के रामकृष्ण ढकालको डिभोर्स भएको होइन ? | Khabarhub Khabarhub

के रामकृष्ण ढकालको डिभोर्स भएको होइन ?


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायकले गाएका गीत आफ्नो जिन्दगीमा कमै मेल खालान् । किनकि, समाजका गीत गाएका हुन्छन् उनीहरुले। भलै त्यही समाजमा कलाकार पनि बाँच्छन् ।

रामकृष्ण ढकाल सुगम संगीतका ‘आइकन’ हुन् । एक समय थियो, उनका गीत एकपछि अर्को गर्दै दर्शकको मनमा बस्न सफल भएका थिए ।

तर, अहिले भने ढकालकै जीवनमा ‘ओराली लागेको हरिणको चाल भो’ सँग मेल खाएको छ ।

ढकालको यो अवस्था आउनुको कारण ‘मायाले छल गरेर’ चाहिँ होइन, ऋणमा डुबेर हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले भने रामकृष्ण ढकालकी पत्नी निलमलाई ऋणमा डुबेकाले सम्बन्ध विच्छेद दिएको भन्दै गाली गरेका छन् । तर, रामकृष्ण ढकालले भने निलमको ‘बचाउ’ गरेका छन् ।

ढकालले पत्नी र परिवारलाई गाली नगर्न पनि अनुरोध गर्दै आएका छन् ।

बुधवार सञ्चार माध्यममा रामकृष्ण ढकालले पत्नी निलम शाह ढकालसँग ‘डिभोर्स’ दिएको खबर कुनै भाइरल गीत झैँ एकैछिनमा फैलिएपछि भने रामकृष्ण ढकालले ती समाचारलाई ‘गलत’ भएको बताए ।

कानूनी रुपमा भने ढकाल र निलमले पारपाचुके गरेको कागज देख्न सकिन्छ । जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले ढकाल र निलमले कागजी रुपमा सम्बन्ध विच्छेद गरेको बताएका थिए । उनका अनुसार निलमले अंश नलिने गरी ढकाल र निलमको पारपाचुके भएको हो ।

अदालतको दैनिक पेशी सूचीमा पनि रामकृष्ण ढकाल र निलमको सम्बन्ध विच्छेद भएको देख्न सकिन्छ । कानूनी रुपमा डिभोर्स गरिसकेर पनि फेरि किन ढकालले हामी सँगै छौँ भनिरहेका छन् ?

यसको कारणलाई कतिले ‘ऋण’ सँग जोडेर हेरेका छन् ।

रामकृष्ण ढकालले सामाजिक सञ्जाल फेसबूकमा एक लामो स्टाटस लेख्दै भनेका छन् –

मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शकरश्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शीर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रशंशक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पूर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।

पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन् । ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्यूनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।

सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शकर श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।

आशा छ तपाईहरुको माया रहिरहने छ।

बेलाबेलामा दिने अन्तर्वार्ताका क्रममा ढकालले आफ्नी पत्नीप्रति निकै स्नेह व्यक्त गर्थे । यसकारण पनि ढकाल र निलमबीच सम्बन्ध विच्छेदबारे कहिल्यै कसैले सोचेका थिएनन् । एकाएक अदालतमा गएर नै डिभोर्स गरेको भनिरहँदा रामकृष्ण ढकालले भने यो सरासर गलत भएको बताएका छन् ।

गायक ढकाल भन्छन् – मेरो परिवारप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनुहोला ।

रामकृष्ण ढकालसँगै आफ्नो सांगीतिक वृत्ति अगाडि बढाएका संगीतकार आलोक श्री भन्छन् – उहाँ सोमबार मात्र गीत रेकर्ड गर्न आउनुभएको थियो, गीत रेकर्ड गरेर खुशी मुद्रामा जानुभयो । उहाँहरुको डिभोर्स भएकोझैँ मलाई चाहिँ लाग्दैन ।

आलोक श्री र रामकृष्ण ढकाल झण्डै पाँच घण्टा अनामनगरस्थित गुञ्जन रेकर्डिङ स्टुडियोमा थिए । आलोक श्रीका अनुसार उनी तनावमा थिएनन् । पारिवारिक पीडा थिएन ।

‘डिभोर्स गर्ने मुडमा भएको भए त त्यति खुशी हुनुहुन्थेन होला, हामी झण्डै ५ घण्टा बस्यौँ, ठट्टा गरिरहेका थियौँ,’ आलोक श्रीले भने ।

ढकालले निलमले आफ्नो जीवनमा सधै साथ दिएको र सम्बन्धमा कुनै चिसो नआएको बताएका छन् । त्यसो त एकपटक ढकालले घरको अवस्था बिग्रँदै जाँदा श्रीमतीले आत्महत्या गर्छु भन्ने गरेको पनि बताएका थिए । ऋणले पारिवारिक विचलन त पक्कै ल्याएको थियो ।

उनले एक अन्तर्वार्ताका क्रममा भनेका थिए, ‘जीवनमा श्रीमतीले रुँदै म आत्महत्या गर्छु भन्यो, त्यो दुःखपूर्ण क्षण थियो ।’

लोकप्रिय गायक ढकालले गाएका कतिपय गीत अहिले उनकै जीवनमा मेल खान पुगेका छन् । यो त एक अपवाद हो तर यो अवस्था सहकारीबाट लिएको ऋणले ल्याइदिएको देखिन्छ । १ करोड ८० लाख ऋण ५ करोड पुगेको देखिन्छ ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट उनले वि.सं. २०६६ मा ऋण लिएर घर किनेका थिए । ढकालका अनुसार सहकारीकै कर्मचारीले उनलाई ऋण लिएर घर किन्न प्रस्ताव गरेका थिए ।

ढकालको दाबीलाई आधार मान्ने हो भने, सहकारीको चाहनाअनुरुप नै उनले ऋण लिएका थिए ।

‘मलाई उहाँहरुले घर किन्नका लागि ऋण दिन्छौँ भन्नुभयो, हामी छँदैछौँ भन्नुभयो,’ रामकृष्ण ढकालले चार महिनाअघि पत्रकार सम्मेलनमा भनेका थिए, ‘मैले पनि उहाँहरुले दिनुहुन्छ भनेर ठीकै छ नि त भनेर १ करोड ८० लाख लिएँ ।’

उनले यो ऋण पत्नी निलमका नाममा लिएका थिए । यो ऋणको ब्याज र साहुँ तिर्दातिर्दा नपुगेर ढकालको घर नै लिलामी भयो ।

ढकाल भन्छन्, ‘मजस्तो मान्छेको आवाज त ल्याउन गाह्रो छ भने अरुको हालत के होला?’

कति समय त बिहान रियाज गर्नुको साटो घर किन्ने व्यक्ति खोज्दै हिँडेको ढकालले बताएका थिए । पछि पत्रिकामा सूचना आएपछि ढकाल ऋणमा डुबेको खबर बाहिर आएको थियो, जुन ढकालले बाहिर आओस् भन्ने चाहँदैनथे ।

अहिले रामकृष्ण ढकालको घरमा आर्थिक विचलन आएको छ । सहकारी स‍ंस्थाबाट लिएको ऋण र त्यसको ब्याज तिर्दा उनी आजित भएका छन् ।

त्यसो त कतिपयले ढकालले चर्चामा आउन ‘डिभोर्स’ को नाटक गरेको पनि आरोप लगाएका छन् । तर, ढकालको परिवारमा के बितिरहेको छ भन्ने त उनलाई नै थाहा छ । खासै मिडियामा आउन नचाहने ढकालले यतिबेला आफू पत्नी निलम र छोरीसँगै भएको बताएका छन् ।

यता निलमले भने यसबारेमा कुनै प्रतिक्रिया दिएकी छैनैन् । कानूनी रुपमा भने निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर ८ पुसमा सम्वन्धविच्छेदको मुद्दा दायर गरेको देखिन्छ । ०७६-CP-३१८८  दर्ता नम्बर मुद्दाको पेशी सूचीको कैफियत खण्डमा ‘फैसला/अन्तिम आदेश-मिलापत्र’ भनी जिल्ला अदालत काठमाडौंले भनेको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ३ : ३० बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही