वर्षा मात्रै पर्खिने होइन घामको प्रयोगबाट धानको उत्पादन बढाउनुपर्छ « Khabarhub
Logo
८ श्रावण २०७८, शुक्रबार

वर्षा मात्रै पर्खिने होइन घामको प्रयोगबाट धानको उत्पादन बढाउनुपर्छ



धान नेपालको लागि एक प्रमुख खाद्यान्न बाली हो । आर्थिक वर्ष २०७५।२०७६ अनुसार नेपालमा १४ लाख ९१ हजार हेक्टरमा धानखेती भई ५६ लाख १० हजार मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ८ सय किलोग्राम प्रति हेक्टर रहेको थियो । यस आर्थिक बर्ष २०७५।२०७६ को गत १० महिनामा २७ अर्ब ९० करोड रुपैयाँ बरावरको चामल आयात भैसकेको छ ।

नेपालमा करिब एक खर्ब ५० अर्ब रुपैयाँ भन्दा बढीको धान र सोको उप उत्पादन हुने गरेको छ । धानको उत्पादन राम्रो भयो भने देशको आर्थिकस्थिति माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिकस्थिति तल खस्कन्छ । यस्ता तथ्यांक नेपाल राष्ट्र बैंकले नियमित रुपमा प्रकाशित गर्ने गरेको छ । हालै केन्द्रीय तथ्यांक बिभागले प्रकासित गरेनुसार यसवर्ष धानको उत्पादन बृद्धि भएकोले देसको आर्थिक बृद्धिदरपनि ६ दशमलव ८१ प्रतिसत पुगेको जनाएको छ ।

यीनै कारणहरुले गर्दा धानबालीको अनुसन्धान र विकास कार्यक्रमलाई देशले प्राथमिकता दिनु अति जरुरी छ । उदाहरणको लागि मकै, प्याज, माछा जस्ता बिषयलाई मिसनको रुपमा अगाडि बढाइएको छ तर धानलाई भने मिसनमा राखिएको छैन । चैते धानको मात्र खेतीगरिने क्षेत्र, उत्पादन र उत्पादकत्व अलग्गै आधिकारिक रुपमा उल्लेख भएको पाइदैन । तापनि करिब १० प्रतिशत जति जमिनमा चैतेधान खेती भएको अनुमान गरिन्छ । हाल केही बर्षदेखि चैते धानलाई बिशेष प्राथमिकता दिएको पाइएको छ ।

धानबालीमा एकीकृत पोषकतत्व वा खाद्यतत्व व्यवस्थापनगर्नु जरुरी छ । यस्को मतलव १०० किलोग्राम प्रति हेक्टर नाइट्रोजनदिन ५० किलोग्राम नाइट्रोजन रासायनिक मल (युरिया) बाट र बांकी ५० किलोग्राम गोठेमल वा ढैंचा जस्ता हरियोमलबाट दिने हो 

बढ्दो जनसंख्या र घट्दो खेतीयोग्य जमिनबाट उत्पादन र उत्पादकत्व बढाइ देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन नयाँ जात र खेती गर्ने वैज्ञानिक तौरतरिकाले ठूलो भूमिका खेल्न सक्दछ । चैते धान तराई, भित्रिमधेश, नदीकिनारका जमिन, पहाडीखोंच आदिमा मात्र गर्न सकिन्छ र चैते धान काटेपछि पूनः वर्षेधानको रोपाई गरिन्छ । यस खेतीको लागि सिंचाई सुविधा हुनु जरुरी छ । बिगत ५० वर्षलाई समीक्षा गर्ने हो भने नेपालमा ११ वटा चैते धानको जातहरु उन्मोचन भैसकेका छन ।

यी उन्मोचित चैते धानको जातहरु मध्ये आई०आर० २४, परवानीपुर १, चन्दिना, लक्ष्मी र मल्लीका जातलाई भने अब उप्रान्त बीउ उत्पादन नगर्ने भन्ने निर्णय भइसकेको छ । सबभन्दा पछी उन्मोचन भएको जात हर्दिनाथ १ हो र यस जातले कृषकहरुबीच चैते र बर्षे दुवै मौसममा खेतीगर्नको लागि लोकप्रियता पाइरहेको छ । जताततै हर्दिनाथ १ जात लगाएको पाइन्छ । चैते धान बीउ छरेपछी ११० दिन देखि १३५ दिनभित्र पाक्दछ ।

पुराना कृषकप्रिय चैते धानको जातहरुमा सी०एच ४५ र विन्देश्वरी हो भने नयाँ उन्मोचन भएका मध्ये हर्दिनाथ १, चैते २, चैते ४, चैते ५, चैते ६ हरु लोकप्रिय छन । विन्देश्वरी जातलाई त पानी कम भएको र पाखोजमिनमा घैयाखेतीको लागि समेत उपयुक्त भएको पाइएको छ । धानबालीमा एउटा शुत्र छ जस्तै धान फुलफुलेपछि जति धेरै घामको प्रचण्डता (सोलर रेडिएसन) भयो उती धेरै धान फल्दछ ।

यस स्तम्भकारले जनकपुरमा कामगर्दा चैते धान फूलेपछि ६०० क्यालोरी प्रति वर्गसेन्टिमिटर प्रतिदिन मापन पाएका थिए भने वर्षेधान फूलेपछि ५०० क्यालोरी प्रति वर्गसेन्टिमिटर प्रतिदिन मात्र पाएका थिए । यिनै वैज्ञानिक तथ्यले गर्दा वर्षे धानबालीको तुलनामा चैते धानको उत्पादकत्व प्रति हेक्टर प्रतिदिन २० देखि २५ प्रतिशत बढी हुने गरेको पाइएको छ । नेपालमा प्रत्येक वर्ष सिंचित क्षेत्र बढदै गएको अवस्थामा चैते धान खेतीगर्न सकिने क्षेत्र बढाउंदै जाने हो भने धानको उत्पादन सहजै बढाउन सकिन्छ । किनकी अब जमिन बढाएर खेतीगर्ने गुन्जायसनै छैन ।

चैते धानमा मौसम राम्रो हुनुको साथै रोग, कीरा कम लाग्ने, रासायनिक मलको सदुपयोग बढी हुने गर्दछ । चैते धानको एउटा समस्या भनेको असारमा गएर पाक्ने हुनाले धानबाली काटी समेटेर वर्षे धान खेतीगर्न अलि मेहेनत गर्नुपर्ने हुन्छ ।

रोपाई गरिने मुख्य खेतमा पनि प्रशस्त कम्पोष्टमल वा हरियोमल प्रयोग गरे माटोको स्वास्थ्य कायम हुनुको साथै दीगोरुपमा धानको उत्पादन पनि बढाउन सकिन्छ

अरु देशहरुमा काटेको धान सुकाउन ड्राएर मेशिनको प्रयोग गरेको पाइन्छ । नेपालमा पनि चामलमिलहरुमा धानलाई सुकाउने गरेको पाइन्छ तर कृषकस्तरमा यसोगरेको पाइदैन । चैते धानको नर्सरी ब्याडमा प्लाष्टिक प्रयोग गरे बेर्ना चांडै हुर्काउन सकिन्छ र पछी काटने बेलामा समस्या कम हुनजान्छ ।

धानको ब्याडमा बीउ छर्नू अघि एक महिनासम्म ब्याडमा प्लाष्टिकले छोपिदिए (स्वायल सोलराइजेसन) माटोमा हुने रोगका जीवाणु न्यून भई बेर्नाको स्वास्थ्यपनि राम्रो भएको पाइएको छ । हर्दिनाथ १ जात त चाँडै यानी ११० दिनभित्रै पाक्दछ र यसपछि अन्यबाली लगाउन अतिनै सहज हुने गर्दछ । धानको बीउलाई १ लिटरपानीमा २०० ग्राम खानेनुन अथवा २२५ ग्रँम युरियामल प्रयोग गरी घोल बनाएर छान्दा राम्रो नतिजा पाइएको छ । यसरी छानेको बीउलाई तुरुन्तै साधारण पानीले २,३ पटक धुनु पर्दछ ।

कम्पोष्टमल प्रशस्त हाली ब्याड बनाउनु पर्दछ । भनिन्छ ‘हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात’ । रोपाई गरिने मुख्य खेतमा पनि प्रशस्त कम्पोष्टमल वा हरियोमल प्रयोग गरे माटोको स्वास्थ्य कायम हुनुको साथै दीगोरुपमा धानको उत्पादन पनि बढाउन सकिन्छ । किनकी धानबालीमा टपड्रेस गरेको युरियाबाट ६० देखि ७० प्रतिशत नाइट्रोजन चुहिएर, बगेर, एमोनियाग्यांसको रुपमा उडेर खेर जाने गर्दछ ।

त्यसैले धानबालीमा एकीकृत पोषकतत्व वा खाद्यतत्व व्यवस्थापनगर्नु जरुरी छ । यस्को मतलव १०० किलोग्राम प्रति हेक्टर नाइट्रोजनदिन ५० किलोग्राम नाइट्रोजन रासायनिक मल (युरिया) बाट र बांकी ५० किलोग्राम गोठेमल वा ढैंचा जस्ता हरियोमलबाट दिने हो । चैते धानमा एसआरआई (श्री) पध्दतिले अझ राम्रो नतिजा दिएको पाइएको छ ।

धान तथ्यांक

धान उत्पादन (मिलियन टन) :

नेपालमा पछिल्लो १६ बर्षको धानबाली स्थिति :

नेपालमा पछिल्लो १४ बर्षको उपभोग्य खाद्यान्नस्थिति :


तथ्यांक श्रोत :कृषि तथा पशु विकास मन्त्रालय, कृषि व्यवसाय प्रवर्धन तथा तथ्यांक महाशाखा

यो पनि बढ्नुहोस्

राष्ट्रिय अर्थतन्त्र धानेको धान, बीउ छान्न ‘वैज्ञानिक’ बन्ने कि ?

नेपाली कुनै दिन भोकै बस्नुपर्ने अवस्था बन्न सक्छ !

लेखक नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट अबकास प्राप्त वरिष्ठ धानबाली बिशेषज्ञ  हुन्।


भर्खर

0