घरेलु दर्शकको विश्वास गुमाइसकेको नेपाली फिल्म बजार ! « Khabarhub
Logo
२ आश्विन २०७८, शनिबार

घरेलु दर्शकको विश्वास गुमाइसकेको नेपाली फिल्म बजार !



काठमाडौं – विश्वभर नै फिल्म क्षेत्रलाई मनोरञ्जनको सशक्त माध्यमका रुपमा लिइन्छ । बिडम्बना भन्नुपर्छ, नेपाली फिल्म भने मनोरञ्जनको सशक्त माध्यम बनेर दर्शकमाझ पुग्न सकेको छैन । बरु विदेशी फिल्मले नेपाली दर्शकको चित्त बुझाइरहेका छन् तर नेपाली फिल्महरु घरेलु दर्शकको मन जित्नबाट चुकेका छन् ।

नेपालमा हिन्दी तथा विदेशी फिल्मको वर्चस्व बढ्दो छ । नेपाली फिल्मप्रति भने दर्शकको विश्वास झन् गुम्दैछ । जसकारण नेपालमा राम्रा फिल्म बनिहाले पनि ती फिल्मप्रति दर्शकको सधै शंका रहन्छ ।

बलिउडका फिल्म मात्र नभएर नेपालीले दक्षिण भारतीय फिल्म पनि रुचिका साथ हेर्न थालेका छन् । तर त्यस्तै शैलीका नेपाली फिल्मलाई भने दर्शकले साइड लगाइदिने गर्छन् । जस्तो कि, फिल्म ‘रणवीर’ पनि दक्षिण भारतीय फिल्मकै झल्को दिने खालको थियो तर फिल्म चलेन ।

टेलिभिजनमा हिन्दी सिरियल हेर्दाहेर्दै नेपाली भाषाजस्तै खरर हिन्दी भाषा सिकेका दर्शकले ‘कामचलाउ’ नेपाली फिल्मभन्दा हिन्दी फिल्म नै बढी हेर्ने गरेका छन्

युट्युबलाई आधार मान्दा एक दक्षिण भारतीय फिल्म साताभरि ट्रेन्डिङमा रह्यो । अरु फिल्म पनि नेपालमा धेरै हेरिने फिल्महरु पर्छन् ।

फिल्म ‘रणवीर’ ले दर्शकलाई त आफ्नो बनाउन सकेन नै, निर्माता र निर्देशकको दूरी पनि झन् बढाइदियो । फिल्मकी निर्मात्री गोमा विष्ट थापाले कम बजेटमा फिल्म बनाइदिन्छु भनेर निर्देशकले आफूलाई फसाएको आरोप लगाइन् ।

टेलिभिजनमा हिन्दी सिरियल हेर्दाहेर्दै नेपाली भाषाजस्तै खरर हिन्दी भाषा सिकेका दर्शकले ‘कामचलाउ’ नेपाली फिल्मभन्दा हिन्दी फिल्म नै बढी हेर्ने गरेका छन् । वितरक मनोज राठी भन्छन्, ‘फिल्म ‘बुलबुल’ ले दर्शक हलसम्म तान्छ झैँ लागेको थियो, तर ‘गल्ली ब्याइ’ हेर्ने दर्शक हुनुहुन्छ तर ‘बुलबुल’ मा दर्शक खासै आउनुभएको छैन ।’

तुलनात्मक रुपमा नेपालको फिल्म मार्केटमा विदेशी फिल्मले जति व्यापार गर्छन्, त्यसको निकै कम मात्र नेपाली फिल्मले व्यापार गर्छन् । फिल्मकर्मीहरु भन्छन्, ‘नेपालमा फिल्म हेर्ने दर्शक हुँदै नभएका त होइनन् तर दर्शकले रोजेर मात्र वर्षमा एक/दुई फिल्म हेर्छन् ।’

छिमेकी राष्ट्र भारतमा बलिउड मात्र चम्केको छैन, अहिले दक्षिण भारतीय फिल्म उद्योगले पनि ठूलो हिस्सा ओगटेको छ । विश्व बजारलाई हेर्ने हो भने पनि फिल्मको मार्केट विस्तार गर्न ठूला ब्यानरमा बन्ने फिल्महरु थप बजारको खोजीका लागि अन्य देशमा छायांकनका लागि पुग्ने गर्छन् । तर, नेपालको टार्गेट नेपाली दर्शकमा मात्र सीमित छन् ।

अहिले बलिउडको मार्केट चीन तथा विश्वका ठूला देशमा आफ्नो फिल्म उद्योगलाई स्थूल बनाउने रणनीतिमा छ । नेपाली फिल्ममेकर भने नेपालमा मार्केट छैन भन्ने बहानामा अति कमसल फिल्म निर्माण गरिरहेका छन् । तिनै फिल्ममा रुमल्लिएका छन् ।

नेपालको कुल जनसङ्ख्याको जम्मा तीन प्रतिशतले मात्र नेपाली फिल्म हेर्छन् । त्यसो त नेपाली फिल्म क्षेत्र हेर्ने चलचित्र विकास बोर्डसँग पनि नेपालभर कति कमाइ हुन्छ भन्ने ठ्याक्कै आँकडा छैन

बलिउड त बरु पहिले नै नेपाली बजारमा मार्केट खोजिसकेको उद्योग हो । अहिले दक्षिण भारतीय फिल्मले पनि नेपाल तथा विदेशमा आफ्नो फिल्मको मार्केट बिस्तार गरिसकेको छ । नेपालबाट मात्रै दक्षिण भारतीय फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’ ले करोडौँ रुपैयाँ लगेको थियो ।

अहिले दक्षिण भारतीय फिल्ममेकरले बलिउडमा जमेका कलाकारलाई फिल्ममा लिने गरेका छन्, ताकि फिल्मले सीधै बलिउडको मार्केटमा आफूलाई बिस्तार गर्न सकोस् । फिल्म ‘रोबोट २’ दक्षिण भारतमा बनेपनि बलिउडकै ठूलो बजेटको फिल्मका रुपमा सोही कारणले हेरियो ।

नेपालको कुल जनसङ्ख्याको जम्मा तीन प्रतिशतले मात्र नेपाली फिल्म हेर्छन् । त्यसो त नेपाली फिल्म क्षेत्र हेर्ने चलचित्र विकास बोर्डसँग पनि नेपालभर कति कमाइ हुन्छ भन्ने ठ्याक्कै आँकडा छैन । विकास बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखी भन्छन्, ‘नेपालमा फिल्मको बजार ठ्याक्कै कति प्रतिशत छ भनेर भन्न सकिने आँकडा नै हामीसँग छैन, बक्स अफिस लागू भएपछिको काठमाडौंको आँकडा चाहिँ भन्न सकिएला ।’

विकास बोर्डले आफ्नो आधिकारिक वेबसाइटमा राखेको सूचनालाई आधार मान्ने हो भने नेपालमा झण्डै डेढ सयको हाराहारीमा फिल्म हल छन् । विकास बोर्डको वेबसाइटमा १ सय ४५ वटा सिनेमा घरलाई ‘सिनेमा घरहरु’ उपशीर्षक दिएर राखिएको छ ।

यीमध्ये कति हल दर्शक नपाएर बन्द भइसकेका छन् । नयाँ हल पनि अपडेट भएका छैनन् । नेपाली सिनेमाको बजार कत्रो छ ? नेपाली सिनेमाका दर्शक कुन वर्गका हुन् ? यस्ता गम्भीर प्रश्नको उत्तर नखोजी हचुवाको भरमा फिल्ममा लगानी गर्ने निर्माताहरुको कमी भने यो क्षेत्रमा छैन ।

नेपाली फिल्म नै फिल्मका बाधक

चलचित्र ‘लूट’ पछि नेपाली फिल्मका दर्शक एकाएक ओइरिए हलमा । फिल्मले चौतर्फी तारिफ पायो । फिल्म नहेर्ने दर्शकले पनि नेपाली फिल्मप्रति चासो देखाए । यसको दोस्रो सिक्वेल ‘लूट २’ बन्दा अग्रीम बुकिङ आक्रामक थियो । तर फिल्मप्रति दर्शकको जुन चाहना थियो, त्यो पूरा गर्न सकेन । दर्शक बिच्किए ।

अहिले पनि एकाध फिल्मले बाहेक हलसम्म दर्शक तान्ने अरु फिल्मले उपस्थिति जनाउनसकेका छैनन् ।

अर्कातिर यसै वर्ष रिलिज भएको फिल्म ‘छक्का पञ्जा ३’ ले व्यावसायिक रुपमा सफलता हासिल ग–यो । चलचित्र विकास बोर्ड स्रोतका अनुसार यो फिल्मका काठमाडौं उपत्यकामा मात्र ३ लाख ५० हजार टिकट विक्री भएका थिए ।

यस हिसाबले फिल्म ‘छक्का पञ्जा ३’ ले काठमाडौंबाट मात्र ८ करोड हाराहारीको ग्रस कलेक्सन गरेको देखिन्छ । जबकि, नेपाली फिल्म तुलनात्मक रुपमा हेर्दा एक करोडको लगानीमा बनिसक्छन् । फिल्मकर्मीहरुको के गुनासो छ भने नेपालमा चाहिनेभन्दा बढी फिल्म निर्माण भइरहेका छन् । यसरी बन्ने कमसल फिल्म नै ‘स्तरीय’ फिल्मका लागि थ्रेट बनिरहेका छन् । निर्देशक निश्चल बस्नेत भन्छन्, ‘हामीकहाँ नब्बे प्रतिशत फिल्म झुर बन्छन्, एकपछि अर्को फिल्म झुर बन्ने भएकाले राम्रा फिल्मलाई पनि दर्शकले पत्याइदिन्नन्, अहिलेको मुख्य समस्या यही हो ।’

घरेलु दर्शक नै आफ्ना छैनन्

नेपाली फिल्मबाट दर्शक भड्किनुको कारण सस्ता फिल्मको महंगो प्रचार भएको फिल्मकर्मीको दावी छ । यसै वर्ष रिलिज भएका केही फिल्मलाई हेर्ने हो भने धेरै फिल्मले दर्शक भड्काउने काम मात्र गरेका छन् । यसै वर्ष हलमा दर्शक तान्ने खुबी बोकेका अभिनेता भनिएका प्रदीप खड्काको फिल्म ‘रोज’ रिलिज भयो । रिलिजअघि फिल्मको जुन हाइप थियो, त्यो हाइप स्वात्तै घट्यो । यो फिल्मले पनि दर्शक हलसम्म ल्याउनेभन्दा पनि फिल्मप्रति चासो राख्ने दर्शकलाई समेत भड्काउने काम ग–यो ।

बजार नबुझी नेपाली फिल्म निर्माण गरिरहेका धेरै निर्माताहरु घाटाको व्यवसाय गर्छन् । चलेका दुईचारवटा फिल्महरु हेरेर त्यस्तै फिल्म बनाउन खोज्छन् । दर्शकलाई पङ्गु बनाउन खोज्दाखोज्दै आफै पङ्गु भइसकेका हुन्छन्

फिल्म वितरक मनोज राठी भन्छन्, ‘नेपाली फिल्म पनि हाइप बनाउन सक्यो भने दर्शकले हेर्नुहुन्छ, तर जुन पायो त्यो फिल्म हेर्न दर्शक आउनुहुन्न ।’

उनका अनुसार फिल्म ‘प्रसाद’, ‘छक्का पञ्जा ३’ जस्ता फिल्म दर्शकले रुचाएका छन् । अरु फिल्महरुले खासै बजार ओगट्न सकेका छैनन् ।

नेपाली फिल्मको बजार नभएकै हो ?

फिल्ममेकरको एउटा दीर्घकालीन कमजोरी बजार छैन भन्ने बहानामा सोही अनुसारका फिल्म बनाउनु देखिन्छ । राम्रा फिल्म बनाउन खोज्ने फिल्ममेकर एक हातको औँलामा गन्न सकिने जति छन् । तर फिल्ममेकरको सङ्ख्या यति धेरै छ कि, परिचय गरेर साध्य हुँदैन ।

बजार नबुझी नेपाली फिल्म निर्माण गरिरहेका धेरै निर्माताहरु घाटाको व्यवसाय गर्छन् । चलेका दुईचारवटा फिल्महरु हेरेर त्यस्तै फिल्म बनाउन खोज्छन् । दर्शकलाई पङ्गु बनाउन खोज्दाखोज्दै आफै पङ्गु भइसकेका हुन्छन् ।

फिल्म क्षेत्रका जानकार मनिष पण्डित भन्छन्, ‘अब ‘लूट’ जस्तो फिल्म नबनेसम्म दर्शकलाई फेरि हलसम्म तान्न गाह्रो छ, यो फिल्मले फिल्म हेर्न आउने दर्शकको विश्वास बढाइदिएको थियो ।’

यता ‘लूट’ का निर्देशक निश्चल बस्नेत भने अर्को फिल्म निर्देशन गर्ने आँट गर्न सकिरहेका छैनन् । उनी भन्छन्, ‘मलाई जुन दिन आफूलाई चित्त बुझ्ने फिल्म बनाउन सक्छु भन्ने लाग्छ, त्यो दिन फिल्म निर्देशन गर्छु ।’

दुईथरी मेकर – कोही चुपचाप, कसैको हल्लै बढी

नेपाली फिल्म क्षेत्रमा हेर्ने हो भने यहाँ मूलतः दुईथरी फिल्ममेकर छन् – पहिलो राम्रा फिल्म बनाउने तर हल्ला कम गर्ने, दोस्रो झुर फिल्म बनाउने तर हल्ला ज्यादा गर्ने ।

नेपाली फिल्मको बजार बिगार्नेहरु दोस्रो वर्गमा पर्छन् । केही निर्माता तथा निर्देशकलाई छोड्ने हो भने फिल्मको मिडियाबाजी नै बढी हुने गर्छ यहाँ । एकथरी निर्माताहरु टेलिफिल्मजस्ता फिल्म बनाउँछन् । ती फिल्मको प्रचार निकै समय लगाएर गर्छन् । जसका कारण फिल्म हिट हुन्छन् । त्यस्ता ‘कामचलाउ’ फिल्म हेर्ने बानी परेका दर्शकलाई राम्रा र कन्टेन्ट भएका फिल्म पनि खल्लो लाग्ने गर्छ ।

यतिबेला हलमा रिलिज भएको फिल्म ‘बुलबुल’ पनि यही समस्यामा लतपतिएको छ । फिल्म राम्रो बनेर पनि एकथरी दर्शकलाई फिल्म मन परिरहेको छैन । अर्काथरी दर्शकलाई नेपाली फिल्म पनि यत्तिको राम्रो बन्न सक्छन् भन्ने लागेकै छैन । फिल्म निर्माण टिमले भने यो फिल्म नेपालमा फ्लप नै भएपनि उपशीर्षक राखेर विदेशी बजारमा समेत बेच्ने सोच बनाइरहेको छ । फिल्मका निर्माता अविरल थापा भन्छन्, ‘मसालेदार फिल्म हेर्ने दर्शकलाई अग्र्यानिक फिल्म मन नपर्ला भनेर हामीले धेरै प्रचार गरेनौँ, नेपालमा चलेन भने पनि विदेशमा बेच्न सकिने बजार हेरेर फिल्म निर्माण गरेका हौँ ।’

उपाय के छ ?

वरिष्ठ कलाकार हरिवंश आचार्य भन्छन्, ‘हामीकहाँ चाहिनेभन्दा बढी फिल्म बनेका छन्, राम्रो फिल्म वर्षमा एउटा मात्र बनेपनि पुग्छ ।’
हुन पनि हो, नेपालमा क्वालिटीका फिल्म निकै कम बन्छन् तर क्वान्टिटीका आधारमा चाहिनेभन्दा बढी फिल्म बन्छन् । यसको असर दीर्घकालीन रुपमा फिल्म क्षेत्रमा मात्र पर्नु त स्वभाविक छ तर निर्माताको ढाड पनि सेकिएको छ । एक फिल्म विश्लेषक भन्छन्, ‘हामीकहाँ जति फिल्म बनेका छन्, त्यति फिल्म बन्नुहुँदैन, दर्शकलाई नेपाली फिल्म पनि राम्रा बन्छन् है भन्ने नपारेसम्म हामीले घरेलु दर्शकलाई हलसम्म तान्न सक्दैनौँ ।’


भर्खर

0