श्रीलंका आक्रमणपछि इस्लामिक स्टेटको सन्त्रासमा दक्षिण एशिया ! | Khabarhub Khabarhub

श्रीलंका आक्रमणपछि इस्लामिक स्टेटको सन्त्रासमा दक्षिण एशिया !



विश्व आतंकवादी सञ्जाल इस्लामिक स्टेट (आइएसआइएस)ले श्रीलंकामा गत आइतबार श्रृंखलावद्ध बम आक्रमणको जिम्मा लिएसँगै विश्वको कुनै पनि भूभागमा उसले घातक आक्रमण गर्नसक्ने त्रास बढेको छ । सिरिया र इराकमा पछिल्लो समय सबै भूभाग नियन्त्रणमा गुमाएपछि कमजोर ठानिएको इस्लामिक स्टेट श्रीलंका आक्रमणपछि फेरि एक पटक विश्वको ध्यान आफूतिर केन्द्रित गराएको छ ।

सन् २०१३ र २०१४ मा सिरिया र इराकका विशाल भूभागमा कब्जा जमाए पनि पछिल्लो केही वर्षयता एकपछि अर्को गरी ती भूभागमाथिको नियन्त्रण गुमाएपश्चात इस्लामिक स्टेट निकै नै कमजोर अवस्थामा रहेको र आफ्ना आक्रमणलाई छापामार शैलीमा मात्रै सिमित रहेको टिप्पणी हुने गरेको थियो ।

त्यससँगै इस्लामिक स्टेटको ठूलो स्तरमा घातक आक्रमण गर्नका लागि योजना बनाउने, खर्च जुटाउने तथा तालिम दिने क्षमतामाथि नै प्रश्न गरिएको थियो । तर, श्रीलंकामा ३ सय ६० जनाको ज्यान जानेगरी समन्वयपूर्ण तथा निकै नै घातक श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमण गरेपछि भने इस्लामिक स्टेटको क्षमता तथा सुरक्षा जोखिम अझै कम नभएको देखिएको छ ।

श्रीलंकामा गराइएको पछिल्लो आक्रमण किन पनि महत्वपूर्ण छ भने इस्लामिक स्टेट पछिल्लो आक्रमणको निशाना दक्षिण एशियाली मुलुकलाई बनाएको छ । अफगानिस्तान र पाकिस्तानमा भएका केही आक्रमण तथा बंगलादेशमा केही स्वतन्त्र तथा बौद्धिक वर्गका मानिसको हत्या गर्नेबाहेक दक्षिण एशियाका अन्य मुलुकमा इस्लामिक स्टेटले यस्तो ठूलो स्तरको आक्रमण गरेको थिएन । मुसलमान धर्मावलम्बी निकै नै सानो सङ्ख्यामा रहेको श्रीलंकामा इस्लामिक स्टेटले यस्तो स्तरको आक्रमण गर्ने कल्पना पनि गरिएको थिएन ।

इस्लामिक स्टेटले दक्षिण एशियाली मुलुकमा आक्रमण गरेर आफ्नो ध्यान दक्षिण एशियामा पनि उत्तिकै केन्द्रित रहेको देखाएको छ । विगतमा दक्षिण एशिया आतंकवादीको निशानामा नपरेको पनि होइन तर इस्लामिक स्टेटले श्रीलंकामा गराएको आक्रमण स्तर र सामन्जस्यताले भने विश्वलाई नै झस्काइदिएको छ ।

तस्वीर– डेलि मिरर श्रीलंका

आक्रमणको जिम्मा लिएसँगै गत मंगलबार अबेर इस्लामिक स्टेटले अमाक एजेन्सीमार्फत् जारी गरेको भिडियो सन्देशमा आक्रमणको प्रमुख योजनाकार रहेको भनी श्रीलंकाली अधिकारीले बताउँदै आएका इस्लामिक उग्रवादी मोहम्मद जहरान हासिम पनि देखिन्छन् ।

निकै लामो समयदेखि श्रीलंकामा उग्रवादी घटनामा संलग्न रहेका हासिमले भारतबाट फेसबुकमा भिडियोहरु पोष्ट गर्दै उग्रवादी शैलीका इस्लामिक प्रवचन समेत दिने गरेको श्रीलंकाका उपरक्षामन्त्री रुवान विजेवर्द्धनेलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

बीचमा सुरक्षा निकायको निगरानीमा परेपछि भने उनी केही समयका लागि मालदिभ्स गएर बसेका थिए । पर्यटनका लागि निकै नै प्रख्यात रहेको मालदिभ्स दक्षिण एशियामा इस्लामिक उग्रवादका लागि पनि उत्तिकै कुख्यात छ । मालदिभ्सका अधिकारीका अनुसार केबल साढे ४ लाखको हाराहारीमा जनसङ्ख्या रहेको मालदिभ्सबाट २ सय ५० जना इस्लामिक स्टेटमा भर्ना हुन गएका थिए ।

दक्षिण एशियामा सबैभन्दा कम जनसङ्ख्या रहेपनि मालदिभ्सबाट इस्लामिक स्टेटमा भर्ना हुन गएका मानिसहरुको सङ्ख्या जनसङ्ख्याका अनुपातमा सबैभन्दा धेरै हो ।

यसअघि आएका समाचारमा श्रीलंकाबाट ३२ जना इस्लामिक स्टेटमा भर्ना हुनका लागि इराक र सिरिया गएको बताइएको थियो । श्रीलंकामा भएको पछिल्लो आक्रमणमा संलग्न कम्तीमा एकजना लडाकु पनि इस्लामिक स्टेटमा भर्ना हुनका लागि सिरिया गएर फर्केको त्यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् ।

त्यस्तै सन् २०१६ मा इस्लामिक स्टेटले जारी गरेको भिडियोमा भारतबाट आएको बताइने लडाकुहरुले भारतमा रहेका मुसलमानलाई आफ्नो भू–भागमा आउन आह्वान गरेका थिए श्रीलंका, मालदिभ्स र भारतबाबाहेक बंगलादेश तथा पाकिस्तानबाट पनि ठूलो सङ्ख्यामा मानिसहरु इस्लामिक स्टेटमा भर्ना हुन गएका थिए । इस्लामिक स्टेटले आफ्नो नियन्त्रणमा रहेका भूभाग गुमाएसँगै त्यहाँबाट बाँच्न सफल लडाकुहरु स्वदेश फर्कने र यस्तै आक्रमणहरु गर्नसक्ने चिन्ता पनि उत्पन्न भएको छ ।

इस्लामिक स्टेटले दक्षिण एशियाली मुलुक श्रीलंकामा आक्रमण गरेर विश्वको जुनसुकै स्थानमा आक्रमण गर्नसक्ने सन्देश पनि दिएको छ ।

इस्लामिक स्टेटमा भर्ना भएर फर्केका लडाकुहरु कठोर युद्धका अनुभवी हुने गरेकाले उनीहरुले घातक तथा खतरनाक आक्रमण गर्नसक्ने जोखिम पनि उत्तिकै रहन्छ । त्यस्तै, यसअघि आफ्नो नियन्त्रणमा रहेको विशाल भू-भाग गुमाए पनि भूमिगत शैलीमा लुकेर बसिरहेका इस्लामिक स्टेटका नेताहरुले स्वदेश फर्केका आफ्ना लडाकुलाई श्रीलंकामा भएको आक्रमणको शैलीमा विशाल आक्रमण गर्न निर्देशन, तालिम, खर्च तथा अन्य सहयोग पुर्‍याउन सक्ने जोखिमलाई कम आँक्न सकिन्न ।

दक्षिण एशियासँगै युरोप, उत्तर अफ्रिका र दक्षिणपूर्वी एशियाबाट दशौँ हजारको सङ्ख्यामा इस्लामिक स्टेटमा भर्ना हुनका लागि लडाकुहरु सिरिया गएका थिए । उनीहरुमध्ये कति लडाकुहरु स्वदेश फर्के भन्ने स्पष्ट छैन । यसले विश्वभर यस्ता आक्रमणको जोखिम रहेको देखाउँछ ।
त्यस्तै, आक्रमणमा संलग्नमध्ये एक आत्मघाती आक्रमणकारीले अष्ट्रेलिया र बेलायतमा अध्ययन गरेको समेत श्रीलंकाली उपरक्षामन्त्री विजेवर्द्धनेले जनाएका छन् । यसअघि नपढेका र उग्रवादी प्रोपागाण्डाका शिकार बनेकाहरु मात्र आतंकवादी बन्ने गरेको मानसिकता रहँदै आएको थियो ।

तर, युरोप, उत्तर अफ्रिका तथा मध्यपूर्वका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेका हजारौँ युवाहरु इस्लामिक स्टेटमा भर्ना हुन गएको तथ्यबाट त्यो मानसिकता असत्य साबित भइसकेको छ । त्यस्तै, इस्लामिक स्टेट लगायतका आतंकवादी संगठनहरुले आफ्ना प्रोपागाण्डाहरु स्थानीय भाषामा पनि सञ्चालन गर्ने गरेका छन् । यसले पनि मानिसहरुलाई उग्रवादी बाटो समात्ने प्रेरणा दिनसक्छ ।

त्यसबाहेक इस्लामिक स्टेटले दक्षिण एशियाली मुलुक श्रीलंकामा आक्रमण गरेर विश्वको जुनसुकै स्थानमा आक्रमण गर्नसक्ने सन्देश पनि दिएको छ । यसअघि आफ्नो ध्यान इस्लामिक राज्य विस्तारका लागि भू–भाग कब्जा गर्नेमा केन्द्रित गर्दै आएकोमा हाल कुनै भूभागमा नियन्त्रण नरहेको इस्लामिक स्टेटले श्रीलंका आक्रमणपछि भने गैरसैनिक निशानामा आक्रमण गर्नेतर्फ आफ्नो मुख्य ध्यान केन्द्रित गर्न खोजेको हो कि भन्ने पनि देखिएको छ ।

अर्कोतर्फ इस्लाम धर्मावलम्वीको निकै नै सानो जनसङ्ख्या रहेको मुलुकमा आक्रमण गरेर इस्लामिक स्टेटले कुनै पनि मुलुक आफ्नो निशानामा पर्नसक्ने सन्देश पनि दिएको छ । त्यस्तै, श्रीलंकामा भएको आक्रमणका क्रममा त्यहाँको गुप्तचर संयन्त्र असफल भएको देखिन आएको छ । यसका लागि त्यहाँको राजनीतिक खिचातानी पनि उत्तिकै जिम्मेवार छ । इस्लामिक स्टेटलगायतका आतंकवादी संगठनले कमजोर सुरक्षा संयन्त्र रहेका कुनै पनि मुलुकमा आक्रमण गर्नसक्ने समेत देखाइसकेको छ ।

खुला सिमानाका कारण भारतमा सक्रिय आतंकवादीहरु नेपाल प्रवेश गर्ने गरेको समाचार बेलाबेला आउने गरेका छन् । भारतमा सक्रिय आतंकवादी संगठन इण्डियन मुजाहिद्दिनका नेता यासिन भतकल सन् २०१३ मा नेपाल–भारत सीमानाबाट समातिएको घटनाले आतंकवादका लागि नेपाली भूमि पनि प्रयोग हुने गरेको देखिन्छ । श्रीलंका आक्रमणबाट अतिवादीको निशानामा नेपालजस्तो कमजोर सुरक्षा संयन्त्र रहेको मुलुक पनि पर्नसक्ने जोखिम पनि देखिएको छ । श्रीलंका आक्रमणबाट पाठ सिक्दै नेपालले पनि यस्ता अतिवादलाई मध्यनजर गर्दै आफ्नो सुरक्षा संयन्त्र मजबुत बनाउनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ९ : २९ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले