वन्यजन्तु तस्करीको ट्रान्जिट बन्दै नेपाल– तस्कर धन्दामा, भरिया फन्दामा « Khabarhub
Logo
५ असार २०७८, शनिबार

वन्यजन्तु तस्करीको ट्रान्जिट बन्दै नेपाल– तस्कर धन्दामा, भरिया फन्दामा



काठमाडौं– वातावरणीय सन्तुलनका लागि वन्यजन्तुको संरक्षण जति महत्वपूर्ण छ, त्यति नै चुनौतीपूर्ण पनि छ । चोरी–शिकारी, वासस्थानको विनाश, खानेकुराको अभाव, बढ्दो जनसंख्याका कारण वन्यजन्तु संरक्षण निकै चुनौतीपूर्ण बनेको छ ।

वन्यजन्तु संरक्षणका लागि नेपालले संरक्षण क्षेत्र नै घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघ लगायत वन्यजन्तु संरक्षणसँग सम्बन्धित विभिन्न सन्धी–अभिसन्धीको पक्ष राष्ट्र रहेको नेपालले वन्यजन्तु आरक्ष र राष्ट्रिय निकुञ्ज विकास गरी संरक्षण अभियानलाई तीव्रता दिइरहेको छ । तर, वन्यजन्तु संरक्षणका चुनौती भने कम भएका छैनन् ।

नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआईजी) हेमन्त मल्ल चोरी–शिकारी नै वन्यजन्तु संरक्षणको मुख्य चुनौती ठान्छन् । डिआईजी मल्लका अनुसार नेपालमा अर्को चुनौती वन्यजन्तुका अंग (आखेटोपहार) को तस्करी हुनु पनि हो ।

‘वन्यजन्तु संरक्षणको मामलामा नेपालका लागि प्रमुख चुनौती चोरी–शिकारी नै हो,’ मल्ल भन्छन्, ‘यसपछि यहाँबाट वन्यजन्तुका आखेटोपहार तस्करी हुने घटनाले पनि नेपाल झन चुनौती थपिरहेको छ ।’

नेपालमा लोपोन्मुख वन्यजन्तुको शिकारका साथै यहाँ ट्रान्जिट बनाएर त्यस्ता वन्यजन्तुका अंगको तस्करी पनि हुने गरेको मल्ल सुनाउँछन् । प्रहरीले लामो समयदेखि वन्यजन्तुका अंगको तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ पनि गर्दै आएको छ । पक्राउ पर्नेमध्ये कतिपय व्यक्ति त तस्करहरुको अन्तर्राष्ट्रिय सञ्जालका सदस्य पनि छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले करिव ९ वर्षको अवधिमा वन्यजन्तु तस्करीविरुद्ध २ सय ७८ वटा अपरेशन चलायो । ती अपरेशनबाट ६ सय ३३ जना मानिस पक्राउ परे भने ठूलो परिमाणमा आखेटोपहार बराम भयो ।

विशेष गरी गैंडा, बाघ, चितुवा, भालु, हाब्रे सालक लगाएत वन्यजन्तु तस्करहरूको निशानामा पर्ने गरेका प्रहरीको अनुसन्धानबाट देखिन्छ । गैंडा खाग, खुर र छालाका लागि तस्करको निशानामा पर्ने गरेको छ भने छाला र हड्डीका लागि बाघ र चितुवाको शिकार हुन्छ ।

त्यस्तै पित्त र नङ्ग्राको लागि भालु मारिन्छ भने छालाको लागि रेडपाण्डा (हाब्रे)को सिकार हुने गरेको छ । त्यसैगरी खपटाको लागि सालक, विनाको लागि कस्तुरी, दाह्राको लागि हात्ती, साहतुस (रौं)का लागि चिरुको शिकार हुन्छ ।

यी बाहेक अजिङ्गर, सालक, हुचिल, लाटोकोसेरोलगायत वन्यजन्तु र पंक्षीको भने जीवित तस्करी हुने गरेको प्रहरी अधिकार बताउँछन् ।

चितुवा, सालक र हाब्रे निशानामा

सिआईबीले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा मात्र एउट जीवित सालक र १ थान सालकको खपटा बरामद् गर्‍यो । यसबाहेक, चितुवाको छाला ३ थान, चितुवाको नङ्ग्रा ६ ओटा, ध्वाँसे चितुवाको छाला १ थान, ध्वाँसे चितुवाको दाह्रा ४१ थान बरामद् गरेको छ । सिआईबीका अनुसन्धान अधिृकत प्रहरी नायव उपरीक्षक (डिएसपी) अनुपम राणाका अनुसार यी सबै नेपालमै शिकार भएका हुन् ।

यसअघिका वर्षहरुमा पनि प्रहरीले निरन्तर चितुवा, साल र हाब्रेको आखेटोपहार बरमद गरिरहेको छ । डिएसपी राणाका अनुसार, पछिल्लो तीन वर्ष यता नेपालमा गैंडाको सिकार नै भएको छैन । बाघको शिकार गर्ने क्रम पनि घटेको छ । तर, चितुवा, सालक र हाब्रेको सिकार भने बढेको छ । उनका अनुसार अबको मुख्य चुनौती भनेको चितुवा, सालक र हाब्रेको संरक्षण नै हो ।

नेपालमा शिकार कम, तस्करी बढी

वन्यजन्तुसम्बन्धी तस्करीको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु नेपालमा वन्यजन्तुको शिकारका घटनामा केही कमी आएको बताउँछन् । तर, त्यसको तुलनामा नेपाललाई ट्रान्जिट बनाएर आखेटोपहारको तस्करी भने बढीरहेको उनीहरुको भनाइ छ । प्रहरीका अनुसार यस्तो तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको छ ।

तस्करहरुले नेपाली भूमिको प्रयोग गर्दै आखेटोपहारको व्यापक माग हुने देशहरु चीन, भियातनाम, जापान, कम्बोडिया लगायतका बजारमा पुर्‍याउँछन् ।

सिआईबीका अनुसन्धान अधिकृत डिएसपी राणाका अनुसार चीरुको रौं तिब्बतबाट अवैध रुपमा निकासी गरी नेपालको बाटो हु“दै भारत जान्छ । बाघको छाला र हड्डी नेपालको बाटो हु“दै तिब्बत पुग्छ । त्यहा“बाट तेस्रो मुलुकमा समेत पुग्ने गरेको छ ।

प्रहरीले सार्वजनिक गरेका केही घटनाको विश्लेषण गर्दा वन्यजन्तुसँग सम्वन्धित अपराध नेपाल, भारत र चीनसँग अन्तर सम्बन्धित रहेको देखिन्छ । प्रहरीले गरेको अनुसन्धानअनुसार नेपालबाट बाहिर तस्करी हुने वन्यजन्तुको आखेटोपहारमध्ये २० प्रतिशत नेपालमै शिकार गरेर संकलन हुन्छ । बाँकी ८० प्रतिशत बाहिरी मुलुकबाट नेपाल हुँदै तस्करी हुन्छ ।

यस्तो तस्करीमा स्थानीय व्यक्तिदेखि अन्तर्राष्ट्रिय गिरोहको तहगत संलग्नता रहेको प्रहरी अनुसन्धानबाट देखिन्छ । अन्तर्राष्ट्रिय गिरोहले दुर्लभ वन्यजन्तु र वनस्पतीको जानकारी दिने, चोरी शिकारी गर्ने, दलाली अर्थात मध्यस्थकर्ता गर्ने र विदेशमा निकासी गर्ने गर्छन् ।

तस्कर धन्दामा, भरिया फन्दामा

प्रहरीले अहिलेसम्म वन्यजन्तुका आखेटोपहार तस्करीको आरोपमा जतिलाई पक्राउ गरेको छ, उनीहरुमध्ये धेरैजना भरिया मात्रै छन् । प्रहरीले पक्राउ गरेकाहरु कमजोर आर्थिक अवस्था, न्यून आय भएका व्यक्ति हुनुले पनि उनीहरु भरिया मात्रै भएको तथ्य प्रमाणित हुन्छ ।

सिआईबीको डिएसपी राणा आर्थिक अवस्था कमजोर भएका व्यक्ति पैसा कमाउने उद्देश्यले मात्रै तस्करीमा संलग्न हुन्छन् । ‘आर्थिक अवस्था कमजोर भएका र अशिक्षित व्यक्तिहरु तस्करीबारे जानकारी नै नलिइ यसमा संलग्न भएको देखिन्छ,’ डिएसपी राणा भन्छन्, ‘उनीहरु जे काम गरेपनि पैसा मात्रै कमाउनुपर्ने भन्ने उद्देश्यबाट निर्देशित भएको पाइन्छ ।’

यसको ठीक विपरित, वन्यजन्तु तस्करीमा संलग्न गिरोहका सदस्य भने कहिल्यै पक्राउ पर्दैनन् । यस्तो गिरोहका सदस्यबारे प्रहरीलाई पनि पर्याप्त जानकारी हुँदैन ।

‘पक्राउ परेका व्यक्तिहरु पनि नचिनेका व्यक्तिबाट यो कार्यमा संलग्न हुन्छन् । उनीहरु पैसा पाएपछि जेपनि गर्ने खालका भएकाले आफूलाई कसेले काम लगाएको भन्नेबारे बुझ्न पनि नचाहने रहेनछन्,’ वन्यजन्तुको तस्करीबारे अनुसन्धान गरेका एक प्रहरी अधिकृत भन्छन्, ‘पक्राउमा पर्ने व्यक्तिलाई नै पर्याप्त जानकारी नहुने हुँदा हामीलाई पनि गिरोहसम्म पुग्न समस्या भइरहेको छ ।’

पूर्वडिआईजी मल्ल वन्यजन्तुको तस्करीमा पनि लागू औषधको तस्करीमा जस्तै अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुने गरेको बताउँछन् । त्यस्ता गिरोहका मुख्य व्यक्तिहरुबारे सूचना पाउन नै मुश्किल हुने गरेको मल्लको अनुभव छ ।

कानूनी व्यवस्था

वन्यजन्तुको कारोबारलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गर्नेलाई ५ बर्È देखि १५ बर्Èसम्म कैद र ५० हजार देखि १ लाखरुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

वन्यजन्तु संरक्षणकै लागि भनेर नेपाली सेना, नेपाल प्रहरी, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभाग लगाएतका विभिन्न अंगहरु परिचालित छन् ।

यसबाहेक गैरसरकारी क्षेत्रबाट पनि ठूलो मात्रामा स्रोतसाधन र जनशक्ति वन्यजन्तुको संरक्षणका लागि परिचालन छ । तर, तस्करी नियन्त्रणका लागि अपेक्षित नतिजा निस्कन सकेको छैन ।

पूर्वडिआइजी मल्ल सरोकारवाला निकायबीच आपसी सहकार्य हुँदा केही हदसम्म वन्यजन्तुको तस्करी नियन्त्रण गर्न सकिने बताउँछन् ।

स्थानीय समुदायको सहभागिता, उच्चतम प्रविधिको प्रयोग, सरकारी निकायबीच अपसी सहकार्य भए तस्करी नियन्त्रण गर्न सकिने उनको बुझाइ छ ।

नेपालले यस्तै चीनलगायत वन्यजन्तुका आखेटोपहार वढी माग हुने देशमा त्यस्ता आखेटोपहारको प्रयोगमाथि प्रतिवन्ध लगाउने कानून बनाउनका लागि कुटनीतिक पहल थाल्नुपर्ने पनि विज्ञहरुको सुझाव छ ।


भर्खर

0