नेपाली आकाश असुरक्षित होइन, दुर्घटनाको कारण ‘टेरेन’ र ‘वेदर’ « Khabarhub
Logo
६ आश्विन २०७८, बुधबार

नेपाली आकाश असुरक्षित होइन, दुर्घटनाको कारण ‘टेरेन’ र ‘वेदर’



बुधबार(हिजो) ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाउनु परेको छ । नेपाली आकाशमा पछिल्ला केही दुर्घटनाको निरन्तरताको रुपमा ताप्लेजुङ दुर्घटनालाई लिन सकिन्छ ।

नेपालको भूगोलका कारण पहाडी क्षेत्रमा उडान भर्न त्यति सहज छैन । त्यसमा पनि मौसममा आइरहने परिवर्तनले झनै ठूलो समस्या ल्याउने गरेको छ ।

कतिपयले पछिल्लो समय नेपाली आकाश असुरक्षित हुँदै गएको भन्ने टिप्पणी  गर्न थालेका छन्, जुन सत्य होइन । मैले नेपालमा भएका हवाई दुर्घटना र त्यसमा ज्यान गुमाउनेको एकिन तथ्यांक भन्दा पनि भइरहेका दुर्घटनाको बारेमा गरेको अध्ययन उड्डयन क्षेत्रमा गरेको कामको अनुभव र विश्वव्यापी दुर्घटनाका तथ्यहरुको आधारमा भन्नुपर्दा नेपालमा हुने हवाई दुर्घटना संख्यात्मक रुपमा धेरै होइन ।

दुर्घटना हुनु नै खराब हो । हाम्रो भूगोल नै हवाई सेवामा हाम्रो कमजोरी हो । विश्वका पहाडी क्षेत्र नभएका देशमा उसो भए दुर्घटना नै हुँदैन त भन्ने प्रश्न उठ्न सक्छ तर त्यो सत्य होइन ।

नेपालमा धेरै जसो भीएफआर(भिजुवल फ्लाइट रुल) आँखाले हेरेर गर्ने उडान हुने गरेको छ । जहाँ मौसम हेरेर उडान भर्ने गरिन्छ ।

एक टापुबाट अर्को टापुमा जाँदा मौसममा आएको परिवर्तनका कारण उनीहरुले दुर्घटनाको सामना गरिरहेका हुन्छन् । यता हामीले मौसममा आएको खराबीका कारण पहाडमा ठोकिने समस्या भोगिरहेका छौं ।

नेपालको भूगोलको कारण आन्तरिक विमानस्थलहरु पहाडी क्षेत्रमा नै धेरै छ । पहाडी विमानस्थलमा एकदमै अत्याधुनिक उपकरणसहितको उडान गर्ने सम्भावना पनि कम छ । किनकी त्यहाँको विमानस्थलमा चाप न्यून छ र लागत धेरै हुने हुँदा महँगो पनि पर्न जान्छ । जसले गर्दा पहाडी क्षेत्रका विमानस्थलहरुमा समस्या आउँन सक्छ ।

नेपालमा धेरै जसो भीएफआर(भिजुवल फ्लाइट रुल) आँखाले हेरेर गर्ने उडान हुने गरेको छ । जहाँ मौसम हेरेर उडान भर्ने गरिन्छ ।

अर्को प्रविधी हुन्छ इन्स्ट्रुमेन्ट फ्लाइट रुल । जसलाई मेसिनले नियन्त्रण गर्छ वा यन्त्रका सहायतमा अवस्थाको अध्ययन गर्न मिल्छ । नेपालका सबै उडानमा त्यस्तो हुने अवस्था बन्न सक्ने सम्भावना छैन ।

पहाडी क्षेत्र भएका कारण जोखिम हुनु स्वभाविक हो । एक त टेरेन (पहाड) छ प्लस वेदर‘मौसम’ बिग्रनासाथ विमान चलाउन धेरै गाह्रो हुन्छ

किनकी धेरै लगानी गरेर नेपालमा विमानस्थल बनाउने सम्भावना छैन । पहाडमा ठूलो जहाज जाने सम्भावना पनि हुँदैन, त्यसो हुनाले नेपालमा चल्ने विमान भनेको भीएफआरबाट नै हो । विदेश तिरको ग्रामिण क्षेत्रमा चल्ने जहाज पनि यही पद्दतिबाट हो । पहाड हुने स्थानमा यस्तो जोखिम जहाँ पनि हुन्छ ।

पहाडी क्षेत्र भएका कारण जोखिम हुनु स्वभाविक हो । एक त टेरेन (पहाड) छ प्लस वेदर‘मौसम’ बिग्रनासाथ विमान चलाउन धेरै गाह्रो हुन्छ । जसका कारण कहिलेकाही यस्तो घटना हुन जान्छ । दुर्घटना हुँदै गर्दा के गरेर यस्ता समस्या निर्मूल नै पार्ने भन्ने सोचाइ आउँछ । तर यो निर्मूल नै भने हुँदैन । घटाउन भने अवश्य सकिन्छ ।

सावधानी

भीएफआरमा विमान उडाउँदा हुने स्वभाविक समस्या हो मौसम । उडान भर्ने समयमा आकाश सफा भएपनि क्षणभरमा परिवर्तन आउन सक्छ । अब यसबाट कसरी जोगिने त ? यसका लागि केही काम गर्न जरुरी छ ।

एउटा त विमानस्थलहरुमा महंगो होला तर ग्रामिण क्षेत्रको रुटमा जाँदा मौसम प्रतिकूल भए नभएको जान्नका लागि रुटमा मौसमका लागि मिटरोलोजीको व्यवस्था भए मौसमको पूर्वानुमान गर्न सकिन्छ । त्यसले केही सहज हुन्छ ।

हेलिकोप्टर जस्तोलाई यो सिस्टमले खासै सहयोग हुँदैन । हेलिकोप्टर जहाँ पनि जानुपर्ने हुन्छ ।

यो प्रविधि भएपनि भिएफआरमा उडान भर्नेले आफैंले नै सावधानी अपनाउन आवश्यक हुन्छ । मौसम खराब भएको अवस्थामा विमान नउडाउँदा राम्रो हुन्छ ।

सामान्य अवस्थामा नियम के हुन्छ भने उड्ने बेलामा र ल्याण्ड हुने बेलामा एयर ट्राफिक कन्ट्रोलको निर्देशन अनुसार गर्नुैपर्छ । तर उडिसकेपछि सबै जिममेवारी कमाण्डरको हुन्छ, अर्थात पाइलटको हुन्छ । उसले त्यसलाई विचार गर्नुपर्छ । सबै कुरा उसैको हातमा हुन्छ, उसले त्यसलाई विचार गरेर मात्र उडान भर्नु ठिक हुन्छ ।

पाइलटहरुले पनि रिस्क लिएर भिएफआरमा छिर्ने गरेका छन् । भीएफआरको स्वीकृति लिएर उडेको विमान बादल भित्र छिर्नु हुँदैन भन्ने नियम छ । आइएमसीको कन्डिसन नै हुन्छ । इन्स्ट्रुमेन्ट मिटरलोजि र कन्डिसनमा विमान छिर्नु हुँदैन । यो नियम भन्दा बाहिरको कुरा हो । तर, के यो वास्तवमा सम्भव छ त नेपालमा ?

नेपालमा विमान वा हेलिकोप्टर दुर्घटना भएसँगै जाँचबुझ आयोग बन्छन् । उनीहरले रिपोर्ट पनि जारी गर्छन् । ती रिपोर्टहरु मध्ये धेरै जसोमा दुर्घटनाको कारण सेफ्टी भन्ने हुन्छ

हरेक पाइलटलाई सोध्ने हो भने यो पुरा गर्न शत प्रतिशत सम्भव छैन भन्ने जवाफ पाइन्छ । किनभने उडान भर्दा मौसम ठिक हुन सक्छ र उडिरहँदा बादल भित्र छिरिहाल्छ ।

तुरुन्तातुरुन्तै स्वीच गरेर भीएफआरबाट आइएफआरमा स्वीच गर्न सम्भव पनि हुँदैन ।

भन्नलाई नागरिक उड्डयनका मान्छेहरुले गाली गर्छन् । कहाँ भीएमसीबाट उडेको आइएमसीमा छिर्या भनेर । त्यसको समस्या उडाउने मानिसलाई थाह हुन्छ । त्यसैले टेरेन (पहाड) र वेदर(मौसम)ले गर्दा अलिअलि समस्या आइहाल्छ ।

दुर्घटना अनुसन्धान रिपोर्टको वास्तविकता 

नेपालमा विमान वा हेलिकोप्टर दुर्घटना भएसँगै जाँचबुझ आयोग बन्छन् । उनीहरले रिपोर्ट पनि जारी गर्छन् । ती रिपोर्टहरु मध्ये धेरै जसोमा दुर्घटनाको कारण सेफ्टी भन्ने हुन्छ । रिपोर्टमा ‘कन्ट्रोल फ्लाइट इन्टु टेरिन’ भन्ने उल्लेख गरिएको हुन्छ । जसको अर्थ पहाडमा ठोकिने विभिन्न कारण भन्ने हुन्छ, नदेखेको कारण दुर्घटना भयो भन्ने अध्ययन रिपोर्टहरुमा उल्लेख गरिन्छ ।

रिपोर्टहरुका अनुसार यसमा कसैको गल्ती भन्न मिलेन । यसो हुँदा रिपोर्टमा न त मेकानिकल सामाग्री न पाइलटलाई दोष लाग्यो । धेरै जसो अध्ययन अनुसन्धान रिपोर्टमा यस्तै हुन्छ । आयोगहरुको सिफारिस तत्काल लागू गर्ने खालको हुँदैन तर अन्य कुराहरु लागू भने भइरहेका छन् ।

प्राविधिक समस्याले दुर्घटना

विश्वभरको तथ्यांकलाई हेर्ने हो भने ‘मेकानिकल फेलियर’ भएर जहाज दुर्घटना हुने गरेको तथ्यांक खासै छैन ।

अर्थात् विश्वमा नै विमानमा आएको समस्याका कारण हुने दुर्घटना अत्यन्तै कम हुने गरेको छ । विमान बेलाबेलामा मर्मत नगरेको, परीक्षण नगरेको, अवस्था नाजुक भन्ने कुरा उठ्ने गरेपनि त्यो त्यति धेरै ठूलो कुरा होइन ।

नागरिक उड्डयन प्राधिकरण त्यसको नियमनका लागि रहेको छ । त्यस्तै आइकाओले पनि निरन्तर अनुगमन गरिरहेको हुन्छ । विमानहरुको अवस्थाका बारेमा त्यति धेरै छाडा पन उड्डयन क्षेत्रमा पाइँदैन ।

विग्रेका विमान नेपाल आउँछन् र दुर्घटना हुने गरेको छ भन्ने चर्चा बेलाबेलामा हुने गरेको छ तर यो साँचो होइन ।

कहिले काहीँ  पाइलटलाई घर जाने हतार हुन सक्छ, उसको घरमा पार्टी छ अथवा हतारमा पुग्नु पर्ने केही कारण भए रिस्क बोकेर उसले खराब मौसममा पनि उडान भर्ने स्थिति आउन सक्छ

जहाजहरु चलेका कम्पनीको हुन्छ र एभिसनले प्रमाणित गरेको ‘एफएए’, ‘सीएए’बाट प्रमाणीकरण भएका हुन्छन् । आइकाओका गाइडलाइनका आधारमा विमानहरु नेपाल आउने हो । व्यावसायिक रुपमा केही सस्ता विमानहरु नेपाल ल्याइए पनि त्यसका कारणले विमान वा हेलिकोप्टरहरु दुर्घटना हुने होइनन् ।

चुनौतीको पाटो

खराब मौसम भएको बेलामा किन चालकहरुले विमान वा हेलिकोप्टरको उडन भर्छन् ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

मौसममा आएको खराबीको बारेमा यात्रु वा भीआइपी भन्दा पाइलट धेरै जानकार हुन्छन् । त्यस्तो अवस्थामा पाइलटले लिने निर्णय निकै महत्वपूर्ण हुन्छ ।

तर कहिले-काहीँ  पाइलटलाई घर जाने हतार हुन सक्छ, उसको घरमा पार्टी छ अथवा हतारमा पुग्नु पर्ने केही कारण भए रिस्क बोकेर उसले खराब मौसममा पनि उडान भर्ने स्थिति आउन सक्छ ।

भीआइपी उडानका क्रममा ठूलाबडाले केही दवाव दिँदा पनि पाइलटले लौ त ! भनेर रिस्क लिन सक्छ । तर भीआइपीले यस्तो कार्य गर्नु दुखद् कुरा हो ।

एउटा उदाहरण हेरौं–घुन्सामा भएको हेलिकप्टर दुर्घटनाको बेलामा उक्त विमान रसियाका पाइलटले उडाएका थिए । उनले खराब मौसम भएका कारण उडान भर्न नसकिने बताएका थिए तर भीआइपीले विमान उडाउन दबाब दिए र झोक मै दुर्घटना भयो ! भन्ने समाचारहरु बाहिरिएका थिए ।

दुर्घटना न्यूनीकरणको लागि नेपाल जस्तो पहाडी भूभाग भएको स्थानमा मानवीय निर्णय नै महत्वपूर्ण पक्ष हो

राजनीतिक नेतृत्वले मैले सबै विषय जान्दछु, मैले अर्डर गर्न मिल्छ र यसको सबैले पालना गर्नुपर्छ भन्ने मान्यताले पनि कहिले-काहीँ भीआइपी उडानमा असर गर्न सक्छ । चाटर्ड फ्लाइटमा युजरको कुराले पनि असर गर्न सक्छ ।

पाइलटहरुलाई पोस्टका हिसावले दबाब दिन मिल्दैन । तर भन्दाभन्दै पनि पाइलटहरुले कहिलेकाहीँ रिस्क लिएको हुन सक्छ । यसलाई घटनाउनका लागि सबैले सहयोग गर्नुपर्छ मौसम खराब भएको बेलामा हतार गर्नु भएन र पाइलटले उडान भर्न लागेको खण्डमा त्यसबारे चासो र सचेत पार्न आवश्यक छ ।

दुर्घटना न्यूनीकरणको लागि नेपाल जस्तो पहाडी भूभाग भएको स्थानमा मानवीय निर्णय नै महत्वपूर्ण पक्ष हो ।

( इन्जिनियर वीरेन्द्रबहादुर देउजा हवाई विभागका पूर्व महानिर्देशक हुन् )


भर्खर

0