यसरी सफा गरौं घरायसी उपकरण | Khabarhub Khabarhub

यसरी सफा गरौं घरायसी उपकरण


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय लुगा धुने, भाँडा माझ्ने, खाना पकाउनेलगायत घरायसी काममा विभिन्न ग्याजेट्स (उपकरण)को प्रयोग बढिरहेको छ ।

फ्रिज, वासिङ मेसिन, स्टोभ, ओभन आदि आममानिसको दैनिक जीवनका अत्यावश्यक साधन बनिसकेका छन् । यस्ता उपकरणले मानिसको दिनचर्या सजिलो बनाउनुका साथै समय र पैसाको बचतसमेत गरिदिएको छ ।

यस्ता उपकरण लामो समयसम्म टिकाउन सफाइको निकै आवश्यकता पर्छ । ग्याजेट्सको सरसफाइ नियमितजसो गर्नुपर्छ । राम्रो हेरचाह वा मर्मतसम्भार हुन नसक्दा तिनको कार्यक्षमतामा ह्रास आउँछ, जसले गर्दा ती उपकरण समय तथा पैसाको बर्बादीका कारण बन्न पुग्छन् ।

उपकरणको सही हेरचाह नहुँदा कतिपय अवस्थामा ठूलाठूला दुर्घटनासमेत हुने गरेका छन् । महत्त्वपूर्ण घरायसी उपकरण तथा तिनको सफाइ गर्ने केही तरिका यस्ता छन् :

टेलिभिजन

टेलिभिजनको सफाइ गर्नुपूर्व मुख्य स्विच बन्द गर्नुपर्छ । टेलिभिजनको सफाइमा ग्लास क्लिनर प्रयोग गर्न सकिन्छ । यसका लागि कटनको कपडाको सहायता लिनु राम्रो हुन्छ । टिभीका केही नयाँ मोडलमा स्पेसल कोटिङ पनि हुन्छ । यस्ता टिभीबारे राम्रो जानकारी छैन भने मलमल (नरम कपडा)ले पुछ्नुपर्छ ।

एलसीडी टिभीलाई सुक्खा नरम कपडाले पुछ्नुपर्छ । दाग लागेको भए पानीमा भिनेगर मिसाएर कटनको कपडाले सफा गर्नुपर्छ । त्यसपछि तुरुन्तै सुक्खा कपडाले पुछ्नुपर्छ । स्क्रिनलाई धेरै रगडेर सफा गर्नुहुँदैन । त्यसो गर्दा टिभीको स्क्रिन पिक्सेल बिग्रन सक्छ । टिभी स्क्रिनको सफाइका लागि पत्रपत्रिकाको प्रयोग गर्नुहुँदैन ।

टेलिफोन

घरमा राखिने टेलिफोन परिवारका सदस्यले मात्र नभई पाहुनाले पनि प्रयोग गर्छन् । यसलाई दैनिक डिस इन्फेक्टेन्टबाट सफा गर्नु आवश्यक छ ।

सफा नरम कपडा वा थोरै कपासमा डिटोल हालेर टेलिफोन सेट सफा गर्न सकिन्छ । माउथपिस र इयर फोन विशेष रूपमा सफा गर्नुपर्छ । यसबाट फोनको सतहमा भएका किटाणु नष्ट हुन्छन् ।

कम्प्युटर

कम्प्युटर सफा गर्नुपूर्व त्यसलाई पूर्ण रूपमा बन्द गर्नुपर्छ । कम्प्युटर जोडेको स्विच पनि बन्द गर्नुपर्छ । सातामा एकपटक मोनिटरको स्क्रिनलाई डिसइन्फेक्टेन्टबाट सफा गर्नुपर्छ भने पछाडिको भागको सफाइका लागि भ्याकुम प्रयोग गर्नुपर्छ ।

किबोर्डमा भएको धुलो झार्न त्यसलाई उल्ट्याएर हातले हल्का थपथपाउनुपर्छ । त्यसपछि सीधा गरेर किप्याडलाई पनि डिसइन्फेक्टेन्ट प्रयोग गरी सफा गर्नुपर्छ । सीपीयूको सफाइ भ्याकुम क्लिनरको ब्लोअरबाट गर्नुपर्छ ।

स्मार्ट फोन

भिजेको हातले स्मार्ट फोन चलाउनुहुँदैन । स्मार्ट फोन प्रयोग गर्नुपूर्व हात राम्रोसँग पुछ्नुपर्छ । यदि फोन भिजेमा पहिले बाहिरबाट सुकाउनुपर्छ र त्यसपछि पंखाको हावामा राखेर सुक्न दिनुपर्छ ।

यदि भिज्दा फोन अफ वा अन छ भने नसुकेसम्म त्यही स्थितिमा छोड्नुपर्छ । भिजेको फोन प्रयोग गर्नुहु“दैन । यस्तो अवस्थामा फोन प्रयोग गर्दा त्यसका पार्टपुर्जामा विद्युत् सर्ट हुन सक्छ ।

सुकिसकेपछि पनि मोबाइलले सही ढंगबाट काम गरेन भने आधिकारिक बिक्रेता वा मेकानिक्सलाई देखाउनुपर्छ । बढ्दो तापक्रमले मोबाइल फोनको ब्याट्री वा ट्रान्जिस्टर खराब हुन सक्छ । धेरै चिसोका कारण पनि फोनको कार्यप्रणाली प्रभावित हुन सक्छ ।

मोबाइलमा मौसमले कस्तो असर गर्छ भन्ने कुराको जानकारी त्यसको म्यान्युअलबाट लिन सकिन्छ ।

आइप्याड

आइपड सफा गर्नुपूर्व त्यससँग जोडिएका सबै कर्ड्सलाई अनप्लग गरी ‘होल्ड’ बटन दबाएर त्यसको सबै कन्ट्रोल लक गर्नुपर्छ । त्यसपछि हल्का भिजेको कपडाले पुछ्नुपर्छ । आइपडको प्रयोग सामान्य तापक्रममा गर्नुपर्छ ।

यसको उपयोगका लागि ३२ देखि ९५ डिग्री फरेनहाइटसम्मको तापक्रम उपयुक्त हुन्छ । बढी तापक्रममा प्रयोग गर्दा आइपड बिग्रन सक्छ । तर, आइपडको कर्ड्स जोड्दा भने सावधानी अपनाउनुपर्छ ।

वासिङ मेसिन

वासिङ मेसिन सफा गर्नुअघि त्यसलाई खाली गरी तातो पानी भर्नुपर्छ र एक कप भिनेगर मिसाएर मेसिन चलाउनुपर्छ । थोरै चलाएपछि त्यसलाई बन्द गर्नुपर्छ ।

त्यसपछि त्यसमा आधा कप बेकिङ सोडा हालेर वास मोडमा चलाएर बन्द गर्नुपर्छ । मेसिनलाई एक घण्टासम्म त्यत्तिकै छोड्नुपर्छ ।

त्यसपछि पुनः सञ्चालन गर्नुपर्छ । मेसिन बन्द गरिसकेपछि भिजेको कपडाले राम्रोसँग पुछेर सफा गर्नुपर्छ । वासिङ मेसिनमा कपडा धुँदा माइल्ड डिटर्जेन्ट प्रयोग गर्नुपर्छ ।

वाटर फिल्टर

वाटर फिल्टरलाई महिनामा एकपटक सफा गर्नुपर्छ । यसका लागि फिल्टरको प्युरिफाइङ क्यान्डल्स निकालेर तातोपानीमा माइल्ड साबुनले धुनुपर्छ । क्यान्डलमा जमेको फोहोर सफा गर्न जालो प्रयोग गर्नुपर्छ र सफा गरिसकेपछि त्यसलाई सुकाउनुपर्छ ।

स्टिम आइरन

स्टिम आइरनमा सधैं ‘डायल्युटेड’ पानी प्रयोग गर्नुपर्छ । कपडामा आइरन गरेपछि बाँकी रहेको पानी निकालिदिनुपर्छ । आइरन सफा गर्न भिजेको ‘स्पन्ज’ प्रयोग गर्नुपर्छ । आइरन प्रयोग गरेपछि सुरक्षित स्थानमा राख्नुपर्छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १० : ४१ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७