हाम्रो संस्कृति हाम्रो संस्कार

डा. कृष्ण भण्डारी

बुधबार, चैत्र ६, २०७५

Reading Time: 8 minutes

हाम्रो संस्कृति हाम्रो संस्कार

धर्म सापेक्ष जीवनशैली हाम्रो संस्कृति हो भने संस्कृतिलाई विचार र व्यवहारले पकाउने कर्म पद्धति हाम्रो संस्कार हो । संस्कृतिले पुस्तौँ पुस्ताको जीवनलाई जोड्दछ । कोही धर्मसिन्धुलाई काँध थापेर कोही निर्णयसिन्धुलाई अँगालेर कोही इतिहासका उपलब्धिलाई सम्झेर संस्कृतिको गाथा अघि बढेको पाइन्छ । संस्कृतिले सिङ्गो राष्ट्रको जीवनशैलीलाई चिनाउँछ । सामाजिक, सांस्कृतिक जीवन र धार्मिक, राजनैतिक, आर्थिक जीवनका गतिविधि समेत संस्कृतिका अङ्गभित्र पर्दछन् । प्राचीन अर्वाचनी विधि र व्यवहारको सङ्गम संस्कृति नै हो । सेवा, त्याग र सदाचारका त्रिवेणीमा फुलेको संस्कृतिलाई आत्मसात् गरी हाम्रा संस्कारहरू बनेका छन् । यिनै संस्कृति र संस्कारको सेरोफेरोभित्र आधुनिक जीवनयात्रा अघि बढेको छ ।

राज्य सत्तामा पुगेपछि कानुन छलेर गरिने भ्रष्टाचार अथवा शक्तिको दुरूपयोग गरी व्यक्ति मोटाउने प्रवृत्ति पनि अनुशासन मिच्ने कारण बनेको छ । फोहोरी राजनीति र किंकर्तव्यविमुढ जनताको सुस्तता पनि संस्कृति धराशायी पार्ने कारण बनेको छ ।

सम्+कृति = संस्कृति तथा सम्+कार = संस्कार शब्द हरेक मनसँग गाँसिएका छन् । संस्कार र संस्कृति नभएको देश या त अपाङ्ग हुन्छ या त निर्जीव । राष्ट्रिय सभ्यता र शासकीय मर्यादा यही संस्कारका उपज हुन् । विश्वविद्यालय अनुसन्धान केन्द्र हो भने संस्कार र संस्कृति अनुसन्धानको नियामक । यसरी नै स्वतन्त्र न्यायपालिका न्याय–संस्कृतिको जग हो भने विधायिका जनतासँगको प्रतिबद्धता पूरा गर्ने कार्यक्षेत्र हो । ऋषिकुलदेखि आर्षयुगसम्म आइपुग्दा मानिस शिक्षा र संस्कारले गतिशील भएको पाइन्छ । कुलक पूजा गर्नु, देव प्रतिमा स्थापना गरी मन्दिर बनाउनु, पाटीपौवा, बाटो, इनार, विद्यालय, बृद्धाश्रम, वाचनालय बनाउनु त्याग संस्कृति हो । निजी खर्चमा लोकको उपकार गर्ने कर्म गर्नु नै हाम्रो संस्कृतिको मौलिक पहिचान पनि हो । विश्वपरिवेशको अवलोकन गरी युगसापेक्ष नयाँ जीवन पद्धतिको खोजी गर्नु पनि संस्कृतिकै अङ्ग हो । त्यसैले सभ्य समाजको आफ्नोपन संस्कार र संस्कृतिमै छ भन्न सकिन्छ ।

प्रायः समाज धर्म र ईश्वरको आस्थामा बाँचेको हुन्छ । समाजले सत्ता हाँक्नको लागि निर्वाचन प्रणालीद्वारा शासक चुन्दछ । त्यो शासकले राज्यको नीति बनाई विकासका कामहरू गर्न सक्दछ तर समाजले परापूर्वकालदेखि मानिआएको धर्मलाई सधाुर्ने वा फेर्ने काम किमार्थ गर्न सक्दैन । धर्म त्यस्तो आस्था हो जुन एउटा व्यक्तिले तलमाथि गर्न मिल्दैन । राष्ट्रधर्मका आचार्य एवं संस्कार र संस्कृतिविद्हरूको बृहद् भेलाले मात्र सामाजिक रीतिथितिका बारेमा व्याख्या विश्लेषण गर्न सक्दछ । त्यो अधिकार पनि राष्ट्र प्रमुखको अनुरोध र विश्वासमा मात्र । केही वर्ष अघि प्रमुख राजनीतिक दलका केन्द्रीय नेताले राज्यको सनातन हिन्दू धर्मलाई सापेक्षबाट धर्मनिरपेक्ष बनायौँ भनी गैर उत्तरदायी काम गरे । यो बाध्यताले गरिए पनि जनभावनाले समर्थन गरेको पुष्टि भएको छैन । संस्कृति र संस्कारको मूल्य थोरै तलमाथि हुँदा सिङ्गो देशले विपरीत परिणाम भोग्नु पर्दछ ।

संस्कृति वर्ष दिनको समय चक्रसँगै देखा पर्दछ । नयाँ वर्ष अक्षय तृतीया, वैशाख पूर्णिमा, निर्जला एकादशी, हरिशयनी एकादशी, गुरुपूर्णिमा, नाग पञ्चमी, श्रीकृष्ण जन्माष्टमी, हरितालिका तीज, ऋषि तर्पणी, कुशे औँसी, सोह्र स्राद्ध, घटस्थापना, विजया दशैँ, शरदपूर्णिमा, तिहार, बालाचतुर्दशी, ल्होसार, माघे सक्रान्ति, माघे औँसी, वसन्तपञ्चमी, शिव रात्रि, राम नवमी आदि हाम्रा वार्षिक पर्व हुन् । यिनका अतिरिक्त सोह्र संस्कार, गरुडपुराण, शिव पुराण, गणेश पुराण, देवीभागवत्, श्रीमद्भागवत् पुराण लगाई मन शान्ति र गृह शान्तिका संस्कारहरू गरिन्छन् । मेलापर्व र कृषि कर्म गर्दा गाइने गीत वा घाँसदाउरा लिन वन जाँदा गाइने गीतले लोकसंस्कारलाई चिनाउँछ । विदेशबाट बाकसभरी पैसा लिएर लाहुरे घर आउँदा होस् कि मानपदवी पाई हर्षबडाइ गर्दा होस् खुशीयालीमा आफन्तलाई जम्मा गरी खानेपिउने र नाचगान गर्ने कुराले हाम्रो संस्कृतिको आफ्नै रूप र महत्व देखिन्छ । संस्कृत वाङ्मयमा सर्वे भवन्तु सुखिनः = हजुरहरू सबै सुखी हुनुहोस्, सर्वे सन्तु निरामया = हजुर सबै निरोगी हुनुहोस् । सर्वे भद्राणि परयन्तु = सबै भद्र र सभा रूपले हेर्नुहोस् । मा काश्चित् दुःख भाग्भवेत् (महाभारत शान्ति पर्व) = कोही पनि दुःखी नबनून् जस्ता सर्वकल्याणकारी विचारहरू पाइन्छन् । कठोपनिषद्को एउटा मन्त्र छ ः सहना भवतु = सँगै मिलेर बसौँ, सह नौ थुनक्तु = सबै मिलेर खाऔँ, सहवीर्यं करवाहै = सँगै मिली ठुला पराक्रमी काम गरौँ, तेजस्विनावधीतमस्तु = सबै मिली ओजस्वीपूर्ण अध्ययन गरौँ, या विद्विषावहै (कठोपनिषद शान्तिपाठ) = कोही कसैसँग विद्वेष नगरौँ । एवं रूपले – आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् – जुन कुरा आफूलाई अहितकर हुन्छ त्यो कुरा अरूसँग प्रकट नगरौँ । न वदेत् कटु वाक्यानि बृद्धानां पुरतःस्थितः (बृद्धौपनिषद् पृ. ४३) = बृद्धका अगाडि कहिल्यै कटुवचन नबोलौँ । जेष्ठभ्राता पितातुल्य तत्पत्ती मातृवन्मताः (बृद्धौपनिषद् पृ. २१) = आफ्नो जेठो दाजुलाई पिताका समान आदर गर, जेठी भाउजूलाई आमा समान आदर गर । यस्ता सन्देशमूलक भनाइहरू पुराण, उपनिषद्, शुक्रनीति, चाणक्यनीति, विदुरनीति, याज्ञवल्क्य स्मृति, गीता आदि ग्रन्थमा पाइन्छन् । ती भनाइहरू जीवनयात्राका लागि महत्वपूर्ण छँदै छन् तापनि पाश्चात्य जीवनशैली र प्रविधिले भिœयाएको संस्कृति वर्तमान समाजमा देखिन्छ । गीतामा उद्धरेदात्मनात्मानं नात्मानंयवसादयेत् ( भगवद्गीता) = मानिसले आफ्नो आत्माको उद्धार आफै गर साथै आत्मालाई कहिल्यै पनि तल नखसाल । आत्मैव ह्यात्मनो बन्धु = आफ्नो आत्माको मित्र आफू नै हो र आत्मैवरिपुरात्मनः = आफ्नो शत्रु पनि आफू नै हो भन्ने जान भनिएको छ । यी कथनले जीवन जिउने कला सिकाएको पाइन्छ ।

‘परोपकार पुण्याय पापाय परपीडनम्’ पर उपकार गर्नु पुण्यकर्म हो भने पर पीडा दिनु पाप कर्म हो । यी शास्त्रसम्मत विचारलाई जडसूत्रवादी चिन्तन भनी कानुन र मानवतावादी मूल्यमान्यताको बखान गर्ने अधुनाचेत व्यवहारमा शुद्ध हुन सकेको देखिन्न । यसैले लोकले देखाउनु पर्ने संस्कार र समाजले मान्दै आएको संस्कृतिको रक्षा गर्नु हाम्रो कर्तव्य हो ।

प्रकृति आफ्नो स्वरूपमा अडिग छ । पशुपंक्षीहरू आफ्नो मर्यादामा चलेका छन् । नक्षत्रहरू निःस्वार्थ सेवा गरिरहेका छन् । वन, उपवन, नदी, समुद्र, पहाड आफ्नो निष्ठामा छन् । तर सचेत प्राणी मानिसले सीमा अतिक्रमण गरेकाले सनातन संस्कार र संस्कृति कुरूप बनेका छन् ।

नेपालमा मेरा वा आफ्ना चिनारु व्यक्तिको भनसुन लाग्ने कुरा विकृत संस्कृतिका रूपमा देखा पर्दछ । राज्यको कानुन र धर्मभन्दा माथि नातावाद र कृपावादको खेल चलेकाले मान्छेमा कर्तव्य बोधको शिक्षा देखिन्न । पार्टी र आफन्तको पक्षपोषण गर्दा ज्ञान र कर्तव्य पाखा परेका छन् । विकास र सिद्धान्त दुई चिरामा विभाजित हुनुको मुख्य कारण पनि यही देखिन्छ ।

संस्कारको अवधारणालाई हेर्दा सादगी जीवन, निस्पक्ष न्याय चुस्त जिम्मेवारी, पापको डर, धर्मको भर उदार सेवा, पुरस्कार र दण्डको तुरुन्त व्यवस्थापन, विपन्नलाई साथ, विद्रोहीलाई धात, निर्धालाई मद्दत र बृद्धलाई आदर गर्ने कुरा मानक संस्कार नै हुन् । तर मुखमा राम वगलीमा छुरा भन्ने उक्ति देखिँदा ‘चरित्रं हि बलम्’ सत्चरित्र नै बल हो भन्ने कुरा ओझेलमा परेको छ ।

आधुनिक शिक्षा र प्रविधिले हिजोका आदर्श विचारमाथि हस्तक्षेप गर्नु पनि संस्कार र संस्कृतिको बाधक भएको देखिन्छ । आर्थिक जोहो गर्दा युवा शक्ति विदेशमा पलायन हुन पुग्नु र अन्तरदेशीय समाजको संस्कार र संस्कृति हावी हुनु पनि अर्को समस्या देखापर्नु हो । राज्य सत्तामा पुगेपछि कानुन छलेर गरिने भ्रष्टाचार अथवा शक्तिको दुरूपयोग गरी व्यक्ति मोटाउने प्रवृत्ति पनि अनुशासन मिच्ने कारण बनेको छ । फोहोरी राजनीति र किंकर्तव्यविमुढ जनताको सुस्तता पनि संस्कृति धराशायी पार्ने कारण बनेको छ । आहार, विहार र व्यभिचारमाथि निगरानी नगर्ने राज्य र घरपरिवारको उदासिनता पनि संस्कार बिर्सदै जाने कारण बनेको छ । व्यापार वा व्यवसायमाथि कडा निगरानी नराख्ने सरकारको लुरे चाला पनि संस्कार पोल्ने कारण बनेको छ । अयोग्य व्यक्ति नियामक तहमा पुगी दायित्व पूरा गर्न नसकेकाले पनि विकृति र विसङ्गति बढेको छ । यसरी हेर्दा देशको शासक देशी विदेशी कूटनीति नबुझी डलरको मोहमा परेर आफ्ना रीतिथिति बिगार्नेसम्मको काममा लाग्नुले हाम्रो शिक्षा, संस्कृति र संस्कारमा धमिरो लागेको छ । विकासका योजनासँगै दुराचारका जरा पनि फैलिँदै गएको देखिन्छ । यसले बोली र व्यवहार शुद्ध नभएसम्म एक्काइसौँ शताब्दीको समाज संस्कार संस्कृतिच्यूत हुँदै जान्छ भन्ने देखाउँछ ।

प्रकृति आफ्नो स्वरूपमा अडिग छ । पशुपंक्षीहरू आफ्नो मर्यादामा चलेका छन् । नक्षत्रहरू निःस्वार्थ सेवा गरिरहेका छन् । वन, उपवन, नदी, समुद्र, पहाड आफ्नो निष्ठामा छन् । तर सचेत प्राणी मानिसले सीमा अतिक्रमण गरेकाले सनातन संस्कार र संस्कृति कुरूप बनेका छन् । विहित–अविहित कर्म, वैधानिक अवैधानिक कर्म र सत्य र असत्य कर्मलाई मिसमास गरी भाँच्ने कुच्याउने, दोब्य्राउने, थिच्ने, हान्ने र फ्याँक्नेसम्मको काम गरी बहादुरी देखाउन खोज्दा सुसंस्कार र सुसंस्कृति बालुवाको माछा जस्तै अलापविलापमा छ । ज्ञान र विज्ञानको साक्षी पनि जडमूर्तिझैं उभिएकाले न्यायको कन्दनी चुँडेको छ । वर्तमान जीवनको बेवास्ता र मृत्युपछिको जीवनको चिन्ता गर्ने धर्मको अति व्याख्याले पनि संस्कार र संस्कृतिको पालुवा पलाउन सकेन । आध्यात्मिक ज्ञानको यात्रा र भौतिक विकासको द्वन्द्वयात्रा पनि शिशिर ऋतुको हुरीसँगै बगेको छ । बाँच्नु र मर्नुको अस्तित्व थाहा नपाई आयु सकिन्छ । अनकन्टार जङ्गलको गुफाबाट कोही तपस्वी निस्केला र नयाँ सभ्यताको युग ल्याउला भन्ने आशामा हाम्रो संस्कृति र हाम्रो संस्कार रहेको छ । शान्ति र स्वतन्त्रताको विगुल फुक्दै भोलिको अरुणोदय आओस् । अस्तु

भर्खर

0