कृष्णले कर्म र ज्ञानको महत्व कसरी फैलाए ? « Khabarhub

कृष्णले कर्म र ज्ञानको महत्व कसरी फैलाए ?



पुराणहरूका अनुसार भाद्र कृष्ण अष्टमी र रेवती नक्षत्रको संयोगमा भगवान् विष्णुले कृष्णका रूपमा धर्तीमा जन्म लिएका हुन् । कृष्णपक्षको मध्यरातमा कंसको कालकोठरीमा वसुदेव र देवकीका आठौँ पुत्रको रूपमा जन्मेका कृष्णले देखाएको बाललीला ज्यादै रोचक मानिएको छ । उनले कंसको अन्याय र अत्याचारको अन्त्य मात्र गरेनन्, श्रीमद्भागवत् गीताको माध्यमबाट कर्म र ज्ञानको महत्त्व विश्वभरि फैलाए ।

भगवान् कृष्णले दिएको गीता ज्ञानलाई विश्वकै उत्कृष्ट दर्शन मानिएको छ । भगवान् कृष्णको जन्म, बाललीला, रासलीला, राधासँगको प्रेम प्रसंग, महाभारत युद्धमा कृष्णको भूमिका आदि श्रीमद्भागवत लगायतका पुराण तथा महाभारत आदि ग्रन्थमा वर्णन गरिएको छ । श्रीमद्भागवतको दशम स्कन्ध पूर्वार्ध र उत्तरार्ध गरी ९० अध्यायमा भगवान् कृष्णको लीलाहरूको विशेष वर्णन गरिएको छ ।

कृष्णले बाल्यकालमा आफूलाई कंसले मार्न पठाएका शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतका असुरहरूको नाश गरे । यसैगरी गोकुलका बासिन्दाको दही चोरेर, अनेक बिगार गरेर माता यशोदा र छिमेकीलाई सताएको प्रसंग पनि छ । माटो खाएको निहुँमा यशोदालाई विश्व ब्रह्माण्डको दर्शन गराएको, गोठालाका रूपमा बाललीला गरेको प्रसंग पनि कृष्णलीलाअन्तर्गत चर्चा भइरन्छ । पानीमा विष फैलाउने कालिया नागलाई ठीक ठाउँमा ल्याएको र गोवर्धन पर्वत उचालेर गोकुलवासीको रक्षा गरेको आदि प्रसंग नेपाली सनातन समाजमा प्रचलित छन् । यसैगरी, राधाकृष्णको प्रेमप्रसंग पनि प्रेमी–प्रेमिकामाझ प्रेरणाको स्रोत बनेको छ ।

द्वापरयुगमा मानिसहरू कंसको अन्याय र अत्याचारबाट पीडित भइरहेका थिए । आफ्नै बाबु उग्रसेनलाई समेत बन्दी बनाएर कंसले आफूलाई मथुराको राजा घोषित गरे । यस क्रममा आफ्नी बहिनी देवकीको विवाह यदुकुलका वसुदेवसँग गरिदिए । बहिनीज्वाइँ पुर्याउन जाने क्रममा वसुदेव र देवकीको आठौँ पुत्रबाट मारिने आकाशवाणीबाट त्रसित भएको कंसले दुवैलाई बन्दी बनाई जन्मिएका भाञ्जाभाञ्जीहरू एक–एक गरी मार्न थाले । तर आठौँ गर्भका रूपमा आएका कृष्णलाई बाबु वसुदेवले रातारात गरी गोकुल लगेर सुरक्षित पारे ।

यो क्रममा कृष्णलाई मार्न कंसले गरेका अनेकौँ प्रयास सफल हुन सकेनन्, अन्तिममा आफैं कृष्णको हातबाट मारिन पुगे । कंसको अन्त्यपछि पनि समाजमा अत्याचार मच्चाउने शिशुपाल आदि राक्षसको अन्त्य पनि कृष्णको हातबाटै भयो । हस्तिनापुर राज्यको राजनीतिमा समेत उनको ठूलो योगदान छ । युद्धको मैदानबाट हटिसकेका अर्जुनलाई गीताको माध्यमबाट युद्धतर्फ प्रेरित गरे । गीताज्ञानले महाभारत युद्ध मात्र गराएन ज्ञान र कर्मको सन्देश पनि छोडेर गयो । आज पनि दार्शनिक ग्रन्थहरूको चर्चा चल्यो भने पहिलो कोटिमा श्रीमद्भागवत गीता नै आउँछ । श्रीमद्भागवत गीताको व्याख्या गर्न विश्वभरि नै अनेकौ प्रयास भएका छन् तर सतहमा बाहेक गहिराइमा पुगेर व्याख्या गर्न आज पनि कसैले सकेका छैनन् ।

जुनसुकै समयमा पनि केही समय खराब र असत्य पक्षको विजय भएको देख्न सकिन्छ, चाहे पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएका सत्य युग होस् वा द्वापर वा त्रेता युग नै । विभिन्न समयमा असत्यको बोलवाला रहेर धर्म वा सत्य डगमगाउने स्थितिमा पुगिसकेको हुन्छ । त्यसको रक्षा गर्न भगवानले विभिन्न रूप लिएर असत्यको नाश गरेका उदाहरण प्रशस्तै छन् । यसै सन्दर्भमा अर्जुनलाई दिएको गीता ज्ञानको एक प्रसंगमा भगवान् कृष्णले भनेका छन्, ’यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारतः, अभ्युत्थानमर्धमस्य तदात्मानं सृजाम्यहम् परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ अर्थात् ‘जब जब पृथ्वीमा धर्ममा ग्लानि बढ्छ, अधर्मको नाश गरेर धर्मको स्थापना गर्न म आउँछु । दुष्टहरूको नाश गरेर सज्जनहरूको रक्षा गर्न धर्मको स्थापना र अधर्मको नाश गर्न म समय समयमा धर्तीमा अवतरित हुनेछु ।’

श्रीकृष्णलाई भगवानका रूपमा मात्र होइन एक दार्शनिकका रूपमा समेत स्मरण गरिन्छ । कृष्ण आस्तिकहरूको मात्र आस्थाका प्रतीक हुन् नै नास्तिकले समेत उनले दिएका गीताज्ञानको अनुशरण गर्छन् । भगवान् कृष्णले दिएका ‘कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन…’ अर्थात् ‘कर्म गर । फलको आशा नगर’ भन्ने वचनभित्र ज्यादै गहिरो दर्शन लुकेको पाइन्छ । मानिसले गरेको कर्मअनुसार नै उसलाई फल प्राप्त हुन्छ । राम्रो कर्म गरेको छ भने स्वतः फल पनि राम्रै हुन्छ त्यस कारण गरिसकेको कामबारे आशक्ति राखी त्यसबारे चिन्तित नहुनु भन्ने गीताको सन्देश छ ।

भगवान् कृष्णका यिनै कर्महरूको सम्झना गर्दै आज सनातन धर्मावलम्बीहरूले उनको उपासना गर्छन् । वैष्णव वा श्रीकृष्ण प्रणामीहरूले त यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । अहिले चतुर्मास चलिरहेको छ । चतुर्मासभरि नै भगवान् कृष्णको पूजा आराधना र उनको कीर्तिस्मरण गर्ने परम्परा छ । कृष्णको जन्मदिनमा उनको विशेष आराधना गर्ने परम्परा चलेको छ । यो दिन विशेषगरी वैष्णव सम्प्रदायका श्रद्धालुहरू निराहार व्रत बसी उनको आराधना गर्छन् ।

सप्ताह, चतुर्मासलगायतका अनुष्ठानहरूमा श्रीमद्भागवतादि ग्रन्थहरूको वाचन हुन्छ । यी अनुष्ठानहरू भगवान् कृष्णका अन्य गुणहरूको चर्चा कमै मात्रामा हुने गर्छ, जति रासलीलाको हुन्छ । पुराण सुनाउने पण्डितहरू स्रोतालाई मन्त्रमुग्ध पार्न यी प्रसंगहरू लम्ब्याएर प्रस्तुत गर्छन् । यसले श्रवण गर्नेहरूमा भगवान् कृष्णका विषयमा भ्रम परिरहेको देखिन्छ । पौराणिक ग्रन्थहरूमा आज गरिने भगवान् कृष्णको आराधनाको विधि उल्लेख भएको पाइन्छ । विशेषगरी द्वादश अक्षरको (ॐ नमो भगवते वासुदेवाय) मन्त्रले उनको आराधना गर्नुपर्ने बताइएको छ ।
लेखकलाई [email protected] मा सम्पर्क गर्न सकिन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ६ : ४९ बजे

भक्तपुरमा पर्खाल भत्किएर पुरिँदा एकको मृत्यु

भक्तपुर– सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२

लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राद्यापक शर्मालाई

काठमाडौँ– लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यो वर्षको लीलाध्वज थापा साहित्य

शेखर कोइराला समूहको बैठक बिहीवार बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक

कर्णालीका २० मेघावाट विद्युत आयोजनाको सम्भाव्यता अध्ययन र शेयर लगानी गरिँदै

सुर्खेत– कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयले २० मेगावाट

लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारको आव २०७९/८० को बजेट आज प्रदेशसभाबाट