के हो बझाङ्ग काण्ड ? « Khabarhub
Logo
१२ श्रावण २०७८, मंगलबार

के हो बझाङ्ग काण्ड ?



२०१७ सालमा बहुदलीय व्यबस्थालाई खारेजी गरेकोले त्यसबाट असन्तुष्ट हुन पुगेका राजनीतिक पार्टीहरुले देशका विभिन्न स्थानहरुमा विद्रोह सञ्चालन गरे । ती स्थानहरुमध्ये चितवनको भरतपुर, गुल्मी, इलाम, च्याङथापु, फिदिम, बझाङ्ग आदि स्थानहरुमा बिदेशी भाडाका व्यक्तिहरुले हात हतियार लिएर नै सशस्त्र बिद्रोह सञ्चालन गर्ने राजनीतिक निर्णय भयो । त्यसमध्ये पनि सुदूरपश्चिमको हिमाली क्षेत्र बझाङ्गलाई मुख्य आधार मानी बिद्रोह सञ्चालन गरियो ।

जसका कारणहरु निम्नानुसार मान्न सकिन्छः

(क) तत्कालीन बझाङ्गको सिमाना भारतसँग जोडिएको र बझाङ्गी राजा रामजंगबहादुर प्रायःजसो भारतीयहरुको संसर्गमा रहने र उनको बसोबास नै पिथौरागढ (नेपाल-भारत सिमाना नजिक) मा हुन्थ्यो । यसर्थ उनलाई भारतीय हावाले पनि असर पारेको थियो उनी नेपाल सरकारभन्दा भारतीय विचारधारबाट नै प्रभावित थिए ।

(ख) बझाङ्गको राजा रामजंगबहादुर सिंहलाई बझाङ्गका जनताहरुले देवतासरह मान्ने र राजाका लागि जनताहरु आफ्नो जीउ ज्यान दिन पनि तयार रहेकाले बझाङ्गमा हुने भावी विद्रोहलाई बझाङ्गी राजाले समर्थन दिएमा जनताको सहयोग पाई राजनैतिक समुहको उद्देश्य पुर्ति हुन सक्ने देखिएको ।

(ग) तत्काल भारत पनि राजा महेन्द्रको कदमप्रति मौन रुपले विरोधमा लागेको र बझाङ्गी राजालाई उक्साई नेपाल सरकारविरुद्ध कदम चाल्न गोप्य रुपबाट सहयोग दिंदै आएको थियो ।

(घ) बझाङ्गी राजा रामजंग व्यक्तिगत रुपबाट पनि अरुको विचार र भावनाबाट अभिप्रेरित भई उक्सावटमा लाग्ने तर कुनै काम गर्छु भनेपछि गरेरै छाड्ने दृढ स्वभावका थिए । उनको मुकाम पिथौरागढमा हुँदा नेपाली राजनीतिक समुह र भारतका केही व्यक्तिहरुले पनि उनको नेपालविरुद्धको भावना वृद्धि गराईदिएका थिए ।

(ङ) भाडाको सैनिक भर्ति गर्न, तालिम दिन र विद्रोहका लागि चाहिने हात हतियार तथा अन्य सहयोग जुटाउन पनि पिथौरागढ इलाका अति नै उपयोगी थियो ।

नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले २०१७ को जेठमा राज्य रजौटा र तीनको स्थानीय सरकार हटाउने घोषणा गर्‍यो, तर बझाङका राजाले मानेनन् ।

बझाङ्गी राजा रामजंगबहादुर सिंहको छोरा ओमजंगबहादुर सिंह काठमाडौंस्थित त्रि-चन्द्र कलेजमा पढेका युवक र जोसिला व्यक्ति थिए । रामजंग स्वयंले नै नेपाल सरकारविरुद्ध हातहतियार उठाई लड्ने निधो गरे । रामजंग धेरै बुढा भएका र आफ्ना बुबाको ज्यादै जिद्दिले गर्दा बाबुको ठाउंमा छोरा ओमजंगले उक्त विद्रोहको नेतृत्व गरी पिथौरागढबाट भाडाका हतियारधारीसहित उनी बझाङ्गको जन-समर्थन समेत जुटाउन थाले । त्यस बखत रामजंग नेपालबाट बाहिरिएका कार्यकर्ता तथा केही भारतीयहरुसमेत पिथौरागढमा नै बसी विद्रोहीहरुका लागि आवश्यक पर्ने सयहोग जुटाउदै रहे ।

नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले २०१७ को जेठमा राज्य रजौटा र तीनको स्थानीय सरकार हटाउने घोषणा गर्‍यो, तर बझाङका राजाले मानेनन् । बझाङी राजा रामजंगका छोरा ओमजंगले नेपाल सरकारको जस्तै समानन्तर सरकार घोषणा गरी चुनौती दिए । त्यसपछि डोटीमा रहेको बडाहाकिमको फौज तथा ओमजंगको फौजबीच युद्धभयो ।

दुवैतर्फ गरी २ जनाको मृत्यु भयो । रामजंग र ओमजंग दुवै भागेर भारत पसे । पछि २३ नोभेम्बर १९६० मा रामजंग काठमाडौंमा आई राजा महेन्द्रलाई आफ्नो राज्य कायम राख्न अनुरोध गर्दै त्यस बारेमा प्रेस कन्फरेन्स गर्दै थिए । तर नेपाली कांग्रेसको सरकारले त्यसलाई हस्तक्षेप गरी कार्यक्रम हुन दिएन र रामजंगलाई हाउस एरेष्ट गर्‍यो ।

तर पछि, उनलाई भारत जान दिइयो । माथिको स्थितिलाई विश्लेषण गर्दा नेपाल सरकार र बझाङको राजाको समस्या राजा महेन्द्रको प्रत्यक्ष शासनमा मात्र नभै नेपाली कांग्रेसको सरकार रहँदा देखिनै शुरु भएको देखिन्छ ।

पञ्चायती व्यबस्थाको सुरुवात तथा राजा-रजौटा उन्मुलन ऐनको कार्यान्वयनको कारणले समेत नेपाल सरकारविरुद्ध बझाङ्गमा बिभिन्न विद्रोही कारबाही शुरु भयो । आफ्नो बृद्ध पिताको आग्रह र ठोस आदेशमा विद्रोहीको कारवाहीको नेतृत्व ओमजंगबहादुर सिंहले गरेका थिए । बिस्तारै बढ्दै गई विद्रोहले चर्को रुप लिएर सुरक्षा सेनाकाविरुद्ध आखिर हतियार उठाएर नै मुठभेड शुरु भयो ।

उक्त विद्रोहीहरुलाई दमन गर्ने कारवाहीको लागि २०१९ साल भदौमा तत्कालीन श्री ५ को सरकारको निर्णय अनुसार नेपाली जंगी अड्डाबाट श्री श्रीनाथ गणलाई आदेश भयो । त्यस बखत उक्त गणको गण हेड क्वाटर नेपालगञ्जमा (क) गुल्म धनगढी, (ख) गुल्म हुम्ला, (ग) गुल्म डोटी र (घ) गुल्म बैतडीमा थियो । श्री श्रीनाथ गणका तत्कालीन गणपति प्रमुख सेनानी श्री वीरेन्द्रप्रसाद शाह (पछि सहायक रथी) हुनु हुन्थ्यो ।

आर्मी हेडक्वार्टरको आदेशानुसार डोटीमा रहेको (गु) गुल्म र बैतडीमा रहेको (घु) गुल्मलाई उक्त कार्यको लागि रवाना हुने गण हेड क्वाटरबाट आदेश गयो । त्यसबेला (घ) गुल्मको गुल्मपतिको काम उपसेनानी केशरबहादुर गड्तौला (पछि सहायक रथी) ले गर्नु भएको थियो । पछि लगत्तै डोटीमा रहेको (गु) गुल्मलाई पनि रवाना हुने आदेश हुदाँ सह(सेनानी रोहितविक्रम राणाको कमाण्डमा यो गुल्म पनि अघि बढ्यो ।

यसरी २०१८ साल भाद्र महिनाको प्रतिकुल मौसममा सैनिक कारवाहीको लागि अगाडी बढी यो दुवै गुल्मको भेट बझाङ्गको थराला भन्ने ठाउँमा भयो र दुवै गुल्मपतिहरुको सरसल्लाहपछि गुल्महरु साना-साना टुकडीमा विभाजन भई कारवाहीको लागि अगाडी बढे ।

सो अनुसार (घु) गुल्मलाई २ भागमा बाँडी एक टोली करकले खोलामा हुद्दा खड्गबहादुर कटुवालको कमाण्डमा त्यही रह्यो र अर्को टोली त्यहाँबाट विद्रोहीहरुतर्फ बढिरहेकै बेलामा बाटामै सुरक्षा सेनामाथि महाभारतको लेकबाट विद्रोहीहरुले गोली चलाउँदा २ घण्टासम्म लगातार मुडभेड भयो । यो ठाउँ महाविकट र उच्चशिखरमा अवस्थित थियो ।

विद्रोहीहरुको त्यो प्रतिघातपुर्ण र अचानक आक्रमणबाट सेनाको मनोबलमै असर परेता पनि धैर्य तथा सजकताका साथ विद्रोहीहरुलाई परास्त गरेरै छाडे । सेना पक्षको कोही कसैको क्षति नोक्सानी भएन । तर विद्रोही पक्षमा भने २ जना मरे । साथै तिनीहरुबाट नेपाली सेनाले ३०३ राइफल ४ नाल र भरुवा बन्दुक ३ नाल र अन्य धेरै हतियार पनि बरामद गर्‍यो ।

यस कारवाही पछि सेना आफ्नो लक्ष्यतर्फ अगाडी बढ्दै थियो । उता विद्रोहीहरु भने अझ बढी संगठित र मजबुद रुपले सेनालाई एम्बुस थापेर बरवाद पार्न, ३०३ राईफल सहित थलाराको जंगलमा लुकेर बसिरहेका थिए ।

सेनाले अस्पताल खोली सैनिक तथा गैरसैनिक घाईते बिरामीको उपचार गरिरहेको थियो । त्यो दिन थियो, महाअष्टमी २०१९ साल । यति बेलासम्म विद्रोहीहरु पुरै भागेका र परिस्थिती काबुमा आईसककेकोले सेनाले दुवै गुल्म आ-आफ्नो स्थानमा फर्के

तर पछि सुरक्षा सेनासँग डराई भाग्न लाग्दा यो कुरा सेनाको इन्टेलिजेन्सबाट थाहा हुन आउँदा, सेनाको पक्षबाट बेलैमा होस पुर्‍याई तिनीहरुलाई घेरामा पारियो जसबाट पहिलो टोली दायाँ, दोश्रो टोली बायाँ र तेश्रो टोली किनारा (Flank) बाट अगाडी बढाई स्वीप (Sweep)को कारवाही गरियो ।

त्यसबाट डराई विद्रोही फौज हतियार फाली भागाभाग गरे । २ जना विद्रोही भने समातिए । साथै थुप्रै हात हतियार पनि हात लाग्यो । समातिएका २ जनालाई गुल्म हेड क्वाटरमा ल्याई गुल्मपतिले तिनीहरुबाट बयान लिए । जसअनुसार थाहा लाग्यो कि ती र तिनका अरु सहभागीहरु गरी ५५ जवान भारतबाट आएका थिए । ती सबैलाई ओमजंगले प्रति व्यक्ति भारतीइ रुपैयाँ ५ सय ( दिई झिकाएका रहेछन् । पुल नहुदां पनि त्यत्रो महाकाली नदीमा तुम्मा लगाई तरेर भारतीय भाडाका सैनिकहरु बझाङ्ग पुगेका थिए ।

तदारुकताका साथ सेनाले विद्रोहीहरुको नाईके ओमजंगलाई खोजीरहेको थियो । त्यो इलाका लेक भएको र हिउँ पर्ने पनि हुदाँ, हिउँले बाटो छेकी ओमजंगले भाग्ने बाटो नपाई पुनः फर्केर रास्कोटतर्फ आउँदा सेनाले देख्यो । त्यस बेला बिहानको साढै ५ बजेको थियो । सेनाहरु निजको पिछा गर्दै जाँदा ओमजंग र अर्को १ जना मानिस ढुंगाको (काप) अन्तरमा लुकेर बसेको स्थितिमा फेला पार्‍यो ।

त्यो वित्यासको घडिमा ओमजंगले हतियार उठाउन खोज्दा तुरुन्तै होस पुर्‍याई (घ) गुल्मको नं. १ पत्तिपति अमलदार हर्कबहादुरको राईफल नं. ३ को सिपाही भीमबहादुरले विद्रोहीको नाईके ओमजंगलाई गोली हानी मारिदिए । अब विद्रोहीको समुहमा आपत परी भागाभाग भयो । यो कूरालाई सन् १९६२ सेप्टेम्वर २९ तारेखको अमेरिकाबाट निस्कने न्युयोर्क टाइम्सले पनि लेखेको छ ।

विद्रोहीहरु पुनः त्यही इलाकाको तल्लो ओडारमा भागेर गएका छन् भन्ने सेनाको इन्टेलिजेन्सको खबरअनुसार सेना पनि त्यसै ठाउँमा गएर बस्यो । यस बेला सेनाले अस्पताल खोली सैनिक तथा गैरसैनिक घाईते बिरामीको उपचार गरिरहेको थियो । त्यो दिन थियो, महाअष्टमी २०१९ साल । यति बेलासम्म विद्रोहीहरु पुरै भागेका र परिस्थिती काबुमा आईसककेकोले सेनाले दुवै गुल्म आ-आफ्नो स्थानमा फर्के ।

नेपाल सरकार र बझाङको राजाको समस्या राजा महेन्द्रको प्रत्यक्ष शासनमा मात्र नभै नेपाली कांग्रेसको सरकार रहँदा देखिनै शुरु भएको देखिन्छ

यसै सिलसिलामा (घ) गुल्म बैतडी रवाना हुँदा तत्कालीन अञ्चलधीशबाट १ दिन वरको बाटोसम्म स्थानीय जनतासमेत भई लिन गई माला पहिर्‍याई सिन्दुरे यात्रा गरी स्वागत गरियो । अञ्चलाधीशबाट सेनाको बहादुरीको गुणगान भयो । गुल्मपति उप सेनानी केशरबहादुर गड्तौला (पछि सहायक रथी) बाट बारे आर्मीमा प्रतिवेदन भई काठमाडौंबाट हेलिकप्टर गई समातिएका सरसामान सहित उप सेनानी गड्तौला काठमाडौं आउनु भयो । यता समातिएका ३ जना विद्रोहीहरुलाई आदेशअनुसार सैनिक कारवाहीको लागि राखियो ।

यसरी दिएको कारवाही सकी, (घ) गुल्म धनगढी फर्कियो । विद्रोही दमन कार्यमा सफलता प्राप्त भएकोले तत्कालीन बाहिनीपति र प्रधानसेनापतिसमेत धनगढीमै गई बझाङ काण्डमा बफादारीसाथ देशको सेवा गरेबापत सेवाको कदर गर्दै श्री श्रीनाथ गण (घ) गुल्मका निम्नलिखित व्यक्तिहरुलाई यस प्रकारका मान-पदवी, नगद पुरस्कार तथा पदोन्नती पाईएको सुनाइयो:

(क) उप सेनानी केशरबहादुर गड्तौला सह सेनानीमा पदोन्नति र नेपाल तारा
(ख) सुवेदार गणेशबहादुर ( नेपाल तारा पाँचौ)
(ग) जमदार तिलकबहादुर कार्की ( नेपाल तारा)
(घ) प्राविधिक हुद्दा शेरबहादुर ( जमदारमा बढुवा)
(ङ) सिपाही भीमबहादुर (ओमजंग मार्ने) ( प्युठमा पदोन्नती तथा रु २५०। नगद पुरस्कार प्राप्त)
(च) अमलदार हर्कबहादुर ( रु २००। पुरस्कार)
(छ) सिपाही नरबहादुर ( १५०। पुरस्कार)
(ज) प्युठ वीरबहादुर ( अमलदारमा बढुवा )
(झ) सिपाही रामशरण थापा ( रु २००। पुरस्कार)
(ञ) प्युठ तिलकबहादुर ( अमलदारमा बढुवा)
(ट) सिपाही कृष्ण बहादुर( रु २००। पुरस्कार)
(ठ) अमलदार शेरबहादुर( हुद्दामा बढुवा)
(ड) सिपाही ललितबहादुर ( रु २००। पुरस्कार)

नेपालको राजनीतिक दर्पण तेस्रो भागमा उल्लेख भएअनुसार यस कारवाहीमा राम्रो काम गरेवापत श्रीनाथ गण का लेफ्टिनेन्ट केशरबहादुर गड्तौलालाई नेपाल तारा चौथा, सोही गण का नं. ३३७१ सुवेदार गणेशबहादुरलाई नेपाल ताराको मेडल र सोही गण का नं. ३३७१ जमदार तिलकबहादुरलाई नेपाल ताराको मेडल दिएको पाइन्छ ।

(नोट : त्यसबेलाको नेपाल सरकार ले प्रयोग गरेको शब्द हरु ‘बिद्रोही’ यस् लेखमा प्रयोग गरिएको छ । त्यसमा पनि सैनिक इतिहास लेखनमा दुस्मन, शत्रु, आतंकरी, बिद्रोही जस्ता शब्दहरु लेखिन्छन। यो लेख मा परेका त्यस्ता शब्दहरु लेखक का होइनन, त्यसबेलाको सरकारका हुन्। )


भर्खर

0