नेपाली फिल्म नै धरापमा छन्, आदिवासी चलचित्र कसरी माथि उठ्ला र ! | Khabarhub Khabarhub
Logo
२२ मंसिर २०७६, आइतबार

नेपाली फिल्म नै धरापमा छन्, आदिवासी चलचित्र कसरी माथि उठ्ला र !



नेपालमा सिनेमा क्षेत्र आफ्नो भविष्य खोजिरहेका सिनेकर्मीलाई अझै पनि समाजले सहजै पचाउन सकेको अवस्था छैन । तुलनात्मक रुपमा भने पछिल्लो पुस्ता सिनेमा क्षेत्रप्रति केही उदार देखिएको छ । केही वर्षयता युवापुस्ता सिनेमा मेकिङमा उत्तिकै सक्रिय देखिन्छ । मूलधारका सिनेमाले दर्शकलाई खासै उत्प्रेरित गर्न नसकिरहेका बेला अर्कातिर सीमित वर्गलाई केन्द्रमा राखी निर्माण गरिएका आदिवासी सिनेमाहरुले पनि बजार बिस्तारको प्रयास गरिरहेका छन् ।

हालै राजधानीमा सम्पन्न ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ मा चलचित्र ‘म्ले क्युँ’ (बिर्साउने पानी) बाट निर्देशक जसु गुरुङ उत्कृष्ट निर्देशक बनिन् । मोफसलमा बसेर सिनेकर्ममा सक्रिय जसुले निर्देशन गरेको यो दोस्रो सिनेमा हो। ‘म्ले क्युँ’ ले जसुलाई उत्कृष्ट निर्देशक बन्ने अवसर दिलायो । माओत्से गुरुङको शीर्ष भूमिका रहेको ‘म्ले क्युँ’ मा गुरुङ समुदायको संस्कृतिलाई उठाइएको छ ।

उत्कृष्ट निर्देशक घोषित भएपछि चर्चामा रहेकी जसुसँग आदिवासी चलचित्रको वर्तमान अवस्था र समग्र सिनेमा क्षेत्रका बारेमा खबरहबका लागि अर्घेलो थापाले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

‘म्ले क्युँ’ बाट उत्कृष्ट निर्देशक बन्नुभयो, फिल्म निर्माणका हिसाबले कति सहज थियो ?

गुरुङ भाषामा ‘म्ले क्युँ’ शीर्षक राखिएको नेपाली अर्थ बिर्साउने पानी भन्ने बुझिन्छ । यो शीर्षक आफैमा पनि फरक छ । अहिलसम्म निर्माण भएका सिनेमाका तुलनामा यो सिनेमा नामले नै फरक छ । यो सिनेमा खासगरी गुरुङ समुदायको सांस्कृतिक मिथमा आधारित छ । गुरुङ समुदायमा एउटा संस्कार छ-कसैको मृत्यु भएपछि अर्घ दिने चलन छ ।

कसैले बितेको १३ औँ दिनमा अर्घ दिन्छन् भने कसैले समय हेराएर, केही समयपछि दाजुभाइका सबै खलकको एकैचोटी अर्घ दिने चलन छ । गुरुङ समुदायका पुरोहितले बितेका आफन्त (पितृ) लाई स्वर्ग जाऊन् भनी पानी खुवाउने चलन छ । पानी खुवाएपछि उनीहरु स्वर्ग जान्छन् भन्ने विश्वास समुदायमा छ । यही विश्वासमा कथा तयार पारेर हामीले ‘म्ले क्युँ’ मा समावेश गरेका छौँ । वास्तवमा सिनेमा निर्माणका हिसाबले एकदमै गाह्रो काम थियो ।

अर्कातिर हामीले सिनेमामा सामाजिक र सांस्कृतिक विषयलाई पनि उठाउने कोशिश गरेका छौँ । मुख्य कुरा चाहिँ गुरुङ समुदायको संस्कृतिलाई देखाउन खोजिएको छ ।

सिनेमाको अर्को महत्त्वपूर्ण विषय भाषा पनि हो । आदिवासी सिनेमाका लागि भाषा मुख्य कुरा हो कि भन्ने लाग्छ । हुन त भाषा नै सबथोक होइन, किनकि सिनेमा हेर्न भाषा बुझ्नैपर्छ भन्ने पनि छैन । यद्यपि भाषिक सिनेमा बनाउँदा सोही भाषा बोल्दा राम्रो हुन्छ भन्ने मेरो भनाइ हो । ती कुराहरुलाई समेटेर सामाजिक विषय, आध्यात्मिक विश्वास र समाजमा युवाले गर्नुपर्ने कामलाई जोडेर ‘म्ले क्युँ’ मार्फत सन्देश दिने प्रयास गरेकी हुँ । राम्रो गरेँभन्दा पनि राम्रो गर्ने प्रयास चाहिँ गरेँ भन्छु ।

मोफसलमा बसेर जाति विशेषका फिल्म बनाउन गाह्रो छ है ?

एकदमै गाह्रो छ नि । पोखराजस्तो सानो ठाउँमा सीमित प्रविधिमा काम गर्नुपर्ने हुन्छ । त्यतिमात्र होइन, बजार पनि सानो छ । अर्कातिर सिनेमा च्यारिटीमा मात्र सीमित हुन्छ । त्यही भएर पनि मोफसलमा बसेर सिनेमा बनाउनु झनै गाह्रो काम हो । त्यसमाथि आदिवासी सिनेमा बनाउन थप गाह्रो काम हो ।

आदिवासी सिनेमाले सीमित वर्गलाई मात्र केन्द्रमा राखेको पाइन्छ, यो हिसाबले एउटा वर्गलाई मात्र केन्द्रमा राखेर आदिवासी सिनेमा बनाउनु सहज कि मूलधारका सिनेमा निर्माण गर्न ?

मैले मेरो तर्फबाट के भन्छु भने, प्रत्येक आदिवासीको सिनेमा आफैमा नेपाली सिनेमा हो । आखिरमा नेपाली सिनेमा भनेर चिनाउने पनि आदिवासी सिनेमाले नै हो जस्तो लाग्छ । होला, भाषामा समस्या होला । तर, सांस्कृतिक रुपमा भने फरक पार्नसक्छ । कबड्डीलाई पनि आदिवासी सिनेमाकै रुपमा हेर्न सकिन्छ । आदिवासी सिनेमा पनि नेपाली सिनेमा नै हो ।

तर हामीमा अझैसम्म पनि आदिवासी फिल्म हो पूरै फरक हो भन्ने परेको छ । उहाँहरुले भाषा बाधक हो, भाषा बुझिँदैन भन्ने खालको कुरा गर्नुहुन्छ । चलचित्रको लागि भाषा बाधक हो भन्ने मलाई चाहिँ लाग्दैन । उदाहरणका रुपमा हामीले चिनियाँ र कोरियन सिनेमालाई लिन सक्छौं। नेपालका प्रायः युवाले यी सिनेमा हेरेर सकिसकेका छन् ।

यसको अर्थ भाषा बुझ्नैपर्छ भन्ने छैन । हामीले पनि कतिपय कुरा दृश्यका माध्यमबाट झल्काउने प्रयास गर्नुपर्छ । मैले पहिलोपटक निर्देशन गरेको ‘कर्म क्याँ’ पनि गतवर्ष आदिवासी महोत्सवमा उत्कृष्ट चलचित्र घोषित भएको थियो ।

अर्को कुरा, महोत्सवका दौरान मैले आफैले पनि अरु जातिका सिनेमा हेर्ने अवसर पाएकी थिएँ । अरु मेकरले पनि मेरो सिनेमा हेरेर समीक्षा गर्नुभएको थियो । त्यो आधारमा पनि भन्न सकिन्छ, भाषा नै बाधक होइन चलचित्र हेर्नका लागि ।

आदिवासी सिनेमाले मूलधारका सिनेमाको बजार किन समेट्न नसकेको होला ?

खासमा त आदिवासी समुदायले नै यस्ता सिनेमाले थप महत्त्व दिनुपर्छ । मानौँ, गुरुङ समुदायको सिनेमा हो भने त्यसलाई सबैभन्दा पहिलो गुरुङ समुदायले नै बढी चासो र माया दिनुपर्छ । आदिवासी सिनेमाको मुख्य स्रोत नै त्यही समुदाय हुन्छ । मूलधारको सिनेमा बजारले पनि आदिवासी सिनेमालाई मुख्य बजारका रुपमा लिनुपर्छ भन्ने लाग्छ ।

आदिवासी सिनेमाले पनि बजार र स्थान पाएको खण्डमा राम्रो गर्न सक्छन् । मतलब आदिवासी सिनेमा कमजोर छैनन् । बजेटका हिसाबले पनि मूलधारका सिनेमाको र आदिवासी सिनेमाका लगानी झण्डै उस्तै हुन आउँछ ।

किन गुरुङ समुदायका सिनेमा बनाइरहनुभएको छ ? मूलधारका सिनेमा निर्माण गर्नुपर्छ भन्ने लाग्दैन ?

मैले बुझेको समुदाय गुरुङ समुदाय हो । अर्कातिर हाम्रो समुदायमा धेरै मेकर पनि हुनुहुन्न । मैले आफ्ना समुदायका कथा भन्नुपर्छ भन्ने लागेर यो सिनेमा बनाएँ । मूलधारका सिनेमा बनाउने मेकर त धेरै हुनुहुन्छ नि, हाम्रो समुदायका कथा भन्ने मेकर सीमित हुनुहुन्छ । अर्को कुरा त जुन समुदायको सिनेकर्मी हो, उसले त्यही समुदायको कथा भन्यो भने सिनेमामा समुदायको मूल कुरा उठाउन सजिलो पनि हुन्छ ।

आदिवासी सिनेमाको बजार च्यारिटीमा मात्र सीमित छ । हलवालाले निरन्तर हल उपलब्ध गराइदिए हामीलाई राहत मिल्थ्यो ।

हामीले समुदायका कथा भनेर संस्कृतिको जगेर्ना गर्ने र समुदायकै कथा भन्ने प्रयास पनि गरेका हुन्छौँ । बोधगम्यताका हिसाबले पनि सिनेमालाई समाजमा बुझाउन सकिने विधाका रुपमा लिइन्छ । सिनेमा भनेको यस्तो काम हो, बनाउन गाह्रो छ तर सिनेमाको माध्यमबाट समाजमा बुझाउन सजिलो छ ।

आदिवासी समुदायको संस्कृति बचाउन पनि भाषिक सिनेमाले धेरै ठूलो भूमिका खेल्छ । यो पहल हामीले नै बेवास्ता गर्‍यौँ भने भाषा र संस्कृति हराउँदै जान्छ कि भन्ने डर हुन्छ । हुन त सिनेमाले मात्र समुदायको संस्कृति जोगिन्छ भन्ने होइन । तर, आफ्नो ठाउँबाट सहयोग पुर्‍याउन सकिन्छ भन्ने हो ।

नेपाली सिनेकर्मीले समाजको चित्रलाई पर्दामा जस्ताको तस्तै उतार्न नसकेको आरोप खेपिरहेका हुन्छन्, यो हिसाबले आदिवासी समुदायको संस्कृतिलाई सिनेमामा उतार्न अझै जोखिम छ हैन र ?

आदिवासी समुदायलाई मात्र होइन, नेपालको परिवेशमा हरेक कथामा काम गर्दा उत्तिकै जोखिम छ । मैले निर्देशन गरेको सिनेमा ‘म्ले क्युँ’ को कथा पनि उस्तै जटिल थियो । यस्तो खालको कथामा सिनेमा बनाउने यो पहिलो प्रयास थियो ।

मान्छे बितिसकेको जीवनमा जाने कथा मेरा लागि सामान्य कथा थिएन । त्यसमाथि त्यसमाथि हामीले अहिलेका युवाले भोगेको समाज, संस्कृति आदिलाई पनि उठाएका छौँ । कतिले त यस्तो जटिल कथामा किन सिनेमा गर्छौ भन्नुहुन्थ्यो । मलाई चाहिँ यस्तै कथामा काम गर्ने हौसला जाग्छ ।

आदिवासी चलचित्र संघले त वर्षमा एकपटक महोत्सव गर्ने हो, मिडियाले पनि खासै महत्त्व दिएको छैन आदिवासी सिनेमालाई, यस्तो अवस्थामा सिनेमाको बजार फैलाउन झन् गाह्रो छ नि हैन र ?

मैले अघि नै भनेँ नि । आदिवासी सिनेमाको बजार च्यारिटीमा मात्र सीमित छ । हलवालाले यी सिनेमाका लागि पनि निरन्तर रुपमा हल उपलब्ध गराइदिनुभयो भने हामीलाई राहत हुने थियो ।

हुन त नेपाली सिनेमा रोकेर हिन्दी सिनेमाले हल पाउने समस्या सबै सिनेकर्मीले भोग्नुपरेको छ । र पनि, सहुलियत मूल्यमा हल पाउने हो भने आदिवासी सिनेमाको बजार व्यापक हुँदै जान्थ्यो कि भन्ने हो । नेपाली सिनेमा नै धरापमा छन् । यस्तो बेलामा आदिवासी सिनेमा त झन् कसरी माथि उठ्न सक्ला र ?

महिला कलाकारलाई पनि झनै गाह्रो छ है यो क्षेत्रमा ?

एकदमै गाह्रो छ । गाह्रो नभएको भए धेरै महिला धेरै अगाडि पुगिसक्थे होला । हुन त सबै क्षेत्र आफैमा नराम्रो चाहिँ कुनै पनि होइन । हाम्रो समाज नै त्यस्तै छ । हुन त महिला भएकै कारण यो क्षेत्रमा गाह्रो भन्ने होइन तर अन्य क्षेत्रको तुलनामा यसमा बढी छिटो बाहिर आउँछ । समाज नै सकारात्मक भन्दा नकारात्मक कुरामा बढी चासो राख्ने खालको छ । समाज कस्तो छ भन्ने कुराले पनि हरेक कुरामा धेरै फरक पारेको हुन्छ ।

नेपालको परिवेशमा महिलालाई काम गर्न गाह्रो भएकै हो । अरुभन्दा हाम्रो समुदायमा त अलिक सहज छ । किनकि हाम्रो घर चलाउने जिम्मा पनि महिलाकै हुन्छ । तर पनि समाजले कुनै न कुनै कारणले हामीलाई प्रभावमा पारेकै हुन्छ । अझै पनि फिल्म मेकिङ पढ्छु भन्दा परिवारले विश्वास नगर्ने अवस्था छ । समाजकै कारण घरबाट ‘किन पढ्ने ?’ भन्ने प्रश्न उठाइन्छ ।

नेपालमा आदिवासी चलचित्र बनाएर कलाकार बाँच्न सक्ने अवस्था छ ?

जुन सिनेमा बनाए पनि आखिरमा सिनेमाको बजारकै कुरा आउँछ अन्तिममा । सिनेमाले कति बजार समेट्न सक्छ, त्यसमा फरक पर्छ । मुख्य कुरा त आदिवासी सिनेमाको रेगुलर शो हुन सकेको छैन । यस हिसाबले चाहिँ गाह्रो हुन्छ । विदेशी सिनेमा र मूलधारका नेपाली सिनेमाका हिसाबले बढी नै गाह्रो नै छ । गुरुङ समुदायले निर्माण गरेका सिनेमा मात्र होइन, अरु सिनेमा निर्माण गर्न पनि उत्तिकै गाह्रो छ ।

अर्कातिर आदिवासी सिनेमा च्यारिटीमा मात्र सीमित छन् । यही भएर पनि हामीले सिनेमा देखाउँदा अरु सिनेमाभन्दा बढी टिकट मूल्य राख्नुपर्ने अवस्था छ । दुःख गरेअनुसारको लगानी फिर्ता हुन्छ । त्यो चाहिँ हो ।


भर्खर