‘खुला दिसामुक्त राष्ट्र घोषणाले मुलुकलाई सभ्यताको एक सिँढीमाथि उठायो’

देशभर ५६ लाख घरधुरीको शौचालयमा पहुँच

सविना कार्की

सोमवार, असोज १३, २०७६

Reading Time: 6 minutes

‘खुला दिसामुक्त राष्ट्र घोषणाले मुलुकलाई सभ्यताको एक सिँढीमाथि उठायो’

काठमाडौं– स्वस्थ जीवनका लागि पहिलो आवश्यकता सरसफाइ हो । यसका लागि शौचालय नभइ नहुने पूर्वाधारमा पर्दछ ।

सन् १९८० मा नेपालको कुल जनसंख्याको दुई प्रतिशतमा मात्रै शौचालयको पहुँच थियो । पछिल्लो ४० वर्षको अवधिमा थुप्रै उतारचढाव व्यर्होदै सोमबार नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषित भएको छ । ५६ लाख ६० हजार २ सय २४ घरधुरीमा शौचालय निर्माण गर्दै नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बन्न सफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच सोमबार नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।

समारोहलाई सम्बाधन गर्दै प्रधानमन्त्रीले ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल घोषणा’ले मुलुकलाई सभ्यताको एक सिँढीमाथि उठाएको प्रतिक्रिया दिए ।

खुला शौच गर्दै आएका नेपालीहरुमा जनचेताना अभिवृद्धिसँगै शौचालयको आवश्यकता बुझाउन वर्षौं खर्चिनु परे पनि राज्यले लिएको अभियानले अहिले भने पूर्णता पाएको छ ।

२०६८ असार १० गते कास्कीलाई मुलुककै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गर्दै अघि बढेको अभियानले पूर्णता पाउन आठ वर्ष लाग्यो ।

सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै देशभरका सबै घरमा शौचालय निर्माण गर्ने र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यअनुसार काम नहुँदा खुला दिसामुक्त राष्ट्र घोषणा गर्न दुई वर्ष ढिला भयो ।

सरसफाइ गुरुयोजना बनेपछि अगाडि बढेको खुला दिसामुक्त अभियान २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण केही महिना सुस्ताएको थियो ।

भूकम्पपछि पुर्ननिर्माणमा मुलुकको सम्पूर्ण क्षेत्रको ध्यान केन्द्रित हुँदा खुला दिसामुक्त अभियानले गति समाउन निक्कै समय लाग्यो । पछिल्लो वर्ष भने यो अभियानले तीव्रताका साथ गति लियो । सरकार र सरोकारवालाहरुको सक्रियता बढेसँगै चुनौतिपूर्ण मानिएको राजधानी काठमाडौं पनि गत भदौ ३१ गते खुला दिसामुक्त घोषित भयो ।

यसले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न थप बल पुगेको सरोकारवालाहरुको धारणा छ । यस्तै बाँकी रहेका सोलुखुम्बु र भोजपुरलाई लगातार यही असोज ३ र ४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।

बारीको कान्ला धाउने दिन गए

केही दशक अघिसम्म ग्रामिण क्षेत्रमा कमै मानिसहरुले शौचालय प्रयोग गर्थे । शौचालय नै बनाए पनि पछिल्लो समयको जस्तो व्यवस्थित र सुरक्षित हुँदैन थिए । शौचालय नहुनेहरु सबैका लागि खुला स्थान नै शौच गर्ने थलो हुन्थ्यो ।

परिवारका सदस्य तथा अन्य मान्छेहरुसँगको लाज छोप्न बारीको काँन्ला, जंगल, खोला, खोल्सी धाउने गरिन्थ्यो । जनचेतना अभावले ढुंगे युगकालिन जीवन बिताइ रहेका नेपालीका लागि खुला दिसामुक्त अभियान कोशे ढुंगा सावित भएको सिन्धुपाल्चोकका बीरबहादुर खड्काले बताए ।

खुला दिसामुक्त राष्ट्र घोषणा कार्यक्रममा सहभागी उनले अभियान सुरु भएसँगै जनतामा कच्ची नै भएपनि व्यवस्थित शौचालय निर्माण गर्नुपर्छ भन्ने सोचको विकास भएको अनुभव सुनाए ।

यस्तै, खुला दिसामुक्त अभियान गाउँगाउँमा पुगेपछि आफूले लगाएको सुनको गहनानै बेचेर शौचालय निर्माण गरेको सिन्धुपाल्चोककी सकुन्तला सुवेदीले बताइन् ।

खुला रुपमा शौच गर्नुपर्ने बाध्यताले शौचालय निर्माण गर्न सुनको गहना बचेको उनले स्मरण गरिन् । उनी जस्ता थुप्रै गाउँलेले ऋण लिएर भएपनि शौचालय भने बनाएका छन् । अहिले प्रत्येक घरमा शौचालय बनेका छन् । खुला स्थानमा शौच गर्ने बानीमा परिवर्तन आएको छ ।

उनले भनिन्, ‘यो बानी पनि रहेछ । पहिले खुला ठाउँमा मात्रै दिसापिसाब गर्ने गर्थ्यौं । तर अहिले खुला ठाउँमा चाहेर पनि शौच हुन्न, शौचालय नै जानु पर्छ ।’

अभियानको सुरुवात

खुला दिसामुक्त अभियान अघि नेपालको सरसफाइ अवस्था नाजुक थियो । ग्रामिण क्षेत्रको अवस्था झनै बिजोग थियो । जसका कारण सरसफाइ अभावले वार्षिक सात हजार बालिबालिकाले ज्यान गुमाउँथे ।

त्यतिमात्र होइन्, शौचालय नहुँदा त्यसको प्रत्यक्ष असर बालबालिकामा परेको थियो । दिसाजन्य फोहोरका कारण संक्रमण फैलिनुका साथै ज्यानै जाने उक्तिकै खतरा थियो ।

१९८० मा कुल जनसंख्याको २ प्रतिशतमा शौचालय भएको अवस्थाबाट माथि उठेको नेपालमा सन् २०९० सम्ममा ६ प्रतिशतमात्रै शौचालय बनेको थियो । शौचालय निर्माण गर्ने क्रम चलिरह्यो सन् २००० मा आइपुग्दा ३३ प्रतिशत शौचालयहरु निर्माण भए । सरसफाइको अवस्था सुधारमा सरकारको पनि चासो बढ्यो ।

यो विषयलाई देशव्यापी अभियानका रुपमा अगाडि बढाउन २०६८ मा सरसफाइ गुरुयोजना जारी गरियो । गुरुयोजनाअनुरुप तत्कालिन अवस्थामा ७५ जिल्लामा सरसफाइ अभियानअन्तर्गत ‘एक घर, एक शौचालय’ को नारासहित खुला दिसामुक्त कार्यक्रमको प्रारम्भ भयो ।

सबैभन्दा पहिला २०६८ सालमा कास्की जिल्लाबाट सुरु भएको खुला दिसामुक्त घोषणा अभियान २०७६ साल असोज ४ गते भोजपुरमा पुगेर समाप्त भयो ।

फलस्वरुप असोज १३ गते सोमबार मुलुकलाई नै खुला दिसामुक्त घोषणा गर्दै नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बन्न सफल भएको छ । यो घोषणासँगै अब नेपाल सन् २०३० भित्र पूर्ण सरसफाइयुक्त राष्ट्र बन्ने अभियानमा अग्रसर पनि भएको छ ।

कुन प्रदेशमा कति शौचालय ?

नेपालभर अहिले ५६ लाख ६० हजार २ सय २४ घरधुरीमा शौचालय निर्माण भएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए ।
जनअनुरुप प्रदेश नम्बर १ मा ९ लाख ६५ हजार २ सय ७२, प्रदेश नम्बर २ मा ९ लाख ३३ हजार ३ सय २९, प्रदेश नम्बर ३ मा १६ लाख २२ हजार १ सय १३ वटा घरधुरीमा शौचालय बनेका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ५ लाख ४८ हजार २ सय १० वटा, प्रदेश नम्बर ५ मा ७ लाख ९३ हजार ९ सय ९०, कर्णाली प्रदेशमा ३ लाख ७ हजार ९ सय ६५ र सुदुरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ वटा घरधुरीमा शौचालय बनिसकेका छन् ।

भर्खर

0