दिएन । काठमाडौंदेखि गढवाल पुग्ने बाटाघाटा राम्रा थिएनन् भने करिब ३५० कोसको दुरीमा थियो । काठमाडौंबाट पठाईएका खबर, चिठ्ठी पुग्न महिनौ लाग्थ्यो । सबैै चीज मान्छेले बोकेर पुर्‍याउनु पथ्र्यो । जसले गर्दा समयमै खबर र सहयोगको आदान-प्रदान हुन्न थियो । बीचबीचमा अंग्रेजले छापा मारी नेपालीको अति महत्वपूर्ण र गोप्य खबरहरू खोसेर लैजान्थे । उता अंग्रेजहरूको भने रेल, गाडी, हात्ती, घोडा, खच्चड र भरियाको प्रयोग गर्दथे । रेडियो सेटबाट सूचना आदानप्रदान हुन्थ्यो । नेपालीलाई त्यो सुबिधा थिएन ।

(ज) अंग्रेजको प्रोपोगाण्डा र घुस खुवाउने रणनीतिबाट नेपालीलाई धेरै बेफाईदा पुगेको थियो । बिशेष गरेर अंग्रेजहरूले कुमाउँ गढवाल इलाकामा नेपालीहरूलाई अत्याचारी र व्यविचारीको रुपमा चित्रण गरी नेपालीको अत्याचारबाट मुक्त गराउनको लागि अंग्रेज त्यस इलाकामा आएको भनी प्रचार गरियो ।

उता नेपालीलाई सहयोग गर्ने स्थानीय राजा, रजौटा, व्यापारी, सैनिक कमाण्डरहरूलाई विभिन्न प्रलोभन र घुसमा पारी उनीहरूको नेपाल सरकारप्रतिको आस्था र सहयोगलाई कटौती गरी अंग्रेजको पक्षमा पारे । फलस्वरुप नेपाली सेनालाई राशन पानी जुटाउन, लडाकुहरू भर्ती गर्न र खबर संकलन गर्न धेरै कठिनाई परेको थियो । त्यसैगरी बम शाह र अमरसिंह थापाको नैतिकतालाई किन्न अंग्रेजले विभिन्न प्रलोभन दिन थाले । अमरसिंहले त्यसलाई लात मारे भने बम शाह त्यसमा फसेर उनले कुमाउँ अंग्रेजलाई छाडेर डोटी फर्के । युद्ध भुमिमै अंग्रेजले नेपालीलाई घुस दिन थालेको थियो ।

हजारौ गढवाली र कुमाउँली सैन्य सोही कारणले भागेर अंग्रेज फौजमा भर्ना हुन पुगे र नेपाली फौजविरुद्धमा लड्न आए । त्यही कारणले नेपाली सेनामा सैनिक बिद्रोहसमेत भयो । अर्को तर्फ हेर्ने हो भने मेजर जनरल अक्टरलोनीले नेतृत्व गरेको दोश्रो चरणको युद्धमा हरिहरपुरगढी र मकवानपुरगढी तर्फ बढ्दा गैरसैनिक नेपाली हुलाकी जमिन्दार र आईमाईलाई ठुलो रकम घुस दिएर नेपालीहरूकै सहयोगले चोरी बाटोबाट अप्रत्यासित रुपले नेपालीको डिफेन्स इलाकामा आएर अंग्रेजले हमला गरेका थिए ।

भीमसेन थापाको पहल, जोस र अठोट प्रशंसनीय भएर पनि उनी युद्धमा एक्ला भए । युद्ध लड्ने निर्णय गर्नु पहिला छिमेकी मुलुकहरूसँग सैन्य सहयोगको लागि विभिन्न देश तथा रजौटाहरूलाई पत्राचार गरिएको थियो

(झ) युद्धको समयमा नेपालको अन्तराष्ट्रिय सम्बन्ध युद्धको लागि अनुकुल थिएन । आक्रमक युद्धमा भन्दा प्रतिरक्षात्मक युद्धमा बाह्य सहयोग अझै चाहिन्छ । नेपालको युद्ध रणनीति प्रतिरक्षात्मक (Defensive) थियो । युद्ध लड्ने निर्णय गर्नु पहिला छिमेकी मुलुकहरूसँग सैन्य सहयोगको लागि विभिन्न देश तथा रजौटाहरूलाई पत्राचार गरिएको थियो । तर कसैले पनि जवाफ दिएनन् । भीमसेन थापाको पहल, जोस र अठोट प्रशंसनीय भएर पनि उनी युद्धमा एक्ला भए ।

नेपाललाई सहयोग नदिनुमा तिब्बतले नेपाललाई ठुलो दुष्मनको रुपले लिने, चीनसँग पनि भरखरै युद्ध भएकोले नकारात्मक रुपले हेर्ने र नेपाल एकीकरणको सिलसिलामा जमिनको सीमा निर्धारण हुन नसकी बंगालको नवाव, अवधको नवाव तथा पंजावको राजा रणजितसिंहले पनि नेपाललाई अतिक्रमणकारीको रुपले हेर्दथे । त्यसस्थितिमा छिमेकी राज्यहरू नेपालको भलो चाहनेवाला कोही थिएनन् भने पनि हुन्छ ।

(ञ) अंग्रेजले विभिन्न दिशा (Multi directional attack) गर्नु नेपालको लागि दुर्भाग्य बन्यो । पश्चिम गढवालदेखि पुर्वमा टिस्टा नदीसम्मको करिव ५०० कोसको दुरीमा अंग्रेजले विभिन्न स्थानबाट हमला गर्‍यो । जसको प्रतिकार र मातृभुमीको प्रतिरक्षाको लागि नेपालीले आफ्नो फौज र युद्ध सामग्रीलाई छरेर राख्नु पर्‍यो । परिणाम, हाम्रो पतिरक्षात्मक स्थान (Deffensive position)कमजोर भए । युद्धमा सँधै भरी आक्रमणकारीको चाहना र अग्रसरता हुने भएकोले, यसमा नेपाली पक्षको कुनै बिकल्प थिएन ।

के लेखिएको छ सुगौली-सन्धिमा

नेपाल अंग्रेज युद्धको अन्त सुगौली सन्धि अर्थात ‘सुगौली-सम्झौता’ बाट सम्पन्न हुँदासम्मका किशोर राजा गीर्वाणयुद्धविक्रम शाह १८ वर्षका नवयुवक भैसकेका थिए । यसैले प्रस्तावित सम्झौतापत्रका राजा गीर्वाणयुद्धविक्रम शाहको तर्फबाट लालमोहरको छाप लागेबाट कम्पनी-सरकार तथा नेपाल-सरकारका बीचमा सम्झौता भयो । यही सम्झौतापत्र नै नेपालको इतिहासमा ‘सुगौली-सन्धि’को नामले प्रशिद्ध छ । सुगौली सन्धि भएको सम्झौता यस्तो छ :-

”कम्पनी-सरकारका माननीय गर्भनर-जनरलको तर्फबाट अधिकार प्रत्यायोजन भएअनुसार लेफ्टिनेण्ट-कर्नल ब्राड्-शा तथा नेपालका महाराजा गीर्वाणयुद्धविक्रम शाहबाट अधिकार दिइएअनुसार गुरु गजराज मिश्र एवं टक्सारी चन्द्रशेखर उपाध्याय पनि लडाइँ शुरु हुनु भन्दा पहिले दुई देशबीचमा जुन किसिमको मैत्रीपूर्ण सम्बन्ध थियो त्यस्तै सम्बन्धलाई पुनः स्थापित गर्ने उद्देश्यअनुसार निम्नलिखित शर्तहरुलाई स्वीकार गर्नको निमित्त सहमत भएका र्छौं :-

१. इस्टइण्डिया-कम्पनी तथा नेपाली राजाका बीचमा (अब उप्रान्त) सदा-सर्वदा शान्ति तथा मैत्रीपूर्ण सम्बन्ध रहिरहने छ ।

२. लडाइँ शुरु हुनुभन्दा पहिले दुई देशका बीचमा जति पनि विवादग्रस्त भूभागहरु रहेका थिए, ती सबै भूभागहरुमाथिको आफ्नो दाबीलाई नेपाली राजाले छोडिदिनेछ ।

३. उपर्युक्त दफाअनुसार निम्नलिखित भूभागहरु कम्पनी-सरकारलाई छोडिदिन नेपाली राजा आफ्नो सहमति व्यक्त गर्दछन् :-

(क) काली(महाकाली) एवं राप्ती नदीकाबीचमा रहेका सम्पूर्ण समतल भूभागहरु ।
(ख) राप्ती एवं गण्डकी नदीका बीचका सम्पूर्ण समतल भूभागहरु ।
(ग) गण्डकी एवं कोशी नदीका बीचका सम्पूर्ण समतल भूभागहरु ।
(घ) कोशी एवं मेची नदीका बीचमा रहेको भूभागहरु र मेची एवं टिस्टा नदीका बीचमा रहेका सम्पूर्ण समतल भूभागहरु ।
(ङ) मोरङ्देखि पूर्व पहाडभित्रका सम्पूर्ण ‘नङ्री’का समतल भूभागहरु र मेची नदीदेखि पूर्वका नगरकोटसहितका पहाडी क्षेत्रभित्रका सम्पूर्ण भूभागहरु ।

यो सम्झौतापत्र सम्पन्न भएको आजको मितिबाट ४० दिनभित्रमा उपर्युक्त सबै भूभागबाट नेपाल-सरकारले आफ्ना सैनिकलाई हटाइसक्नुपर्नेछ ।

४. माथि उललेख भएका भूभागहरु कम्पनी-सरकारको निमित्त छोडिदिँदा सरकारको भनाइमा कुन-कुन भारदारको निमित्त यस्तो वाधा वा असर पर्ने हो, ती-ती भारदारको नाम तथा तिनलाई पर्ने असरहरुको सम्बन्धमा लेखिई आएमा सरकारलाई उपलब्ध गराउन कम्पनी-सरकार (आफ्नो) सहमति व्यक्त गर्दछ ।

५. काली (महाकाली) नदीभन्दा पश्चिमतर्फका सम्पूर्ण भूभागहरुमाथिको आफ्नो दाबीलाई आफ्नो, प्रतिनिधिको र आफ्ना सन्तानहरुको तर्फबाट पनि सदाको निमित्त परित्याग गरी ती भूभागहरु तथा त्यहाँका निवासीहरुसँग पनि कुनै पनि किसिमको सम्बन्ध स्थापित नगर्न नेपाली पक्ष आफ्नो सहमति व्यक्त गर्दछ ।

६. नेपालका राजाले सिक्किम राज्यका राजालाई कहिल्यै पनि दुःख दिने छैनन् र उक्त राज्यमाथि रहेको आफ्नो नियन्त्रणलाई परित्याग गर्नको निमित्त आफ्नो सहमति व्यक्त गर्दछन् । नेपाल-सरकार एवं सिक्किम-सरकार तथा दुई देशका जनताका बीचमा (कुनै) विवाद उत्पन्न भएमा त्यस्ता विवादहरुको समाधान कम्पनी-सरकारको मध्यस्थतामा सुल्झाउनमा नेपाली राजा आफ्नो सहमति व्यक्त गर्दछन् ।

७. कम्पनी-सरकारको तर्फबाट अनुमति प्राप्त नगरी नेपाल-सरकारले कहिल्यै पनि कुनै अंग्रेज, युरोपियन वा अमेरिकन नागरिकहरुलाई आफ्नो सरकारको सेवामा राख्न पाउने छैन ।

८. दुई देशबीचको शान्ति तथा मैत्रीको वातावरणलाई चिरकालसम्म कायम राख्नको निमित्त एक-अर्काको देशमा अधिकारसम्पन्न आफ्ना वकिल  (राजदूत) हरु राख्न दुवै पक्ष आफ्नो सहमति व्यक्त गर्दछन् ।

९. नौ धाराहरु भएको यस सम्झौतापत्रमा नेपालका राजाले आजको १५ दिनभित्रमा आफ्नो मोहर लगाई लेफ्टिनेण्ट-कर्नल पी.ब्राड्-शालाई बुझाइसक्नेछन् र उनले पनि २० दिनभित्रमा – जतिसक्दो चाँडो-कम्पनी-सरकारका गभर्नर-जनरलको तर्फबाट मोहर-दस्तखत गराई नेपाल-सरकारलाई सुम्पिदिनेछन् ।

यस सम्झौता-पत्रमा आज २ डिसेम्बर इ.सं. १८१५ (तदनुसार वि.सं. १८७२ मार्ग १९ गते) शनिबारका दिन सुगौलीमा दुवै पक्षद्वारा हस्ताक्षर गरिएको हो ।”

सन्धिपत्रको उपर्युक्त लिखतलाई यसको ७ दिनपछि ९ डिसेम्बर इ.सं. १८१५ का दिन कम्पनी-सरकारका गर्भनर-जनरल वारेन् हेस्टिङ्सले कलकत्ताको विलियम्स-फोर्टमा विधिवत् रुपमा हस्ताक्षर गरिदिएका थिए । यस्तै नेपाल-सरकारको तर्फकाट बुझाउनुपर्ने सम्झौता-पत्रको एक प्रति नेपाली पक्षका वार्ताकार ‘टक्सारी’ चन्द्रशेखर उपाध्यायले ४ मार्च इ.सं. १८१६, तदनुसार वि.सं. १८७२ फागुन २३ गतेका दिन मकवानपुरमा लगेर लेफ्टिनेण्ट-कर्नल पी ब्राड्-शालाई बुझाइदिएकाले कम्पनी-सरकारको तर्फबाट प्राप्त हुनुपर्ने सन्धिपत्रको प्रमाणित प्रति पनि यसै दिन नेपाली प्रतिनिधि टक्सारी चन्द्रशेखर उपाध्यायलाई सम्पिएको थियो ।

बिफरको बिरामले युद्ध समाप्त भएको ८ महिनापछि नै १९ वर्षका नवयुवक राजा गीर्वाण-युद्धविक्रम शाहको अकल्पनीय रुपमा मृत्यु भयो । (वि.सं. १८७३ मार्ग ७ गते, तदनुसार २० नोभेम्बर इ.सं. १८१६) ।

नेपाललाई सहयोग नदिनुमा तिब्बतले नेपाललाई ठुलो दुष्मनको रुपले लिने, चीनसँग पनि भरखरै युद्ध भएकोले नकारात्मक रुपले हेर्ने र नेपाल एकीकरणको सिलसिलामा जमिनको सीमा निर्धारण हुन नसकी बंगालको नवाव, अवधको नवाव तथा पंजावको राजा रणजितसिंहले पनि नेपाललाई अतिक्रमणकारीको रुपले हेर्दथे

यसैबीचमा दक्षिण-पश्चिमी भारतको मरहट्टा-शक्तिसँग कम्पनी-सरकारको फेरि पनि खचपच शुरु भएकोले आफ्नोविरुद्धमा मरहट्टा-शक्ति तथा नेपाल-सरकार पनि आपसमा नमिलुन् भनी नेपाल-सरकारलाई सन्तुष्ट पार्न युद्ध समाप्त भएको ९ महिनापछि कम्पनी-सरकारको नियन्त्रणमा पुगेका वर्तमान नेपालका अधिकांश तराईक्षेत्रहरु नेपाल-सरकारलाई नै फिर्ता गरिदिने कम्पनी-सरकारबाट स्वीकृति प्राप्त भएकोले दुई सरकारका बीचमा पुनः सम्झौता भएको पाइन्छ । सम्झौता यस्तो छः

“नेपालका महाराजासँग मेलमिलाप गर्नु वाञ्छनीय भएकोले यसभन्दा अगाडि सम्पन्न भएको सन्धिपत्रअनुसार नेपालका केही भारदारहरुलाई तकलिफ हुन गएको भन्ने नेपाल-सरकारको भनाइमा नेपाली राजाको मन राख्नको निमित्त सुगौली-सन्धि अनुसार कम्पनी-सरकारको नियन्त्रणमा आएका नेपालका निम्नाङ्कित तराईक्षेत्रहरु नेपाल-सरकारलाई नै फिर्ता गरिदिने निर्णय भएको छ :-

१. यसरी तराईक्षेत्रहरु फिर्ता गर्दा तिरहुत तथा सारन क्षेत्रका विवादित भूभागहरु (वि.सं.१८६९ मा भएको निर्णय अनुसार कम्पनी-सरकारको भोग-चलनमा रहेका), कम्पनी-सरकारको नियन्त्रणमा आएपछि कम्पनी-सरकारले अन्य कसैलाई बक्सिसमा दिएका जमिनहरु बाहेकका अन्य भूभागहरु मात्र फिर्ता हुनेछन् ।

२. कोशी तथा गण्डकी नदीको बीचमा रहेका – पहिले नेपाल-सरकारको भोग-चलनमा रहेका – तराईक्षेत्रहरु र गण्डकी तथा राप्ती नदीका बीचमा रहेका तराई क्षेत्रहरुमध्ये लडाइँ शुरु हुनुभन्दा पहिले जति भूभागहरु नेपाल-सरकारको नियन्त्रणमा थिए ती सबै भूभागहरु नेपाल-सरकारलाई नै फिर्ता गरिनेछ ।

३. उपर्युक्त तराई क्षेत्रहरु फिर्ता भएपछि पहिले भएको सन्धिपत्रअनुसार कम्पनी-सरकारको तर्फबाट नेपाल-सरकारलाई प्रतिवर्ष दिने कबोल गरिएको दुई-लाख रुपियाँ भने दिइने छैन ।

४. नेपाल-सरकारलाई (उसका) भूभागहरु फिर्ता गरेपछि दुई देशबीचको सिमाना निर्धारण गर्दा सीमारेखाहरु बाङ्गो हुने भएमा दुवै देशका अमीनहरुले आपसमा सरसल्लाह गरी सदा-सर्वदाको निमित्त विवाद नहुने गरी आवश्यकता अनुसार सट्टापट्टा गरी उत्तरतर्फ नेपाल-सरकारका र दक्षिणतर्फ कम्पनी-सरकारका भूभागहरु हुने गरी सिमानाहरु निर्धारण गरिनेछन् ।

नेपालका तराईक्षेत्रहरु नेपाल-सरकारलाई नै फिर्ता भएपछि त्यस क्षेत्रमा आबाद रहेका कुनै पनि नागरिकहरुलाई लडाइँको समयमा कम्पनी-सरकारलाई सहयोग उपलब्ध गराएबापत नेपाल-सरकारले कुनै पनि किसिमको दण्ड वा सजायँ पनि दिन पाउने छैन ।

यसरी प्रत्यार्पण गरिएका तराई क्षेत्रका नागरिकहरुमध्ये कृषकहरु बाहेक कुनै पनि नागरिकले आफ्नो अमिन्दारीलाई परित्याग गरी कम्पनी-सरकारको जमिन्दारीमा आउन चाहेमा त्यसमा नेपाल-सरकारले कुनै पनि किसिमको बन्देज लागउन पाउने छैन ।

माथि उल्लेख भएका व्यहोराहरु नेपाल-सरकारलाई मान्य भएमा यसै प्रस्तावअनुसार औपचारिक रुपमा दुई देशका बीचका सिमानाहरु निर्धारण गरिने छन् र यसमा दुवै देशका आधिकारिक व्यक्तिहरुले मोहर-दस्तखत गर्नेछन् ।

८ डिसम्बर इ.सं. १८१६ तदनुसार वि.सं. १८७३ मार्ग २५ गतेका दिन यो प्रस्ताव नेपाल-सरकारसमक्ष प्रस्तुत गरिएको हो ।”


भर्खर

0