३० लाख नेपाली दमका रोगी, अन्तिम अवस्थामा मात्रै औषधी सेवन ! « Khabarhub
Logo
१५ फाल्गुन २०७७, शनिबार

३० लाख नेपाली दमका रोगी, अन्तिम अवस्थामा मात्रै औषधी सेवन !



प्रतिकात्मक तस्वीर

काठमाडौं– श्वासप्रश्वास सम्बन्धी रोग लिएर ४१ वर्षका एकजना पुरुष केही दिन अगाडि वीर अस्पताल पुगे । उनले आफ्नो छातीमा समस्या रहेको र श्वास फेर्नै गाह्रो हुने गरेको बताएका थिए । वीर अस्पतालका चेष्ट (छाती रोग) युनिटका प्रमूख एवं छाती रोग विशेषज्ञ डाक्टर अशेष ढुंगानाले उनको ‘काउन्सिलिङ’ शुरु गरे ।

काउन्सिलिङका क्रममा बिरामीको समस्याबारे सबै जानकारी लिएपछि डाक्टर ढुङ्गानाले उनलाई धुम्रपान नगर्न तथा धूलोधुँवाबाट बच्न सुझाव दिए । श्वासप्रश्वासको समस्याबाट राहतका लागि भनेर ‘अस्थामा इन्हेलर’ प्रयोग गर्न पनि भने ।

डा ढुंगानाले ‘इन्हेलर’ प्रयोग गर्नु भनेपछि भने ती पुरुष झस्किए । ‘यो त दमको लास्ट स्टेजमा पुगेपछि मात्रै प्रयोग गर्ने औषधि हैन र डाक्टर सा’व, फेरि सधैं प्रयोग गर्ने बानी पो पर्छ कि ?’

डा ढुङ्गानाले ती बिरामीको कुरालाई अनौठो रुपमा लिने अवस्था थिएन । किनकि, धेरै जसो श्वासप्रश्वास र दमका बिरामीहरुमा यस्तो ‘भ्रम’ हुने गरेको डा ढुङ्गानाको अनुभव छ ।

त्यसपछि डा ढुङ्गानाले ती बिरामीलाई दीर्घ श्वासप्रश्वास रोगमा इन्हेलरको प्रयोग गर्नु उपयुक्त हुने सुझाए । केही समयको परामर्श पछि भने ती बिरामी ‘इन्हेलर’ प्रयोग गर्न सहमत भए ।

लामो समयदेखि श्वासप्रश्वासको समस्याले ग्रसित भएका बिरामी पनि ‘इन्हेलर’को प्रयोग गर्न नमान्ने डा. ढुङ्गानाको अनुभव छ । अधिकांश बिरामीमा दमको ‘लास्ट स्टेज’ (अन्तिम अवस्थामा) पुगेपछि मात्रै इन्हेलरको प्रयोग गर्नुपर्छ भन्ने भ्रम रहेको ढुङ्गानाले सुनाए ।

दम रोग र यसको उपचारको विषयमा चेतना नहुँदा बिरामीहरु औषधि प्रयोग गर्न नै डराउने गरेको डा ढुंगानाले बताए । ‘दीर्घ श्वासप्रश्वास अर्थात सीओपीडी दमको बिरामीका लागि उपयुक्त उपचार भनेको इन्हेलर औषधि हो । यो औषधि धुँलोको स्पे्र जस्तो हुन्छ, यो औषधि बिरामीले श्वास नलिबाट लिनुपर्छ,’ डा ढुंगानाले भने, ‘तर बिरामीहरु डाक्टर सा’व यो औषधि त लास्ट स्टेजमा पुगेको बिरामीले प्रयोग गर्ने होइन र ? यसको त बानी पर्छ, जिन्दगीभर लिनुपर्छ, म यो औषधि लिदिँन भन्छन् ।’

डा ढुंगानाका अनुसार सीओपीडी दमका बिरामीका लागि इन्हेलरको प्रयोग प्रभावकारी हुन्छ । ‘दमको औषधि ‘इन्हेलर’ खाने चक्की औषधि भन्दा कम डोजको हुन्छ, माइक्रोग्रामको मात्रामा औषधिको डोज हुन्छ, चक्की औषधि खाँदा प्रत्येक अंगमा पुग्छ, तर इन्हेलरको प्रयोग गर्दा श्वास नलिबाट प्रत्यक्ष फोक्सोमा जाने भएकाले प्रभावकारी छ,’ डा ढुंगानाले भने, ‘बिरामीहरुलाई यो औषधिबारे सचेतना दिन जरुरी छ । सचेतना नहुँदा बिरामीहरु दमको समस्या लिएर बसेका छन् ।’
नारा रोग अन्त्य गर्ने, बिरामी भने झन् बढ्दै

‘सबै मिलि दीर्घ श्वास प्रश्वास रोग अन्त्य गरौं’ भन्ने नाराका साथ आज ( बुधबार) नेपाल सहित विश्वका विभिन्न देशहरुमा दीर्घ श्वासप्रश्वास रोग (सीओपीडी दम)को विषयमा सचेतना दिवस मनाइएको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि दिवसको अवसरमा सचेतनाको कार्यक्रम ग¥यो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका अनुसार दम, मुटु, मिर्गौला र मधुमेह रोगबारे सचेतना जगाउनकै लागि चालु आर्थिक वर्षमा मात्र ८ करोड रुपैयाँ विनियोजन भएको छ ।

सरकारले यी रोगबारे सचेतना कार्यक्रमका लागि प्रत्येक प्रदेशमा १ करोड र केन्दमा ९४ लाख रुपैयाँ छुट्याएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ५१ वटा जिल्लाहरुमा दमको रोगको विषयमा सचेतनाको कार्यक्रम गरीरहेको दाबी गरेको छ । तर सरकारले करोडौं खर्च गरेपनि दमका बिरामीको संख्या भने बढ्दै गएको देखिन्छ ।

वीर अस्पतालका चेष्ट युनिट प्रमूख डा अशेष ढुंगानाका अनुसार नेपालमा प्रत्येक १० जनामध्ये एकजनामा दीर्घ श्वासप्रश्वास (दम)को समस्या छ ।

नेपालमा ३ करोड जनसंख्यामा ३० लाख मानिसमा सीओपीडी दम रोग रहेको डा ढुंगाना बताउँछन् । त्यस्तै ती बिरामीमा ३ प्रतिशत अर्थात एक लाख बिरामी मात्र उपचारको पहुँचमा रहेका छन् ।

‘नेपालमा प्रत्येक १० जनामध्ये एकजनामा सीओपीडी दमको समस्या छ, यसले ३ करोडमध्ये ३० लाखमा यो समस्या छ, तर उपचारको पहुँचमा १ लाख मात्र आएका छन्,’ डा ढुंगानाले भने, ‘दमरोगका ३ प्रतिशत बिरामी मात्र उपचारमा आएका छन् ९७ प्रतिशत बिरामीहरुले रोगबारे जानकारी नै पाएका छैनन् ।’

स्वास्थ्य अनुसन्धान परिषद्को तथ्यांकका अनुसार पनि नेपालमा नसर्ने रोगहरुमा सबैभन्दा धेरै दमका बिरामीहरु छन् ।

नेपालमा नसर्ने रोगहरुमा पहिलो नम्बरमा दमको रोग रहेको परिषद्ले गरेको अनुसन्धानले देखाउँछ । नेपालमा सिओपिडि दमका रोगिहरु ११ दशमलब ७ प्रतिशत रहेका छन् ।

कुन प्रदेशमा कति बिरामी ?

स्वास्थ्य अनुसन्धान परिषद्ले १३ हजार २ सय व्यक्तिमा गरेको सर्वेमा सबैभन्दा धेरै सीओपीडी दमका बिरामी कर्णाली प्रदेशमा छन् । यस्तै सबैभन्दा कम बिरामी गण्डकी प्रदेशमा रहेको परिषद्को तथ्याङ्कमा उल्लेख छ ।

यस्तो छ सीओपीडी दमका बिरामीको प्रदेशगत तत्थ्याङ्क

कर्णाली प्रदेश– २५. १ प्रतिशत (प्रत्येक ४ मध्ये १ जना)
प्रदेश नम्बर २– १६.४ प्रतिशत (प्रत्येक ६ मध्ये १ जना)
सुदुरपश्चिम प्रदेश– १४.३ प्रतिशत (प्रत्येक ७ मध्ये १ जना)
प्रदेश नम्बर ३– ११. ७ प्रतिशत (प्रत्येक ९ मध्ये १ जना)
प्रदेश नम्बर ५– ९. ५ प्रतिशत (प्रत्येक १० मध्ये १जना)
प्रदेश नम्बर १– ६. २ प्रतिशत (प्रत्येक १६ मध्ये १ जना)
गण्डकी प्रदेश – ६ प्रतिशत (प्रत्येक १६ मध्ये १ जना)

विश्वमा २५ करोड बिरामी, ३७ लाखको वार्षिक मुत्युदर

विश्वमा २५ करोड मानिसहरु सीओपीडी दमबाट पीडित भएको डा ढुंगानाको भनाइ छ । यस्तै, प्रत्येक वर्ष ३७ लाख मानिसहरुले दमकै कारण ज्यान गुमाइरहेका छन् ।

विश्वमा नसर्ने रोगबाट हुने अकाल मृत्युदरमध्ये दमको रोग चौथौ स्थानमा रहेको छ । डा ढुंगानाका अनुसार २०३० सम्ममा नसर्ने रोगबाट हुन मृत्युको प्रमूख कारणमध्ये दम रोग तेस्रो स्थानमा आउने सम्भावना छ ।

‘बिरामीहरु दिनदिनै बढिरहेका छन्, त्यसैले सन् २०३० सम्मा चाँहि दम रोग मानिसको अकाल मृत्युको तेस्रो कारण बन्ने देखिन्छ ।’

वाल्यावस्थामा धुँवामा बसेकालाई दमको जोखिम धेरै

लामो समयमम्म धुम्रपान गरेका, धूलोधुँवामा बस्ने, धूलोधुँवा बढी हुने ठाउँ तथा क्षेत्रमा काम गर्ने मानिसमा सीओपीडी दम रोग लाग्ने जोखिम उच्च हुन्छ । विशेषगरी यो रोग ४० वर्ष उमेरपछि देखिने गर्छ । तर पछिल्लो समय वातावरणमा भएको प्रदुषका कारण कम उमेरमै पनि दमको समस्या देखिन थालेको डा ढुंगाना बताउँछन् ।

डा ढुंगानाका अनुसार अलिहेको धूलोधुँवाले अबको १० वर्षपछि दमका बिरामीको संख्या झनै बढाउँछ ।

‘पहिला पलिहा हामी दमको समस्या ४० वर्ष उमेर काटेका मानिसमा हुन्छ भन्थ्यौं, तर अहिले त्यो भन्दा कम उमेर समुहका मानिसमा पनि दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग बढ्न थालेको छ,’ डा ढुंगानाले भने, ‘आज हामी धुँवाधुँलोमा बसेका छौं भने त्यसको असर १० वर्षपछि देखिन्छ, त्यसैले धेरै धुँवाधुँलोमा बस्ने बालबालिकाहरुमा कम उमेरमै सीआपीडी दम हुनसक्छ ।’

के हो दीर्घ श्वासप्रश्वास अर्थात सीओपीडी दम ?

दीर्घ श्वास प्रश्वास अर्थात् सीओपीडी दम दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग हो । डा ढुंगानाका अनुसार यो रोगमा कमजोर श्वासप्रश्वास प्रवाह हुन्छ । यसको समयमै उपचार गरेर नियन्त्रण गर्न सकिन्छ । तर उपचार नभएमा बिरामीको मृत्यु समेत हुनसक्छ ।

सीओपीडी दमको कारण;

– धुम्रपान,
– धूलो, धुँवा लगायत बाह्य वायु प्रदुषण,
– घर भित्र हुने वायु प्रदुषण जस्तै चुल्होमा बालिने पराल, दाउरा आदि,
– पेशागत जोखिम,
– वंशाणुगत जोखिम आदि ।

नेपालमा प्रत्येक तीनजनामध्ये एक जनाले कुनै न कुनै समयमा धुम्रपान गर्छन् । यस्तै, नेपालमा वायु प्रदुषण भएको देशहरुमा पाँचो स्थानमा छ । वायु प्रदुषणका कारण नेपालमा वार्षिक रुपमा १० हजारले ज्यान गुमाइरहेका छन् । त्यसैले पनि नेपालमा सिओपिडि दमको रोगको जोखिम उच्च रहेको छ ।

सीओपीडी दमको लक्षण यस्तो छ

– श्वासप्रश्वासमा समस्या हुने,
– स्वाँस्वाँ हुने,
– खोकी लागिरहने,
– खोक्दा सेतो तथा पहेँलो खकार आउने,
– छाती घ्यार घ्यार हुने,
– औंला वा जिब्रो निलो हुने,
– दुवै खुट्टा सुन्निने,
– पटक–पटक छातीको संक्रमण हुने ।

कसरी बच्ने ?

दीर्घ श्वासप्रश्वासको समस्या भएका बिरामीले चिकित्सकको सल्लाहमा नियमित औषधि खानुपर्छ । डा ढुंगानाका अनुसार सीओपीडी दम लाग्न नदिन समयमै धुम्रपान त्याग्नुपर्छ । यस्तै धूलो, धुँवा र प्रदुषित वातावरणबाट बच्नुपर्छ ।


भर्खर

0