तिहार– ज्ञान र ज्योतिको पर्व

डा. गोविन्द टण्डन

शनिबार, कार्तिक ९, २०७६

Reading Time: 11 minutes

तिहार– ज्ञान र ज्योतिको पर्व

कवि शिरोमणि लेखनाथ पौडेलले तिहारको महत्त्वको बारेमा कति सटिक कविता उहिल्यै लेख्नुभएको थियो-

सुखमय पारी सब संसार

आयो प्यारो चाड तिहार !

नभन्दै तिहार नेपालीहरूको घर-घरमा उमङ्ग र उल्लास ल्याउने पर्व हो । तिहारलाई दीपावली, यमपञ्चक तथा नेवारी भाषामा स्वन्ती आदि भन्ने गरिन्छ ।

यही पाँच दिनभित्र नेवार समुदायको प्राण बनेर बसेको “म्हपूजा” अर्थात् आत्मपूजा पनि पर्दछ । त्यसकै चार दिन पछि फेरि तराईमा धुमधामले मनाइने छठ पर्व पनि यसैको सेरोफेरोमा पर्दछ । यसरी तिहारले हिमाल, पहाड, तराई सबैतिर एक किसिमले भन्ने हो भने तिहारको माहोललाई उल्लासमय र भव्य तुल्याइदिन्छ ।

पाँच दिनसम्म मनाइने हुनाले यसलाई “यमपञ्चक” नामले पनि सम्बोधन गरिन्छ ।”तिहार” हिजोआज स्थानीय, क्षेत्रियता छोडेर अन्ताराष्ट्रिय महत्त्वको बन्न पुगिसकेको छ ।

किनभने नेपालीहरू जहाँ-जहाँ बसेका छन् ती-ती मुलुकहरूमा तिहार भव्य रूपले मनाइने मात्र नभई आजकाल यसलाई “दीपावली” नाम दिएर विश्वव्यापी महत्त्व ओगटेको पर्वको रूप धारण गरिसकेको उल्लेख्य छ। बेलायत, अमेरिका आदि देशमा पनि त्यहाँका प्रधानमन्त्री, राष्ट्रपति आदिले दीपावलीको बेलामा विशेष कार्यक्रमहरूको आयोजना गर्न थालेकै पनि केही वर्ष भइसक्यो। यो पर्व वैदिक, बौध्द, जैन, सिक्ख समुदायमा पनि अत्यन्त उल्लासमय वातावरणमा नेपाल एवं भारतमा मनाइन्छ ।

तिहारलाई दीपबत्ती र प्रकाशको चाड भनिन्छ  । यो उज्यालो र प्रकाश बाहिरी रूपमा मात्रै होइन अन्तर्हृदयदेखि नै जगमगाउनुपर्छ । त्यो भनेको ज्ञान हो, अन्धकारबाट उज्यालोतिर जाने, मृत्युबाट अमरतातिर लाग्ने सन्देश हो ।

दशैँपछि लगत्तै भनेजसो आउने तिहारको अवसरमा आ-आफ्नो घरआँगन, गाउँ, टोल, बस्ती, छर-छिमेक, मठ-मन्दिर, चैत्य,विहार, बहि, सरकारी कार्यालय, ढुङ्गेधारा, इनार, पेऊ भएका ठाउँहरूमा पनि व्यक्ति र समूह मिलेर बहुतै उत्साह र उमङ्गसाथ सर-सफाइको कार्यहरू गरी टोल-छिमेकलाई नै चिटिक्क सिँगारेर राख्ने उहिले चलन थियो तिहारको अवसरमा। हिजोआज युवा-युवतीहरू अध्ययन र रोजगारको सिलसिलामा विदेशतिर जान थालेदेखि अलि यसमा सुस्तीपना आएको अनुभव जो कोहीलाई भएको हुनुपर्छ।

तिहारलाई दीपबत्ती र प्रकाशको चाड भनिन्छ  । यो उज्यालो र प्रकाश बाहिरी रूपमा मात्रै होइन अन्तर्हृदयदेखि नै जगमगाउनुपर्छ । त्यो भनेको ज्ञान हो, अन्धकारबाट उज्यालोतिर जाने, मृत्युबाट अमरतातिर लाग्ने सन्देश हो ।

यसैले त हामी सदैव कामना गर्ने गर्छौँ- ॐ असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्न्मा अमृतंगमय” अर्थात्, असत्यबाट सत्यको बाटोमा लागौँ, अध्यारोबाट उज्यालोतिर लागौँ, मृत्युबाट अमरताको बाटोमा लागौँ भन्ने वास्तविकतालाई साँच्चै भन्ने हो भने तिहारले सम्झाइरहेको हुन्छ।

मानिसकै लागि ज्ञान, अन्तर्प्रकाशको जीवनमा आवश्यकता पर्छ।पशुपक्षीका लागि प्रकाशको प्रयोग मात्र आफ्नो अस्तित्व रक्षा र जीवनयापनसम्म मात्र सीमित हुन्छ। तर मनुष्यका लागि यो बाहिरी रूपमा मात्रै होइन अन्तर्चेतनाकै लागि अपरिहार्य छ/हुन्छ।यो नवउत्साह र नव उमङ्गको पर्व हो। पशुपक्षीले कहिल्यै सोच्दैन कि “ठूलो भएपछि म असल बनू, अमुक-अमुक काम गरेर अरूभन्दा फरक छु भनेर देखाउँ”, “चेतना बढाऔँ, विवेक बढाउ” आदि आदि।

दीपप्रज्वोलन गर्ने प्रचलन वैदिक काल वा त्योभन्दा अगाडिदेखिकै हो। कुनै पनि धार्मिक कार्य दीप नबालीकन सनातन हिन्दूधर्मावलम्बीहरूको प्रारम्भ नै हुँदैन।

यसैले दीपावलीको खोजीनिधी गर्ने हो भने त यसको उद्‌भव निकै प्राचीनकालदेखि नै भएको मान्नुपर्छ। हर्षबढाइँ र खुसीयालीमा घरको द्वारमा, पूजाकोठामा, मठ-मन्दिरमा दीप बाल्ने प्रचलन पुरानो परम्परा नै हो। यद्यपि केही क्षेत्रविशेषहरूमा समय र तरिका वा शैली फरक हुन सक्छन्।

पौराणिक कथाहरूमा राम, कृष्णजस्ता भगवान् विष्णुका अवतारहरूको विविध कथाप्रसङ्गहरू जोडिएर दीपावली पर्वको सार्थकतालाई अभिव्यक्त गरिने गरेको एकातिर देखिन्छ भने अर्कोतिर तिहार पर्वको समाजमा रहेको महत्त्व र यसप्रति जनसामान्यले देखाएको रुची तथा सार्थकताको मान्यताबमोजिम आफ्नो घरपरिवार छोडेर अन्यत्र कहीँ बाहिर जानु पर्ने बाध्यता अहिले मात्रै होइन पहिलेदेखि नै थियो।त्यसैले यस्तो चाडपर्वको अवसरमा फर्किनेहरूका लागि सहयोग पुगोस् भनेर घर-घरमा दीप बाल्न प्रोत्साहन पनि दिएको पाइन्छ ।

कार्तिककृष्ण चतुर्दशीलाई पञ्चाङ्गहरूमा नरकचतुर्दशी भनेर उल्लेख गर्ने गरेको पाइन्छ र यसको शुरुवात भगवान् कृष्ण र नरकासुर दैत्यबीचको घमासान युध्द र नरकासुर वधको कथाप्रसङ्गबाट तिहार पर्व जोडिन पुगेको श्रीमद्‌भागवद् महापुराणले देखाएको छ।

तिहारको माहोललाई स्वागत गर्न सबै जना आ-आफ्नो किसिमले घर-समाजका विभिन्न काममा लाग्दा थकित भएको अवस्थाबाट उन्मुक्तिका लागि होला नरकचतुर्दशीको दिन बिहान तेल लगाएर त्यसपश्चात् नुहाउने प्रचलन छ।कुनै कुनै पञ्चाङ्गमा यो कुराको उल्लेख गरेको पाइन्छ। तिहारको पहिलो दिन कुकुरपूजा पनि त्यही दिन पर्छ।

प्रारम्भमा नर्कचतुर्दशी भनिने यस पर्वमा नर्कका देवता यमलाई प्रसन्न पार्न दीपावली गर्ने प्रचलन थियो। केही प्राचीन ग्रन्थअनुसार कार्तिककृष्णपक्षको चतुर्दशी र अमावश्याको साँझ मानिसहरूले हातमा दीप अर्थात् मसाल लिएर आफ्ना पितृलाई देखाउनुपर्दथ्यो, जसको अर्थ हुन्थ्यो पितृहरूको मुक्ति।

यस्ता पितृहरू, जसको विभिन्न कारणहरूले गर्दा उद्धार हुन सकेको छैन उनीहरूलाई आफ्नो मार्गप्रशस्त गर्न दीपको उज्यालोले सघाउ पु-याओस् भन्ने प्रार्थनासाथको कामना यसभित्र अनर्निहित भएको मानिन्थ्यो। त्यसकारण यसलाई भूतचतुर्दशी नामले पनि कहीँ-कहीँ सम्बोधन गरेको पनि पाइन्छ।

कालान्तरमा पछि गएर यो भगवान् रामको चौध वर्ष बनवासपछिको अयोध्या आगमनसँगै रामराज्यको कल्पना गरी सर्वसाधारण जनताद्वारा रामको स्वागत गर्न दीपावली मनाइएको प्रसंग यसमा जोडिन पुग्यो।

यसले दीपावलीको महत्त्वलाई धार्मिक पुट मिल्न गयो। यसरी राम, कृष्णका जीवनका केही प्रसङ्गहरू जोडिदै जाँदा व्यापकता पाउँदै गयो।यसमा अरू कैयन् यस्ता प्रसङ्गहरू पनि जोडन सकिन्छ।

चाडबाडलाई ऊर्जामय, रचनात्मक, सृजनात्मक र मानवीयताको प्रवर्ध्दन गर्न सक्ने तुल्याउन सक्यौँ भने संस्कृति पनि जोगिने साथै त्यसले सबैको हित-कल्याण गर्ने पनि हुन्छ।

नेपालको इतिहासको विभिन्न कालखण्डहरूमध्ये लिच्छविकालका राजा अंशुवर्मा, नरेन्द्रदेव आदिका केही अभिलेखहरूमा दीप बाल्न राखिएको गुठीको प्रसङ्ग आउँछ। यद्यपि त्यहाँ तिहारकै प्रसङ्ग हो भनेर भन्न सकिने आधार छैन तर त्यो कतै तिहारकै प्रसङ्गको दीपावलीलाई त संकेत गरिएको होइन भन्ने अन्दाज चाहिँ गर्न नसकिने होइन।

त्यस्तैगरी लिच्छविकालकै राजा मानदेव (प्रथम) ले स्थापना गरेका वि.सं. को त्रिविक्रम वामनको मूर्तिहरू र त्यसपछिका अन्य वामन मूर्तिहरूले पनि वामनको कथालाई अभिव्यक्त गरेको प्रसङ्गलाई विचार गर्दा तिहार पर्वको उद्भवलाई कतै तिनले संकेत गर्न खोजेका हुन् कि भनी अनुमान गर्न नसकिने होइन।

तिहारको लक्ष्मीपूजा र त्यसको भोलिपल्टको भैली-देउसीचाहिँ पौराणिक बलिराजाको कथाप्रसङ्गसँग जोडिन पुग्छ । दानव राजा बलि विष्णुभक्त प्रह्लादको नाति विरोचनका छोरा थिए । उनी निकै शक्तिशाली पनि थिए।

उनले देवताहरूको सुख-शान्तिलाई  आफ्नै हातमा राखेका थिए। उनले त्यो शक्तिको अभिबृध्दिको लागि विभिन्न यज्ञ-यागादिहरू गरे र आफ्नो क्षमता देखाउँदै गए।

देवताहरूमा त्राहिमामको स्थिति आएपछि अन्तत: सबै देवताहरू भगवान् विष्णुको शरणमा परे। भगवान् विष्णुले राजा बलिको शक्तिसम्पन्नताको अहंतालाई आफूले कुनै जुक्तिले दमन गर्ने आश्वासन पाएपछि देवताहरू निश्चिन्त बनेर फर्के। पछि विष्णु एक जना वामन अर्थात् बाउन्ने पुड्को ब्राह्मणको भेषधारणा गरेर बलिसँग भिक्षा माग्न गए।

राजा बलि आधा राज्यै दिन उद्यत थिए तर वामनले माग्नेलाई राज्यको के काम? आफूलाई बस्न तीन पाइला जग्गा भए पुग्ने बताएपछि राजा बलि दिन तयार भए र जल सङ्कल्पपछि जब वामनले भयानक रूप लिँदै गए उनले भगवान् विष्णुले छल गरेको थाहा पाए।

तर आफूले दिन्छु भनेर बोलेको कुरा पु-याउने क्रममा पहिलो पाइलाले पृथ्वी ढाक्यो, दोस्रो पाइलाले अन्तरीक्ष ढाक्यो तेस्रो पाइला राख्ने ठाउँ नपाउँदा राजा वलिले आफ्नो शिर थापे।

राजा वलि भगवान् विष्णुको पाउ आफ्नो शिरमा परेको कारण धन्य-धन्य बने भने। त्यही बेलादेखि भगवान् विष्णुले “ देउ शिर” भनेकोले देउसी खेल्ने क्रमको शुरुवात भएको आख्यान तिहारको प्रसङ्गमा गर्ने गरिन्छ।

तिहार कार्तिककृष्ण त्रयोदशीदेखि प्रारम्भ भई कार्त्तिकशुक्ल द्वितीया अर्थात्, भाइटीकाको दिन समापन हुन्छ। तिहारको रौनकता पशुपक्षीहरूलाई सम्मान गर्नुमा पनि छ।

पशुपक्षी एवम् दिदी-बहिनी र दाजु-भाइ बीचको अपूर्व सद्‌भाव र प्रेमको पर्व हो तिहार। यो ज्ञान र ज्योतिको पर्व पनि हो।

तिहारको पहिलो दिन कागको पूजा गरी खाना दिने चलन छ। पहिले अहिलेको जस्तो सजिलो सञ्चारसेवा थिएन। आकाशवाणी नामको सञ्चारसेवा शुरु भएको पनि निकै पछि मात्रै हो ।

सम्झौँ त त्यस्तो बेला टाढा गएको आफन्तको सुख-दु:ख मानिसले कसरी थाहा पाउथे होलान्? त्यसबेला काग घरछेउमा आएर कराएको बोलीको अन्दाजमा परदेशमा बसेको आफन्तको सुख-दु:खको अडकल गरिन्थ्यो। यसैले घरआँगनछेउ आएको कागलाई “सुबोल सुबोल भलो भलो समाचार ले” भन्दै घरमा भएको मीठो-चोखो जे छ दिने चलन थियो।

त्यसैले पशुपक्षी एवम् दिदी-बहिनी र दाजु-भाइ बीचको अपूर्व सद्‌भाव र प्रेमको पर्व हो तिहार। यो ज्ञान र ज्योतिको पर्व पनि हो।

हिजोआज पुराना कतिपय चलनहरू हराउँदै जान थाल्यो। कागलाई वर्षमा एक दिन सम्झिने प्रचलन अझै छ । कागले कतिपय रोगका कारक तत्त्वहरू मानिएका फोहरलाई आफू खाएर वरपरको वातावरण सफा-सुग्घर तुल्याइ दिन्छ र मानिसको भलो गरिरहेको हुन्छ। त्यसैको पनि सम्झना हो कागतिहार।

अर्कोतिर पक्षीहरूलाई माया-प्रेम गर्न पनि यसले सन्देश दिएको छ। यसैले पशुपक्षी एवम् दिदी-बहिनी र दाजु-भाइ बीचको अपूर्व सद्‌भाव र प्रेमको पर्व हो तिहार। यो ज्ञान र ज्योतिको पर्व पनि हो।

तिहारको पहिलो दिन कागको पूजा गरेपछि दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्ध्दन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्हः पूजा एवम् तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन शुक्रबार भाइटीका सम्पन्न गरी यो वर्षको तिहारको समापन हुन्छ ।

कात्तिककृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई “यमपञ्चक”  भन्ने गरिएको लोकोक्ति पनि पाइन्छ ।

तिहारको दोस्रो दिन कुकुरको पूजा हुन्छ। आफ्नो घरमा कुकुर छैन भने पनि छिमेकीकहाँ गएर वा सडकछेउको कुकुरलाई डाकेर टीका, माला र खानेकुरा दिने चलन छ।

कुकुरलाई यमराजको दूत मानेर मृत्युका देवता यमराजको प्रकारान्तरले सम्मान गरेको मानिन्छ।सामाजिक एवं व्यावहारिक दृष्टिकोणले हेर्दा कुकुर भनेको घर-कार्यालयको रखवारी गर्ने संरक्षक एवं इमान्दारीको पनि प्रतिरूप हो भन्दा फरक पर्दैन।

उसले मालिकलाई गर्ने सेवा मानिसको भन्दा कम हुँदैन।अझ आपद्‌-विपद् परेको बखत, प्राकृतिक विपदाको बेला जहाँ मानिसको पहुँच हुँदैन त्यस्तो ठाउँमा खतरा मोलेर कैयन् मानिसलाई प्राणरक्षा गरिरहेको हुन्छ कुकुरले।कुकुर भनेर हेँला गर्न हुन्न भनेर हाम्रै संस्कृतिले सम्झाइरहेको छ।यो एक दिन गरेर हुने होइन संस्कृतिले सदैव पशुपक्षीलाई सम्मान गर्न सिकाउँछ मात्र हामी कति त्यसलाई अवलम्बन गर्छौँ त्यतिमात्र फरक हो।

कुकुर पूजाकै दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ।

चौथो दिन गाईपूजा गर्ने प्रचलन छ, यसलाई गोवर्ध्दनपूजा पनि भन्छन्। उहिले-उहिले मानिसको सम्पत्ति भन्नु नै कसको घरमा कति गाई छ त्यसबाट अड्कल काटिन्थ्यो। यसैले यसलाई “गोधन” भनिन्थ्यो।

समयको लामो कालखण्डमा विस्तारै सम्पत्ति भनेको अरू धन-दौलत आउन थाले।एकातिर गाईलाई लक्ष्मीको स्वरूप मान्ने प्रचलन अर्कोतिर गाईको दूध, दही, घ्यू, गहुँत, गोवरसमेतको शास्त्रीय महत्त्व र मान्यताको कारण पनि गाईलाई नेपाली संस्कृतिमा धेरै महत्त्व दिइएको छ।

गाईलाई गरेको सेवाले वैतरणीनदी तर्न सहयोग पु-याउँछ भन्ने पनि शास्त्रीय मान्यता छ।धार्मिक, वैज्ञानिक एवं आयर्वेदीय दृष्टिकोणले मानिसको आयु बढाउन गाईको दूध, दही, घ्यू, महीको ठूलो महत्त्व छ।

तिहारलाई उज्यालोको पर्वका रूपमा समेत चिनिन्छ। बाहिरमात्र उज्यालो ल्याउने नभई अन्तर्हृदयमै उज्यालो ल्याउन हामी प्रयत्नरत हुनुपर्छ भनेर दीपावलीले संकेत गरिरहेको हुन्छ ।

त्यत्तिमात्र होइन गोबर र गौतसमेत उच्चकोटीको प्राङ्गारिक मलको रूपमा प्रसिध्द मानिन्छ।यसैले हाम्रो संस्कृतिमा गाईपूजनलाई स्थान दिइयो। तर पूजनले मात्र पुग्दैन गाईको वास्तविक सेवा गर्न सकियो भने राष्ट्रको सेवा पनि हुन्छ भन्न संकेत संस्कृतिले सम्झाइरहेको कुरालाई बुझ्न सकेनौँ भने काम लाग्दैन।

दाजुभाइ र दिदीबहिनीबीचको आदरभाव र स्नेहाभावको अनुपम पर्व पनि हो तिहार। दुबैले एक-आपसमा श्रध्दा-भक्ति एवं आदरपूर्वक सप्तरङ्गी टीका निधारमा लगाइदिएर, मखमलीको माला गलामा लगाइदिएर आयु-आरोग्य दीर्घायु होस्, रोगव्याधिले दु:ख नदेओस् भनेर कामना र प्रार्थना गर्ने गरिन्छ।

तिहारको अर्को रौनकता भनेको दीपावली र देउसी-भैलो हो । घर-घर, मठ-मन्दिर र ठूल-ठूला भवन र कार्यालयहरूमा रङ्गी-विरङ्गी बत्तीले झिलीममिली पारी आँगन सजाउने चलनले वातावरण नै मनमोहक बनेको हुन्छ।

लक्ष्मी पूजाका दिनमा भैलो र गोवर्ध्दनपूजाका दिनमा देउसी खेल्ने परम्परा छ। पहिले-पहिले भैलो महिलाले र देउसी पुरुषले खेल्ने गरिन्थ्यो।आजकाल यो बिर्सेजस्तो छ। अहिले महिला पुरुष दुवैले देउसी भैलो खेल्न थालेका छन्।

तिहारलाई उज्यालोको पर्वका रूपमा समेत चिनिन्छ। बाहिरमात्र उज्यालो ल्याउने नभई अन्तर्हृदयमै उज्यालो ल्याउन हामी प्रयत्नरत हुनुपर्छ भनेर दीपावलीले संकेत गरिरहेको हुन्छ । लक्ष्मीपूजाका दिनदेखि घर-घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि हिजोआज तिहार शुरु हुनुभन्दा दुई-चार दिनअघिदेखि नै गर्न थालिएको छ।

प्राकृतिक रुपमै पनि यो मौसममा सयपत्री, मखमली र गोदावरीजस्ता आकर्षक फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै तिहार आएजस्तो अनुभव हुन्छ।

बाहिर चीसो-चीसो धाम झुल्किदा पनि रमाइलो हुने यो मौसममा घर-घरको गमला हुन् कि, ठूल्ठूला बागबगैँचा जताततै शयपत्री, मखमली, गोदावरी फूलले ढकमक्क भएको देख्दा मनै प्रफुल्ल र मनमा आनन्दको अनुभूति हुन्छ।

हरेक घरको मूलढोका, पसल, उद्योग, कलकारखानाहरूमा सजाइने फूलहरूले गर्दा शोभा बढेको देखिन्छ। तिहारमा गरिने पशुपक्षीको पूजादेखि दीपावली, दाजु-भाइ-दिदी-बहिनीबीचको स्नेहाभावलाई विश्वमै नभएको संस्कृति हामीकहाँ अझै जीवन्त छ भन्नु पर्छ।

तिहारको रसरङ्गमा हुने विकृति जुवा, तास तथा जे पिए पनि हुन्छ, जे खाए पनि हुन्छ भन्ने जस्ता तौरतरिकाचाहिँ यसका विकृत पक्ष हुन्। यिनलाई बढ्न, विस्तार हुन दिनु हुन्न। यसले तिहारको मौलिकतालाई नै बिनासको बाटोमा पु-याउन सक्ने कुरामा चाहिँ सदैव चनाखो हुनु जरुरी छ।

पद्मपुराणमा एक ठाउँमा प्रसङ्ग आउँछ कस्तो किसिमको खेलवाड तिहारको बेलामा गर्दा देशको उन्नति हुन्छ भन्ने कुराको –

कुर्यान्महोत्सवं राजा दिनानि नव सप्त वा।

वैश्यांगनानरैर्हृष्टैर्द्युतक्रीडामहोत्सवै:।।

प्रातर्गोवर्ध्दन: पूज्यो द्यूतं रात्रौ समाचरेत्।।

अर्थात्, राजा (शासक) को कर्तव्य हो कि उनले आफ्नो राजधानीमा नौ या सात दिनको कुनै राष्ट्रिय महोत्सव मनाऊन्, जहाँ देशभरका व्यापारीहरूको भेला होस्, महिलाहरूको सम्मेलन होस्, पहलमानहरू पहलमानी गरून्, शस्त्रास्त्र विद्याको प्रदर्शनी, भावी भाउवेसाहरूको अवस्थाको बारेमा छलफल होस् र अनेकौँ प्रकारका कल्पना र मष्तिष्कलाई बढाएर देशलाई प्रगति र उन्नतिमा पु-याउने किसिमका समारोह हुने अवसर पनि यो हो भनेर संकेत गरिएको छ।

हुन पनि हो चाडबाडलाई ऊर्जामय, रचनात्मक, सृजनात्मक र मानवीयताको प्रवर्ध्दन गर्न सक्ने तुल्याउन सक्यौँ भने संस्कृति पनि जोगिने साथै त्यसले सबैको हित-कल्याण गर्ने पनि हुन्छ।

भर्खर

0