थुना परेको राजा | Khabarhub Khabarhub

थुना परेको राजा



त्यसबेला म दुई या तीन वर्षको थिएँ, बुवालाई झल्याकझुलुक मात्र देख्थेँ, फिल्मको साइड हिरो जस्तो । एकदिन मलाई बुवाले काखमा राख्नुभो, मैले आफूलाई साँच्चिकै हिरो सम्झेँ ।

‘म तिम्रो को हो ? भन त ।’
‘डाक्टर’, मैले भनेँ ।
‘के रे ? फेरि भन् त बाबु ।’
मैले सच्चिँदै भनेँ, ‘डा साब’ ।

आमाले बुवातिर हेरेर हाँस्दै भन्नु भो, ‘बुझ्नुभो, उसले कसरी चिन्यो ?’

मैले गलत बोलेँ कि सही, थाहा भएन । तर आमा हाँसेकाले म फुर्किएर हाँसेँ । त्यसबेला बुवाको अनुहार कस्तो भो याद छैन ।

आमा मुटुको डाक्टर, बुवा पेटको । अरुले बुवालाई ‘डाक्टर’ भन्थे । आमाले ‘ओ डा साब’ भन्नुहुन्थ्यो । कहिलेकाहीँ हजुरबुवा आउँदा बुवालाई ‘एई डाक्टर’ भन्नुहुन्थ्यो । मैले पनि त्यही जानेँ।

म अहिले सम्झन्छु, उहाँलाई मैले बुवा नभनी डाक्टर भनेकोमा उहाँको आत्मसम्मानमा चोट पुग्यो होला । बरोबर भेट्ने, बोल्ने अवसर पाएको भए सायद मलाई पनि बुवा भन्ने बानी पर्थ्यो ।

बुवालाई म घरमा कमै देख्थेँ । बिहानदेखि रातिसम्म उहाँ बाहिरै । मैले पछि थाहा पाएँ, हप्ताको दुई दिन अप्रेसन परेको रात उहाँ अस्पतालमै सुत्नुहुँदो रहेछ । क्लिनिकमा बिहानै जाने, अनि अस्पताल । बिदाको दिन पनि हेल्थ क्याम्प लिएर गाउँतिर जाने, सधैँ व्यस्त ।

मेरो रेखदेख गर्ने अञ्जली आन्टी थिइन्, आमा पनि बेलुका आठ बजेतिर आउने । मेरो खाना, कपडा लगायतका आवश्यकता आमाले पूरा गर्नुहुन्थ्यो तर मलाई बुवा एकदम मनपर्ने । बुवाले दिने आनन्द आमाबाट कहाँ पूरा हुनु ? ‘म भरे बुवालाई यस्तो भन्छु, यसरी खेल्छु’ भनेर सोच्यो, कुर्दाकुर्दै सोफामै निदाउँथेँ । बिहान उठ्दा कहिलेकाहीँ बुवालाई टाई बान्दै अण्डा, बे्रड चपाइरहेको देख्थेँ ।

मेरो घरको झ्यालबाट देख्थेँ, पल्लो घरको कौसीमा म जत्रै उत्सवलाई उसकी आमाले कौसीमा ल्याउँथिन् । उसको बुवाले पानी खन्याउँथे, आमाले जीउ माडेर नुहाई दिन्थिन् । त्यसपछि प्लाष्टिकको बल र ब्याट लिएर बाबु छोरा एकछिन क्रिकेट खेल्थे । मलाई रमाइलो लाग्थ्यो । म पनि बुवासँग त्यस्तै गर्न खोज्थेँ, नपाउँदा रीसले खुट्टा ठटाउन मन लाग्थ्यो ।

उत्सवको बुवाले उसलाई ढाडमा राखेर घोडा जस्तै कोठामा घुम्थे, उत्सव बुवाको कान समातेर हटहट भन्थ्यो । मैले गर्न नपाएकोमा इष्र्या हुन्थ्यो । आँसु बग्थ्यो, नमीठो लाग्थ्यो । बेलाबेलामा उत्सवका बुवाले काख बनाएर अँगालो थाप्दै ‘आऊ आऊ मेरो काखमा’ भन्थे, उत्सव एकछिन् घुक्र्याए झैँ हाँसेर बसिरहन्थ्यो । मलाई उडेर उसको काखमा बस्न जाउँ जस्तो हुन्थ्यो । फेरि सम्झन्थेँ– ऊ त मेरो बुवा होइन ।

आमा मलाई धेरै माया गर्नुहुन्थ्यो, तर सधैँ केही नपुगे जस्तो । गुलियोबिनाको क्याटबरी जस्तो । मलाई लाग्छ, छोराको बाल्यकाल जीवन्त बनाउने अनौठो कला बुवासँग हुन्छ । बुवा भनेको आमाभन्दा बेग्लै हो । बुवा र आमाले व्यक्त गर्ने भावना, चाहना, बुवा र आमाको शरीर धेरै फरक हुँदो रहेछ । त्यसैले आमाको मायाले मात्र तृप्त नहुने ।

आमाले दिने मीठा खानेकुरा र मायाले मात्र सन्तुष्टि हुँदो रहेनछ । हसाउने, खेलाउने, साहसिक काम गर्न उक्साउने, मनोरञ्जन गराउने काम त बुवाले नै गराउँदा रहेछन् । आमाले गाली गर्दा आँसु पुछ्ने, चकचके बाँदर र चोर स्यालका रमाइला कथाहरू बुवाले सुनाउँदा रहेछन् ।
फुर्सद हुँदा आमा टेलिभिजनमा सिरियल हेर्नुहुन्थ्यो, बुवा स्पोर्टस्, वाइल्डलाइफ । मेरी आमा मेरो सबैथोक हो तर बुवाको साथबिना अपूर्ण । आमाले डुङ्गा बनाउने, बुवाले चलाउने गर्दा मात्र जीवन अर्थपूर्ण हुँदो रहेछ भन्ने मैले अहिले बुझेँ ।

१७ वर्षको आयूष हाईस्कुल सकेर कलेज–जीवनमा प्रवेश गरेको छ । ऊ आज बिदाको दिन आफ्नोे बाल्यजीवनको स्मरण गर्दै डायरी लेख्न थालेको छ । दिनभरिको वर्षाले होस्टलको चौरमा पानी भरिएको छ । साथीहरू आ–आफ्नो कोठामामा कोही चेस खेल्दै छन्, कोही गफमा मस्त । झ्याल सामुन्नेको रूखमा कागले चल्ला कोरलेको छ । पखेटा फिँजाएर बचेराबचेरीलाई पानीबाट जोगाउँदै छ ।

पानी दर्किदा घरिघरि उसको ध्यान त्यतातिर तानिन्छ । कुनै बचेरा माउको पखेटाबाहिर पर्दा गएर अलि भित्र ठेलौँ जस्तो हुन्छ । त्यता नजिकै भाले काग देखिँदैन । यसलाई उसले आफ्नै बाल्यकालसँग जोडेर कलम अगाडि बढाइरहेको छ । उसले अगाडि लेख्यो– ‘मेरो बुवा अरुभन्दा असल हो भन्ने बाल्यकालमा मलाई कहिल्यै लागेन । कहिलेकाहीँ त ‘टेरिफाइङ स्टोरी टेलर’ जस्तो लाग्थ्यो । तर आज उहाँलाई अरुले ‘ठूलो डाक्टर’ भनेको सुन्दा मलाई गर्व लाग्छ । अरुले डाक्टरको सन्तान, मोजमस्तीमा बसेको देख्थे तर के साच्चै म खुसी थिएँ त ? आफ्नो ती अनुभूतिहरू पनि म यस डायरीमा सेयर गर्दैछु ।’

‘मलाई यस्तै अर्को एउटा महत्वपूर्ण घटना याद छ । एकदिनबिहानै म हराएछु । त्यस बेला मलाई बुवाले नै भेट्टाएर ल्याउनुभयो । त्यो दिन बुवा–आमा दुवैले धेरै माया गर्नुभयो । त्यो दुःखद दिन सम्झेर मेरो मुटु अहिले पनि कटक्क हुन्छ ।

मलाई पप्पीहरू एकदमै मन पर्ने । पप्पीको माउ डगीले मलाई माया गर्थ्यो । तर रोग सर्छ भनेर आमाबुवाले छुनै नदिने । अरुले बोकेको, माया गरेको देख्थेँ, मलाई चाहिँ लिन नदिएकोमा चित्त दुख्थ्यो । बुवा–आमा नभएका बेला म अञ्जली आन्टीसँगै बगैँचामा गएर पप्पीहरू बोक्थेँ । कुनै काला, कुनै खैरा थिए । सबै मन पर्थे, पालैपालो बोक्थेँ । पप्पीले मेरो मुखमा चाट्दा, पुच्छर हल्लाउँदा रमाइलो लाग्थ्यो । सँगै लिएर सुतौँ जस्तो हुने ।

एकपटक राति ब्युँझिदा पप्पीहरू कुइँकुइँ गरिरहेको सुनेँ । मलाई हेर्न जाउँजस्तो भयो । फेरि निदाएछु । बिहानै मलाई हेर्न मन लाग्यो । बुवा क्लिनिक जान हतारिदै हुनुहुन्थ्यो, आमा कम्प्युटरमा । म खोज्दै बगैँचातिर गएँ । पप्पीहरू डगीको थुन चुसेर कराउँदै थिए । दुईवटा पप्पी डगीमाथि झोक्राएर पल्टिएका थिए । मैले डगीलाई छोएँ । डगी चलेन, माया पनि गरेन । मैले एउटा पप्पी समाएँ तर आउन मानेन । म पनि डगी अँगालेर त्यहीँ पल्टेछु ।

‘ल आयूष त मरेको डगीसँगै सुतिरहेको छ’, बुवाले मलाई बोक्नुभयो ।

‘डगी मरीसक्यो बाबु’, बुवाले मलाई भित्र लानुभयो । डगी बिरामी भएको सुनेको थिएँ, उपचार गरेको देखिनँ, नरमाइलो लाग्यो । अर्को दिन पप्पीहरू पनि गायब भए । घरमा शून्यता छायो, म धेरै रोएँ । त्यसपछि आमाले खेलौना कुकुर ल्याउनुभएछ । मलाई मन परेन ।
‘मेरै पप्पी ल्याइदिनु’, मैले आमासँग झगडा गरेको सम्झना छ ।

आयूषले उठेर चिया बनायो, बाहिर पानी उस्तै परिरहेको थियो । भाले काग गुँडमा आएछ, पोथीलाई ठुँगे जस्तो गर्दै थियो । चिया पिउँदै उसले फेरि आफ्नोे डायरी लेख्ने क्रम अघि बढायो ।

म आठ वर्षको हुँदा बिदा मनाउन पहिलोपटक चितवन, लुम्बिनी गयौँ । बुवा–आमासँगै घुम्न पाउँदा धेरै रमाइलो भयो । अर्को वर्षको छुट्टीमा दिल्ली, बैंगलोर गयौँ । पछि थाहा पाएँ ती टुर प्याकेज कुनै औषधि कम्पनीले मिलाइदिएको रहेछ ।

मैले यति धेरै घुम्न पाउँदा छिमेकी उत्सव काठमाडौँ काटेर बाहिर गएको थिएन । उसको भन्दा मेरो स्कुल महंगो थियो, मेरा कपडा, जुत्ता सबै ब्राण्डेड थिए । म कारमा घुम्न पाउँथेँ । सानातिना उपचार घरमै हुन्थे, अस्पताल जाँदा लाइन बस्नु पर्दैनथ्यो, औषधिहरू किन्नु नपर्ने, घरमा विभिन्न कम्पनीका कप, डट्पेन, राइटिङ प्याड, ब्याग हुन्थे । पैसाको कमी भएको कहिल्यै सुनिन । घरमा एसी थियो, काम गर्ने आन्टी थिइन् । यस्तो सुविधा उत्सवले भोग्न पाएको थिएन । यी सब सुविधा मेरो बुवा–आमा डाक्टर भएकाले हुन सकेको हो । बुवाले हाउजिङ कम्पनीसँग नयाँ घर किन्ने कुरा गर्दै हुनुहुन्थ्यो । यो सम्झेर कहिलेकाहीँ म दङ्ग पर्थें ।

म सुखी भए पनि मभन्दा उत्सव नै खुसी थियो जस्तो लाग्छ । मिल्ने भए ऊसँग जीवन साट्थेँ होला । किनभने ऊ बिनारोकटोक कोक खान सक्थ्यो । लेज, चाउचाउ, कुरमुरे, आइसक्रिम खान सक्थ्यो । पप्पीसँग खेल्न सक्थ्यो, चउरमा उफ्रिन, क्रिकेट, फुटबल खेल्न सक्थ्यो । तर यिनको नाम लिँदा म सधैँ बुवा आमाबाट त्रसित पार्ने कथाहरू सुन्थेँ । कुनैमा नुन बढी छ, कुनैमा चिनी, कुनैमा ग्यास, कुनैमा रसायन, कुनैमा बोसो, कुनैमा अजिना मोटो, कुनैमा अखाद्य रङ जे खाए नि मुटु रोग, क्यान्सर, सुगर, प्रेसर बढ्ने, दाँत बिग्रिने, पेट दुख्ने त्रास ! बाहिर खेल्न जाँदा नि घाउचोट लाग्ने डर ।

हाम्रो बगैँचाको फूलमा विभिन्न रङ्गका पुतलीहरू आउँथे, मलाई असाध्य मन पर्ने । म पछिपछि लागेर समाउन जान्थेँ । ‘पुतलीका झुस परेर आँखा बिग्रन्छ’ भन्दै कराएर बुवाले मलाई भित्र लानु हुन्थ्यो । त्यो कुराले मलाई अहिलेसम्म डर लागिरहन्छ । पुतली मन परेर नजिक पर्न खोज्छु तर झुस पर्ला भनेर तर्सिन्छु ।
बास्तवमा हाम्रो घर डरत्रासले भरिएजस्तो लाग्थ्यो । म त थुनामा परेको राजा जस्तो ।

मानिसलाई क्यान्सर भएको, हर्ट–अट्याक भएको, बे्रन ह्यामरेज भएको, पेटमा प्वाल पारेर दिसापिसाव निकालेको जस्ता डरलाग्दा घटनावारे डायनिङ टेबल, बैठक कक्षमा प्रायः सुनिरहन्थेँ । मानिसहरू धेरै रोगले घेरिएका हुँदारहेछन्, जीवन कष्टप्रद हुँदोरहेछ भनेर डराउँथेँ, निराशा लाग्थ्यो । पछि मैले बुझेँ बुवाआमा डाक्टर भएकै कारण यस्ता कुराको छलफल हुँदो रहेछ । वायस्पी, क्याथेटर, इन्डोस्कोपी, लिपिड, अल्ट्रासाउण्ड, एक्सरे, सुगर, इसीजी, इको, क्यान्सर जस्ता थुप्रै शब्दहरू मलाई कण्ठ भइसकेका थिए ।

शारीरिक बनावटका चित्र भएका किताब, पोष्टरहरू घरमा जताततै देखिन्थे । मैले चकचक गर्दा अल्मल्याउन यस्तै चित्र भएका बुक दिनुहुन्थ्यो । म पल्टाउँदै हेरेर बस्थेँ । शरीरमा कुन अङ्ग कहाँ हुन्छ मलाई याद भइसकेको थियो । स्कुलमा प्रजनन अङ्गबारे पढाउँदा, चित्र बनाउँदा अरु लजाउँथे तर मलाई केही जस्तो लाग्दैनथ्यो ।

सानोमा एकपटक म रुँदा बुवाले मेडिकल ग्लोब फुकेर बेलुन जस्तो बनाएर देखाउनु भएको थियो । त्यसबेला स्टेथेस्कोप चाहिँ मन पर्ने खेलौना थियो । मेरो घरमा मेडिकलकै खेलौना धेरै हुन्थे । उत्सवले यस्ता खेलौना देख्न पनि पाउँदैनथ्यो होला । तर उसका खेलौना मलाई मन पथ्र्यो । उसले कराउने बाँदर, झ्याम्टा बजाउने भालु, हातले गुडाउने प्लेन खेलिरहेको झ्यालबाट देख्थेँ । मलाई लोभ लाग्थ्यो । वास्तवमा उसको र मेरो दुनियाँ नै अलग थियो ।

मेरो घर उत्सवको भन्दा सफा र राम्रो थियो, बगैँचा थियो, खाना पनि मेरै घरमा सन्तुलित र स्वस्थ हुन्थ्यो तर खाने बेला सधैँ वाकवाक हुने । अहिले पनि मलाई त्यो घरको डायनिङ टेबल सम्झेर घीन लाग्छ । पुरै घर तर्साउने कथाहरूले भरिएको जस्तो लाग्छ ।

मलाई सम्झना छः एकदिन सँगै डिनर लिँदै थियौँ, बुवाको फोन आयो । बुवाले भन्नुभयो, ‘कन्स्टिपेसन भएर मलद्वार नै च्यातिएको भए भोलि बिहानै आउनू ।’ अनि सोध्नुभयो, ‘कतिपटक दिसा भयो ? कस्तो भयो ?’

बुवाले फोन राख्नासाथ आमाले थप्नुभयो, ‘कन्स्टिपेसन भएर च्यातिएछ मात्र, अस्ति एउटा प्यासेन्ट कन्स्टिपेसन भएर बाथरुममै बेहोस भएछ । कहिलेकाहीँ त बल गर्दा हर्ट फेल नै पनि हुनसक्छ ।’

खाइरहेका बेला कहिले बमिट भएको, कहिले डाइरिया भएको, कहिले पेट फुलेर ग्यास नस्किेको, चिप्लो दिसा आएको, पिसाब पहेँलो भएको फोन आउँछ, त्यसमै सवालजवाफ र छलफल हुन्छ । अनि यहाँभन्दा घीनलाग्दो के हुन्छ र ? यति घीनलाग्दो डाइनिङ टेबल उत्सवको त पक्कै छैनजस्तो लाग्थ्यो ।
एकपटक त मैले बुवाले रेफ्रिजेरेटरबाट युरिन र ब्लडको स्याम्पल निकाल्दै गरेको देखेँ । त्यो हजुरबुवाको स्याम्पल रहेछ । त्यसपछि मलाई आजसम्म रेफ्रिजेरेटरमा राखेको खानेकुरा खानुपर्दा घीन लागेर आउँछ, खानै सक्दिनँ ।

खाइरहेका बेला कहिले बुवा, कहिले आमा फोन आएर उठ्नु हुन्थ्यो । इमर्जेन्सी भनेर कहिले त खानै छोडेर हिंड्नु हुन्थ्यो, त्यसबेला मलाई एकदमै खल्लो लाग्थ्यो, रीस पनि उठ्थ्यो ।

तर आज सम्झन्छु, बिरामीहरूका लागि उहाँहरू जतिखेर पनि तयार बस्नु हुँदोरहेछ । बुवाले जिल्लाहरूमा निःशुल्क हेल्थ क्यापको व्यवस्था मिलाउनु हुँदोरहेछ । सहरका अस्पताल आउन नसकेका बिरामीले गाउँमै ठूला डाक्टरको उपचार, निःशुल्क औषधि पाउँदा रहेछन् । यो सम्झँदा उहाँहरूप्रति गर्व लाग्छ, तर आफ्नो केटाकेटीको खुसी र चाहनालाई बुझेर पनि महत्व नदिनु उनीहरूप्रति न्याय चाहिँ होइन भन्ने मेरो ठहर छ ।

मलाई याद छ, बुवाआमाका हरेक कामहरू योजनाबद्ध हुन्थे । मेरो शिक्षा, स्वास्थ्य जाँच, व्यक्तित्व विकासका लागि पनि योजना बनेको हुन्थ्यो । क्यालेन्डरमा वर्षभरिको योजना लेखिएको हुन्थ्यो । महत्वपूर्ण कामहरूको रिमाइन्डर मोबाइलमा हुन्थ्यो । उहाँहरूको यस्तो बानीलाई कसले नराम्रो भन्छ र ? तर उहाँहरूले जसरी अरुका लागि समय सुरक्षित गर्नुहुन्थ्यो, त्यो मेरा लागि थिएन ।

परिवारलाई दिने समय महत्वपूर्ण भएन । छ बजे आउँछु भनेर सात बजेसम्म कुराउनु हुन्थ्यो, दश मिनेटमा पुग्छु भनेर कहिलेकाहीँ दुई घण्टा पनि लगाउनु हुन्थ्यो । उहाँहरूले अरुलाई समय दिँदा उनीहरू त खुसी हुन्थे होलान् तर मलाई महत्व नदिएकोमा मभित्र असन्तोष गुम्सियो र थपिँदै गयो । मैले एसएलसी दिएपछि त्यसको अभिव्यक्ति अनुशासनहीन तरिकाले गर्न पुगेँ, जुन सम्झेर पछिसम्म मलाई पछुतो भइरह्यो ।

सानैदेखि मलाई घरमा बारम्बार सोधिने प्रश्न एउटै हुन्थ्यो, ‘भविष्यमा के बन्ने बाबु ?’ अनि उहाँहरू नै भन्नु हुन्थ्यो ‘डक्टर बन्नुपर्छ’ । मलाई यो कुराले दिक्क पाथ्र्यो ।

जब म सानोमा तोते बोलीमा ‘दक्तर बन्ने’ भनेर स्टेथेस्कोप समाउँथे, त्यसबेला उहाँहरू खुसी भएर मलाई अँगाल्नुहुन्थ्यो, तर अरु नै जवाफ दिँदा चिडचिड गर्नु हुन्थ्यो ।

त्यो प्रश्न मेरो जीवनमा सोधिएकामध्ये सबैभन्दा बढी सोधिएको र सबैभन्दा खराब प्रश्न हो भन्ने मलाई लाग्छ । खराब यस कारणले कि मलाई डाक्टर बन्ने इच्छा नै थिएन । भित्रैदेखि अस्वीकार्य ।

एसएलसी दिएपछि चाहिँ मैले निर्णायक जवाफ दिनुपर्ने भयो । मैले पनि सोच विचार गरेर अन्तिम उत्तर दिएँ, ‘पैसा त हजुरहरूले मेरा लागिसमेत कमाउनुभयो, अब म किन डाक्टर हुने ? म त जूलोजिष्ट हुने हो ।’

मैले डाक्टर नपढेर प्राणीशास्त्र पढ्ने भनेकोमा भन्दा पनि ‘मानिसहरू पैसा कमाउन डाक्टर बन्छन्’ भन्ने अर्थ निकालेँ भनेर बुवा धेरै रीसाउनुभयो । बुवाले पहिलोचोटि मलाई ‘बत्तमिज, अनुशासनहीन’ जस्ता शब्द प्रयोग गरेर गाली गर्नुभयो । म अलि डराएँ, तर तर्साएकै भरमा डाक्टर पढ्ने मनस्थितिमा चाहिँ थिइनँ ।

त्यसपछि कैयौँ दिन बुवाआमाले मसँग छलफल, काउन्सिलिङ गर्नु भयो, घुमाउन लानुभयो तर मैले मान्दै मानिनँ । एउटा भएको छोराले आफ्नो सपना चकनाचुर पार्न लागेकोमा बुवाले धेरै पीर गरेको, चित्त दुखाएको भनेर आमाले फकाएपछि मैले मध्यमार्गी बाटो देखाएँ । बुवाले हुन्छ भन्नु भएछ म पनि खुसी भएँ ।

म त्यस उमेरमा डक्टरलाई समाजले ठूलो मानिस मान्दोरहेछ भन्ने सोचमा त पुगिसकेको थिएँ तर मेरो प्राथमिक स्कुल जाने उमेरले भने डाक्टरलाई कहिल्यै राम्रो देखेन, कहीँ न कहीँ घृणाभाव जगाएको थियो । उत्सवको बुवाले जस्तो मेरो बुवाले मलाई समय नदिएकोमा मलाई मेरो बुवा असल मानिस हो जस्तो लाग्दैनथ्यो ।

म अहिले सोच्दछु, समुदाय र अस्पतालमा बुवाले ठूलो योगदान गर्नु भएको छ, त्यो राम्रो हो, तर उहाँ नजाँदा अर्कोले गथ्र्यो होला । त्यसको विकल्प हुन्छ । परिवारका लागि त बुवाको विकल्प हुँदैन । बाल्य जीवनको विकल्प पनि हुँदैन । बाल्यकालमा बुवाले दिने समयको महत्व अर्कै हो, किशोर अवस्थामा दिने अर्कै ।

जे होस् बुवाले भनेजस्तो हार्ट सर्जन त मैले पढ्नु परेन, साथै जूलोजिष्ट बन्न पनि नपाउने भएँ । तैपनि पशु चिकित्सा पढ्न बुवाले अनुमति दिनु भएकोमा म धेरै खुसी छु । मेरो बुवाको उदारताको जति तारिफ गरे पनि मलाई कहिल्यै धीत मर्दैन ।

आज म सोचिरहेको छु, ‘ठूलो डाक्टर हुनभन्दा असल बाबु बन्न कठिन हो, जो असल बाबु बन्न सक्तैन, ऊ कसरी असल डाक्टर हुनसक्छ….?’

पानी पर्ने क्रम पातलिदै थियो, अगाडि रूखमा कागहरू कराएपछि आयूषको ध्यान त्यतै तानियो । कागको गुँडनजिक बाज घुमिरहेको थियो । भाले कागले त्यसलाई लखेटेर बच्चाहरू जोगाउन खोज्दै थियो । सायद उसले भाले कागको भूमिकामा आफ्नोे बुवालाई पायो, कलम बन्द गरेर बाहिर नियाल्दै ऊ मुसुक्क हाँस्यो ।

(कथाकार अधिकारीको ‘मर्फिन’ शीर्षकको कथासङ्ग्रह प्रकाशोन्मूख छ ।)

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ३ : ३४ बजे

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा