सात तलाबाट फुत्त के हाम फालेको थिएँ, मलाई एकाएक ‘हिरो’ बनाइदिए

नेपाली फिल्ममा आत्मा छैन

अर्घेलो थापा

सोमवार, साउन १३, २०७६

Reading Time: 11 minutes

सात तलाबाट फुत्त के हाम फालेको थिएँ, मलाई एकाएक ‘हिरो’ बनाइदिए

काठमाडौं – त्यतिबेला अहिलेको जस्तो प्राविधिक विकास भइसकेको थिएन । सामाजिक सञ्जालको यो रुपको त मान्छेले कल्पना समेत गरेका थिएनन् । सामाजिक सञ्जाल नै कल्पना नगरिएपछि जो कोही एकाएक ‘भाइरल’ हुने अहिलेको जस्तो ‘ट्रेन्ड’ हुने कुरै भएन ।

तर, निखिल उप्रेती एकाएक भाइरल बनेका थिए त्यो बेला । रातारात उनको चर्चा चुलियो । यो खबर गाउँगाउँसम्म पुग्न धेरै समय लागेन । कुनै फिल्मको कहानीजस्तो निखिलको हिरोइज्मको चौतर्फी चर्चा भयो, ‘निखिल उप्रेतीले सात तलामाथिबाट हाम फाले रे !’

यो खबर ‘भाइरल’ हुन धेरै समय लागेन । यही सात तलाबाट जम्प गरेको एउटा दृश्यले निखिलको स्टारडमलाई रातारात चम्काइदियो । उनी मात्र चम्केनन् । फिल्म पनि ‘हिट’ हुन थाले ।

फिल्म हिट हुनु भनेको फिल्म क्षेत्रको प्रगति हुनु पनि हो व्यावसायिक हिसाबले ।

अर्कातिर फिल्म मेकिङ अहिलेजस्तो सहज थिएन । त्यतिबेला ‘स्टन्ट’ गर्न प्राविधिक सहजता थिएन । जे गर्नुपर्थ्यो, वास्तविक गर्नुपर्थ्यो । यस्तो जोखिम मोलेर अठार वर्षअघि निखिलले तीनकुनेस्थित कान्तिपुर कम्प्लेक्सको सात तलामाथिबाट ‘जम्प’ गरेका थिए ।

निखिल आफै भन्छन्, ‘के सात तलामाथिबाट फुत्त जम्प गरेको थिएँ…’

त्यो चलचित्र ‘पिँजडा’ को शूटिङ थियो । स्टन्टम्यान हुँदै फिल्ममा ब्रेक पाएका अभिनेता निखिल उप्रेतीको रातारात चर्चा भयो त्यही ‘जम्प’का कारण ।

त्यो जम्पले फिल्म मात्र हिट भएन, निखिल पनि एकाएक हिट भए । सात तलामाथिबाट हाम फालेका निखिलले आफूलाई एक्सन स्टारका रुपमा छोटो समयमा आफूलाई स्थापित गराए ।

निखिल उप्रेतीले एक फिल्म छायांकनका लागि चोभारमा दिएको एक दृश्य । तस्वीर सौजन्य: निखिल उप्रेती

त्यसो त निखिलले ‘मायाको जाल’ फिल्मका लागि मुग्लिङको पुलमाथि जोखिम मोलेर हिँडेका थिए । यस्ता कैयन् स्टन्ट निखिलले दिए, जसले गर्दा सधै चर्चामा रहे । त्यतिकै उनी ‘एक्सन स्टार’ बनेका त पक्कै होइनन् ।

अहिले भने निखिललाई सिनेमा उद्योगले बिर्सेको छ । कुनै बेला नेपाली फिल्मको विकास र फिल्मका लागि खम्बा बनेका निखिलले कति निर्मातालाई नाफामा पुर्‍याए । त्यसको लेखाजोखा छैन ।

कैयन् हिट फिल्म दिएका निखिललाई अहिले भने फिल्म क्षेत्रले लगभग बिर्सेको छ ।

एउटा समय थियो, फिल्ममा निखिल उप्रेतीलाई खेलाउनका लागि निर्माताहरुको खोसाखोस हुन्थ्यो । एकपछि अर्को फिल्ममा उनलाई कामको अफर आउँथ्यो । उनीसँग फुर्सद नै हुँदनथ्यो । फिल्मकर्मीलाई समय दिन उत्तिकै गाह्रो थियो उनलाई । कति फिल्मकर्मी त उनको घरसम्मै लिन आइपुग्थे, त्यो पनि निखिल ओछ्यानबाट नउठ्दै ।

यतिसम्म कि, उनलाई कुन फिल्ममा काम गरिरहेको छु भन्ने पनि थाहा हुँदनथ्यो कहिलेकाहीँ । समय दिए पो भन्नु । कुनै वस्तुलाई झैँ एक ठाउँबाट अर्को ठाउँमा टपक्क टिपेर लैजान्थे उनलाई ।

‘कतिले त फिल्म खेल् भन्दै धम्की पनि दिन्थे, तर मलाई मतलब नै लागेन,’ निखिल आफ्नो करिअरको त्यो व्यस्त समय सम्झन्छन् ।

अहिले उनका हातमा फिल्म छैनन् । केही फिल्मबाट अफर आइरहेका छन् । तर, ती फिल्ममा काम गरिरहेका छैनन् उनले । बरु केही फिल्ममा आफै लगानी गरिरहेका छन् ।

निखिल उप्रेतीको ‘क्रेज’ घटेको छ? दर्शकले भुलिसकेका हुन् र !

‘हैन, दर्शकले मलाई भुल्नुभएको छैन, फ्यान बरु बढ्नुभएको होला तर घट्नुभएको छैन, अहिले पनि म जहाँ जान्छु, त्यहाँ फ्यानबाट घेरिन्छु,’ निखिल सुनाउँछन् ।

फिल्मको प्रचारका लागि त उनलाई कतै कुद्नुपरेको छैन । तर, उनी कार्यक्रमका लागि देशका विभिन्न स्थानमा पुगेका छन् । गाउँगाउँमा हुने महोत्सवमा पुगेका हुन्छन् ।

भलै पहिलेको जस्तो चर्चा छैन । अहिले कुनै निर्माता फिल्म खेलाउन घरबाहिर आएर कुर्दैनन् ।

‘हाम्रो देशमा जो बोल्न सक्यो, त्यही अगाडि आउँछ, यो समस्या होइन, महासमस्या हो, यो त ‘न्वाइज’ हो,’ निखिल अहिलको फिल्मी वृत्त केलाउँदै थप्छन्, ‘यहाँ जान्ने र नजान्नेमा खासै फरक छैन, गर्ने र नगर्नेमा पनि खासै फरक छैन ।’

उनले बुझेका छन् – आजभोलि चर्चामा ती आउँछन्, जो नजिक छन्, जसले बढी हल्ला गर्न सक्छन् ।

‘जो जान्दछ, उसलाई हल्ला गरेर हिँड्ने इच्छा कहिल्यै हुँदैन, किनकि हल्लाको पछि धेरै कुरा हुन्छ,’ उनी वर्तमान सिनेमा क्षेत्रको अवस्था केलाउँदै भन्छन् ।

अहिलेका धेरै कलाकारले ‘सटकट’ खोजिरहेका छन् । उनीहरु केही समय ह्वार्र आउँछन् । र, एकाएक लापत्ता हुन्छन् ।

निखिलले बुझेको पनि यही हो । त्यसैले त निखिलको अहिले पनि चर्चा हुन्छ ।

‘जोकोही यहाँ आउँछ तर लामो या छोटो कुन बाटो खोज्छ भन्ने मुख्य कुरा हुन्छ, हल्ला गरेर अगाडि बढ्ने अवस्था छ भने कुनै न कुनै दिन त उसले ठक्कर खानैपर्छ, त्यसपछि ऊ आफ्नो साइजमा आएँछन्,’ निखिल भन्छन् ।

निखिल उप्रेती भन्नबित्तिकै दर्शकको मनमा एउटा तस्वीर थपक्क बस्छ । उक्त तस्वीरमा निखिल उप्रेती स्मार्ट छ, घुमीघुमी किक हान्छ । दर्शकको दिलमा यो तस्वीर अहिले पनि उत्तिकै ताजा छ ।

निखिल भन्छन्, ‘यतिखेर निखिल उप्रेती आउट भइसकेको व्यक्ति हो, उसको क्रेज अझै पनि छ, हुन त नेपाली फिल्म उद्योगले बिर्सिँदा निखिल कहिल्यै दुःखी हुँदैन ।’

हिजो निखिलले फिल्ममा इन्ट्री गर्दा यो क्षेत्रको अवस्था जस्तो थियो, त्योभन्दा माथि उठ्न सकेको छैन फिल्म उद्योग । त्यसैले त निखिल भन्छन्, ‘यो आत्मा नभएको उद्योग हो ।’

आत्मा नै नभएको उद्योग । जुन उद्योग विकास हुन सकेको छ, त्यो उद्योगको कसरी आत्मा हुन सक्छ ?

‘मेरो एउटा समय थियो, त्यो समयमा मैले काम गरेँ, मेरा लागि दुःखको कुरा होइन, तर नेपाली फिल्म उद्योगप्रति मेरो बिचरा भावना छ,’ निखिल सिनेमा क्षेत्र केलाउँदै सुनाउँछन् ।

उनलाई यो क्षेत्र उत्तिकै प्यारो लाग्छ । लाखौँ दर्शकमाझ उनको परिचय छरिदिएको यही फिल्म उद्योग हो । तर, यो क्षेत्रलाई निखिलले ‘दया’को हिसाबले हेर्छन् । ‘बिचरा’ को भावले हेर्छन् । नेपाली फिल्म उद्योगले अनुभवी कलाकारलाई सजिलै नकार्दिन सक्छ ।

निखिल पनि नकारिएका अनुभवीमध्येका एक हिस्सा हुन् ।

‘हाम्रै नेपाली कति कलाकार बितेर जानुभयो, हाम्रोमा समाचार समेत आएन, तर यहाँ विदेशी कलाकारको सानो इभेन्ट पनि मुख्य समाचार बनाइन्छ, आफ्नो देशको लागि गरिँदैन,’ निखिल अगाडि थप्छन्, ‘यहाँ त कस्तो छ भने खाना पकाउन नजान्ने मान्छेले नयाँ भाँडा खोजेजस्तो छ । भाँडा सधै नयाँ ल्याउँछ तर खाना चाहिँ बकबास बनाउँछ, र त्यही नयाँ खानालाई नयाँ भन्दै विज्ञापन गर्छ ।’

‘त्यसमा पनि एउटा मजाको कुरा छ, खाना पकाउनै नजानेकाले पकाए पनि कुनै न कुनै टेस्टको त हुन्छ नि, चाहे नुन धेरै होस्, चाहे मसला धेरै होस्,’ उनी भन्छन् ।

नेपाली फिल्म क्षेत्र र समीक्षकहरुले खाना पकाउन नजानेकाले पकाएको खानालाई नयाँ ‘ट्रेन्डिङ’ सम्झिएको निखिल बताउँछन् । उनका अनुसार यो ट्रेन्डिङको कुनै लक्ष्य नै छैन ।

‘मैले १९ वर्ष बिताएपछिको गुनासो होइन, यो फिल्म क्षेत्रप्रतिको गुनासो पनि होइन, मैले वास्तविकता बोलेको हुँ,’ उनी थप्छन् ।

सयौँ फिल्ममा अभिनय गरेका निखिलले बलिउडका फिल्ममा पनि काम गरेको बताउँछन् । अहिले भने उनी फिल्मकर्मीका लागि चासोका विषय बनेका छैनन् ।

‘जबसम्म गरेँ, गज्जब गरेँ, सास नफेरी गरेँ, अब यो क्षेत्रले मेरो काम छैन भन्यो, म फुर्सदिलो भएँ,’ निखिल आफ्नो करिअरको उतारचढाव सुनाउँदै अगाडि थप्छन्, ‘अब मेरो काम नै छैन भन्ने पनि होइन, फेरि फर्किन सक्छ, किनकि हामीले गर्मी महिनामा विश्वास नै गर्दैनौँ कि पुसको जाडो पनि कुनै समय आउनेछ ।’

नेपाली फिल्मको बजार अब घरेलु फिल्मका लागि मात्र रहेन । पछिल्लो आँकडालाई आधार मान्ने हो भने नेपाली फिल्मभन्दा विदेशी फिल्मले आम्दानी गरिरहेका छन् । हेर्दाहेर्दै नेपाली फिल्मको बजार विदेशी फिल्मले आफ्नो पोल्टामा पारिरहेका छन् ।

यही कुरा निखिलले दश वर्षअघि नै ओकलेका थिए । भन्छन्, ‘म बलिउड फिल्म उद्योगबाट आउँदा नै यो कुरा भनिरहन्थेँ, हेर्नुस् त नेपाली विदेशी फिल्मले कसरी नेपाली फिल्मको बजार सक्यो !’

‘नेपाली फिल्मले नयाँ धारको नाम लियो, विभिन्न धारको नाम लियो, अहिले मार्केट कसको भयो ? बलिउडको भयो होइन ?,’ निखिल कड्किँदै भन्छन्, ‘अब हाम्रो बजार नेपाली फिल्मको मार्केट भयो र ? थिएटर शैली पनि त बन्द भयो, अझ पूरै ‘बाइकट’ हुन्छ हेर्नुहोला ।’

उनका अनुसार फिल्म भनेपछि फिल्मजस्तो हुनुपर्छ । फिल्म भनेको ‘प्राविधिक’ कुरा हो । नाटकजस्तो फिल्म बनाउनुपर्छ भनेर लाग्नेहरुले नै नेपाली फिल्मको बजार डुबाएका हुन् ।

उनी खासमा ‘हिरो’ बन्न आएकै थिएनन् । उनको लक्ष्य त एक सफल निर्देशक बन्नु थियो । शायद, त्यही लक्ष्य पूरा गर्न हुनुपर्छ, निखिल पछिल्लो समय फिल्म निर्देशनमा पनि जुटेका छन् ।

‘के सात तलाबाट फुत्त जम्प गरेको थिएँ, मलाई त एकाएक हिरो बनाइदिए, मैले त्यतिखेरै भनेको थिएँ, खास त म निर्देशक बन्न आएको हुँ,’ निखिल सुनाउँछन् ।

पहिलो फिल्मले नै उनलाई एकाएक हिट बनाइदियो । त्यो पनि नराम्रोसँग । उनको क्रेजले एकैपटक सात तलामाथि पु–याइदियो । ‘म यो कुरामा म आफूलाई भाग्यमानी ठान्छु कि, अहिले पनि मेरो क्रेज बढ्दो छ तर घट्दो छैन,’ निखिल गर्वका साथ भन्छन् ।

उनले आफ्ना फिल्ममा नयाँ प्रयोग गर्न खोजेका थिए । त्यतिबेलै उनले ‘सावधान’ बनाएका थिए । तर, त्यो फिल्म चलेन ।

‘त्यतिबेला सबै मिलेर मेरो फिल्मलाई फ्लप बनाइदिए, एकजनाले राम्रो गर्न खोज्यो भने सबै मिलेर लात हान्छन्, किनकि उनीहरुलाई भविष्यको तनाव हुन्छ,’ निखिल भन्छन् ।

‘पहिला हलमा हाम्रा फिल्म हेर्ने दर्शकको भीड हुन्थ्यो । तर तथाकथित समीक्षकहरुले नयाँ धार भन्दै हाम्रो बजार नै सखाप पारे,’ निखिल आरोप लगाउँछन् ।

उप्रेतीले मोटरसाइकलमा चढी कार नाघ्दै गरेको स्टन्ट दिएको एक दृश्य । तस्वीर सौजन्य: निखिल उप्रेती

‘ढोँडको लठ्ठीमा धार लगाएर हुन्छ ? यहाँको नयाँ धार भन्ने पनि त्यस्तै हो,’ उनी प्रतिप्रश्न गर्छन् ।

ढोँड भनेको मकैको सुकेको बोट हो, मकै काटिसकेपछि बारीमा रहेको सुकेको बोट । जसलाई स्थानअनुसार फरक नामले चिनिन्छ । पश्चिमतिर मकैको ढोँडलाई डाँठ भन्ने गरिन्छ ।

निखिलका अनुसार नेपाली फिल्मको बजार गुम्नुको एउटा कारण फिल्मको समीक्षा पनि हो । केही वर्षयता हेर्ने हो भने अहिले नेपालका गाउँगाउँमा पनि नेपाली फिल्मभन्दा बढी विदेशी फिल्म चल्न थालेका छन् ।

‘तथाकथित नयाँ धारले नेपाली फिल्ममा केही परिवर्तन ल्याउन त खोजेको हो, तर हाम्रो बजार झनै सानो भइदियो,’ निखिल अगाडि थप्छन्, ‘अहिले के भएको छ भने दर्शकले डकुमेन्ट्री तथा ड्रामाजस्ता फिल्म नेपाली हेर्ने र ठूलो क्यानभासका एक्सन, रोमान्टिक फिल्म बलिउडका हेर्न थालेका छन् ।’

समीक्षकले नेपाली फिल्मको बजार बिगारेको निखिलको दाबी छ । नयाँ धार भनेर जसले फिल्ममा विकल्प र मौलिकताको खोजी गरिरहेका थिए, उनीहरुले नै विदेशी फिल्मका लागि ‘स्पेस’ तयार गरिदिएको निखिलको बुझाइ छ ।

‘म कडा आलोचना गर्छु, चलचित्र कसरी शिक्षामूलक हुनुपर्छ? म ठाडै भन्छु, यिनीहरु तिनै व्यक्तिहरु हुन्, जो विद्यालयमा राम्रो विद्यार्थी पनि बन्न सकेनन्, राम्रो विद्यार्थीको सूचीमा समेत नपर्ने विद्यार्थी सधै हिमाल चढ्न चाहन्छ,’ समीक्षकलाई कटाक्ष गर्दै निखिल भन्छन्, ‘उनीहरुले समीक्षामा पनि आफ्नो विद्वानता हाल्न खोज्छ ।’

उनी फिल्म शिक्षामूलक बनाउनुपर्छ भन्नेमा पनि विरोध जनाउँछन् । उनको सीधै बुझाइ छ, ‘चलचित्र शिक्षामूलक बनाउनु भनेको फिल्म उद्योगलाई युनिभर्सिटी बनाउनु हो, जब फिल्म नै स्कूल भयो भने कलेज मनोरञ्जन गर्ने ठाउँ हुन्छ ।’

‘मनोरञ्जनका लागि मान्छे कहाँ जाने नाइट क्लब मात्रै?,’ उनको प्रश्न छ ।

उनी सीधै भन्छन्, ‘समीक्षकले ज्ञानको कुरा गर्छन्, ज्ञान लिन चाहनेले एडल्ट फिल्म हेरेर पनि ज्ञान लिन सक्छन् ।

अहिले नेपाली फिल्म उद्योगलाई निखिल उप्रेतीको खाँचो छैन । निखिललाई पनि यो क्षेत्रप्रति ‘बिचरापन’ को भावना छ । न यहाँ नयाँ कलाकारले पुराना कलाकारलाई सम्मान नै गर्छन् । टेक्नोलोजी पुरानो सिस्टमका आधारमा ‘अपडेट’ हुन्छ । तर, यहाँ कलाकारितामा पुरानो पुस्ता र अनुवभलाई भुलिएको छ । र, ‘नयाँपन’ को खोजी भइरहेको छ ।

निखिल उप्रेतीको भाषामा ‘नयाँ भाँडो’ को खोजी भइरहेको छ । यसमा निखिलको असहमति छ ।

‘एकदिन निखिललाई देशले नै बिर्सिनेवाला छ भने आज फिल्म उद्योगले बिर्सिँदा कुन ठूलो कुरा हो र?,’ निखिल गुनासो नरहने कारण सुनाउँछन् ।

भर्खर

0