देउवाको नेतृत्व वाहियात, फेलियर र केही गर्न नसक्ने – सुजाता कोइराला (अन्तर्वार्ता) | Khabarhub Khabarhub

देउवाको नेतृत्व वाहियात, फेलियर र केही गर्न नसक्ने – सुजाता कोइराला (अन्तर्वार्ता)


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसी नेतृ सुजाता कोइराला पार्टीलाई शक्तिशाली र पुनर्ताजकी गर्नका लागि ‘लिडरसिप’ परिवर्तनको पक्षमा देखिएकी छिन् ।
शेरबहादुर देउवाले पार्टी नेतृत्व गर्दा कांग्रेस कमजोर भएको र त्यसको जिम्मेवारी देउवाले लिनुपर्ने उनको भनाइ छ ।

खबरहबसँगको कुराकानीमा कांग्रेस नेतृ सुजाताले पार्टी कमजोर हुनुमा सभापति देउवाको सबैभन्दा धेरै दोष भएको बताइन् । वाहियात लिडरसिप, फेलियर लिडरसिप र केही काम गर्नै नसक्ने नेतृत्व कांग्रेसमा भएका कारण पार्टी कमजोर भएको सुजाताको भनाइ थियो ।

कांग्रेस भित्र देखिएको समस्या, कांग्रेसको नेतृत्व र कोइराला परिवारबाट नेतृत्वमा दाबेदारी लगायत विभिन्न विषयमा खबरहबले नेतृ कोइरालासँग कुराकानी गरेको छ ।

प्रस्तुत छ नेतृ कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश–

कांग्रेसको सात दशक लामो इतिहासमा अहिले सबैभन्दा कमजोर देखियो । कांग्रेसमा गिरिजाको महत्वपूर्ण भूमिका थियो तर उहाँको अवसान पछि कांग्रेस सशक्तबाट निरीह पार्टी बनेको छ, किन यस्तो भयो ?

यसको धेरै कारणहरु छन् । पार्टीभित्रको जुन विवादहरु, नेतृत्वको कमजोरीहरु र सक्षम नेतृत्व नभएका कारण भएको हो । नेतृत्वले नै निर्देशन दिने हो । उसले नै पार्टी चलाउने हो । तर कांग्रेसमा त आफैं–आफैं नेता भएका छन् । धेरै नेता छन् कांग्रेसमा ।

हाम्रो विधान पनि परिवर्तन भएको छ । पहिलाको विधान अनुसार क्रियाशिल सदस्यता दिँदा दुई वर्ष काम गरेको हुनुपर्ने थियो । त्यो परिवर्तन भएको छ । महाधिवेशनमा लड्दा १० वर्ष काम गरेको हुनुपर्‍थ्यो । म आफैंले लड्न खोज्दा १० वर्ष समय नपुगेर पर्खन परेको थियो । एकदम कडा नियम थियो । राष्ट्रियता प्रति पार्टीको ठूलो अडान थियो ।

जसलाई जनताले विश्वास गरेका थिए । तर त्यो घट्दै गइरहेको छ । नेपाली कांग्रेस न त समाजवादी पार्टी हो, नत राष्ट्रियताको लागि लड्ने पार्टी हो, नत प्रजातन्त्रवादी हो भन्ने मेसेज गएको छ । हामीले विश्वास गुमायौं । वीपीले भन्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हामीले गुमायौं । यो तीन वटै कुरामा हामी कमजोर देखिएका कारणले कांग्रेस कमजोर पोजिशनमा छ अहिले ।

कसको कमजोरी हो त यो सब हुनुमा ?

यो त लिडरसिप(नेतृत्व) को हो नि ! लिडरसिपको खाँचो छ । साँचिक्कै भन्ने हो भने कांग्रेसमा लिडरसिप छैन । कांग्रेस पार्टीलाई एकदमै सही ढंगमा लिड गर्ने, कार्यकर्तालाई परिचालन गर्ने, जनतालाई विश्वास दिलाउने एउटा आशा दिने लिडरसिपको खाँचो छ ।

वाहियात लिडरसिप, फेलियर लिडरसिप केही काम गर्नै नसक्ने लिडरहरु छन् कांग्रेसमा । यस्ता मान्छेहरु जो सिरियस छैन, पार्टी देश प्रति सिरियस छैन, जो मनि, पावर र ग्ल्यामरका लागि मात्र बसिरहेको छ त्यस्तो लिडरसिपहरु आएर कही कांग्रेस पार्टी बन्न सक्छ ? पार्टीमा त सिरिसय व्यक्ति हुनुपरो नी

पार्टीमा गुट उपगुट छ । अर्को वर्ष महाधिवेशनका लागि नेताहरुले दौडधूप गरिरहेका छन् । नेतृत्वबाट पुरानै अनुहार आउने देखिएको छ …

पुरानै नेतृत्व आउने हो भनेदेखि नेपाली कांग्रेसका लागि दुर्भाग्य हुन्छ । किनभने पार्टीमा परिवर्तन भइराख्नुपर्छ । नेतृत्वदेखि हरेक ठाउँमा परिवर्तन हेर्न चाहन्छन् कार्यकर्ताले । नयाँ सोच, नयाँ विचारदेखि हरेक ठाउँमा परिवर्तन हेर्न चाहन्छन् कार्यकर्ताले । अब तपाईले हेर्नु भयो भने ३० वर्षदेखि पार्टीमा एउटै नेतृत्व रहेको देखिएको छ ।

कोही पनि त्यहाँ जान पाएको छैन, परिवर्तन हुन सकेको छैन । चुनावबाट उही मान्छे आउँछ । विचार दिने परिवर्तन दिने खालको आवश्यक छ । अव युथहरु आइसकेका छन् । कार्यकर्ताले केही नयाँ चाहन्छन्, युथले पनि केही गरौं भन्ने चाहन्छ । त्यो नेतृत्वको खाँचो छ । त्यो नेपाली कांग्रेसमा हुन सकेको छैन ।

जहिले पनि पदाधिकारी उही रहन्छन् पार्टीमा । यो अचम्मको पार्टी भएको छ । पार्टीमा त परिवर्तन भइरहनु परो नि ! समयम समयमा मानिस परिवर्तन हुनुपर्छ, अनि पो रक्त सञ्चालन हुन्छ । पुरानो ढंगमा बरु पार्टी राम्रो संग चलेको थियो । बरु पहिला नेता पुराना भएपनि विचार नयाँ दिनुहुन्थ्यो । अहिले त्यो पनि छैन ।

त्यसैले अब युवाहरुलाई आकर्षित गर्ने नेतृत्व चाहियो । अब युवाहरुपनि हातबाट बाहिर जान लागिसके । एउटा सिमित युथ हामीसँग छ । जो नेविसंघमा छ उसलाई पनि ट्रेनिङ छैन । नेताहरुलाई जिताउने गरि विधान बन्छ । कांग्रेस पार्टी भन्दा पनि व्यक्तिको पार्टी जस्तो भयो । यहाँ त पार्टीलाई भन्दा व्यक्ति–व्यक्तिलाई बलियो बनाउन लागेको जस्तो देखिएको छ । व्यक्ति बलियो पार्टी कमजोर । र, पार्टी गरीब देखिएको छ ।

पार्टी कमजोर हुनुमा खास समस्या नेतृत्व मात्र हो त ?

पार्टीमा ठूलो समस्या छ र यति धेरै विभाजित छ भन्दा सच्चै दुःख लाग्छ, भन्न पनि हुन्छ कि हुँदैन भन्दा पनि डिमोरलाइज होला । गाउँसम्म पार्टी विभाजित भएको छ । थुप्रो नेताको थुप्रो गुट, अनि कहाँबाट पार्टी बलियो हुन्छ ।

संगठन एकदमै कमजोर छ । संगठनको कुशलता पनि देखिएको छैन । गाउँमा जाने भित्र मिलाउने सबैलाई एक बनाउने काम भएको छैन । आफू बलियो हुनका लागि गाउँगाउँ गएर गुट बनाउँदा पार्टी खत्तम भएन त ? गुटलाई समाप्त पार्नुपर्छ । पुरानो नेतृत्वले यसलाई समाधान गर्न सक्छ जस्तो मलाई लाग्दैन यसका लागि नयाँ नेतृत्वको आवश्यकता पर्छ ।

शेरबहादुर फेरि सभापतिमा उठ्ने तयारीमा हुनुन्छ । कोइराला परिवार पनि विभाजित देखिएका छन् । तपाईं, शशांक र शेखर मिलेर जानेमा विश्वास शंका छ । रामचन्द्र, कृष्ण सिटौलाहरु पनि हुनुहुन्छ । तपाईं सक्षम नेतृत्व भन्नुहुन्छ, तर उही पुरानै नेतृत्व आउने देखिएको छ, होइन ?

हामी तीन जनाको कुरामा के छ भने म लडेछु भनेर मात्र हुँदैन । पार्टी सभापतिमा लड्ने धेरै जना हुनुन्छ, म लड्छु भनेर दाबी गरेर मात्र त हुँदैन । साथ सहयोग चाहियो । हुने त एक जना हो । त्यसले गर्दा खेरि जो सबैभन्दा बलियो छ, पपुलर छ, जसले काम गर्न सक्छ, त्यस्तो व्यक्तित्वलाई हामी नेतृत्व छोड्न तयार छौं भन्नु पर्‍यो । नभए पार्टी सकिन्छ । मै लड्छु, मै उठ्छु भनेर तानातान गर्छु भन्यो भने त दुर्भाग्य हुन्छ । फेरि उही लिडरसिप आउँछ ।

कांग्रेसको धेरै ठूलो भूमिका छ यो देश बनाउका लागि विकासमा अब अगाडि बढ्नुपर्छ । कांग्रेसले नै हो देश बनाउने । अब कांग्रेस फेरि आउँछ

भनेपछि तपाईंहरु चाहिँ एकठाउँमा उभिनुहुन्छ ?

म त एकदम उभिन्छु । मलाई पदको लोभ छैन । त्याग्न पनि तयार छु । उहाँहरु पनि उभिनुहुन्छ भन्ने आशा गरुँ । अरु पनि हुनुहुन्छ ।

रामचन्द्र पौडेलको सवालमा ?

रामचन्द्र पौडेल पनि अब फेरि म लड्छु भनेर हिँड्नु राम्रो हुँदैन । त्यो शोभनिय पनि देखिँदैन । किनभने उहाँको उमेर पनि गइसक्यो । तीस वर्षदेखि उहाँ कुनै न कुनै ठाउँमा नेतृत्वमा हुनुहुन्छ । हरेक पद लिनुभएको छ । हरेक चुनावमा भाग लिनुभएको छ अब फेरि लड्छु भन्दा उहाँको लागि पनि ‘डजन्ट् लुक गुड’ क्या !

बरु तिमीहरु अघि बढ, सबैभन्दा बलियो जो छ त्यसलाई म सहयोग गर्छु पो भन्ने हो त । उहाँ त अब लिडर भएर बस्नु परो नि ! त्यही पुरानो ढंगबाट हिँड्यो भने राम्रो हुदैन ।

संस्थापन इतरका तपाईंहरु विभाजित हुनुभयो, युवा पनि आएनन् र अहिलेकै नेतृत्व आयो भने कांग्रेसको भविष्य के हुन्छ ?

अब फेरि शेरबहादुर जी नै स्थापित हुनुभयो भने कांग्रेसमा समस्या पर्छ । शेरबहादुर जी कि त एकदम परिवर्तन भएर आउनुपर्‍यो । एक्टिभ भएर आउनु पर्‍यो । नत्र यो ‘स्लोनेस’, ‘लेजिनेश’ले कांग्रेस चलाउन सकिँदैन । हामीले कम्युनिस्टसँग प्रतिपर्धा गर्नुपर्ने छ । कि त उहाँ फेरि ‘मस्कुलर’ भएर आउनु पर्‍यो । तर म त्यो सम्भव देख्दिन । ४० वर्ष देखि पार्टी वा अर्को पार्टी खोलेर भएपनि उहाँ नेतृत्वमा आउनु भएको छ । अब उहाँहरुको समय पनि सकिएको छ । अब नयाँ नेपालमा नयाँ मानिसलाई छोड्नुपर्छ । खाली पदको लोभ गरेर हुन्छ । अब उहाँहरुलाई के चाहियो ? उहाँहरुले त पार्टी ठूलो बनाउने तर्फ पो सोच्ने हो त । कांग्रेस सकियो भने देशका लागि पनि राम्रो हुँदैन ।

शेरबहादुर बाहेकका नेता पनि त विभिन्न समयमा विभिन्न खालका नेतृत्वमा रहिसकेका छन् नि ….

शेरबहादुर जी फेलियर भइसक्नु भयो । इतिहासमा कांग्रेस पहिलोपट नराम्रोसँग हारेको छ । त्यो त उहाँले स्वीकार गर्नुपर्छ । सबैले कमजोरी स्वीकार गर्नुपर्छ भनेर त हुँदैन नी ! पार्टी त उहाँको लिडरसिपमा चलेको हो ।

अरुको पनि गल्ती होला, तर पार्टीको मूल जिम्मेवारी लिएपछि हारको, पार्टी कमजोर भएको जिम्मा त लिनु परो नि । पार्टीले हार्छ कहिले काहीँ, यो डेमोक्रेसी हो । तर यसरी हारेको छ कि यो त उठाउन नै गाह्रो परेको छ । अब पार्टीलाई उठाउनका लागि नयाँ फेस आउनु पर्‍यो । सबैभन्दा पपुलर को छ ? त्यसको सर्भे हुनुपर्‍यो, कसलाई ल्याउँदा सबैले मान्छन् त्यसलाई ल्याउनु पर्‍यो ।

कांग्रेसको यति कमजोर हुनुमा कतिपयले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता लगायका कम्युनिस्टका एजेन्डामा पार्टी हिँड्नु हो भनेका छन्, तपाईंलाई के लाग्छ ?

त्यो मलाई लाग्दैन । ४० वर्ष पहिला र अहिलेलाई तुलना गरेर अहिले हुँदैन । अहिलेको ग्लोबल परिस्थिति अर्कै भइसकेको छ । ४० वर्ष पहिला हामी भारत भन्दा अरु केही जान्दैन थियौं । अब मानिसहरु अमेरिका, युरोप जान थाले । मानिसले धेरै कुरा सिकेका छन् । यो प्रजातन्त्रको उपलव्धि हो ।

हामीले आन्दोलन गर्‍यौं त्यतिबेला । त्यसबेला पनि कम्युनिस्टसँग मिलेर आन्दोलन गरेर हुन्छ भने कतिपयले । तर कम्युनिस्टसँग मिलेर आन्दोलन नगरेको भए सफल हुँदैन थियो ।

कांग्रेस यस्तो पार्टी हो जो देशको हितको लागि कहिलेकाहीँ तल पर्ने गरेको छ । आन्दोलनमा कम्युनिस्टले धोका दिएका पनि हुन् । राजसँग विन्तिपत्र हालेकै हो । हामी एक्लै भिडेका हौं । हामी निराश भएका थियौं तर हामीले छोडेनौं पछि उनीहरुपनि आए । प्रजातन्त्रमा केही नराम्रो भयो भन्दैमा पञ्चायत वा त्यो बेला ठिक थियो भन्न त मिल्दैन ।

यो त कांग्रेसको कमजोरी हो । हाम्रै कमजोरीका कारण यस्तो भएको हो । कम्युनिस्टसँग मिलेर हामी कजोर भएका होइनौं । गिरिजाबाबु हुँदा प्रतिपक्षमा हुँदा पनि हामी निकै शक्तिशाली थियौं । हाम्रो लिडरसिपको कारण पार्टीमा गलत मान्छेहरु भर्ती भएका कारण यो अवस्थामा पुगेको हो ।

नेपालमा कुनै पनि विषयमा जनमतसंग्रह गर्न सक्नुहुन्न । यहाँ त्यस्तो अवस्था हुँदैन । मारकाट हुन्छ रक्तपात हुन्छ । यसलाई राज्ले थेग्न सक्दैन

पछिल्ला दिनमा महामन्त्री शशांकले धर्मको विषयमा जनमत संग्रह गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएको भन्ने कुरा आएको थियो, यद्दपी उहाँले फिर्ता गर्नुभयो तर यसले कांग्रेसमा बहस उठ्ने गरेको छ, यसलाई के भन्नुहुन्छ ?

बारबार धर्मको कुरा ल्याउने काम ठिक होइन । धर्म परिवर्तन गर्न नमिल्ने कुरा संविधानमा उल्लखे गरिएको छ । खालि हिन्दूराष्ट्र भनेर छैन । सनातन भनेको के हो ? पुरानो धर्म त हो । यी पुराना कुरा गरेर पार्टीमा विकृति ल्याउने काम गर्नु भएन । यसलाई बन्द गर्नुपर्छ । संघीयता धर्मको कुरा भन्नुहुन्छ भने विधानमा सनातन भनेको छ । हाम्रो चार तारे झन्डाको एउटा तारको अर्थ धार्मिक स्वतन्त्रता हो ।

त्यो पनि महासमितिबाट हामीले धार्मिक स्वतन्त्रता भनेर पास गर्‍यौं । वितेका कुरालाई लिएर हिँड्यौं भने कसरी परिवर्तन गर्ने । मुलुकको स्थिरता खलबलाउँछ । नेपालमा कुनै पनि विषयमा जनमतसंग्रह गर्न सक्नुहुन्न । यहाँ त्यस्तो अवस्था हुँदैन । मारकाट हुन्छ रक्तपात हुन्छ । यसलाई राज्ले थेग्न सक्दैन । कांग्रेस भित्रै मत विभाजित छ । कम्युनिस्ट एक छन् । जनता सबै पोल्टिसाइज छ । अनि कसरी जनमतसंग्रह गर्नुहुन्छ ? स्वतन्त्र विचार छैन जनताको । उनीहरुले पार्टीको विचारलाई बोक्छन् ।

उपप्रधान र पराराष्ट्र सम्हाल्नु भयो, नेपालको आन्तरिक मामिलामा विदेशीले निर्देशनात्मक भूमिका खेल्छन् भनिनन्छ, तपाईंले त्यस्तो महसुस गर्नुभयो ?

मैले त खासै महसुस गरिन । म स्वतन्त्र खालको छु । मलाई जे ठिक लाग्यो त्यो गरें । मैले देशका लागि के गर्दा फाइदा हुन्छ कसो गर्दा फाइदा हुन्छ सोचेर गरे । मलाई कसैले दवाब पनि दिएन । मैले काम गरे त ।

चाहदा गर्न सकिन्छ । तपाईले आफ्नो ढंगले गर्न खोज्नुभयो भने कसैले दवाब दिँदैन । ग्लोवल कन्टेन्टमा केही आउन सक्छ तर त्यसमा तपाईको पनि क्षमता हुनु पर्छ डिल गर्ने । हाम्रोमा समस्या के छ भने नेतृत्वमा कन्फिडेन्टमा कमी छ । विदेशीको अगाडि बोल्न सक्दैनन् । जे भन्यो त्यसमा ‘एस एस’ भन्यो भने उनीहरुले कसरी थाहा पाउने । देशको यस्तो अवस्था छ, यस्तो हुनसक्दैन भनेर भन्यो भने उनीहरुले दबाव दिन सक्दैनन् ।

उनीहरुले सुन्छन् र बुझ्छन् पनि । तर हाम्रा नेताहरुले भन्न नै सक्दैनन् । यसको मतलव हाम्रा कुराहरुबारे सकारात्मक कुरा र राम्रो सँग कुरा राख्न सक्नु पर्‍यो । शक्तिशालीहरुले काम गरिरहेका हुन्छन् । शत प्रतिशत स्वतन्त्र हुनसक्छौं भन्ने हुँदैन । कति कुरा कम्प्रमाइज गर्नुपर्ने पनि हुन्छ । त्यसको प्रयास पनि गर्नुपर्छ ।

गणतन्त्रमा नगएको भए कांग्रेस कमजोर हुँदैन थियो कि ?

गणतन्त्रमा जानुको कारण राजा आफैं हो । राज आफ्नै कारण हटेका हुन् । त्यसलाई ज्ञानेन्द्रले पनि स्वीकार गरिसकेका छन् । गिरिजाबाबुले चान्स नदिएको पनि होइन । त्यसकारण देश यहाँ पुग्यो भन्ने पनि होइन । समयको आवश्यकता हुन्छ । युवाहरुलाई पनि हेर्नुपर्छ । उनीहरु गणतन्त्रको पक्षमा थिए ।

अहिलेपनि सर्वेक्षण गर्दा मल्टिपार्टी डेमोक्रेसीको पक्षमा छन् जनता । कम्युनिस्टले पनि डिक्टेटरमा जान्छौं भने सम्भव छैन । जे भएको छ त्यो बेलाको लागि ठिक भएको छ । अब यसलाई स्टेबल बनाउनुपर्छ । कांग्रेसको धेरै ठूलो भूमिका छ यो देश बनाउका लागि विकासमा अब अगाडि बढ्नुपर्छ । कांग्रेसले नै हो देश बनाउने । अब कांग्रेस फेरि आउँछ ।

प्रतिपक्षको भूमिका त अहिले कांग्रेसले राम्रोसँग खेल्न सकेको छैन, अब कसरी पत्याउने फेरि कांग्रेस ठूलो पार्टी भएर आउँछ भन्ने?

आउँछ निश्चय नै आउँछ । नेतृत्वको परिवर्तन हुनुपर्छ । सबै मानिसहरु कांग्रेसमा आउनुपर्छ । त्यो हुनासाथ कांग्रेस आफैं रिभाइभ गर्छ । २००७ सालदेखि जनतामा भिजेको पार्टी केही समय जनतामा चुक्यो होला तर फेरि आउँछ । राजा भएको भए कम्युनिस्ट हुँदैन थिएँ हामी बलियो हुन्थ्यौं भनेर हुन्छ ? यो गलत हो । यहाँ त हाम्रो कमजोरी भयो ।

यस्तो वाहियात लिडरसिप, फेलियर लिडरसिप केही काम गर्नै नसक्ने लिडरहरु छन् कांग्रेसमा । यस्ता मान्छेहरु जो सिरियस छैन, पार्टी देश प्रति सिरियस छैन, जो मनि, पावर र ग्ल्यामरका लागि मात्र बसिरहेको छ त्यस्तो लिडरसिपहरु आएर कही कांग्रेस पार्टी बन्न सक्छ ? पार्टीमा त सिरिसय व्यक्ति हुनुपरो नी । पार्टी बनाउँछु भन्ने सोच हुनुपरो नि । त्यो नै नभएको मान्छेले पार्टीलाई घेरेपछि समस्या पर्छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ११ : २९ बजे

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका