कान्तिको कन्तबिजोग– बाहिर घाम लाग्दा अस्पताल भित्र पानीको वर्षा ! | Khabarhub Khabarhub

कान्तिको कन्तबिजोग– बाहिर घाम लाग्दा अस्पताल भित्र पानीको वर्षा !


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाहिर रहेको बेलामा पानी पर्‍यो भने ओत लाग्न तपाईंले अवस्य पनि सुरक्षित स्थानको खोजी गर्नुहुन्छ । त्यसमा पनि बालबालिका बिरामी भएर अस्पताल लगेको बेलामा औषधि किन्न वा केही गर्न बाहिर गएको बेलामा पानी पर्‍यो भने त तपाई अस्पताल भित्र अवश्य पस्नु हुन्छ । तर एउटा सरकारी अस्पतालको अवस्था भने फरक छ ।

पानी परेको बेलामा भित्र पस्नु भयो भने तपाईले छाता खोज्नु पर्ने अवस्था छ । पत्याउन गारो पर्ने यो अवस्था बालबालिकाको उपचारका लागि खोलिएको एकमात्र सरकारी अस्पताल कान्तिबाल अस्पतालको हो । जहाँ छतबाट चुहिएको पानी थाप्नका लागि बाल्टी र अन्य भाँडाहरु राखिएको देख्न सकिन्छ ।

यो दृश्य देखेर बाहिर ठूलै पानी परेको रहेछ भन्ने सोच राख्नु भयो भने त्यो भ्रम हुन सक्छ । किनकी बाहिर पानी नपर्दा पनि उक्त अस्पताल भित्र भने पानी चुहिरहेको हुन्छ । कान्ति बाल अस्पतालको मेडिकल वार्डतर्फ जाने बाटोमा थापिएको बाल्टी भरिन बेर लाग्दैन ।

यो आकाशमा परेको पानीका कारण नभई अस्पतालको प्रयोगका लागि बनाइएको पानीको संरचनामा आएको समस्याका कारण उत्पन्न भएको हो । विगत एक महिना भन्दा लामो समयदेखि यस्तो समस्या देखिएपनि अस्पताल प्रशासनले त्यसको व्यवस्थापन गर्न सकेको छैन वा चासो देखाएको छैन ।

कान्ति बाल अस्पतालको दक्षिणतर्फ रहेको मेडिकल वार्ड दोस्रो तलामा छ ।

मेडिकल वार्डमा रहेको ५१ श्यामा भर्ना भएका बिरामी बालबालिका, उनका अभिभावक र ती बिरामी बालबालिकालाई उपचार गर्ने चिकित्सक र नर्सहरु दैनिक रुपमा यही बाटोबाट वार्डमा पुग्छन् ।

बिरामी भएका बालबालिका काखमा च्यापेर आउनेहरु त्यो ठाउँमा आएपछि केहीबेर अडिन्छन् । ‘अस्पताल भित्रै मुसलधारे पानी झरेको छ, कसरी यहाँबाट पार गर्ने ?’

हामी त्यहि हुँदा एउटा काखेबालक च्यापेर एक महिला दौडिएर मेडिकल वार्डतर्फ अघि बढिन् । ‘ओहो ! चिप्लो पो रहेछ, झन्डै लडिएन ।’ महिलाले आत्तिएको स्वरमा भनिन् ।

पानीले गर्दा भूई चिप्लो भएको थियो । उनले आफ्नो सन्तानलाई लिएर बल्लतल्ल बाटो पार गरीन् ।

अस्पतालमा भर्ना भएका बिरामी र उनका आफन्त मात्रै होइनन्, अस्पतालका डाक्टर र नर्सहरु पनि त्यहा चुहिएको पानी देखेर वार्ड भित्र जान अलमलिन्छन् । केहीबेर सिलिङबाट चुहिएको पानी हेर्दै चिकित्सकहरु पनि दौडेर मेडिकल वार्डतर्फ प्रवेश गर्छन् ।

कान्ति बाल अस्पतालको मेडिकल वार्डतर्फ जाने बाटोमा यसरी पानी चुहिन थालेको एक महिना भइसकेको छ ।

बालबालिकाहरुको उपचार हुने कान्ति अस्पताल संवेदनशिल क्षेत्र हो । तर एकमहिनासम्म पनि पानी चुहिएको ठाउँ नबनाउँदा वार्डमा जाने बिरामी बालबालिका, बिरामी कुरुवा र चिकित्सकहरु नै समस्यामा छन् ।

‘एकमहिना भयो पानी चुहिन थालेको अहिलेसम्म बनाएको छैन, सिलिङबाट पानी चुहियो भनेर बनाउन भनेको त थियो,’ नाम नबताउने सर्तमा एकजना कर्मचारीले भनिन्, ‘तर अहिलेसम्म बनेको छैन, एकमहिनादेखि पानी चुहिएर त्यो क्षेत्र नै चिप्लो भइसक्यो, धन्न बालबालिकाहरुलाई उनका अभिभावकले समाएर, बोकेरै ल्याउँछन् । त्यसैले अहिलेसम्म कुनै दुर्घटना भएको छैन ।’

यसरी एक महिनादेखि अस्पताल भित्रै पानी चुहिदा अस्पतालमा सेवा लिन पुग्ने र अस्पतालभित्रै रहेका कर्मचारी समेत जोखिममा छन् ।

मेडिकल वार्डमा एकमहिनादेखि पानी चुहिने समस्या रहेको अस्पतालका निर्देशक डा आरपी विच्छाले स्वीकार गरे ।

‘यो भूकम्पले क्षति पुर्‍याएको भवनमा मर्मत गरेर लगाएको भवन हो, खासमा त्यो पानी कहाँबाट चुहिएको छ भनेर पत्ता लागेको थिएन,’ अस्पतालका निर्देशक डा विच्छाले खबरहबसँग भने, ‘हामीले त्यो समस्या समाधानका लागि मन्त्रालयबाट एकजना इन्जिनियर हायर गर्न लगाएका छौं । तत्काल पानी चुहिने समस्या समाधान गर्ने काम शुरु भइसकेको छ । केही दिनमै बन्छ ।’

अस्पताल जस्तो सम्वेदनशील स्थानमा र विरामी बोकेका अभिभावकको भीड हुने स्थानमा समेत वेवास्ता गर्नु गम्भीर रहेको अस्पताल पुगेका अभिभावक बताउँछन् । पानी चुहिने स्थानमा चिप्लो हुने र दुर्घटना हुने जोखिम हुने भन्दै विरामीका आफन्तले चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ४ : ५२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न