भ्यू टावर निर्माण गर्ने ठेकेदारको ‘कमाउ धन्दा’, खुलामञ्चमा आफूखुसी सटर निर्माण | Khabarhub Khabarhub

भ्यू टावर निर्माण गर्ने ठेकेदारको ‘कमाउ धन्दा’, खुलामञ्चमा आफूखुसी सटर निर्माण




काठमाडौं– काठमाडौं महानगरपालिका र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबिच २२ फागुन २०७१ मा एक सम्झौता भयो, काठमाडौंको पुरानो बसपार्कमा भ्यू टावर बनाउने विषयमा । सम्झौताअनुसार अहिलेसम्म ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसक्नु पर्ने हो ।

तर, भ्यू टावर निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी भने खुलामञ्चमा बनाइएको अस्थायी बसपार्कमा सटर निर्माण गरी ‘कमाउ धन्दा’मा लागेको छ ।

भ्यू टावर निर्माण गर्ने सम्झौताअनुसार पुरानो बसपार्कलाई केही वर्षका लागि मात्रै अस्थायी रुपमा २०७३ मा खुलामञ्चमा सारिएको थियो । अस्थायी बसपार्क निर्माणको जिम्मा ठेकेदार कम्पनी जलेश्वर, स्वच्छन्द र बिकोइले नै पायो ।

महानगरपालिकाले कम्पनीलाई बसपार्क व्यवस्थित गर्ने जिम्मेवारी मात्र दिए पनि कम्पनीले पुरानो बसपार्क क्षेत्रमा धमाधम सटर निर्माण गरी ‘कमाउ धन्दा’ चलाउन थालेको छ । अस्थायी बसपार्कमा हालसम्म ४२ वटा सटर निर्माण भइसकेका छन् ।

कम्पनीले सटर भाडामा लगाउने क्रममा समेत टेन्डर आह्वान गरेको छैन । दामासाहीका हिसावले (बिल र विजक) बिना नै कम्पनीले विभिन्न व्यवसायीलाई सटर भाडामा दिन थालेको छ ।

सो क्षेत्रका व्यापारीहरुले ५ देखि १० लाख रुपैयाँसम्म तिरेर सटर भाडामा लिएका छन् । सटरको भाडा मासिक १२ देखि १५ हजार रुपैयाँसम्म रहेको उनीहरु बताउँछन् ।

सम्झौता एउटा, काम अर्कै

काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिबीच २२ फागुन २०७१ मा भ्यू टावर निर्माणसम्बन्धी सम्झौता भएको थियो । सम्झौताअनुसार कम्पनीले ५ वर्षको अवधिमा भ्यू टावर निर्माण सम्पन्न गर्ने र २५ वर्षसम्म सञ्चालन गरी त्यसपश्चात महानगरलाई हस्तान्तरण गर्ने भनिएको थियो । सोही समय पुरानो बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो ।

सम्झौताअनुरुप हेर्दा भ्यू टावर निर्माण अवधिभर कम्पनीले बसपार्क क्षेत्रको व्यवस्थापन मात्र गर्नुपर्ने देखिन्छ ।

कम्पनीले बसपार्क निर्माण, मर्मत सम्भार, व्यवस्थापन गर्ने र वार्षिक ५० लाख महानगरलाई बुझाउने गरी ८ वैशाख २०७४ मा महानगरले १० बुँदे सम्झौता भएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले बताए ।

महानगर र कम्पनीबीचको सम्झौतामा बसपार्कका लागि आवश्यक पर्ने टिकट काउन्टर ३ वटा, यात्रु प्रतिक्षालय ३ वटा, सार्वजनिक शौचालय १, साथै क्यान्टिन र औषधी पसल मात्रै निर्माण गर्न पाउने उल्लेख छ । २०७३ बैशाख १३ गते नगरपालिकाले स्वीकृत गरेको नक्सा बमोजिमका भौतिक संरचनाहरुको प्रयोग गर्न पाउने कुरा समेटिएको छ । साथै कम्पनीले उक्त स्थानमा सटर सञ्चालन गर्दा नेपाल सरकार र काठमाडौं महानगरपालिकाले निषेधित गरेका कामहरु गर्न नपाउने भन्ने बुँदा पनि समेटिएको छ ।

तर, कम्पनीले अहिले आएर सम्झौता विपरित खुलामञ्चको अस्थायी बसपार्कमा सटर निर्माण गरेको महानगरपालिकाका प्रवक्ता डंगोलको भनाइ छ ।

महानगर भन्छ : सटर भत्काउछौँ

कम्पनीले सम्झौता विपरीत काम गरिरहेको विषयमा आफूहरु जानकार रहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता डंगोलले खबरहबलाई बताए ।

‘सम्झौता विपरीत काम भएकै हो । सम्झौता पत्रमा उल्लेख भएको कुरामा कम्पनीले हेलचक्र्याइँ गरेको छ,’ प्रवक्ता डंगोलले खबरहबसँग भने, ‘अब महानगरपालिका यसको उचित नियमन गरेर अघि बड्छ ।’

कम्पनीले सटर बनाइरहँदा महानगरले सो क्षेत्रमा सटर निर्माण नगर्न भने पनि कम्पनीले अटेर गरेको प्रवक्ता डंगोलले बताए ।

‘महानगरका प्रतिनिधिहरुबीच यस विषयमा छलफल भइरहेको छ, अब महानगरले त्यी सटरहरु भत्काउनेछ,’ खबरहबसँगको कुराकानीमा डंगोलले भने ।

सम्झौता विपरीत केही गरेको छैन : कम्पनी

सटरका विषयमा विवाद आएसँगै ठेकेदार कम्पनीले भने महानगरसँग सम्झौता भएरै सटर निर्माण भएको दावी गरेको छ ।

‘हामीले केही समयअघि महानगरसँग सम्झौता गरेका थियौ,’ खबरहबको सम्पर्कमा आएका कम्पनीका प्रतिनिधि राजु श्रेष्ठले भने । साथै बसपार्क क्षेत्रलाई व्यवस्थित गर्नका लागि प्रशस्त लगानी लागेकाले सो क्षेत्रमा सटर बनाएर भाडामा दिएको समेत उनको भनाइ छ ।

फुटपाथका व्यवसायी सटरमा  !

बसपार्क क्षेत्रमा सटर भाडामा लिने अधिकांश व्यवसायीहरु फुटपाथबाटै आएको पाइएको छ । ‘फुटपाथ हटाउने लक्ष्यले हामीले बसपार्क भित्र सटर बनाइरहेका छौँ भन्दै ठेकेदारलेले यहाँ ल्याइदियो’ व्यवसायी झलक बहादुर बिकले भने । साथै सो सटरको मासिक १२ हजार रुपैयाँ भाडा तिर्नुपर्ने पनि उनले बताए ।

राजधानीको व्यस्त स्थान खुल्लामञ्च बिना टेन्डर, बिना बिल भरपाई व्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण गरेर करोडौं रकमको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार संघले विरोध गरिरहेको छ ।

बसपार्क सञ्चालनको सम्झौता विपरीत कम्पनीले संरचनाहरु निर्माण गरेको र सो संरचना हटाउने माग संघको छ । भूमाफियाको प्रयोजनका लागि व्यापारिक थलो बनाउने लागेको भन्दै उनीहरु विरोध गरिरहेका छन् ।

तस्वीरहरु– कृष्ण खत्री

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ३ : २५ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै