‘विदेशीको ‘सेल्फी प्वाइन्ट’ बन्दैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ « Khabarhub
Logo
२ असार २०७८, बुधबार

‘विदेशीको ‘सेल्फी प्वाइन्ट’ बन्दैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’



काठमाडौं–सरकारले धेरै भन्दा धेरै पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष २०२० मनाउँदैछ । यो अभियानलाई सफल पार्न नेपालमा पर्यटकीय प्रभाव झल्काउने ठाउँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो । किन भने, नेपाल आउने जो कोही पर्यटकले त्रिभुवन विमास्थल आएपछि नेपाल प्रतिको धारणा बनाउँछ । त्यसैले पनि प्राकृतिक छटाले भरिपूर्ण, सांस्कृतिक महत्वको देश नेपाल सुनेर आएका पर्यटकलाई नेपालप्रति आकर्षित बनाउन त्रिभुवन विमानस्थलको उचित व्यवस्थापन हुनु जरुरी छ ।

यही आवश्यकता बुझेका राजकुमार क्षेत्री अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकका रुपमा कार्यरत छन् ।

पर्यटनमार्फत आर्थिक समृद्धि सम्भव देख्ने क्षेत्रीले नेपाल घुम्न आउने पर्यटकलाई नेपाल राम्रो छ भन्ने देखाउन उनीहरु प्रवेश गर्ने मूलद्वार नै राम्रो र आथित्यता झल्कने हुनुपर्छ भन्ने राम्ररी बुझेका छन् । त्यसैले पनि क्षेत्रीले अस्तव्यस्त व्यवस्थापन, दिक्कलाग्दा कर्मचारी, झन्झटिलो सेवालगायतबाट बदनाम हुँदै गएको त्रिभुवन विमानस्थल परिषरलाई एक आकर्षर र बुटिक एयरपोर्टका रुपमा विकास गर्न थालेका छन् । विमानस्थललाई नेपाली मौलिकपनले सुसज्जित पारेर सिँगार्ने काम पनि भइरहेको छ ।

अहिले धानवमार्गमा जहाजबाट उत्रिएर आवागमनतर्फ प्रस्थान गर्दै गर्दा ढोकैमा बुद्धको मूर्तिसहित ठूलो अक्षरले ‘वेलकम टु नेपाल’ लेखेको देखिन्छ । अनि, ती अक्षरमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको चिनारी झल्कने तस्वीर पनि राखिएको छ । साथै नेपाली समूदायले शुभसाइतमा प्रयोग गर्ने तामाका गाग्रीमा पानी र फूल राखी पर्यटकलाई स्वागत गरिएको छ । यो नयाँ अभ्यासले नेपाल आउने पर्यटक आकर्षित भएका छन् ।

अहिले विमानस्थल सरसफाइको काम पनि प्रभावकारी रुपमा सञ्चालन हुन थालेको छ । विमानस्थल पुगेका यात्रुलाई बस्नका लागि उचित व्यवस्था मिलाइएको छ । भित्र प्रवेश गर्दा भित्ताहरूमा विभिन्न नेपाली कला झल्कने पोस्टरहरू राखिएका छन् ।

दुर्गन्धित शौचालय व्यवस्थित बनेको छ भन, लथालिंग अवस्थामा रहेको पार्किङ व्यवस्थित भएको छ ।

योसँगै त्रिभुवन विमानस्थललाई व्यवस्थित बनाउन व्यवस्थापनले गरेको काम, यात्रुको सहज आवतजावतको सहजता, विमानस्थलको स्तरवृद्धि लगायतका क्षेत्रमा के के काम भइरहेको छ भनेर खबरहबले तीन दशकदेखि नागरिक उड्डयनकै क्षेत्रमा काम गरिरहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादीत अंश :

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबारे गुनासै गुनासा सुनिन्छन । यि गुनासा सम्बोधन गर्दै सुधारका काम के के गर्नुभएको छ?

० म ३० वर्षदेखि यही क्षेत्रमा कार्यरत छु । तपाईंले भनेजस्तै सारै धेरै गुनासा छन् । हामीले देखेको पनि हो । अहिले सुधारका लागि काम गरिरहेका छौं । हामीले सबैभन्दा महत्वपूर्ण भनेर शौचालयको व्यवस्थापन गर्‍यौं । यसअघि दुर्गन्धित अवस्थाको शौचालय अहिले व्यवस्थित भएको छ । सरसफाइको अभाव, बस्ने ठाउँको अभाव, खानेपानीको व्यवस्था नहुँदा विमानस्थल पुग्ने सबै दुःखी हुन्थे । यो मेले पनि भोगेको कुरा हो । यिनै विषयले घोचिरहँदा मैले मेरै नेतृत्वमा शौचालयको व्यवस्थापनबाट काम शुरु गरेँ । मैले सानो कुराबाट नै सुधार गर्न सकिन्छ भनेर काम थाले ।

हामीसँग खर्च गर्ने ठूलो बजेट पनि छैन । ठाउँ थोरै छ, समयमा काम गर्न कठिन छ । त्यसैले अहिलेको ‘ले आउट’लाई भत्काएर ठुलो संरचना बनाउन गाह्रो छ। त्यही भएर मेरो पहिलो सुधारको क्षेत्र रेष्टरुम (शौचालय) बन्यो । ट्वाइलेट विगतमा नभएको होइन, प्रभावकारी काम भएन । कामका नाममा झारो टार्ने मात्र गरियो । मैले सरसफाइका ठेकेदारसँग राम्ररी कुरा गरेँ । गर्न सक्ने क्षेत्रको सुधार गरेर हेरियो । त्यहाँ सफलता प्राप्त भयो । जताततै भ्रष्टाचार व्याप्त छ । ट्वाइलेटमा प्रयोग गर्ने हार्पिकमा पनि दुरुपयोग भएको पाइयो । बील धेरै भएपनि कम गुणस्तरको सामानका कारण सफाइ नभएको पाइयो । त्यसलाई व्यवस्थापन गरियो।

अर्को स्टोरको विषय थियो । हामी नेपालीको बानी नै छ, खाली ठाउँ भेट्यो कि फोहोर थुपारिहाल्ने । विमानस्थलका धेरै स्थानमा यो भेटिन्थ्यो । केहिदिन अघिको मात्र उदाहरण दिँदा पनि ‘डोमेस्टिक’को अगाडि भाँचिएका कुर्सी टेबल राखिएको थियो । त्यहाँका प्रबन्धकलाई सोधेँ, स्टोर दाखिला नभएर राखिएको भने । उनलाई आजै हटाएनौ भने नसियत दिन्छु भने । (नसियत पाएको कर्मचारीको तीन वर्ष बढुवा रोकिन्छ ।) त्यसपछि उनले रातारात गरेर त्यहाँको सामान व्यवस्थापन गरे । अहिले त्यो ठाउँ व्यवस्थित बनेको छ ।

विमानस्थलमा जाडोमा चिसोले कठ्याङ्ग्रिनु पर्ने र गर्मीमा हाते पंखा चलाउनुपर्ने बाध्यता थियो । विमानस्थलले सेन्ट्रल एसीको निर्माणका लागि २ वर्ष अघि टेन्डर गरेको थियो । यो कामको प्रगति बुझेँ । मैले ठेकेदारलाई बोलाएर काम नहुनुको कारण बुझेँ । इञ्जिनियरलाई बोलाएर पछिल्लो अपडेट सोधेँ । सबैका आआफ्नै गुनासा थिए । मैले निर्धारित समयमा काम नसके पेनाल्टी लगाउँछु भनेको छु । कारबाही पनि गर्ने चेतावनी दिएको छु । अब यो काम चाँडै सकिन्छ । विमानस्थल पुगेका यात्रुले गर्मीमा चिसो र जाडोमा न्यानो महशुस गर्नेछन् ।

अर्को बस्ने व्यवस्था थिएन । त्यो समस्या समाधानका लागि हेड अफिसबाट मागेर २ हजार मानिस बस्न सक्ने कुर्सीको व्यवस्थ गरेको छु । इन्टरनेसनल र डोमेस्टिकमा अब कुनै समस्या छैन ।

हुन त हामीले विकसित देशको एयरपोर्टसँग तुलना गछौं । उनीहरुको जति बजेट नहुँदा त्यहाँको जस्तो स्तरीय बनाउन नसकेपनि हाम्रो बजेटले भ्याएसम्म अहिले त्रिभुवन विमानस्थलको स्तरोन्नती भएको छ ।

विदेशी पर्यटकको स्वागतका लागि के गर्नुभएको छ विमानस्थलमा ?

० मैले धेरै धेरै देशका विमानस्थल हेरेको छु । जहाँ गरिएका कुरालाई हामीले सकेसम्म यहाँ पनि व्यवस्थापन गर्न प्रयास गरेका छौं हाम्रो बजेट सानो भएकाले नेपालको कला संस्कृति झल्कने, नेपाललाई चिनाउने र नेपालको आथित्यता देखाउने सामान्य कुरालाई विमानस्थलमा प्रयोग गरिएको छ । जुन सबैको रोजाइको बन्दै गएको छ ।

मैले ग्रामीण भेगमा हुने स्वागतको सानो झल्को एयरपोर्टमा दिने प्रयास गरेको छ । विमानस्थलमा झर्ने यात्रुलाई लक्षित गर्दै सानो तामाको गाग्रोमा फूल पानी राखेर ‘वेलकम टु नेपाल’ लेखेर राखेको छु । त्यहाँका भित्तामा हाम्रो सम्पदा, संस्कृति झल्कने तस्वीरले डेकोरेसन गरेको छु । गरुडको मुर्तिलाई व्यवस्थित रुपमा राखिएको छ । त्यो अहिले सुन्दर बनेको छ । विदेशीले त्यसलाई सेल्फी पोइन्टका रुपमा लिन थालेका छन् । यो कम लगानीमा भएको ठूलो काम हो । यो काम हामीले मात्र ५ लाख रुपैयाँको लागतमा गरेका छौं । विदेशीले त्यहाँ ओर्लने बित्तिकै सोध्ने गर्दा रहेछन् । ‘गाग्रोमा फूल किन राखेको’ भनेर ।

उनीहरुलाई यो हाम्रो संस्कृती हो, परम्परा हो अतिथि देवो भवः भन्ने मान्यता रहेकाले भरी गाग्री पानी र फूलले स्वागत गरेको भन्दा उनीहरु मख्ख परेको पनि पाइयो । अझ भित्र छिरेपछि कुमारीको फोटोमा ‘वेलकम’ भनिएको छ । विदेशी विमानस्थल सुविधासम्पन्न भएपनि यस्ता कुरा गरेको हुँदा रहेनछन् । हाम्रोमा गरेको यो काम नयाँ र प्रभावकारी भएको छ । यो नै आथित्यताका लागि नेपाल आउनेलाई गरिएको पहिलो स्वागत हो ।

पार्किङको समस्या चाँही के हो ? टाढासम्म सामान बोकेर हिँड्नुपर्ने गुनासो सर्वसाधारणको छ ?

० तपाईंले पहिले देख्नु पनि भएको थियो होला, पहिले विमानस्थलबाट निस्कने बित्तिकै भद्रगोल पार्किंङ थियो। जसले पाकेटमार समस्यादेखि ट्याक्सी ड्राइभरले यात्रुलाई तान्दा सट च्यातिएका सम्म गुनासा लिएर आउनेको लर्को लाग्थ्यो । यसलाई व्यवस्थापन गर्न मैले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीसँग अनुरोध गरेँ । शुरु शुरुमा केही टाढा भएकाले यात्रुहरुलाइ केही समस्या भएकै हो ।

त्यो बेलामा पनि १० वटा समस्या भोग्नुभन्दा एउटा समस्याको सामना गर्नु ठीक भनेर मेरै पहलमा पार्किङ तल सारिएको हो । पहिला सामान आफैं बोक्नुपर्ने थियो । तर अहिले यात्रुले ट्रलिमा सामान लैजान पाउँछन् । त्यसैले समस्याको समाधान भइसकेको छ अहिलेको सानो समस्या भनेको ट्रली तल पुर्‍याउँदा केही ओरालो भएकाले धेरै सामान लिएर जाने शारीरिक रुपमा अलि असक्त व्यक्तिलाई चाँही समस्या हुन सक्छ । तर पिक एण्ड ड्रप गर्ने गाडीलाई माथि नै जान दिने व्यवस्था मिलाएका छौं।

यो समस्या पनि अब असार १ गतेबाट समाधान हुन्छ । एउटा यात्रु विमानबाट ओर्लेपछि सोझै पार्किङमा पुग्ने गरी हामीले व्यवस्थापन गर्दैछौं । त्यसका लागि लिफ्ट तथा एक्सीलेटरसहितको व्यवस्था गरिदैँछ । त्यसपछि कुनै समस्या हुँदैन ।

विमानस्थलले अन्तर्राष्ट्रिय क्षेत्रलाई प्राथमिकतामा राखेर आन्तरिक तर्फ अलि बढी समस्या भएका हुन्?

० हैन हामीले सबैलाई व्यवस्थापन गर्दैछौं । अघि पनि कुरा उठ्यो शौचालय व्यवस्थित बनाइयो । एसीको व्यवस्थापन हुँदैछ । तर ठाउँ सानो भएका कारण कुर्सी राख्ने स्थानको अभाव छ । त्यसलाई मिलाउन विमानस्थलको दक्षिण र उत्तरतर्फ रहेका भवनको विस्तार गरी कम्तीमा १ सय ५० जना बस्न सक्ने ठाउँ बनाउँदैछौं । त्यसका लागि नेपाली सेनासँग पनि कुराकानी भएको छ । हामीले बनाउने भवनको ग्राउण्ड विमानस्थलले प्रयोग गर्ने र माथिल्लो भवन सेनाले प्रयोग गर्ने भन्ने कुरा छ । यो झण्डै १० रोपनीको क्षेत्रफलमा बन्छ । यो कामका लागि टेन्डर समेत भइकसकेको छ ।

अर्को समस्या एक्सरे नभएर सेक्युरिटी चेक नहुने अवस्था थियो । अहिले कम्तीमा सुरक्षा व्यवस्था मजबुद बनोस भनेर एक्सरेका सामानहरु ल्याएर राखेका छौं । अहिले त भीआईपीको पनि एक्सरे हुन्छ । यो पहिले व्यवस्था थिएन । तर अहिले भीआईपीले यात्रा गर्दा विदेश जाँदा एक्सरे गर्नुपर्छ । उहाँहरुको सामान मेसिनमा हाल्नुपर्छ । मैले ति व्यवस्थाहरु गरेको छु ।

तपाईंले बुटिक एअरपोर्ट बनाउँछु भन्ने भएको छ। यो भनेको के हो?

० सम्माननीय प्रधानमन्त्रीको निर्देशन पछि दुईवटा काम गर्न लागेका छौं । एउटा ‘सर्टटर्म’ एउटा ‘लङटर्म’ । सर्ट टर्ममा बैशाख १ गते प्रधानमन्त्रीबात शुभारम्भ गर्ने कुरा भएको छ त्यतिबेलासम्म के काम गर्न सकिन्छ । एउटा साधारण गार्डेन, गमलाहरु राख्ने बाहिरपट्टि सिलिकन पेन्ट लगाउने यी कामहरु भएका छन् । नराम्रा संरचनाहरु छन् भने त्यसलाई भत्काउने काम हामी गर्छौ ।

‘लङटर्म’मा चाहीं यसलाई धेरै व्यवस्थित गछौं । हामीलाई झण्डै ४०/४२ करोड रुपैयाँ बजेट चाहिएको छ । त्यो रकमको व्यवस्था नागरिक उड्डयन प्राधिकरणले नै गर्छ । त्यसका लागि हामी अहिले लागि परेर काम गरिरहेका छौं । त्यसका लागि १ बर्षको समय लाग्छ । हामीले आजबाट १५ दिन भित्रै एराइभल तर्फ १ सिंगे गैंडा राख्दै छौं । त्यसले पनि एअपोर्ट राम्रो देखिन्छ ।

बुटिक भन्ने वित्तिकै आधुनिक सुविधाले भरिपूर्ण तर आफ्नो मौलिकता झल्कने खालको भन्ने बुझिन्छ । त्यसका लागि विमानस्थलमा यात्री आवतजावत गर्ने ठाउँलाई आफ्नो कला र संस्कृति झल्कने गरी सजावट गरिन्छ । हामी कला र संस्कृतिमा धनी छौं र विमानस्थललाई सोही प्रतिविम्बित हुने गरी कलात्मक बनाउँछौं । जसले पर्यटकलाई सजिलै आकर्षित गराउन सकिन्छ ।

नेपाल भ्रमण वर्ष २०२० मा यो विमानस्थल बुटिक एयरपोर्ट बन्ला ?

० तपाईंले एउटा के कुरा बुझ्नु जरुरी छ भने बुटिक एयरपोर्ट भनेको हाम्रो दीर्घकालीन योजना हो, नेपाल भ्रमण वर्षलाई मात्र लक्षित गरेर ल्याइएको योजना होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक एयरपोर्टको रूपमा दीर्घकालसम्म रहन्छ । नेपाल भ्रमण वर्ष मनाउने सरकारको योजनामा पनि यसले पूरै सहयोग गर्नेछ । जहाँ सम्म पर्यटन बर्षमा बुटिक एयरपोर्ट बनिसक्छ भन्ने प्रश्न गर्नुभएको छ, अवस्य पनि बनिसक्छ। सक्ने गरी हामी काम गछौं। पर्यटन बर्ष मनाईरहँदा पर्यटकले बुटिक एयरपोर्ट हेर्न पाउँनेछन् ।

अब बर्खा लाग्दैछ । धावनमार्ग भत्कँदा उडान अवतरण अवरुद्ध भएका समाचार बढी सुनिन्छ । यसको व्यस्थापन गर्न तपाईंले केही योजना ल्याउनुभएको छ?

० हो धावनमार्गको समस्या पहिले पहिले धेरै थियो । अहिले पनि बेला बेला हुन्छ । तर त्यसका लागि अब हामी आगामी अप्रील १ बाट अहिले भएको रनवे सबै मेट्रियल परिवर्तन गरेर नयाँ सामान प्रयोग गरी रनवे बनाउन शुरु गर्दैछौं । त्यसका लागि तीन महिना जति राति १० बजे देखि बिहान ८ बजेसम्म हाम्रो एयरपोर्ट बन्द हुन्छ । यो काम ३ महिनामा सकिन्छ । त्यसपछि रनवे सँगसँगै ट्याक्सी वे बन्छ । जहाँबाट जहाज गएर रनवेमा छिर्छ त्यो आधामात्र छ ।

विश्वमा यस्तो कहीं पनि हुँदैन, त्यो पुरै रनवे जति नै ट्याक्सी वे हुन्छ । त्यो हामी पनि यहाँ गर्दै छौं । त्यसको लागि ८/९ महिना जति लाग्ला । त्यसपछि ‘स्टायल जोन’ भने सेक्युरिटी पछि अन्तिममा गएर हामी कुर्ने ठाउँ हो । यो अलि सानो भयो व्यवस्थित भएन भनेर हामीले छुट्टै बनाउँदै छौं । त्यो पनि ६ महिनाभित्र पूरा हुन्छ ।

त्यसपछि हेलिप्याड अहिले हाम्रो डोमेस्टिकको धेरे नजिक भयो । सेफ्टीमा मापदण्ड पुगेन की भन्ने कुराहरु पनि आएका छन् । अहिले हामीले हेलिप्याडलाई पनि तल लगेर नयाँ हेलिप्याड बनाउने योजनामा छौं । नयाँ टर्मिनल बनाउने भन्ने कुरा छ । यसको लागि साढे २ वर्ष समय लाग्छ ।

प्रधानमन्त्री सवार विमान नै आकाशमा होल्ड भयो भनेर निक्कै हंगामा भयो । भीभीआईपी सवार विमान किन होल्ड हुन्छ ?

० विगतको तुलनामा होल्ड चाहिं धेरै कम भएको छ । किनभने पहिले साढे १८ घण्टा प्लेन सञ्चालनमा थियो तर अहिले झण्डै झण्डै २२ घण्टा विमानस्थल सञ्चालनमा छ । डोमेस्टिक पहिले बिहान ६ बजे खुल्थ्यो अहिले ५ बजेबाट खोलेका छौं । पहिला टावर ६ बजे खुल्थ्यो अहिले ५ बजे खुलाउँछौं । यी कुराहरुले पहिले भन्दा केही सुधार भएको छ । तर पनि के हुन्छ भने यो जाडो मौसममा बिहान ८/९ बजेसम्म भिजिविलीटी जिरो हुन्छ त्यसमा जहाज उडाउने कुरा भएन ।

९/१० बजे बल्ल मौसम खुल्छ अनि त्यसपछि बिहानदेखि जाम भएका जहाज र १० बजे पछिका जहाजसँगै हुन्छन् । त्यसले गर्दा केही समस्या आएको हो । तर यो समस्या समाधानका लागि पनि हामी लागि परेकै छौं । जहाज होल्ड नहुने गरी उडान अवतरण गर्ने हाम्रो योजना छ । अव रनवे बनिसकेपछि हामीले एयरपोर्ट २४ सै घण्टा खोल्छौं । त्यसपछि धेरै समस्या हट्छन् ।

तपाईंहरुले एयरलाइन्सहरुबाट लिनुपर्ने धेरै बक्यौता उठ्न बाँकी छ । किन यस्तो भएको हो ?

० हो, एअरलाइन्सको बक्यौता धेरै छ । अहिले मेरै नेतृत्वमा गरिएको ताकेताले ५५ करोड बढी उठेको छ । नियमित कारोबार गर्नेले तिर्नुपनि भएको छ । म आइसकेपछि मेरो पालामा १ बर्षको अवधिमा देखिएको बक्यौता भनेको हिमालयन एयरलाइन्सको १९ करोड बढी हो । त्यो पनि विलम्ब शुल्क सहित । मैले यो उठाउन ताकेता पनि गरेको छु ।

उहाँहरुलाई लिखित प्रतिबद्धता गरेर पैसा समयमै तिर्नु भएन भने कुनैपनि बेला तपाईंको जहाज गाउन्ड गर्दिन्छु पनि भनेको छु । मैले सार्वजनिक लेखा समितिमा गएर पनि कबुल गरेर आएको छु । उनिहरुले पनि तिर्छु भनेका छन् । भर्खरै मात्र १ करोड पनि पठाउनु भएको छ । त्यो बाहेक सबै पुरानो बक्यौता हो । त्यो पनि चाँडै उठाउँछौं ।

अर्को भन्सार विभागको ५५ करोड तिर्न बाँकी छ । भन्सार विभाग भनेको अर्थ मन्त्रालयमातहतको हो । यो नेपाल सरकार कै निकाय हो । हामी सिधै उहाँहरुलाई रोक्न पनि सक्दैनौं । हामीले पत्राचार गरेका छौं, उहाँहरुले निकासाको प्रक्रियामा रहेको बताउनुभएको छ । अर्को नेपाल एयरलाइन्सको पनि ३४ करोड बक्यौता छ । पहिले म आउँदा ५५ करोड थियो ।

तर अहिले तिर्दै घटाउँदै उहाँहरुले ३४ करोडमा झार्नु भएको छ । उहाँहरुलाई पनि हामीले सिधै भन्न सक्ने अवस्था छैन । त्यसपछि एयरएसियाको २० करोड चानचुन छ । त्यसबाहेक ठुला बक्यौता छैनन । अर्को समस्या बन्द भइसकेका एयरलाइन्सहरुमा चाहीं उठाउन समस्या छ । त्यसका लागि पनि हामीहरुले पहल गरिरहेका छौं ।

विमानस्थल आपराधिक गतिविधि गर्ने ट्रान्जिट प्वाइन्ट बन्दै गएको कुरा पनि सार्वजनिक हुने गर्छ । वास्तविकता केहो ? कसरी व्यवस्थापन गर्नुहुन्छ ?

० म विमानस्थलमा जिम्मेवारी लिएर आउनु अघि के–के भयो त्यो मैले भन्न सक्ने कुरा भएन । तर पहिलेको तुलनामा अहिले विमानस्थलमा धेरै सुधार आएको छ । विगतमा हुने गरेका घटनामा समेत ८० प्रतिशतले कमी आएको छ । अहिले हामीले प्रत्येक महिना सुरक्षा समितिको बैठक राख्ने गरेका छौं । जहाँ मसहित र भन्सार प्रमुख, टर्मिनल प्रमुख, प्रहरीका डीआईजी, नेपाल आर्मीका जर्नेललगायत एयरलाइन्सका डाइरेक्टरहरू पनि हुन्छन । सबै बसेर हामीले सुरक्षा अवस्थालाई चुस्त पार्ने हरक्षण हरपल काम गरिरहेका छौं । पहिलेको तुलनामा अहिले आपराधिक गतिविधिमा कमी आएको छ ।

विमानस्थल सुधारका नयाँ योजना केही छन् त ?

० सबैभन्दा पहिले कुरा स्रोतको व्यवस्थापन हो । योजना र सुधारका काम पनि यही स्रोतले निर्धारण गर्ने हो । त्यसको लागि मलाई प्रधान कार्यालयबाट सहयोग भइरहेको छ । दोस्रो कुरा हाम्रो एउटा मेन्टालिटी देख्छु कर्मचारी लगायत सबैमा । जागिर भनेको १०–५ खाने हो । त्यो खाएर हामी जान्छौं । त्यो मलाई कहिलेकाहीं समस्याका रुपमा रहन्छ । मैले चाहन्छु कम्तिमा केही गरेर देखाउँ । तर म एक्लै केही गर्न सक्दिन । मलाई सबैको सपोर्ट चाहिन्छ । हुन त मलाई सबैको सपोर्ट भएकै कारण धेरै सुधार भएको छ ।

त्यसैले स्रोतको व्यवस्थापन भयो, दक्ष प्राविधिकको व्यवस्थापन गर्न सकियो, कर्मचारीमा १०–५ जागिर भन्दा पनि मेरो जिम्मेवारी, दायित्व भन्ने भावनाको विकास गर्न सकियो भने सबै कुरा विस्तारै मिलेर जान्छ ।

मेरो कार्यकाल अझै एक वर्ष छ । यो अवधिमा त्रिभुवन विमानस्थलको मुहार फेरेरै निस्कन्छु भन्ने प्रण गरेर काम गरिरहेको छु।


भर्खर

0