दर्शकको मन जित्न नसकेको ए डिभिजन लिग | Khabarhub Khabarhub

दर्शकको मन जित्न नसकेको ए डिभिजन लिग

६ वर्षपछि दशरथ रंगशालामा ए डिभिजन लिग, तर दर्शक फर्काउन चुक्यो एन्फा



काठमाडौं- शहीद स्मारक ‘ए’ डिभिजन लिग ६ बर्षपछि दशरथ रंगशालामा फर्किएको छ । देशकै शीर्ष स्तरको घरेलु लिग दशरथ रंगशाला फर्किएकोमा जति खुसी खेलाडी छन् त्यो भन्दा अरु कोहि सायदै होलान् ।

रंगशाला पुननिर्माणका क्रममा रहँदा २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पले थिलथिलो पारेको थियो । नेपाली खेलकुदको जिम्मेवार निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि यसको मर्मतसम्भार समयमा गर्न नसक्दा ६ बर्षसम्म खेलकुदको ‘हब’ त्रिपुरेश्वर सुनसान बन्यो ।

सरकारले दशरथ रंगशालाका लागि बार्षिक बजेट विनियोजन गरेपनि समयमा खर्च गर्न नसक्दा पटक–पटक रंगशाला निर्माणका लागि आएको बजेट ‘फ्रिज’ भएको थियो ।

अन्तिममा १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी दशरथ रंगशालाको कामले तिव्रता पायो । तिव्रतामात्रै होइन, रंगशाला बन्यो नै । साग उद्घाटनको २ दिन अगाडिसम्म काम गरेर भएपनि राखेपले दशरथ रंगशालाको निर्माण कार्य सम्पन्न गर्‍यो ।

मंसिर १५ देखि २४ गतेसम्म नेपालले आयोजना गरेको सागको उद्घाटन, समापन र साग अन्तर्गत परुष फुटबलको खेल दशरथ रंगशालामै भएको थियो ।

साग अन्तर्गत फुटबल भइरहँदा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल हेर्नेको घुँइचो लागेको थियो । १० दिनसम्म सागका लागि दशरथ रंगशाला व्यस्त रहँदा त्यहाँ फुटबल समर्थकको भिड पनि घटेन । नेपालको हरेक खेलमा नेपाली फुटबल प्रेमीले साथ दिए ।

हजारौंको संख्यामा फुटबल हेर्न मानिसहरु दशरथ रंगशाला आएपछि नेपाली फुटबल समर्थकले खुबै चर्चा पाए । बर्षौ अन्तर्राष्ट्रिय खेल नहुँदा पनि समर्थकको साथ पाएको भन्दै नेपाली फुटबलको समेत चर्चा भयो ।

साग सकिएको तेस्रो दिनमै उद्घाटन भएको नेपाली फुटबलको शीर्षस्तरको डिभिजन फुटबल लिगले भने समर्थकको साथ पाउन सकेको छैन् । साग भइरहँदा लिगले दर्शक पाउला नपाउला भन्ने समेत प्रश्न उठेको थियो ।

अघिल्लो बर्ष सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र सशस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा भएको रेलिगेसन विनाको लिगले लिगभर नै नत, दर्शक कमाउन सक्यो नत, लिगकै चर्चा भयो ।

६ बर्षपछि दशरथ रंगशालामा फर्किदा समेत ए डिभिजन लिगले समर्थको साथ पाउन सकेको छैन् । नेपालको सबैभन्दा प्रतिष्ठित क्लब मनाङ–मस्र्याङ्दी क्लब र सशस्त्र प्रहरीको एपीएफबीचको बुधबार भएको खेलमा ससमेत लिगले समर्थकको मन खिच्न सकेन ।

दशरथ रंगशालामा खेल्न पाएकोमा दंग बनेका खेलाडीहरु सुशान रंगशालामा खेल्नु पर्दा भने केही खल्लो बनाएको प्रतिक्रिया दिन्छन् । चिटिक्क परेको रंगशालामा समर्थकको भिड लाग्ने एन्फाको अपेक्षा थियो । तर, त्यो लिगको पहिलो चरणका खेल सकिँदा पुरा हुन पाएन । एन्फाले लिग हेर्न रंगशाला पुग्ने दर्शकका लागि सामान्य प्यारापिटमा २ सय र भिआईपी प्यारापिटको ५ सयका दरले टिकट तोकेको छ ।

टिकट दर कम वा बढी जे जस्तो भएपनि लिगका लागि त्रिपुरेश्वर आउने दर्शकको संख्या भने बढेको छैन् । लिगमा धेरै नयाँ खेलाडी छन् । ६ बर्षसम्म लिग नहुँदा घरेलु फुटबलमा ह्रास आएको यसैबाट पनि देखिन्छ । तर, सागमा उर्लिएको दर्शकको भिडलाई एन्फाले लिगमा भने निम्ताउन सकेको छैन् ।

यसअघि लिगमा समर्थकको बाक्लै भिड हुने गरेको जानकारहरु बताउँछन् । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा मछिन्द्र क्लबका कप्तान विराज महर्जन एन्फाले ए डिभिजन लिगको यो सिजनको प्रचारमा ध्यान नदिएको बताउँछन् ।

‘घरेलु लिगमा ‘टर्फ टिम’ को खेल भए दर्शक आउँछन् । तर, यसपाली एन्फाले ‘ए’ डिभिजन लिगको प्रमोसनमा त्यति ध्यान दिएको जस्तो मलाई लागेको छैन’ कप्तान महर्जनले भने,‘अगाडिदेखि लिगको प्रमोसनमा चुकेको जस्तो लागेको छ । लिग शुरु हुनुअघि ठाउँ ठाउँमा ब्यानर टाग्ने, टिभी तथा पत्रपत्रिकामार्फत् विज्ञापन गरेको भए ६ बर्षपछि दशरथ रंगशाला फर्किएको लिगमा दर्शक आउँथे होला!’

एन्फाले लिगमा उल्लेख्य दर्शक उतार्ने लक्ष्य बनाएपनि अपेक्षा अनुसार दर्शक नआएको प्रवक्ता किरण राई बताउँछन् । ‘लिगमा पहिले पनि धेरै दर्शक आउँदैन थिए । तर, यो बर्ष धेरै समयपछि लिग हुँदा दर्शकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेका थियौं,’ प्रवक्ता राईले भने,‘पहिलो चरणमा धेरै दर्शक नआएपनि आगामि खेलमा दर्शकको साथ पाउने अपेक्षा छ ।’

लामो समय लिग नहुँदा लिगमा खेलाडीहरुको प्रदर्शनले पनि धेरैलाई सन्तुष्ट बनाउन सकेको छैन् । यदि लिग नियमीत हुँदै गए आगामि दिनमा नेपाली फुटबलको भविष्य भने सुन्दर रहेको फुटबल जानकारहरु बताउँछन् ।

लिग खेलभन्दा अगाडि विश्वकप छनोट, साग लगायतका खेल भइरहँदा पनि ए डिभिजन लिग छायाँमा परेको महसुस भएको एन्फा प्रवक्ता राई बताउँछन् ।

‘लिग अगाडि फिफा विश्वकप छनोट, साग जस्ता खेलहरुले पनि यसपालीको लिग छाँयामा परेको महसुस पक्कै भएको हो । तर, एन्फा र क्लबहरुले दर्शकलाई मैदानसम्म ल्याउन पहल गर्नै पर्छ,’ प्रवक्ता राईले भने ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १० : १८ बजे

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०