‘लाहुरे’ बनाउने आमाको योजना लत्याएर गोल्डमेडलिष्ट बनेका नितिन | Khabarhub Khabarhub

‘लाहुरे’ बनाउने आमाको योजना लत्याएर गोल्डमेडलिष्ट बनेका नितिन



काठमाडौं – नेपालको पूर्वी तथा मध्य पहाडी क्षेत्रमा बसोबास गर्ने मंगोलियन समुदायका युवाहरुका लागि केही अघिसम्म पहिलो रोजाईको जागिर हुन्थ्यो लाहुर ।

सके बेलायत अथवा भारतीय नत्र नेपाल आर्मीमा भर्ती हुने सबैको लक्ष्य हुन्थ्यो । तुलनात्मक रुपमा अहिले त्यसप्रतिको मोह घटेको बताइए पनि त्यसक्षेत्रका युवाहरुले नेपालमा सोचे जस्तो गर्न नसके भारतीय सेनामा जाने विकल्प बनाएकै हुन्छन् ।

युवाहरुमात्रै होइन, उनीहरुको घर परिवारले पनि आफ्नो बाल-बच्चा ठूलो भएपछि ब्रिटिस वा भारतीय सेनामा भर्ती होस् भन्ने चाहना हुन्थ्यो ।

यस्तै, अपेक्षा बालकुमारी रजालीले पनि गरेकी थिइन् । उनका एकमात्रै सन्तान हुन्, दक्षिण एसियाली खेलकुद (साग) का गोल्डमेडलिष्ट नितिन थापा ।

थापा सानो हुँदा बालकुमारी आफ्नो छोराले भारतीय सेनाको बर्दी पहिरिएको हेर्ने चहाना थियो । ‘आमाले मलाई भारतीय सेना भएको हेर्न चहानु भएको थियो,’ नितिनले भने,‘उहाँले सायद मेरो भविष्य त्यसमा राम्रो हुन्छ भन्ने सोच्नु भएको थियो ।’

भारतीय सेना बनाउने आमाको योजना अनुसार अघि नबढेका नितिन अहिले नेपाली फुटबलमा संघर्षरत छन् । उनको फुटबलको संघर्ष बुटबलको ‘स्कलर होम बोर्डिङ स्कुल’मा कक्षा ७ मा पढ्दै गर्दा शुरु भएको थियो ।

बुटबलस्थित एन्फा एकेडेमिबाट फुटबल अभ्यास थालेका उनी ५–६ बर्षको मेहनतले उनलाई अहिले सागको गोल्डमेडलिष्ट बनाएको छ ।

बुटबल उपमहानगरपालिका १२ नयाँगाऊ घर भएका नितिनको स्कुलमा दिउँसो पढाई हुने भएपछि उनले बिहान र बेलुका गरेर दुई सिफ्टमा एकेडेमिमा फुटबल अभ्यास गर्थे ।

बिहान बेलुका फुटबलको अभ्यासमा व्यस्त भएपछि नितिनले कहिलेकाहीँ स्कुलमा शिक्षकले दिएको गृहकार्य गर्न भ्याउँदैन थिए । गृहकार्य नगरि स्कुल जाँदा एन्फा एकेडेमिका खेलाडी ‘होमअर्क’ गदैनन् भन्ने आरोप पनि स्कुलका शिक्षक शिक्षिकाले लगाउने गर्थे ।

बुटबल एन्फा एकेडेमिमा प्रशिक्षक थिए, एम गुरुङ । खेलाडी जीवनमा एम गुरुङले जिल्ला स्तरको फुटबलमा राम्रै पकड जमाएका थिए भने ग्रासरुट फुटबलका लागि उनको प्रशिक्षण राम्रो छ ।

उनैको उत्पादन हुन्, नेपाली राष्ट्रिय टोलीका खेलाडी विमल घर्ती मगर । प्रशिक्षक एम गुरुङको छत्र छाँयामा फुटबल सिक्ने अवसर पाएका नितिनले फुटबलमात्रै सिकेनन्, आफ्नो भविष्य फुटबलमै छ भन्ने समेत बुझे ।

२ बर्ष गुरुङसँगै प्रशिक्षण लिएका नितिनलाई ३ बर्ष अगाडि ताजकिस्तानमा भएको यु–१४ फुटबल फेस्टिबलका लागि एन्फाले काठमाडौं बोलाएको थियो ।

हरि खड्का मुख्य प्रशिक्षक रहेको त्यो प्रतियोगितामा नितिनले अधिकाशं खेल पुरा खेले । ताजकिस्तानबाट फर्किएपछि उनले बुटबल फर्किनु परेन । उनलाई एन्फाले काठमाडौंमै राख्यो ।

१४–१५ बर्षको केटो आमाबाट टाढा । स्कुल पनि जान नपाइने भएपछि नितिनलाई कुनै समय लाग्ने गथ्यौं । साँच्चिकै फुटबलमा राम्रो गर्न सकिएन भने के गर्ने ? तर, पनि उनी आफैलाई विश्वस्त पार्थे । मेहनत गरे राम्रो हुन्छ भन्ने मन्त्र आत्मसाथ गरेका उनले काठमाडौंमा बसेर फुटबललाई ‘करियर’ का रुपमा अगाडि बढाए । काठमाडौं होस्टेलमा बसेका उनी एसएलसीको जाँच दिन पनि २ महिना अगाडिमात्रै घर गएका थिए ।

एसएलसीलाई फलामको ‘गेट’ मानिन्छ । उनलाई पनि एसएलसी पास गर्नु पर्छ भन्ने लागेको थियो । तर, राम्रोसँग पढ्न नपाएका कारण आफैमा शंका थियो । ‘एसएलसीमा पढ्न त पाएको थिएन । तर, पढेको कुराहरु आयो । साथिहरुले पनि सहयोग गरेका थिए । पास गरें ।’

त्यसपछि भने नितिनलाई पढाई भन्दा पनि फुटबल प्यारो लाग्यो । घरबाट आमाले पढाईलाई जोड गर भन्दा पनि उनलाई दिक्क लाग्ने भइसकेको थियो ।

‘पढाईमा ध्यानै जाँदैन थ्यो । जतिखेर पनि फुटबल खेलीराखु जस्तो हुन्थ्यो । पढाईमा मन लाउनै सकिएन,’ नितिनले खबरहबसँग भने,‘तर, आमाले फुटबल नखेल नभने पनि पढाईलाई जोड देऊ चाहिँ भन्नु हुन्थ्यो ।’

नितिन फुटबलमा भविष्य खोजिरहँदा घरेलु फुटबलमा शीर्ष स्तरको लिग ए डिभिजन हुन सकेको थिएन । २०१६ मा भएको शहीद स्मारक ‘बि’ डिभिजन लिगमा उनले पुल्चोक स्पोट्स क्लबबाट खेलेका थिए । त्यसपछि लगातार तीन बर्षसम्म कुनै पनि लिग हुन सकेनन् । यसबीचमा धेरै खेलाडी पलायन भए । कति लिगको प्रतिक्षामा कुरी रहे ।

यहिँ बेला उनलाई पनि फुटबलबाट पलायन हुनेकी ? भन्ने प्रश्न मन भित्र उठिरहेको थियो । खेलाडी जन्माउने लिग नै नभएपछि फुटबल नै भनेर कुरी राख्न गाह्रो हुने निस्कर्षमा पनि उनी पनि पुगे ।

‘लिग भइरहेको थिएन । उमेर समूहका खेल पनि खासै थिएनन । त्यसबेला चाहिँ आमाले भनेकै जसरी अब ‘लाहुरे’ मा जाउँ कि भन्ने सम्मको योजना पनि बनेको थियो,’ थापाले भने ।

त्यहिबेला अघिल्लो बर्ष २०७५ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ बर्षदेखि रोकिएको ए डिभिजन लिगलाई निरन्तरता दियो । ए डिभिजन लिगका लागि क्लबहरु खेलाडी छनोट प्रक्रियामा लागे ।

नितिन त्यतिबेला बुटबलमा थिए । ‘म बुटबलमा थिए । यता काठमाडौंमा लिग हुनेभएपछि सुगन तण्डुलकार दाइले लिग खेल्नका लागि भनेर फोन गर्नु भयो,’ नितिनले भने,‘ लिग कहिले होला भन्ने लागिरहेको थियो । मैले पनि हुन्छ भने ।’

खेलाडीहरु लिग कहिले होला भनेर कुरिरहँदा आएको फोनले उनलाई फेरि फुटबल खेल्ने पाइने कुराले निकै खुसी दियो । एक सिजनका लागि उनी संकटा क्लबसँग आवद्ध भए ।

संकटासँग १ सिजनको सम्झौता गरेका उनले संकटाबाट खेल्न पाएको अवसरको भरपुर सदुपयोग गरे । प्रशिक्षक थिए, सल्यान खड्गी उनले पनि नितिन र उनको खेल राम्रो भएकै कारण टिममा स्थान दिएका थिए ।

पहिलो पटक संकटा लिगको दोस्रो भयो । दोस्रो स्थानसम्म पुर्‍याउन नितिनले पनि योगदान गरे ।

‘संकटामा खेल्दा अझै धेरै कुरा सिक्न पाइयो । कसरी विपक्षी खेलाडीलाई ट्याकल गर्ने, बल कसरी खोस्नेदेखि प्रशिक्षकको निर्देशन पालना गर्नुपर्छ भन्ने अनुशासनका कुरा पनि सिक्न पाए,’ थापाले भने,‘प्रशिक्षकमा सल्यान दाइ पनि राम्रो मान्छे हुनुहुन्थ्यो । उहाँबाट पनि धेरै कुरा सिके ।’

ए डिभिजन लिगमा संकटामा हुँदा देखाएको प्रदर्शनले भने थापालाई सबैसामू चिनायो । त्यसपछि उनी लगातार नेपाली फुटबलमा संघर्ष गरिरहेका छन् । उनी फागुनमा गुवाहाटी भएको एन्फा यु–२१ टोलीमा थिए । गुवाहाटीमा रहँदा उनले सबै खेलमा पहिलो रोजाईमा परेका थिए । तर, एन्फा टोलीले उपाधि भने उचाल्न सकेन ।

गुवाहाटीबाट फर्किए लगत्तै थापालाई एएफसी यु–२३ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा बोलाइएको थियो । उनी यु–२३ को टोलीमा समेत परे । कतारमा भएको त्यो खेलमा उनी आयोजक कतारविरुद्ध सुरुवाती ११ मै अटाएका थिए । त्यसबाट सुरुभएको उमेरसमूहको शीर्ष टोलीबाट खेल्ने लक्ष्य पुरा भएको थियो ।

त्यस लगत्तै शुरु भएको फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको बन्द प्रशिक्षणमा पनि परेका थिए । तर, ३६ जनामा अटाएका उनलाई मुख्य प्रशिक्षक योहान कालिनले अन्तिम ३१ भन्दामाथि लिन सकेनन् । नितिनले अवसर पाए, १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा बस्ने ।

सागको बन्द प्रशिक्षणमा राम्रो गरेपछि मुख्य पशिक्षक बाल गोपाल महर्जनले उनलाई अधिकाशं खेलमा सुरुवाती ११ मा स्थान दिएका थिए । नितिनले सागमा पनि आफ्नो भूमिका सहि तरिकाले निभाउन सकेका थिए ।

उनी विपक्षी खेलाडीसँग बल चोर्न सजिलै सक्छन् । नितिनले विपक्षीबाट खोसेको बललाई आफ्ना सहकर्मीसम्म आफ्नो पोजिसनलाई न्याय दिन सक्ने खेलाडी मध्येका हुन् ।

सागमा नेपालले गोल्ड जितिसकेपछि अब उनलाई नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउनु पर्ने चुनौती छ । विश्वकप छनोटको बन्द प्रशिक्षणसम्म पुगेर पनि बाहिरिनु परेको पीडा सम्झिएका नितिन लिगबाट आफुलाई अझै निखार्ने लक्ष्य रहेको बताउँछन् ।

१८ बर्षीय उनी अहिले च्यासल क्लबबाट ए डिभिजन लिग खेलिरहेका छन् । उनको टोलीमा अनुभवी खेलाडी सन्तोष साहुखल टोली लिडर छन् । सन्तोषले टिममा खेलाडीहरुलाई अबको नेपाली फुटबल पनि व्यवसायीक बन्दै गएकाले महनत गर्न सुझाउँछन् ।

विश्व फुटबलमा नितिन पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र ब्राजिलका स्टार खेलाडी नेयमार तीनै जनालाई पछ्याउँछन् ।


उनीहरु तिनै जना फरक–फरक क्षमता भएका खेलाडी लाग्छन् नितिनलाई । उनलाई रोनाल्डोको ‘हार्ड वर्क’ ले तान्छ भने मेस्सीको क्षमता ‘हार्ड वर्कसँगै गर्ड गिफ्टेड’ रहेको अनुभूति पनि हुन्छ भने नेयमारले खेल्ने शैलिले छुन्छ ।

अहिले नेपाली फुटबल व्यवसायिक बन्दै गएको छ । नितिन अघिल्लो बर्षसम्म घरबाट आमालाई खर्च मागेर चलाउँथे । तर, पछिल्लो १ बर्षमा उनले घरबाट खर्च माग्नु नपरेको बताएका छन् । ‘खर्च अहिले चलिरहेको छ । अघिल्लो बर्षसम्म घरबाट माग्नु पथ्यौं । आजभोली अलिकति भएपनि घर पठाउने गरेको छु,’ थापाले भने ।

राष्ट्रिय टोलीका लागि लडिरहेका उनी यी सबै खेलाडीलाई पछ्याउँदै आफ्नो लक्ष्य पुरा गर्ने योजनामा छन् ।

छोरो ‘लाहुरे’ बनोस् भन्ने चहाना बनाएकी उनकी आमा बालकुमारीलाई पनि अहिले छोराले रोजेको बाटोसहि रहेछ भन्ने अनुभूति भइसकेको थापा बताउँछन् ।

‘सागमा आमा खेल हेर्न आउनु भएको थियो । भेट हुन पाएन । अहिले खुसी हुनुहुन्छ । राम्रो खेल भन्नु हुन्छ,’ नितिनले भने,‘मेहनत गरिरहेको छु । अहिलेको मेहनतले राष्ट्रिय टोलीसम्म पुग्न सकिँदैन् । अझै धेरै मेहनत गर्छु । प्रशिक्षकको निर्देशनलाई पनि पछ्याउँछु ।’

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १ : ०५ बजे

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको