कथा: दूरी

अर्घेलो थापा

शनिबार, भदौ ७, २०७६

Reading Time: 15 minutes

कथा: दूरी

हामीले भोलि ब्रेकअप गर्ने सहमतिमा नै सम्बन्ध जोडेका थियौँ । तर, मलाई त्यो सहमति यतिबेला सुँगालाई पिँजडाझैँ घाँडो बनिदिएको छ । किनकि, उसलाई मैले मन पराउन थालिसकेको छु ।

ऊ चाहन्ने कि, हामी लामो समयसम्म यो सम्बन्धलाई तन्काउने चेष्टा गरौँ । जबकि, हाम्रो चिनजानले एउटा वार्षिकोत्सव पनि मनाउन पाएको छैन । तर, यति छिट्टै छुट्ने योजना बनाइरहेका छौँ । एउटा अधुरो सम्बन्धलाई झनै अधुरो बनाएर नयाँ पथ खोज्ने ऐतिहासिक निर्णय गरेका छौँ ।

एउटा समय थियो, जतिबेला हामी भर्खरै बिहे गरेका पतीपत्नीझैँ रातभरि कुरा गर्थ्यौं । अहिले हाम्रो सम्बन्धमा औपचारिकता हाबी भएको छ ।

छुट्ने योजना त बनाएका छौँ तर खै किन हो, जोडिनजस्तो सजिलो छुट्न भएको छैन ।

***

त्यो त्यही साँझको कुरा हो, जुन साँझ उसले मलाई फेसबूक म्यासेन्जरमा एउटा प्रश्न सोध्दै म्यासेज गरी । कयौँ वर्षदेखि मेरो फ्रेन्डलिस्टमा थन्केको एउटा साथीले म्यासेज गर्दा मैले रिप्लाई नगर्ने कुरै थिएन । किनकि, उसले अपलोड गर्ने हरेक तस्वीरमा लभ रियाक्ट गर्ने फ्यान मै थिएँ । प्रविधिले मनको खबर पठाउन खुबै सहज बनाइदिएको छ केही वर्षयता ।

उसले म्यासेज धकेलेपछि हामी त्यो दिन सामान्य गफमा अल्झियौँ । मलाई त उसको पहिलो म्यासेज नै महत्त्वपूर्ण दस्तावेज बनेको थियो । तर पनि मैले अति सामान्य मानेझैँ गरी उसको म्यासेजको उत्तर फर्काएँ ।

त्यसपछि उसले मलाई कैयन् प्रश्न सोध्न थाली । हामी प्रश्नोत्तरमा रमाउन थाल्यौँ । यतिबेला हामीबीचको दूरी नजिकिँदै गएको थियो । तर, हामी कसरी यति नजिक हुँदै थियौं भन्ने हामी दुवैलाई थाहा छैन ।

उसले सोध्थी – यदि कुनै बलात्कृत युवतीसँग बिहे गर्नुपर्‍यो भने तपाईं गर्नुहुन्छ ?

तपाईंले कस्तो युवतीलाई माया गर्न चाहनुहुन्छ ?

उसले यस्ता प्रश्नहरु धेरैपटक सोध्थी । म पनि उत्तर दिने मेसिनजस्तो पक्कै थिएन । जवाफमा भनूँ या कुरा लम्बाउन । मैले पनि प्रश्न सोधिदिन्थेँ उत्तर दिनासाथ ।

उसले सोध्थी – यदि कुनै बलात्कृत युवतीसँग बिहे गर्नुपर्‍यो भने तपाईं गर्नुहुन्छ ?

यो संसारको उत्पत्ति कसरी भयो होला है ?

के टाइम ट्राभल सम्भव छ ?

तपाईंलाई पनि माया हुन्छ भन्ने लाग्छ? माया त भ्रम हो ।

केटीहरु शारीरिक सम्पर्कलाई कसरी लिने गर्छन् ?

उसले यी सबै प्रश्नहरुको उत्तर दिने हिम्मत राख्थी । एक हिसाबले भन्दा उसलाई यस्ता प्रश्नहरु गरेको खुबै मन पर्थ्यो । जस्तो मलाई यौनका कुरा गरेको मन पर्थ्यो ।

मेरो एकतर्फी अनुमान छ, उसले पनि मलाई मन पराउँथी । खासमा हामी एउटा इभेन्टमा भेट भएका थियौँ । त्यतिबेला पनि केही समय खुबै कुरा गर्न थालेका थियौँ । पछि गफगाफको साइज पातलो हुँदै गयो ।

त्यतिबेला कुराकानी हुँदाहुँदै ठप्प भएको सम्बन्ध अहिले चुइगमजस्तै तन्किँदै गएको थियो । धेरै गफ हुन थालेपछि शायद आकर्षण पनि प्रेममा बदलिँदो रहेछ क्यार ! फलाम आगोमा तातेर तरल भएजस्तै । भलै पग्लिएको फलाम फेरि जमेर फलाम नै बन्नु त छँदैछ ।

हामीबीचको दूरी दिनप्रतिदिन नजिक हुँदै गएको थियो । अब उसको र मेरो हरेक रात कुरा हुनु सामान्यजस्तै भयो । यदि कारणवश कुरा भएन भने पनि अबेरसम्म म उसको प्रतीक्षामा हुन्थेँ ।

यहाँनिर जोड्दा खासै फरक नपर्ला । पछि त उसले मलाई ‘तँ’ भन्न थालेकी थिई । मलाई चाहिँ तपाईं नै भनिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । उसबाट मैले माया मात्र होइन, सम्मानको पनि खोजी गर्न थालेछु ।

माया गरेको मान्छेलाई त कालान्तरमा भुल्न सकिन्छ भने फेरि ऊ त को नै हो र?

हामी कुराकानीको डोरीमा कसिएको शायद दुई महिना पुगिसकेको थियो । त्यति भेट नभए पनि सधैजसो च्याटमा कुराकानी भइरहन्थ्यो ।

रमाइलो त के थियो भने हामी सधै साँझ ढल्केपछि कुरा गर्थ्यौं । त्यतिबेला दुवैको जागीरे जिन्दगी सकिएको हुन्थ्यो । साँझ परेपछि उसले मलाई अघिल्लो रात कुनै प्रश्न सोधेको भए, त्यसको पनि उत्तर पठाउँथी । त्यसपछि कुराको शुरुवात हुन्थ्यो । धेरैजसो त म आफै म्यासेज पठाउँथे ।

यसरी हामी केही महिना कुरैकुरामा बितायौँ ।

उसले एकदिन बलात्कारप्रतिको धारणाका बारेमा सोधी । लगत्तै उसले सेक्सका बारेमा पनि सोधी । उसले मलाई धेरैपटक सोधेकी थिई, ‘के केटाहरुले केटीलाई वस्तु ठान्छन् ? उनीहरु सेक्सकै लागि मात्र माया गर्छन् हो?’

त्यतिबेला निर्मला बलात्कार र हत्याको विषयले देश गर्मिलो थियो । मिडिया तताएको थियो । सँगै जोडिएर आएको थियो गोदामचौर बलात्कार काण्ड ।

यस्तो बेलामा उसले मसँग यौनका बारेमा कुरा गरेकी थिई । पुरुषले महिलालाई कुन रुपमा हेर्छन् भनेर पनि सोधेकी थिई ।

मैले भनिदिएँ, ‘यदि सहमतिमा सेक्स हो भने यो त सामान्य हो, तर बलात्कार अपराध हो ।’

मेरो स्पष्ट धारणा यही थियो । उसले मौका पारेर सोध्ने यी कुराले मलाई के लाग्यो भने, उसले सेक्समा रुचि राख्छे ।

तर, म गलत रहेछु ।

उसले एकदिन सोधी, ‘तपाईंले मलाई साठी वर्षसम्म पनि याद गर्नुहुन्छ ?’

त्यतिबेलासम्म मैले उसलाई माया गर्दिनथेँ । सामान्य कुराकानीमा माया हुन्छ भन्ने पनि त होइन रहेछ । मैले उसको प्रश्नको उत्तर फर्काइनँ त्यतिबेला । बरु भनेँ, ‘साँच्ची, टाइम ट्राइभ सम्भव होला ?’

त्यतिबेला म एउटा ‘टाइम ट्राभल’ मा आधारित फिल्म लेख्नेबारे सोच बनाएको थिएँ । तर अन्तिममा फिल्मको कथा होइन, बरु यस्तो कथा लेख्दैछु । उबेला मलाई साँच्चिकै समय यात्रा सम्भव छ कि भन्ने पनि लाग्न थालिसकेको थियो ।

त्यो रात हामी च्याटमा यही बारेमा बहस गर्न थाल्यौँ । मैले उसलाई अल्बर्ट आइस्टानको सापेक्षताको सिद्धान्तका बारेमा सोधिरहेको थिएँ । उसले आफूले बुझेको सबै जानकारी मसँग बाँडेकी थिई ।

कुराका सिलसिलामा उसले फेरि अर्को दिन पनि सोधी, ‘तपाईंले मलाई ६० वर्षको हुँदा पनि सम्झनुहुन्छ ?’

फेरि उही प्रश्न दोहोरिनु मेरा लागि नौलो थिएन । किनकि, म अरु बेला पनि उसले सोधेका कति प्रश्नमा मौन बसिदिन्थेँ । माया गरेको मान्छेलाई त कालान्तरमा भुल्न सकिन्छ भने फेरि ऊ त को नै हो र?

मैले त्यही भनिदिएँ, ‘शायद सम्झना हुँदैन, हामीसँग सम्झनलाई के छ? समयसँगै सबै चेन्ज हुन्छ रुबी जी ।’

उसको नाम रुबी थियो । रुबी शर्मा ।

खासमा ऊ त्यति धेरै सुन्दरी पनि होइन । तर, उसमा त्यस्तो के थियो कुन्नि, कुरा गर्दा रमाइलो लाग्थ्यो । यस्तो भनूँ न, ऊ एकदम इमान्दार बच्चाजस्ती थिई । गुडियाजस्ती । र, ज्ञानी  पनि ।

हाम्रो भेट त्यति हुँदैनथ्यो । कहिलेकाहीँ संयोगवश भेट भयो भने पनि बोल्दा धक लागेजस्तो हुन्थ्यो दुवैलाई । च्याटमा फेरि हामी यसरी प्रस्तुत भइरहेका हुन्थ्यौँ, लाग्थ्यो – हामी बच्चैदेखिका साथीहरु हौँ ।

कुराकानी साउने झरीजस्तो निरन्तर चलिरह्यो ।

गोधूलि साँझ ढल्केपछि म सधै लखतरान भएर कोठामा आइपुग्थेँ । काठमाडौंमा एक्लै कोठा लिएर बस्ने सबैले कोठामा फर्केपछि थप काम गर्नुपर्छ भन्ने त सबैलाई ज्ञात नै छ । मैले पनि गर्नैपर्थ्यो । त्यसमाथि अफिसबाट घर आइपुग्दा लोकल बसको कोचाइले ज्यान गलाएको हुन्थ्यो सधैं ।

मलाई याद छ, हामी हरेक रात कुरा गरिरहेका थियौँ । तर एकअर्कालाई मन पराउँदैनथ्यौँ झैँ लाग्थ्यो । या त उसले मलाई मन पराउँथी । तर, हामी मध्यरातसम्म पनि बोलेर बस्थ्यौँ ।

उसले एकपटक सोधेकी पनि हो – ‘तपाईं मलाई माया गर्नुहुन्छ हो ?’

मैले किन झूठ बोल्नु थियो र ! भनिदिएँ, ‘गर्दिन । किन त्यस्तो लाग्यो ?’

उसले एन्ड्रोइड फोनको सदुपयोग गर्दै एउटा मुस्कुराएको इमोजी चयन गरी । र, पठाई ।

मैले अझै स्पष्टीकरणमा अर्को एक वाक्य थपिदिएँ – ‘आखिर माया भन्नु भ्रम त हो ।’

उसले कुराको कुलो अर्कोतिर फर्काई । त्यसपछि हामीबीच के कुरा भयो भन्ने मलाई याद छैन । हुनसक्छ, उसले पनि कुनै दिन कथा लेख्ली । मलाई याद नभएका कुरा उसलाई याद हुन पनि त सक्छ ।

एकरात मैले ल्यापटपमा कुनै एक्सन वार फिल्म हेरिरहेको थिएँ । मोबाइलबाट उसैसँग च्याट गरिरहेको थिएँ । कुरा गर्दै गर्दा कुरा चल्यो ।

‘के गर्दै हुनुहुन्छ?,’ उसले सोधी ।

मैले भने, ‘फिल्म हेर्दैछु ।’

उसले लगत्तै कुनै लभस्टोरी फिल्म सुझाई । मैले आफूलाई लभस्टोरी फिल्म मन नपर्ने कारण सुनाएँ ।

आफ्नो कुनै गर्लफ्रेण्ड थिएन । तर, ती लभस्टोरी फिल्मले सधैं कसैको प्रेमको कमी भएको महसुस गराउँथ्यो । त्यसैले मैले खासै प्रेमकथाका कुनै पनि फिल्म हेर्दिनथेँ ।

त्यो रात चाहिँ कस्तो मुड चलेछ, मैले सीधै भनेँ – आउनुस्, सँगै बसेर हेरौँला ।

ऊ जिस्किई । तर, एउटा संकेत दिई कि, मैले कोठामा बोलाउँदा उसलाई खासै समस्या थिएन । त्यसपछि मैले उसलाई धेरैपटक आउनुस् भन्न थालेँ । उसले इग्नोर गर्दै गई ।

फ्रायडको सेक्सप्रतिको धारणा मलाई सही हो जस्तो लाग्थ्यो । रुबी र म पनि यो सिद्धान्तबारे पनि धेरैपटक छलफल गरेका थियौँ । मैले केटाको मनमा कस्तो भावना हुन्छ भनेर उसलाई सुनाएको थिएँ । उसले पनि मलाई केटीहरुले प्रेम र सेक्सलाई कसरी लिन्छन् भन्नेबारेमा जानेजत्तिको सबै ज्ञान बाँडेकी थिई ।

यही कारणले पनि होला, मैले उसलाई कोठामा आमन्त्रण गर्न पनि सजिलो भएको थियो । मेरो बारम्बारको अनुरोधपछि एकदिन उसले भनी – हुन्छ ।

ऊ भोलि नै कोठामा आउने भई । ऊ आउने भएपछि मैले कोठामा छताछुल्ल भएका कपडाहरु मिलाएर राखेँ । रुम स्प्रे ल्याएँ र कोठाभरि छर्किएँ ।

साँच्ची भन्नुपर्दा ऊ आउँदैछे भन्दा मलाई निकै डर लागेको थियो । किनकि, मैले कुनै केटीलाई पनि कोठामा आऊ भनेर आग्रह गरेको थिइनँ यसअघि । न त कोही युवतीलाई कोठामा नै लगेको थिएँ ।

भोलि साँझ ऊ आउने सम्झौता थियो ।

ऊ आउने भई । कोठामा जाने भनेपछि उसलाई त डर लागेको थियो कि थिएन, तर मलाई अजिबको डर लागेको थियो । सँगसँगै साथै हुन पाइन्छ भन्ने कल्पनाको लड्डु पनि मनमा तयार भएको थियो । एकपटक त मलाई यस्तो पनि लागेको हो, ‘यार, यसले आज नजाम्, कुनै दिन जाम्ला भनोस् ।’

तर, त्यस्तो केही भएन । ऊ मेरो कोठामा जान तयार भई । उसलाई धक लागेको थियो कि थिएन, मैले कुनै मेसो पाइनँ । मैले चाहिँ कसैले देख्छ कि भनेर खुबै ख्याल गर्नुपरेको थियो । अँ, उसले पछि भनेकी थिई – ‘यत्रो रिस्क मोलेर पनि विना माया म तपाईंको कोठासम्म पुग्थें? यो पनि मैले भन्नुपर्छ?’

न त उसले कहिल्यै मलाई ती तीन शब्दको एउटा सुन्दर संसार नै भनी, आई लभ यु ।

कुराको सिलसिला जारी राखौँ ।

ऊ मेरो कोठामा थिई । त्यो मेरा लागि निकै खुशीको क्षण थियो । मैले उसको अनुहारमा हेरेँ । बिजुलीको मधुरो उज्यालोमा ऊ जूनझैँ टल्किएकी थिई ।

‘तिमी निकै राम्री देखिएकी छौ,’ मैले सासको आवाज उनेर ऊसम्म पुर्‍याएँ ।

ऊ आँखामाथिका आँखीभौँ हल्लाउँदै जिस्केको आवाजमा भनी – ‘यो त मलाई पनि थाहा छ, अरु नयाँ कुरा भन्नुस् ।’

मलाई हाँसो लाग्यो । सुस्तरी हाँसे ।

यो कस्तो सम्बन्ध । न हामी प्रेमीप्रेमिका हौँ । न हामी निकै मिल्ने साथी हौँ । हामीसँग अहिलेसम्म भएको सम्बन्धको आधार जम्मा एउटा थियो – हामी एकअर्कालाई विश्वास गर्छौँ ।

त्यही विश्वासले उसलाई यति राति मेरो अगाडि उभ्याइदिएको थियो ।

मन किन यति खुशी थियो मैले छुट्याउनै सकिनँ । उसको मुस्कान पनि मलाई खुबै मन परेको थियो । उसका आँखा निकै आकर्षक लागेका थिए । तर, मलाई लागेको थिएन कि, म उसको प्रेममा परिसकेको छु । महसूस नै थिएन ।

तर, मन त हो । मनका खातिर मैले सेक्सका लागि पटकपटक आग्रह गरेको थिएँ उसलाई ।

एकछिन उसको आभामा सम्मोहित भएपछि मैले जिन्दगीमा दोस्रोपटक कुनै युवतीलाई चुम्बन गरेँ । उसलाई चाहिँ पहिलोपटक ।

उसले भनी – ‘तपाईंलाई त किस गर्न पनि आउँदैन रैछ ।’

म ठिस भएँ । यो त मलाई थाहै थिएन ।

त्यसपछि उसैले सिकाई । निधारमा तीनपटक चुम्बन गरी । ओहो, त्यो पल कसरी वर्णन गर्न सकिएला ! म चाहिँ सक्दिनँ ।

उसले कुरा पनि यसरी गरिरहेकी थिई कि, लाग्थ्यो – यस्तो कुरामा ऊ निकै निपुण छे । उसले ‘टङ किस’ गर्न पनि सिकाई । चुम्बनमा समेत सीप खोज्ने उसको बानीले मलाई ताज्जुब बनायो ।

त्यही रात…

जे नहुनुपर्ने रहेछ, त्यही भयो ।

ऊ मेरो कोठामा शायद सँगै बसेर फिल्म हेर्न भनेर नै आएकी थिई । उसले मलाई विश्वास मात्र हैन, माया नै गरेर कोठासम्म आएकी थिई जोखिम मोलेर । तर, मैले त्यसलाई मौकाका रुपमा लिएँ । म मात्र होइन, अरु कोही केटा भएको पनि उसले यौन सम्बन्धका लागि आग्रह गर्दैनथ्यो होला र?

हामीले केही संगीत सुन्यौँ, केही गीतमा नाच्यौँ, केही चुम्बन साटासाट गर्‍र्यौं । अंकमाल गर्‍यौँ । ऊ आफैले हामी दुईका केही सेल्फी लिई । यो बेलासम्म ऊ एकदम ठीक थिई ।

जब मैले उसलाई सेक्सका लागि आग्रह गरेँ, उसको डर एक्कासी सिलिङसम्म पुग्यो । मेरो मनमा चाहना थियो, उसमा डर थियो । त्यो चाहना र डरबीचको द्वन्द्व कस्तो हुन्छ होला? यसलाई सीधै वर्णन गर्न सकिँदैन । जुन कुरा उसलाई मन परिरहेको थिएन, त्यही कुरामा मैले जोड गरिरहेको थिएँ । हाम्रो मानसिक लडाइँमा मैले हारेँ । शारीरिक लडाइँ मैले जित्न चाहिनँ । किनकि, ऊ मेरा लागि पाहुना पनि थिई ।

‘तपाईंले त मलाई बलात्कार नै गर्न खोज्नुभयो है?,’ ऊ रुनै लागेकी थिई ।

त्यतिबेला म आफूलाई निकै कमजोर महसूस गरेँ । मलाई लाग्यो, कोही विश्वास गरेर मेरो कोठासम्म आएको छ भने मैले विश्वास तोड्नुहुन्न ।

तर, मन त हो । मनका खातिर मैले सेक्सका लागि पटकपटक आग्रह गरेको थिएँ उसलाई ।

बिहानै आँखा खुल्यो । रुबी रातभरि सुतेकी थिइन । म चाहिँ बिहानतिर झकाएछु । उसको रातभरि एउटै प्राथना रहेछ – बिहान कहिले होला र घर जान पाउँला?

ऊ बिहानै उठेर गई । जानुअघि उसको अनुहारमा भयका कैयन् नशाहरु सल्बलाइरहेका थिए । उसको मन स्थिर थिएन । मप्रतिको विश्वास एकाएक टुटेर अनुहार फुङ्ग भएको थियो ।

यता म चाहिँ झनै अपूरो भएको महसुस गर्न थालेँ ।

त्यसपछि ऊ तीन दिनसम्म लापत्ता भई । मेरो म्यासेजको रिप्लाई आएन । फोन उठाइन । मैले बोल्न खोज्दा पनि बेकार रह्यो कोशिश ।

तीन दिनमा मैले  झण्डै सयवटा म्यासेज धकेले हुँला ।

‘आई एम ओके ।,’ अन्ततः उसको म्यासेज आयो ।

उसको प्रतिक्रियाले म आफूलाई राहत महसूस गर्न थालेँ । ऊ यसरी लापत्ता हुनुको कारण मै त थिएँ । एकखाले चिन्ताबाट म बल्ल मुक्त भएँ ।

साँझ हाम्रो कुरा भयो । उसले भनी – मैले त्यस्तो केही सोचेकी थिइनँ । तपाईंले त्यस्तो व्यवहार गर्नुहुन्छ भन्ने लागेकै थिएन ।

व्यवहार त्यति आपत्तिजनक त पक्कै थिएन होला, तर उसलाई लाग्यो, किनकि ऊ युवतीहरुको समूहमा त्यही बुझाइमा हुर्केकी थिई । उसलाई लागेको रहेछ, कोठामा गइन्छ, फिल्म हेरिन्छ । बसिन्छ ।

मैले च्याटमा पनि त सधै यही भनेर उसलाई कोठामा आउन तारन्तार अनुरोध गर्ने गर्थें नि ।

मैले भनें, ‘जे भयो भयो, माइण्ड नगर ।’

उसले चर्किएको काँचको उदाहरण दिई । आफूलाई नरमाइलो लागेको बताई । लगभग एक हप्तापछि उसको गुनासो साम्य भयो ।

त्यसपछि हामीबीच नयाँ सम्झौता भयो – प्रेममा रहने, बिहे नगर्ने ।

यो सम्झौतापछि हामी निरन्तर गफ गर्थ्यौं । हाम्रो कुरा पहिलेझैँ सधै राति मात्र हुन्थ्यो । कहिलेकाहीँ मैले कोठामा आउन आग्रह गरेँ भने उसले अचानक भनिदिन्थी – गुडनाइट ।

त्यसपछि ऊ भोलि रातिसम्मका लागि हराउँथी ।

यो प्रक्रिया केही समयसम्म चल्यो । हामीबीच प्रेमका कुरा, पढाइका कुरा, जिन्दगीका कुरा हुँदै नहुने होइन । अब हामीले एकअर्कालाई तपाईं भनेर सम्बोधन गर्न छोडिसकेका थियौँ । हामीले एकअर्कालाई ‘तँ’ भन्न थालिसकेका थियौं ।

मलाई उसको झन् धेरै माया लाग्न थालेको थियो । उसले दिने साथ र नि:स्वार्थपनाले मलाई उसको मायामा डुबाएको रहेछ । ऊ भने सधैं माया गर्दिन भन्थी । तर, उसलाई मेरो परिवार, मेरो रुचिको विषय, परिवारका सदस्यको नामदेखि लिएर धेरै कुरा थाहा थियो । म यस्ता कुरामा चासो नै राख्दिनथेँ ।

‘तैँले मलाई माया नै गर्दैनस्, बुझिस्, तँ स्वार्थी छस्,’ उसले कहिलेकाहीँ थर्काउँथी, ‘तँलाई मेरो बारेमा के थाहा छ?’

साँच्ची मलाई उसको परिवारका बारेमा थाहा पनि थिएन । माया गर्नलाई परिवारको बायोडाटा थाहा हुनुपर्छ भन्ने पनि मलाई कहिल्यै लागेन । सधै यही बुझाउन चाहन्थेँ कि, म उसलाई माया गर्छु ।

तर, पछिपछि ऊ अब माया बढाउनेभन्दा पनि छुट्टिने कुरा गर्न थालेकी थिई । जुन मेरा लागि झनै अपच हुँदै गइरहेको थियो ।

एकदिन हाम्रो चिया गफ गर्ने योजना बन्यो ।

योजना अनुसार हामी चिया गफका लागिपुतलीसडकको एक क्याफेमा थियौँ । मान्छे यताउता गरिरहेका थिए । वातावरण चिसो थियो ।

मैले उसलाई भनेँ, ‘त्यो रात तिम्लाई त्यस्तो नरमाइलो बनाइदिएँ है !’

‘हैन, गल्ती मेरो पनि हो, मैले सोझो हिसाबले सोचेछु कि !,’ उसले आफ्नै गल्ती देखाई ।

र, लगत्तै भनी, ‘त्यति नरमाइलो रात मैले अहिलेसम्म भोगेकी थिइनँ । कहिलेकाहीँ याद आउँछ । र, झसङ्ग झस्किन्छु ।’

खासमा उसले त्यो रात मेरो कोठामा आउँदा लगाएको पर्फ्युमको बासनाले उसलाई झस्काउँदो रहेछ । जुन पर्फ्युम उसले साथीलाई दिएकी थिई ।

‘मलाई पनि कहिलेकाहीँ तेरो दिल दुखाएँ भन्ने सम्झेर नरमाइलो लाग्छ,’ मैले भनेँ ।

‘के भयो त? तपाईंले मलाई बलात्कार पनि त गर्नुभएन नि, शायद म त्यतिबेला त्यसका लागि रेडी थिइनँ होला, फेरि मेरो बिहेअघि कुमारी नै रहनुपर्छ भन्ने मान्यता पनि होइन,’ उसले एकैपटकमा भनी ।

टेबलमा दुई कप कफी धुवाँ उडाउँदै हाम्रो संवाद सुनिरहेका थिए । साँझ ढल्किँदै थियो । मैले भनेँ, ‘तिमीले किनेको नयाँ पर्फ्युम पनि त बासनादार छ ।’

ऊ यतिबेला हाँसी ।

वेटर हामीतिर आइरहेको थियो । वेटरतिर पुलुक्क हेरेपछि मतिर आँखा बिसाएर उसले भनी – ‘अब हामीबीचको दूरी बढ्नुपर्छ, लक्ष्य नै नभएको सम्बन्धलाई जबरजस्ती घिसारेर पनि भएन नि !’

मैले जबरजस्ती सम्बन्ध अगाडि बढाऔँ भनेर केही हुनेवाला थिएन । अचेल हामीबीचको सम्बन्ध बाटो बिराएको फिरन्तेको जस्तो भएको छ । तर, मैले अहिले पनि उसलाई माया गर्छु भन्न छोडेको छैन । द‍‍ूरी नजिक बनाऔं भन्न छोडेको छैन ।

आजकाल उसले भन्न थालेकी छे – ‘अब कुनै केटी खोजेर बिहे गर्नुस् यार । हामीले पहिले नै छुट्ने भनेर सम्बन्ध गाँसेका हौँ । आखिर हामी त छुट्नु नै छ ।’

भर्खर

0