बालबालिका ‘हत्या’को डरलाग्दो श्रृंखला, ५ वर्षमा ४१६ को ज्यान गयो | Khabarhub Khabarhub

बालबालिका ‘हत्या’को डरलाग्दो श्रृंखला, ५ वर्षमा ४१६ को ज्यान गयो



काठमाडौं– नेपाली समाज दिनप्रतिदिन क्रुर बन्दै गएको छ । पछिल्लो समय बढेका हत्याहिंसाका घटनाले पनि यसलाई पुष्टि गर्छ । त्यसमा पनि अबोध बालबालिका विभिन्न गतिविधिको सिकार बन्दै अनाहकमा ज्यान गुमाइरहेका छन् । सुरक्षा निकायको तथ्यांक हेर्दा पनि नेपालमा अवोध बालबालिका हत्याको ग्राफ हरेक वर्ष बढ्दो अवस्थाको छ । प्रहरीले बालबालिका हत्याका घटना कम गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेपनि समस्या घटेको छैन । अपराधीले आफ्नो अभिष्ट पुरा गर्न बालबालिकालाई निशानामा पार्ने गरेका छन् ।

घटनाको श्रृंखला यस्तो छ

गत जेठ ३० गते काठमाडौँको लाजिम्पाटस्थित सडक किनारामा घाँटी रेटी हत्या गरिएको अवस्थामा एकजना शिशुको शव भेटियो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीका अनुसार, झण्डै १० महिनाको शिशुको शव प्लाष्टिकको झोलामा प्याक गरेर फालिएको अवस्थामा भेटिएको थियो ।

२०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भयो । चौतर्फी चर्चाको विषय बनेको यो घटनाले लामो समयसम्म सडक र सदन ताते । घटनाको छनविनका लागि झण्डै एकदर्जन समिति बने । प्रहरीले करिव ५ सय व्यक्तिमाथि अनुसन्धान गर्‍यो । तर, अहिलेसम्म घटना कसले गरायो भन्ने टुंगो लाग्न सकेको छैन ।

गत वैशाख २३ गते, धनुषा ढल्केबरमा अढाई वर्षीय बालकको शव घाँटी काटिएको अवस्थामा फेला पर्‍यो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, घरबाटै बेपत्ता पारिएका बालकको हत्या गरेर बाँसघारीमा फालेको अवस्थामा शव भेटिएको थियो । पछि प्रहरीले बालकलाई वलि दिएको भन्दै केही व्यक्तिलाई पक्राउ गर्‍यो ।

गत वर्ष मंसिर ११ गते काठमाडौंको गोंगबुबाट एकाएक हराएका ८ वर्षीय बालक प्रयास कुँवरको जेव्रा झोलामा पोको पारेर फ्याँलिएको अवस्थामा शव भेटियो । यो घटनाको दुई दिनमा प्रहरीले हत्यामा संलग्न भन्दै एकजना पक्राउ गर्न सफल भयो ।

गत वर्षकै साउनमा काठमाडौंको काँडाघारीमा बालक निशान खड्काको अपहरणपछि हत्या भयो । शव भेटिएकै दिन हत्याराको खोजीमा जुटेको प्रहरीसँग मुठभेड हुँदा दुई जना मारिए । तिनै मारिएका दुईजनाले नै बालकको अपहरणपछि हत्या गरेको प्रहरीको दाबी छ ।

यी त केही प्रतिनिधिमुलक उदाहारण मात्र हुन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, नेपालमा प्रत्यक वर्ष १ सयको हाराहारीमा बालबालिकाको हत्या हुने गरेको देखिन्छ । चालु आर्थिक वर्षमा मात्र ३४ बालक र ४१ बालिका गरि ७५ जनाको हत्या भएको तथ्याङ्क छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क हेर्ने हो भने मारिनेमा बालक र बालिकाको संख्या उस्तै उस्तै देखिएको छ । पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा २ सय ११ जना बालक मारिएका छन् भने २ सय ५ जना बालिका मारिएका छन् ।

किन मारिन्छन् बालबालिका ?

प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार, कतिपय बालबालिका हत्याका घटनामा आफ्नै बाबुआमासमेतको संलग्नता रहेको पाईएको छ । श्रीमान श्रीमतीबीचको सम्बन्ध बिग्रेपछी बालबालिका हत्या गरेर आफूपनि आत्महत्या गर्ने गरेको पाइएको छ । यसबाहेक अपरहणपछि मारिएका घटना पनि थुप्रै छन् ।

प्रवक्ता पोखरेल भन्छन् – ‘बालबालिका हत्यामा आफन्तबिचको मनमुटाव पनि कारण देखिएको छ । त्यसबाहेक गरीबी र अभावका कारण पनि बालबालिका मारिएका छन् । कहिलेकाहिं बलात्कारपछि हत्या भएका घटना पनि देखिन्छन् ।’

यता अपराध शास्त्री माधव आचार्यका अनुसार, कसैले अपराध गर्‍यो र त्यो कुनै बालबालिकाले देख्यो भने अरुलाई सुनाइदिन्छ भन्ने डरले पनि प्रमाण लुकाउन बालबालिकाको हत्या गरेको पाइन्छ । त्यस्तै कसैले बलात्कार गर्छ र त्यतिकै छाड्दा अरुलाई भनिदिने डरलो पनि बालिबालिकाको हत्या हुने गरेको पाइन्छ । अर्को मनोवैज्ञानिक समस्याका कारण पनि यस्ता घटना दोहोरिएको पाइन्छ । कहिलेकाहिं प्रतिशोध साँध्न पनि बालिबालिकाको हत्या हुने गरेको पाइन्छ ।

यस बाहेक पनि बालबालिका हत्या हुनुका पछाडि थुप्रै कारण छन् । श्रीमानले श्रीमती हुँदा हुँदै अर्कै विवाह गर्नु, बालबालिका साथमा हुँदा जीवन स्वतन्त्र नभएको ठान्नु, श्रीमानले वास्ता नगर्नु जस्ता कारणले पनि बालबालिका मारिएका छन् । कतिपयले भने पैसाका लागि धनि बाबुआमाका सन्तान अपहरण गर्ने र मार्नेसम्मका घटनासमेत बाहिरिएका छन् ।

कसरी कम गर्न सकिन्छ बालबालिकाको हत्या ?

अपराधशास्त्री आचार्यका अनुसार, बालबालिका सुरक्षित राख्न शुरुमा परिवारको भूमीका ठूलो हुन्छ । त्यसपछि बालबालिका पढ्ने विद्यालयले पनि विशेष ध्यान दिनुपर्छ । उनीहरुलाई सकारात्मक हुने तरिकाले व्यवहार गर्नुपर्छ । अर्को प्रमाण लुकाउन बालिबालिकाको हत्या भएको छ या हुँदैछ भने त्यो खतरनाक स्थिति हुन्छ ।

त्यो अवस्थामा कसुरदारलाई कडा सजाय दिएर सचेतना फैलाउने हो भने अन्य व्यक्ति डराएर त्यस्तो कार्य गर्दैनन् । यसतर्फ पनि ध्यान दिनुपर्छ ।

प्रहरी प्रवक्ता पाखेरले भन्छन् -‘हामीले बालबालिका हत्या कम गर्न छुट्टै किसिमको कार्यक्रम ल्याएका छौं । त्यसका लागि समाजमा सचेतनालगायत विभिन्न कार्यक्रमसमेत अघि बढाइसकेका छौं ।’ उनका अनुसार, जहाँ बालबालिका आमाबुबाबाटै असुरक्षित छन्, उनीहरुलाई अनाथआश्रममा राख्ने पनि गरिएको छ । प्रवक्ता पोखरेल भन्छन् -‘अपराध घटाउन प्रहरी मात्र नभई समुदाय पनि सक्रिय हुन आवश्यक छ ।’

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ८ : २४ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४