एउटा हात चुँडिएपनि गुमेन ‘हिम्मत’– ‘कवाडी’ सामान बटुलेर परिवारको लालनपालन « Khabarhub
Logo
२८ चैत्र २०७६, शुक्रबार

एउटा हात चुँडिएपनि गुमेन ‘हिम्मत’– ‘कवाडी’ सामान बटुलेर परिवारको लालनपालन



काठमाडौं– बारा जिल्ला गढीमाईका शुकल पासवान नपुगेको काठमाडौंका गल्ली र चोक विरलै होलान् । विगत १० वर्षदेखि पुरानका कागज बोतल र अन्य ‘कवाडी’ सामान संकलनका लागि गल्लिगल्ली पुग्ने पासवान एक्ला पात्र होइनन् काठमाडौंमा । उनी जस्तै अन्य कयौं व्यक्ति यसरी शहरका गल्ली गल्लीमा पुग्ने गरेका छन् । तर पाशवानको कथा पृथक छ ।

बारा जिल्लाको गढीमाई घर भएका पासवान १० वर्ष अघि घर नजिँकैको एउटा तोरी पेल्ने मिलमा काम गर्थे । परिवार चलाउनका लागि केही आम्दानी होस् भन्नका लागि उनी दिनरात नभनी काममा खटिएका थिए । मिलमा काम थगालेको सात महिनापछि चलिरहेको तेल पेल्ने मिलको फित्तामा उनको हात अड्कियो र चँुडियो । काम गरिखाने हात नै चुँडिएपछि पासवान समस्यामा परे । हातको उपचारका लागि उनी तीन महिना अस्पताल बसेका थिए । ‘३५ वर्षको उमेरमा हात चुडिँयो’ पासवानले विगत सम्झदै भने,‘लक्का जवानमै हात चुँडिएपछि आफनो जीवन र सवै कुरा समाप्त भए जस्तो लाग्यो ।’

हात चुँडिएपछि उनी केही समय गाउँमा नै बसे । तर परिवारको लालनपालन तथा छोराछोरीको अध्यनका लागि कमाउनुपर्ने बाध्यता थियो । त्यसमा पनि आर्थिक अवस्था कमजोर भएपछि घरमा नै बसेर पनि जीवन चल्दैन थियो । केही समय गाउँमै इट्टा बोक्ने काम पनि गरे तर त्यसबाट भएन । त्यसपछि पासवान काठमाडौं भित्रिए ।

काठमाडौं आएपछि उनले एउटा साइकल किने र एक हातले साइकल चलाउँदै घरघर, गल्ली गल्ली पुगेर कवाडी सामानहरु संकलन गर्ने र बेच्ने गर्न थाले । त्यसपछि उनको दैनिक केही सहज रुपमा चल्न थाल्यो । पासवान पुरानो बानेश्वर, माइतीघर, सेतोपुल, रातोपुल, कालोपुल, अनामनगर, घट्टेकुलो र नयाँ वानेश्वर आसपासमा एक दर्शकदेखि एउटा हातले साइकल कुदाएर ‘कवाडी’ बटुल्छन् । पासवान यी क्षेत्रमा परिचित ‘कवाडी बटुल्ने’ व्यक्ति बनिसकेका छन् ।

शुक्रवार सेतोपुल नजिकैको कवाडी सकंलन केन्द्र छेउमा भेटिएका पासवानले कवाड बटुल्लेर आएको आफनो कमाइले काठमाडौंमा बसेर दुई छोरी र एक छोरालाई पढाउन र खान सकिएको बताए । ‘कवाडी संकलन गरेर कमाएको पैसाले घर परिवार चलाउन खर्च र छोराछोरी पढाउँदै आएको छु’ पासवानले भने,‘जीविको पार्जनका लागि एउटा हातले साइकल कुदाएर कवाडी बटुल्छु । आफु बाँच्नुभन्दा परिवारका लागि बाँचेर काम गरिरहेको छु । जिवमे दुःख छ, बालबच्चा छ नी उसका लागी हामी काम गरिरहेका छौं ।’

तेल मिलले हात खाएपछि आफूलाई बाँच्नुको केही अर्थ छैन जस्तो लागेको पासवान बताँउछन् । शारीरिक रुपमा अशक्त भएर काम गरि खान निकै गाह्रो भएको उनको भनाइ छ । उनले भने, ‘अपांग भएपछि काम गरि खान सहिजो छैन । अपांगलाई समाजले पनि राम्रोसँग हेर्दैन । ’

हात गुम्यो पाएनन् क्षतिपूर्ति

तेल पेल्ने मिलमा काम गर्दागर्दै हात चुँडिएपनि पासवानलाई मिल धनीले क्षतिपूर्ति दिएनन् ।

क्षतिपूर्ति र उपचारका लागि प्रशासनदेखि राजनीतिक नेताका घरदैलोसम्म चाहारे पनि कसैबाट सहयोग नभएको उनको दुखेसो छ । ‘गरीब र सामान्य परिवारको मान्छे भएकाले होला मेरा लागि खासै कसैले बोली नै दिएन’ १० वर्ष अघिको घटना सम्झदै पासवानले भने ।

‘तेल मिलले क्षतिपूर्ति नदिएपछि रहेको एउटै हातले भएपनि काम गरि खाने हिम्मत गरेँ । त्यसपछि धेरैतिर कामको खोजिमा हिडें तर, हात नभएपछि कसैले काम दिएनन्’ पासवानले विगत सम्झदै भने,‘त्यसपछि गाँउमै केही महिना इँटा बोक्ने भरियाको काम गरेर जीवनको सुरुवता गरेँ ।’

बेला–बेला दुःख र आसुको समुद्रबाट उम्किएर नयाँ जिवन पाए जस्तो लागि रहेको उनको भनाइ छ । अब जीवनमा बाँच्न र काम गरि खान मुश्किल नहुने उनको बुझाइ छ ।

अपांग भएपनि पासवानले हार मानेनन् । दुबै हात भएकालाई त काठमाडौंको सडक र गल्लीमा साइकल वा सवारी साधन चलाएर हिँड्न सहज छैन त्यसमा पनि पासवानको त एउटा हात छैन । त्यसमा पनि उनी साइकिलको पछाडि ‘कवाडी’ सामान बाँधेर हिँड्नु पर्ने बाध्यता छ । भन्छन्, ‘बाँच्न कहाँ सजिलो छ र हुजुर ।’

काठमाडौं आएपछि एकजना साथीको सहयोगमा एउटा साइकल लिएर पासवान कवाडी बटुल्न थाले । विस्तारै एक हातले साइकल कुदाउन अभ्यास भएपछि सहज तरिकाले साइकल लिएर कवाडी बटुल्न थालेको पासवान बताउँछन् । राज्यले केही सुविधा नदिएको उनको गुनासो छ । आफू जस्ता शारिरीक अशक्तलाई राज्यले केही सुविधा दिनुपर्ने उनको भनाइ छ ।

एक हातले मात्र साइकल कुँदाएर भएपनि पासवानले मासिक ३० हजारको हाराहारीमा कमाउँने गरेका छन् । कक्षा ५ सम्मको अध्ययन गरेका पासवानलाई सामान संकलन र विक्रीका लागि हिसाब कितावमा समस्या पर्दैन ।

पत्नीको प्रेरण

पासवानले त हात चुँडिएपछि जीवनदेखि हार खाइसकेका थिए । तर पत्नीले उनलाई सधैं साथ दिइन् । उनले सधैं पासवानलाई काम गर्न प्रेरणा दिइरहिन् । ‘मलाई श्रीमतीले पनि तिस्कार र घृणा गरेको भए आज म यो दुनियाँमा हुँदैनथिए होला’ पासवानले भने, ‘श्रीमती मलाई नयाँ जीवन नै दिएकी छिन् । उनको प्रेरणा र मायाले मलाई एउटा हात भएपनि काम गर्नुपर्छ भने प्रेरणा मिलेको हो ।’

शारीरिक अशक्तलाई माया र काम गर्ने प्ररेण परिवारबाट प्राप्त भए धेरै सहज र हिम्मत आउने उनको भनाइ छ ।

‘परिवारको साथ पाए दुवै हात गुमेपनि बाँच्न सजिलो हुन्छ’ पासवानले भने ।

अब केही वर्ष ‘कवाडी बटुल्ने’ काम गर्ने र पछि गाँउ फर्किएर परिवारसँग बसेर खेती किसान गर्ने इच्छा भएको पासवानले बताए ।

पासवान जस्ता धेरै शारिरीक अशक्तता भएका व्यक्तिले रोजगारीसँगै उद्यमी बनेर काम गरिरहेका छन् । शारिरीक रुपमा सवल नभएपनि जीविको पार्जनका लागि संघर्ष गर्ने व्यक्तिलाई राज्यले प्ररेण, सुविधा र अवसर दिनु पर्छ तर अहिलेसम्म राज्यले त्यस्तो व्यवहार उनीहरुमाथि गरेको छैन ।

केही भत्ता दिने र उनीहरुलाई राख्ने भन्दा योग्यता र क्षमताका आधारमा कामको व्यवस्था राज्यले दिलाउन सकेको खण्डमा उनीहरुलाई राहत हुने थियो । शारिरीक अशक्तलाई राज्यले वेवास्ता गर्दा उनीहरु हिंसाको शिकार हुनाको साथै परिवारमा समेत हेयको रुपमा हेरिने गरेका छन् । तर लगन, दृढ इच्छाशक्ति भए पासवान जस्तै शारीरिक रुपमा कमजोर भएपनि काम गरेर खाने वातावरण भने बन्न सक्छ ।


भर्खर

0