सम्झनामा भाषाविद् बालकृष्ण पोखरेल : जसले अक्षर नचिनेरै मास्टरी गरेका थिए « Khabarhub
Logo
४ जेष्ठ २०७८, मंगलबार

सम्झनामा भाषाविद् बालकृष्ण पोखरेल : जसले अक्षर नचिनेरै मास्टरी गरेका थिए



काठमाण्डौं-   ४ वर्ष अघि उनको निवास बिराटनगरस्थित साविकको १३ नम्बर वडामा पुग्दा लागेको थिएन कि यति चाँडै उनको स्वार्गारोहण हुन्छ । विक्रम संवत २०७१ सालमा ८१ बर्षका उनको त्यो उमेर र हक्किपनले लाग्दैनथ्यो उनलाई बुढ्यौलीले छोएको छ ।

तर चाहुरिएको अनुहार, सेताम्मे कपाल र दृष्टिदोष छल्न लगाएको बढेमानको चस्मा उनको तन्नेरी मनका अघि बाधक थिए, छोप्न खोजे पनि छोपिन्न थियो उनको तन्नेरी मन ।

मकवानपुरको चिसापानी गढीमा विक्रम संवत १९९० साल भदौ ३० गते सोमबार जन्मिएका बालकृष्ण पोखरेलका जीवन असामान्य र अपत्यारिला छन् ।

राणाशासनका बेला जन्मिए पनि पोखरेलको जीवनले त्यो बेलाको अप्ठ्यारो महसुस गर्न पाएन । डिट्ठाका नाति त हुन् नै उनि सुब्बाका छोरा पनि । यसको फाइदा लिन पाए । बुवा शारदाप्रसाद जागिरको शिलशिलामा जता-जता गए पोखरेल पनि वाल्यवस्थामै बुवा हिडेका बाटोहरु हिँडे । यसैले उनी आमा छाँयादेवी भन्दा पनि बढी बुवाप्रति श्रद्धाभाव राख्दथे । भन्थे ‘आमाको भूमिकामा पनि बुवालाई नै पाएँ ।’

आमाको लोलोपोतोमा हुर्केको भए बिग्रन्थेँ होला उनले थपे ‘हामी छ जना सन्तानमध्ये आमाले मलाई झण्डै-झण्डै अविभावकजस्तो ठान्नुहुन्थ्यो ।’

स्थायी रुपमा विराटनगर साविकको १३ नम्बर वडामा ७ दशकदेखि बस्दै आएका पोखरेलका तीन सन्तान छन्, एक छोरा र दुइ छोरी । आफ्ना सन्तान आफ्नै पेशामा लाखापाखा हुँदा पोखरेलको दिनचर्यामा सहयात्रीका रुपमा पुस्तक नै बन्ने गरेका थिए ।

पोखरेलको जीवन बुझेकाहरुका लागि उनको निवास मात्र होइन उनी आफै एउटा पुस्ताकालय हुन । कोलकताबाट तुलनात्मक भाषाशास्त्रमा स्नातकोत्तर गरेका पोखरेल नेपाली भाषामा त्रिविबाट सन् १९७१ मा स्नातकोत्तर गर्दाताका गोल्ड मेडलिस्ट हुन् ।

जीवन नै अध्ययन, अध्यापन, साहित्य र सोधमा विताएका पोखरेलको वाल्यकाल थाहा पाउँदा अचम्म लाग्छ । अक्षर नै नचिनी उनले मास्टरी गरेका थिए । कखरा उल्टो र सुल्टो दुबै तवरबाट घोकेर पोख्त बनेका उनले समाकालीन साथीहरुलाई पढाउने जिम्मा पाए ।

त्यो क्षण सम्झदै उनी भन्छन् – ‘पिताजीले मलाई मनोबैज्ञानिक ढंगले १ कक्षाका अरुलाई पढा भन्नुभो हातमा मेरो लठ्ठी पनि थियो, उनी थप्छन्, ‘जब कसैले जय जगदीश हरे… भन्नेमा जय जग पगदिश हरे…भन्थे लठ्ठिले बजाइदिहाल्थेँ । पिट्न पाउने खुशीयालीमा म शिक्षक बनेँ। तर साथीहरु अर्को वर्ष २ कक्षामा पुग्दा नि म गुरुसाहेव १ कक्षामा पनि भर्ना भएको थिइन तब म रोएँ ।’

त्यसपछि कक्षा १ मा भर्ना त भइयो तर कखरा चिनिनँ यद्यपि पुस्तक भने घोकिसकेको थिएँ । अक्षर नै नचिनि कखरा जानेका पोखरेललाई कक्षामा शिक्षकले क, ख लेख्न लाउँदा आएन । लेखेको कखरा देखाउँदा पनि कहिले ‘प’ लाई ‘क’ त कहिले ‘म’ लाई । अनि उल्टै उनले शिक्षकलाई प्रतिप्रश्न गर्थे- ‘एउटै ब्यक्ति नाटकमा कहिले राम र रावण बन्न मिल्ने अक्षरचाहीं सधै एउटै हुनुपर्ने कारण के ?’ यस्ता प्रश्नको फेला पर्दा शिक्षक नै अक्क न बक्क हुन्थे ।

सानैदेखिको जिज्ञासु स्वभाव र अनौठा खाले प्रश्नले नै पोखरेलको अध्ययनप्रतिको लगाव बढेको थियो । तर पनि उनले वल्लतल्ल आठ बर्षको उमेरमा अक्षर चिने ।

अंग्रेजीमा मोह बढ्दा दाजुले दिए चट्कन

तत्कालीन परिवेश अंग्रेजी बोल्ने चाल्ने कमै थिए । अझ ब्राह्मण खलकमा अंग्रेजीको नाम लिँदा बाहुनको सन्तान गाई खाने विद्याको नाम लिन्छस् भन्दै अभिभावकले हकारेको उनले स्मरण गरे । पिताजीको जागिर पोखराबाट सरुवा भएर सिन्धुपाल्चोक भयो ।

त्यसपछि मलाई पढ्न सझिलो होस् भनेर काठमाण्डौमा ठूलो दाजुका साथ राखियो । झ्यालमा अडेस लगेर संस्कृत घोकिरहँदा छिमेकको घरबाट सीएटी क्याट, क्याट माने बिरालो । आरएटी र्याट, र्याट माने बिरालोको आवाज सुनेँ । अंग्रेजी मोह ह्वात्तै बढ्यो चारातिर अंग्रेजी घन्किन्छ आफू भने संस्कृत… ।

असाध्यै रिस उठ्यो पाखुरा सुर्किदै दाजु भए ठाउँ पुगेँ । उनले दाजुलाई संस्कृत शब्द अइउण् र ऋऌक् मध्ये के माने बिरालो भन्दै प्रश्न गरे बदलामा दाजुले ‘बाहुनको बद्नाम गराउने भन्दै चड्याम्म गाला बजारे त्यसपछि म आफन्तकोमा भागेँ ।

कट्टर कम्युनिष्ट पनि

विक्रम संवत २००२ सालपछि विराटनगर आए र यतैको स्थायी वासिन्दा बने । त्यसपछि मात्र शुरु भयो वालकृष्णको औपचारिक शिक्षा । विराटनगरबाटै औपचारिक शिक्षा शुरु गरेका पोखरेलले त्यो बेला पढेको विद्यालय अहिलेको आदर्श उच्च मावि हो ।

तत्कालीन समयमा यसलाई श्री त्रिजुद्ध हाइ इंलिस स्कूलको नाम दिइएको थियो । यही विद्यालयबाट उनले औपचारिक शिक्षा हासिल गरे त्यो पनि एकैचोटी कक्षा ७ बाट । अंग्रेजी नजानी विद्यालय जान नपाइने व्यवस्थाका कारण उनी औपचारीक शिक्षामा लाग्नुअघि नै अंग्रेजीसँग पूर्ण परिचित भइसकेका थिए ।

त्यसैले त उनले २००३ सालमा विद्यालय अनुगमनका लागि आएका देशकै एक मात्र विद्यालय निरीक्षक ऋषिकेश साहसँग अंग्रेजीमा गफ गरेर टक्कर दिए । साहले नेपालीमा भनेको कुरालाई उनले अंग्रेजीमा अनुवाद गर्नुपर्ने भयो । अनुवादका लागि भनिएको शब्द यस्तो थियो – ‘डाक्टर ऋषिकेश साह लुगाभरीको धुलो टकटकाउँदै रेलको बाटो भएर सरासर स्कूलमा आइपुग्यो र सबभन्दा पहिले सात कक्षाको कोठामा पस्यो ।’

अनि पोखरेलले यसलाई अंग्रेजीमा यसरी अनुवाद गरे-  ‘Dr. Rishikesh shah came from Kathmandu to Biratnagar by an Indian railway being affected by the dust of journey till now he is….. ’

यही अंग्रेजीको प्रभावले उनी पछि पुरस्कृत समेत भए । पढ्नमा तेज रहेका पोखरेल देशको माहोलप्रति पनि उत्तिकै चासो राख्थे । उनको सुजबुझ र चातुर्यताले राजनीतिकर्मीलाई लोभ्यायो । त्यसपछि उनले पढाइमा लत छाडे । साम्यवादमा भाग लिने भएर पोखरेल काठमाडौंबाट विरगंज हानिए । साम्यवादसँग पढाइ त साटेकै थिए, उनले पछि बुवाले  दिएको पैसाको विटोलाई सेवासदनमा अपर्ण गरेर चनाको सातु खाएर दिन कटाए ।

विरगञ्जमा अचाक्ली गर्मी, त्यसमाथी मच्छडको पीर । साम्यवादी नारालाई चनाको सातुले भुल्याउँदा पोखरेललाई मच्छडले खाएको पत्तै भएन, अचानक मलेरिया लागेपछि स्वास्थ्य गिर्दो अवस्थामा पुग्यो । तर पनि कम्युनिष्टहरु रोगसँग डराउनु हुन्न भन्दै साथीभाइले सम्झाएको क्षणलाई उनले छुटाएनन् ।

२००७ सालमा एसएलसी उत्तीर्ण गरिसक्नुपर्ने पोखरेल कुशल कम्युनिष्ट कार्यकर्ता बने । देशको राजनीतिक परिवर्तनपछि मात्र उनले वनारसबाट एसएलसी दिए । त्यो बेला विक्रम संवत २००९ भइसकेको थियो ।

साहित्य लेखनतिर छाइसकेका उनी राजनीतिमा पनि उत्तिकै सक्रिय थिए । तर २०१४ सालमा मनमोहन अधिकारीसँग खटपट भएपछि भने उनले कम्युनिष्ट राजनीति त्यागे । तत्कालीन चुनावमा कम्युनिष्ट पार्टीले घोषणा पत्रमा उल्लेख गरेको भाषाको विषयमा भएको विवाद नै उनको कम्युनिष्ट त्यागको कारण बन्यो ।

उनी त्यतिबेला महाधिवेशन प्रतिनिधि थिए । भन्छन् ‘कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रमा तराईको राष्ट्र भाषा हिन्दी, पहाडको राष्ट्र भाषा नेपाली, यसो गर्न हुँदैन भनेर उनले आपत्ति जनाए तर माथिको उर्दिविरुद्ध जान पाइन्न भनेपछि मैले पार्टी नै त्यागे।’ भाषाको विषयलाई लिएर पार्टी त्यागेका पोखरेल अनास्तावादी साहित्यकार बनेसँगै पञ्चायततिर लागे ।

मगर भाषाको आदिकविदेखि नेपाली-अंग्रेजी बृहत शब्दकोषसम्म

राजा महेन्द्रको निधनपूर्व देखेको सपनाले उनी पुनः आस्तिक बने । त्यो क्षणमा फर्केको अवस्थालाई उनी यसरी चित्रित गर्छन् – ‘सिनेमा जस्तै दृश्य देखियो, सिनेमा हेर्दा दृश्य जसरी देखिन्छ सपनामा त्यसरी नै देखियो कलर फिल्म जस्तो । झल्यास्स ब्यूझिँदा त आफ्नो एउटा प्रिय मान्छे मर्नु न बाँच्नुको अवस्थामा छटपटी रहेको पाएँ ।’ ‘त्यसपछि म आस्तिक भएँ लुकेर जाप गर्न थालेँ’ पोखरेलले भने ।  त्यो बेलाको क्षणलाई उनले २०३३ साल पुष १३ गते शब्दमा उतारे पनि ।

राजनीति, सामाजिक जीवनसँगै अध्ययनको सन्तुलनलाई पनि सँगसँगै अघि बढाएका पोखरेलको उच्च शिक्षा कोलकतातिर सम्पन्न भयो ।

२०१५ सालमा उच्च शिक्षा सम्पन्न गर्नुपर्नेमा पोखरेलले बजारमा पुस्तक नभेट्दा एक वर्ष पुनः अध्ययनपछि मात्र परीक्षा दिन पाए अनि मात्र उनी नेपाल फर्किए ।

त्यो बेलाको संगतले विश्व चिन्ने आँखा खुलेको ठानेका पोखरेलले म्यान दी ग्रेट लेख्ने धोको बनाएका थिए तर त्यो पूरा हुन पाएन । त्यसको वदलामा उनले खस जातिको इतिहास लेखे ।

कतिपय समालोचकले यसलाई यो शताब्दीकै अमर कृतिको संज्ञा समेत दिएका छन् । शताब्दीकै उत्कृष्ट कृति दिनुअघि नै उनले नेपाली साहित्यीक आकाशमा आफ्नो कलम चलाइसकेका थिए ।

२००३ सालदेखि नै कवितामार्फत साहित्यमा कलम चलाएका पोखरेलले २००५ सालदेखि उपन्यास र कथा, २००७ देखि प्रवन्ध, २००८ देखि नाटक एकांकी र २००९ देखि निबन्ध लेखनमा कलम चलाएका थिए ।

भाषागत आधारमा पनि कलम चलाउन सिपालु पोखरेल त्यतिकै मगर भाषाको आदिकविका रुपमा कहिलिएका होइनन् । उनले २००९ देखि विविध विधामा कलम चलाए ।

भाषागत आधारमा २००९ साल, इतिहासमा २०१० साल, जातित्वमा २०१३ साल र समालोचनामा २०१९ सालदेखि उनि प्रवेश गरे ।

त्यसैले त उनले रुपावासी, केकेमनुक्च्यो र वसन्त जस्ता उपनाम पाए । साहित्यका हरेक क्षेत्र अछुतो नराखेका पोखरेलका एक सय भन्दा वढी कृति प्रकाशित छन् ।

पोखरेलको बृहत नेपाली-अंग्रेजी नेपाली कोष प्रकाशित गर्दै उनले आफ्नो कृति प्रकाशनको क्रमलाई विट मारे । तर साहित्यमा उनको सुरुवात भने रातो रङको रंगमा पानी हालिबाट भएको थियो । सर्जकहरु मुटुकेन्द्रित भएकाले छिट्टै भावूक हुने उनी बताउँछन् । पोखरेल पनि अरु सर्जकभन्दा फरक हुन सकेनन् ।

उनले वसन्त उपन्यासको विषय झिक्दै अत्यन्तै भावुक मुद्रामा सवै मेरा कृति डढ्ने अवस्था आए पनि यसलाई वचाइदिनोस् है भन्ने आग्रह पनि गरे । अनि उत्तिकै कठोर पनि देखिए समालोचकहरुले वसन्त उपन्यासको वाक्य पनि उक्काएनन् भन्दै ।

वियोगले विक्षिप्त !

वियोगबाट विक्षिप्त हुने मानवीय स्वभावबाट उनी पनि टाडा थिएनन् । श्रीमतीको अल्पायुमा भएको निधन होस् या त बुवा आमा र माइलादाजुको निधनमा नै किन नहोस् उनका वलिन्द्र आँशुले आफैलाई भिजायो ।

श्रीमतीको निधनले त उनलाई एक्लीएको महसुस पनि भयो- केही समय त । तर पछि आफै सम्हालिए पोखरेल ।

विक्रम संवत २०१० साल फाल्गुनमा झापा शनिश्चरेकी शान्तादेवी ढकालसँग विवाह गरेका थिए पोखरेलले । २ हजार ६७ साल पुष ३० गते श्रीमतीलाई गुमाए पनि उनले आजिवन श्रीमतीलाई सम्मान प्रकट गरिरहे । श्रीमतीको एउटा कृति समेत प्रकाशित भएको छ ‘मोरङ विराटनगर र नेपाली साहित्य’ ।

जीवनलाई एक मुठी सास भएको बताउने पोखरेल समाजलाई गरिव पँधेरनीको चुहिने गाग्रीबाट झरेको पानीले बनाएको रेखा जस्तो मान्थे । सन् १९६१ देखि १९८९ सम्मको विगत त्रिवीमा अध्यापनमा विताएका पोखरेल पछिल्लो समय अध्ययनसँगै आफ्नै स्वास्थ्यको हिफाजतमा थिए ।

तर उनको त्यो स्वास्थ्यको हिफाजत २०७५ फागून १२ गते विहानको १ बजे भन्दा बढि टिक्न सकेन । तथिपि उनका कृतिहरु नेपाली साहित्यिक आकाशमा आजिवन हिफाजत नै भइरहनेछन् । पोखरेलप्रति श्रद्धासुमन !


भर्खर

0