नेपालले बोलाएको बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीबीच तनाव | Khabarhub Khabarhub

नेपालले बोलाएको बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीबीच तनाव


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न अमेरिकाको न्यूयोर्कमा भएको बैठकमा भारत र पाकिस्तानका विदेश मन्त्रीहरुबीच तनाव भएको छ ।

सार्कको अध्यक्षका हैसियतमा नेपालका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले अमेरिका भ्रमणका क्रममा बैठक बोलाएका थिए ।

बैठकमा भारतका विदेशमन्त्री एस जयशंकर बोल्न शुरु गरेसँगै पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसी बैठकबाट बाहिरिएका थिए । भारतीय विदेशमन्त्री जयशंकर बोलिसकेपछि भने पाकिस्तानि विदेशमन्त्री पुन बैठकमा प्रवेश गरेका थिए । कुरेसीले बोल्ने बेलामा भने भारतीय विदेशमन्त्री जयशंकर बाहिरिएका थिए ।

बैठकमा भारतीय विदेश मन्त्री जयशंकरले आतंकवाद क्षेत्रीय सहयोगका लागि अवरोध भएको बताएका थिए ।

बैठक बहिष्कार गरेपछि पाकिस्तानको सत्तारुढ दल तहरीक ए इन्साफको आधिकारिक ट्वीटरमा भनिएको छ,’पाकिस्तान कश्मीरको तनावका बीच बैठमा बस्नेछैन’ ।

बैठकमा भारतीय विदेशमन्त्रीले भने,’हाम्रो विचारमा सबै रुपको आतंकवाद अन्त्य मात्र फलदायी हुनेछैन यो हाम्रो क्षेत्रकै अस्तित्वको लागि पनि एक पूर्व शर्त हो ।’

यसैबीच सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै पाकिस्तानका विदेशमन्त्री साह मोहम्मद कुरेसीले १९औँ सार्क शिखर सम्मेलन जुनसुकै समयमा आयोजना गर्न आफ्नो देश तयार रहेको बताए । उनले सबै सदस्य देशलाई मान्य र उपयुक्त हुने समयमा कूटनीतिक माध्यमबाट सम्मेलनको मिति प्रस्ताव गरिने बताए ।

यसैबीच सार्कको अध्यक्षसमेत रहेको नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सार्कप्रति सबै सदस्य देशको सकारात्मक धारणा रहेको, सबैले समुन्नत र एकताबद्ध दक्षिण एशियाका पक्षमा अभिमत जाहेर गरेका बताए ।

उनले दक्षिण एशियाको शान्ति, समृद्धि र स्थायित्वको पक्षमा नेपाल रहेको र विवादहरूको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिए ।

वार्ता र संवादको माध्यमबाटै हरेक समस्याको निकास खोजिनुपर्ने नेपालको मान्यता रहेको मन्त्री ज्ञवालीले बताए ।

भारत र पाकिस्तानबीच सार्कमा भएको तनाव यो पहिलो पटक भने होइन ।

गत वर्ष पूर्व भारतीय विदेश मन्त्री सुस्मा स्वराजले सार्क मन्त्री स्तरीय बैठकमा भाग लिएकी थिइनन् । संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइनमा बैठक राखिएको थियो ।

उनले बैठकमा भाग निलएको भन्दै पछि एक कार्यक्रममा पाकिस्तानी विदेशमन्त्री कुरेसीले सुष्मा बारे निच प्रतिक्रिया जनाएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

बैठकमा नेपालले के भन्यो ?

नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ ।

सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो ।

उन्नाइसौँ सार्क शिखर सम्मेलन हुन नसक्दा क्षेत्रीय सहयोगको भावनामा रुकावट आएको तथा केही मन्त्रिस्तरीय बैठक, कार्यशाला र तालीमबाहेक उल्लेख्य गति सार्कले लिन नसकेको अभिव्यक्ति पनि नेपालले बैठकमा प्रस्तुत गरेको छ ।

“सार्कको शिखर बैठक हुन सकेको छैन, सदस्य राष्ट्रले यस सम्बन्धमा उपयुक्त निर्णय नगरिनहुने भएको छ । हाम्रो सङ्गठन अनन्तकालसम्म निष्क्रिय रहिरह्यो भने त्यो विचित्र हुनेछ”, बैठकका अध्यक्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने ।

सम्भावना र अवसरले परिपूर्ण दक्षिण एशियाको सामाजिक–आर्थिक भूदृश्य रुपान्तरणका लागि क्षेत्रीयस्तरमा प्रभावकारी सहयोग अपरिहार्य भएको मन्त्री ज्ञवालीले बताए । उनले गरिबी, असमानता, अल्पविकास, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिजस्ता अनेकौँ चुनौतीले गाँजेको यथार्थ सुनाउँदै तिनको प्रभावकारी सम्बोधनका निम्ति सुदृढ सहयोग अत्यावश्यक भएको बताए ।

एकीकृत दक्षिण एशिया, आर्थिक परस्परनिर्भरता, एशियाली आर्थिक सङ्घ, शान्ति सुरक्षा र यो क्षेत्रको समृद्धि प्राप्तिका लागि सुदृढ एवम विस्तारित सहयोग, आपसी विश्वास र मैत्री अपरिहार्य भएको मन्त्री ज्ञवालीले बताए ।

सार्कको १४औँ महासचिवको नियुक्ति तथा आगामी फागुन १८ गतेदेखि नयाँ महासचिवको पदबहालीबारे पनि बैठकमा विचारविमर्श गरिएको थियो ।

बैठकले श्रीलङ्काली महासचिवलाई अनुमोदन पनि गरेको छ । बैठकमा श्रीलङ्का र बङ्गलादेशबाहेक सबै सदस्य देशका परराष्ट्रमन्त्री सहभागी थिए ।

त्यसैगरी मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह साहिदले सार्कलाई गति दिनुपर्नेमा जोड दिँदै क्षेत्रीय एकताको भावनालाई मर्न दिन नहुने बताए ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १ : १० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम