मकैका परिकार बेच्ने अधिकारीको कमाई मासिक १ लाख | Khabarhub Khabarhub
Logo
१७ फाल्गुन २०७६, शनिबार

मकैका परिकार बेच्ने अधिकारीको कमाई मासिक १ लाख



काठमाडौं–ललितपुरको झम्सीखेलमा रहेको एउटा क्याफे । जहाँ चारैतिर हरियो रङले सजिएको देखिन्छ । क्याफे भित्र राखिएका टेबल पनि हरियो नै । भित्तामा मकैको तस्वीर झुन्डाइएको।

क्याफेको बाहिरपट्टी ७ फिट अग्लो मकैको सालिक राखिएको थियो भने प्रस्ट देखिने गरी बोर्डमा लेखिएको थियो ‘मिस्टर कर्न’।

टेबलमा बस्नेहरु मेनु हेर्नतिर व्यस्त देखिन्थे । कोही भने खाजा खाइरहेका थिए ।

सुन्दा अचम्म लाग्न सक्छ मकैबाट मःम, चाउमिन, पिज्जा बन्छन् भन्ने कुरा । किनकी रेष्टुरेन्टमा भेज र चिकेन खाजा सेट खाने सबैको बानी भइसकेको छ । तर नेपालमा पहिलो पटक मकैबाट विभिन्न परिकारका खाजा सेटहरु बनाइरहेका छन् मोरङका राजकुमार अधिकारीले ।

पोलेको भुटेको र मकैको पीठोको ढिँडो खाने प्रचलन नेपालीलाई नौलो होइन । तर यसरी अनेकन मकैका परिकार तयार पार्नु चाँही नेपालीलाई नौलो हुनसक्छ ।

स्वास्थ्यका दृष्टिकोणले पनि मकै राम्रो मानिन्छ । मकै नेपालमा राम्ररी उत्पादन हुने खाद्य बाली पनि हो । यसरी मकैका नयाँ नयाँ परिकार बने बाँझो बनेका नेपाली जमिनमा मकै फल्ने छ ।

मानिसहरु आयत गरिएका चामलको भात खाना रुची राख्ने तर आफ्नै भूभागमा उब्जिएको मकैको ढिँडो खाना नरुचाउने अवस्था बन्दै गएको छ । जसको फलस्वरुप परनिर्भरता बढ्दै गएको पनि पाइन्छ ।

तर यसरी मकैको महत्व चिन्न सक्ने हो भने र नेपालभर यसरी क्याफे खोल्न सकेमा मकैको उत्पादन पनि बढाउन सकिन्छ । अनि नेपालमै युवावर्गलाई रोजगारीको अवसर पनि दिलाउन सकिन्छ ।

 

यो नेपाली बजारमा थपिएको व्यवसाय मात्र होइन । हरेक दिन एकै प्रकारका खाजा खाइरहेकाहरुका लागि फरक स्वाद पनि हो ।

विगत ९ महिनादेखि मिस्टर कर्नले फरक परिकारका खाजाहरु पस्किरहेको छ । छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको अधिकारी बताउँछन् ।

झम्सीखेलमा क्याफे चलाइरहेका राजकुमार वि.स. २०४७ सालमा मोरङमा जन्मिए । चञ्चले स्वभावका राजकुमार परिवारका कान्छा छोरा हुन् । उनका दुई दिदी र एक दाजु छन्।

मोरङकै सरकारी विद्यालयमा अध्ययन गरेका उनको बाल्यकाल निकै रमाइलो थियो । परिवारका कान्छा सन्तान भएकाले पनि उनले सबैको माया पाए ।

पढाइ पनि धेरै राम्रो थियो उनको । पढाइसँगै विद्यालयले गर्ने अन्य अरिरिक्त क्रियाकलापमा पनि अब्बल थिए राजकुमार । उनी मात्र होइन परिवारका चारै जना दिदीभाइ पढाइमै ज्यादै मेहनती रहेको राजकुमार सुनाउँछन् ।

‘१ देखि १० कक्षासम्म पढ्दा दोस्रो भएको कुनै रेकर्ड नै छैन’ बाल्यकाललाई स्मरण गर्दै उनले भने ‘पढाइमा मात्र होइन वक्तृत्वकला, हाजिरीजवाफ, वादविवाद जस्ता थुप्रै कार्यक्रममा जित हासिल गरेको थिएँ ।’

वि.स. २०६२ सालमा एसएलसी उर्तीण गरे उनले । परिवारको आर्थिक अवस्वा कमजोर नै थियो । बाआमा किसान थिए । जो हरेक दिन खेतवारीमा समय बिताउथे ।

‘बाआमाले गरेको कामले जे होस परिवारमा खाना लगाउन त पुग्थ्यो’ खबरहबसँग कुरा गर्दै उनले भने ‘तर चार जनालाई पढाउन मुस्किल नै थियो ।’
परिवारको आर्थिक अवस्थाले उनको पढाइमा कुनै प्रभाव भने पारेन । राजकुमारले झनै मेहनत गरेर पढे र छात्रवृत्तिसमेत पाए ।

के पढ्ने र भोलि के बन्ने भन्ने चिन्ता थिएन उनलाई । सानैदेखि धेरै पढ्ने र इन्जिनियर बन्ने सोच थियो उनको । राजकुमार इन्जियनियर बन्न उनका मामाका छोराहरुबाट प्रेरित थिए ।

एसएलसीमा राम्रो अङ्क ल्याएपछि उनी अध्ययनकै क्रममा धरान पुगे । हात्तीसार क्याम्पसमा गएर उनले आइएसी अध्ययन गरे । सुरुवातमा अंग्रेजीमा कमजोर भएको महशुस हुन्थ्यो उनलाई । तर पनि मेहनतका साथ लागि परे उनी ।

२ वर्षीय कोर्ष सकाएर मोरङ फर्किए उनी । फेरि थप पढाइका लागि राजधानी काठमाडौं जानपुपर्ने परिस्थिति बन्यो । तर परिवारको खर्चले धान्न सक्ने अवस्था भने थिएन । उनको परिवारलाई निकै चाप थियो । उनका दाजु भरतपुर थिए स्वास्थ्य शिक्षाका लागि ।

इन्जिनियर पढ्न काठमाडौं प्रवेश

काठमाडौंमा बसेर पढाउन नसक्ने भन्दै उनका बुबाले उनलाई सम्झाउँथे । ती दिनहरु उनको मानसपटलमा अझै पनि ताजै छन् । ‘त्यतिबेला बुबाले इन्जिनियर नपढ छोरा आर्थिक अवस्थाले भ्याउँदैन बरु विराटनग,र भरतपुर जा बिएचएम पढ भन्नु भएको थियो’ कुराकानीका क्रममा उनले भने ‘तर मलाई इन्जियनियर नै पढ्नु थियो काठमाडौं नै आउनु थियो ।’

‘मलाई त्यो बेला मेरी आमाको हौसला र दिदीको साथले ठूलो काम गर्‍यो,’ खुसी हुँदै राजकुमारले भने ‘सिभिल इन्जिनियर पढ्न काठमाडौं आएँ ।’

११ वर्षअघि उनी इन्जियनियर पढ्ने सपना बोकेर काठमाडौं आए । शुरुमा ललितपुरस्थित चाकुपाटमा डेरा लिएर बसे । केही समय साथीसँगै डेरामा बसे उनी ।
इन्जिनियर पढ्नका लागि नाम निकाल्ने तयारीमा थिए । उनले थापाथली क्याम्पसबाट प्रवेश परीक्षा दिए ।

‘काठमाडौंमा उत्कृष्ट नम्बर ल्याउनेहरुसँग प्रतिस्पर्धा गर्नुपर्दा कठिन त थियो नै’ उनले भने ‘त्यही कठिनलाई पार गर्नका लागि दिनरात नभनी पढ्न थाले ।’
‘सरकारीमा नाम निकाल्न नसके ७/८ लाख लाग्थ्यो निजी क्याम्पसमा पढ्न’ राजकुमार भन्छन्, ‘त्यति खर्च गर्न सक्ने अवस्था नै थिएन ।’

थापाथली क्याम्पसमा १ नम्बरमै नाम निस्कियो र त्यही होस्टेल बसेर अध्ययन शुरु गरे । ०६६ सालमा अध्ययन शुरु गरेका उनले ०७० मा अध्ययन सकाए ।

शिवम् सिमेन्टदेखि अम्बे स्टिलसम्म

‘काठमाडौं आएर इन्जिनियर पढ्ने सपना पुरा भयो । आँट गर्नुपर्छ जस्तो सुकै काम पनि गर्न सकिन्छ’ उनी भन्छन्, ‘आर्थिक अवस्था त्यस्तो हुँदाहुँदै मैले चुनौती बोकेर काठमाडौं आए नाम निकालेर पढेँ ।’

‘मेरो हातमा प्रमाणपत्र आइपुगेको थिएन तर मलाई जागिरको अफर आयो’ मुस्कुराउँदै उनले भने ‘रोजगारको पहिलो यात्रा शिवम् सिमेन्टबाट शुरु भयो ।’

शिवम् सिमेन्टमा राजकुमारले सिमेन्टको गुणस्तर परीक्षण गर्ने, रिपोर्ट बनाउने र त्यसलाई प्रस्तुत गर्ने काम गर्थे । शिवम्मा करिब ४ महिना काम गरेपछि उनी जागिरकै क्रममा सीजी सिमेन्ट, सिद्धार्थ सिमेन्ट हुँदै अम्बे स्टिलसम्म पुगे ।

आफ्नै व्यवसाय : मिस्टर कर्न

त्यतिबेला राजकुमारको बिहे भइसकेको थियो भने उनी बुबा बन्ने भएका थिए ।

हरेक महिलालाई गर्भवती भएको समय अमिलो पिरो बढी मनपर्ने हुन्छ । तर उनको श्रीमतीको भने फरक चाहना बन्यो । त्यो हो मकै ।

हरेक दिन सडकमा बसेर पोलेको मकै खान्थिन् उनी । त्यतिमात्र होइन खाँदा–खादा मकै मात्र मनपर्ने भयो उनलाई । शहरको धुँलो । ‘सडकभरि भीडभाड त्यति कुनामा पोलिरहेको मकै कतिन्जेल खाने ?’ उनले भने ‘अब घरमै मकै पोल्ने व्यवस्था गर्छु भन्ने सोच बनाएँ ।’

सोच त बनाए उनले तर घरको कोठामा मकै पोल्न कहाँ सजिलो हुन्छ र । ठूला होटल तथा रेष्टुरेन्टहरुमा पनि पुगे उनी । तर काही भेटेनन् मकैका परिकार बनाउने ठाउँ ।

घरमै बसेर इन्टरनेटका माध्यमबाट बुझ्ने कोसिस गरे उनले । विदेशी मुलुकमा यसका धेरै परिकारहरु पाइए पनि नेपालमा भने पहिलो पटक उनले सञ्चालन गर्दै थिए यो व्यवसाय ।

व्यवसाय सञ्चालन गर्नका लागि उनले छिमेकी एक दाइसँग सल्लाह लिए । उनी विदेशमा केहि वर्ष होटल मै काम गरेका थिए । अनुभवी दाइ दुर्गाबहादुर सुवेदीलाई भेटेपछि उनले आफैं यो व्यवसाय शुरु गरे ।

अन्नतः चावहिल चोकमा दुइजनाको सहकार्यमा ‘मिस्टर कर्न’ नामक रेष्टुरेन्ट खोले ।

मकैबाट परिकारका खाजाहरु

‘मिस्टर कर्न’ मा मकैका नौला–नौला परिकारको स्वाद पाइन्छ । कर्नमा अमेरिकन कर्न, बोयल कर्न, स्विट कर्न, पकौडा, पिज्जा, बर्गर, ममः चाउमीन, थुक्पा, कर्न डग्स, सुपजस्ता परिकारहरु पाइन्छ ।

मिस्टर कर्नमा उपलब्ध हुने मकैका परिकारहरु अन्य रेष्टुरेन्टमा पाइदैनन् । नेपालमा यसको ब्रान्ड नै पहिलो हो ।

तर कर्नमा बनाइने खाजामा प्रयोग हुने मकै भने स्वदेशमा उपलब्ध छैन । ‘खाजामा दुधे मकैको प्रयोग हुन्छ’ राजकुमारले भने ‘यो दुधे मकै भारतबाट आउँछ ।’

नेपालमा प्रशस्त मात्रामा मकै उत्पादन भएपनि दुधे मकैमा धेरै मेहनत गर्नुपर्ने र यसबारे सबैजना जानकार नभएकाले बाह्य मुलुकबाट ल्याइरहनु परेको उनले गुनासो गरे ।

झम्सीखेलमा ‘मिस्टर कर्न’ को शाखा

चावहिलमा पहिलोपटक सेवा थालेको मिस्टर कर्नले ललितपुरको झम्सीखेलमा शाखा खोलिसकेको छ ।

यससँगै आगामी १५ दिनभित्र मिस्टर कर्नको शाखा ठमेलस्थित छायाँ सेन्टरमा पनि सञ्चालन हुने भएको छ । अहिले कर्नले ४ जनालाई रोजगार समेत दिएको छ ।

साथै उचित स्थानको छनौट गरी उपत्यकामै अन्य स्थानमा पनि शाखा खोल्ने राजकुमारको तयारी छ । ‘पहिले ४ वटा आउलेट खोलौं उपत्यकामा’ राजकुमारले भने ‘त्यसपछि उपत्यकाभन्दा बाहिर जानुपर्छ ।’

मासिक कमाई १ लाख

एउटा क्याफे खोल्नका लागि राजकुमारले करिब १० लाख लगानी हालेका थिए । सेन्टरमै भएपनि चावहिलमा राम्रो चल्न नसकेपछि उनले त्यसलाई छायाँ सेन्टरमा सारिरहेका छन् ।

दुई स्थानबाट मासिक रुपमा १ लाख रुपैयाँसम्म आम्दानी भइरहेको उनी बताउँछन् । नौलो क्याफे भएपनि राम्रै चलेको र ग्राहकले राम्रो प्रतिक्रिया दिएकाले आउने दिनमा थप परिकार थप्ने र आउलेट थप्दै जाने उनको भनाइ छ ।


भर्खर

0