चार दशक स्वास्थ्य क्षेत्रमा विताएका डा प्याकुरेलको अनुभव– बिरामीसँग कुरा गर्ने डाक्टरको स्वभाव नै हरायो « Khabarhub
Logo
४ माघ २०७७, आइतबार

चार दशक स्वास्थ्य क्षेत्रमा विताएका डा प्याकुरेलको अनुभव– बिरामीसँग कुरा गर्ने डाक्टरको स्वभाव नै हरायो



‘डाक्टर भनेको त भगवान् हुन् भन्ने सोचेको थिए, हाम्रो जस्तै हात रहेछ, हामी जस्तै रहेछन् ।’  २०४६ सालमा भोजपुरमा स्वास्थ्य शिविर लिएर गएका डाक्टर सुशीलनाथ प्याकुरेललाई एक बिरामीले भनेको शब्द हो यो ।

आफ्नो हात समाउँदै एक वृद्ध महिलाले गरेको त्यो व्यवहार र सम्मानलाई डा प्याकुरेलले कहिल्यै विर्सन सक्दैनन् ।

ती वृद्धको यो शब्दले दुईवटा कुरालाई इंगित गरेको डा प्याकुरेलको बुझाइ थियो । त्यतिबेलाको नेपालको ग्रामीण स्वास्थ्यको अवस्था र मानिसले चिकित्सकलाई गर्ने सम्मान । अहिले अवस्था वदलिएको छ ।

ती महिलाले वृद्ध अवस्थामा पुगेपछि पहिलो पटक डाक्टर देखेकी थिइन् । तर समय परिवर्तन भएको छ । सरकारले ग्रामिण क्षेत्रमा पनि चिकित्सकहरु खटाउन थालेको छ । यस्तै शरही क्षेत्रमा डाक्टरलाई गर्ने सम्मान पनि कमी भएको छ ।

२०३३ सालबाट एक्सरे टेक्निसियनदेखि स्वास्थ्य सेवाको यात्रा शुरु गरेका डा प्याकुरेलले धेरै जिल्ला अस्पताल र स्वास्थ्य कार्यलयमा काम गरे । उनको अनुभवमा बिरामी, समाज र राष्ट्रले डाक्टरलाई हेर्ने नजर परिवर्तन भएको छ ।

केही वर्ष अगाडिसम्म चिकित्सक भनेपछि जनता, राजनीतिज्ञ सबैले सम्मानपूर्वक व्यवहार गर्ने गरेको डा प्याकुरेल अनुभव गर्छन् ।

‘त्यतिबेला शिविर लिएर जाँदा एकजना बुढी मान्छेले मेरो हात समाउनुभयो । मेरा हात समाउँदै उहाले भन्नुभयो, ‘डाक्टर भनेको त भगवान् हुन् भन्ने सोचेको थिएँ, डाक्टर को त हाम्रो जस्तै हात हुने रहेछ है, हामीजस्तै मान्छे नै पो हुनुहुदो रहेछ’ त्यसबेलाको स्मरण गर्दै ’डा प्याकुरेलले भने, ‘डाक्टर प्रतिको त्यो सोच त्यो सम्मान म कहिल्यै विर्सन सक्दिन । डाक्टर भनेको मान्छे नै हुन् भन्ने थाहा नभएका मान्छे पनि थिए ।’

सिनेमा हेर्न भारत !

२०१६ सालमा चितवनमा जन्मिएका हुन्, डा प्याकुरेल । बुबा सरकारी जागिरे थिए । जिल्ला विकास समितिको कार्यालय सिराहामा बुवाको सरुवा भएपछि प्याकुरेल पनि परिवारसँगै सिराहा गए । उनी सिराहाको चन्द्र व्यवसायीक माध्यमिक विद्यालयमा एकै पटक ३ कक्षामा भर्ना भएका थिए । सोही विद्यालयबाट २०३१ सालमा एसएलसी परीक्षा दिएका थिए ।

प्याकुरेलको स्कुल बाबुको क्वाटर नजिकै थियो । त्यसैले पनि स्कुलबाट खाजा खान उनी घरमै पुग्थे । स्कुल बिदाको समयमा उनी साइकल लिएर साथीहरुसँग कमला नदीसम्म पौडिखेल्न पुग्थे । त्यतिमात्रै होइन सिनेमा हेर्न भन्दै साथीहरुसँग सिराहाबाट भारतका सिनेमा हलसम्म पुग्थे ।

‘बाल्यकालमा त खेल्न भनेपछि रमाइलो हुन्थ्यो, टेबुलटेनिस, कब्बडी खुबै खेलिन्थ्यो, प्याकुरेलले भने, ‘बाल्यकाल सम्झिदा रमाइलो लाग्छ, उ बेलामा साइकल लिएर कमला नदीमा पौडी खेल्न गइन्थ्यो, सिनेमा हेर्न साह्रै मनपर्ने, स्कुल विदा हुँदा सिनेमा हेर्न भारत पुगिन्थ्यो ।’

एक्सरे टेक्निसियनदेखि स्वास्थ्य मन्त्रालयको विशेषज्ञ चिकित्सक सम्म

२०३३ सालमा महाराजगञ्जको चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा रेडियोग्राफी अध्ययन शुरु गरेका प्याकुरेलले २०३५ साल चैतमा रेडियोग्राफीको अध्ययन पुरा गरे । त्यतिबेला पढेका व्यक्तिले जागिर खान अहिलेको जस्तो प्रतिस्पर्धा नै थिएन । प्याकुरेलले २०३६ साल असार ४ गतेदेखि स्वास्थ्य क्षेत्रमा काम गर्न शुरु गरे ।

‘त्यतिबेला त पढेका व्यक्तिले जागिर खान अहिलेको जस्तो प्रतिस्पर्धा, अन्तरर्वार्ता परीक्षा केही दिनु पर्दैन थियो,’ प्याकुरेलले भने, ‘आफुले जागिर खान रुची देखाएर सर्टिफिटेक लिएर गएपछि जागिर पाइन्थ्यो । मैले त्यसरी काम शुरु गरें ।’

उनले २०३७ सालमा लोकसेवा पास गरे । प्याकुरेलले स्वास्थ्य क्षेत्रमा एक्सरे टेक्निसियनको रुपमा प्रवेश गरेका हुन् । २०३७ सालदेखि उनी एक्सरे टेक्निसियनको रुपमा भोजपुरको जिल्ला अस्पतालमा काम गरे । त्यतिबेला रेडियोलोजीष्टहरुले तीनवर्ष सेवा गरेपछि पुनः एमबीबीएस अध्ययन गर्न पाउथे । प्याकुरेलले पनि भोजपुरमा ३ वर्ष काम गरेपछि २०४० सालमा महाराजगञ्जको आइओएममा एमबीबीएस पढ्न थाले । त्यतिबेला आइओएमले टिचिङ अस्पतालमा सेवा शुरु गरेको थिएन । त्यसैले पनि प्याकुरेल र उनका सहपाठीहरु वीर अस्पताल, प्रसूति गृहमा चिकित्सा अभ्यासका लागि जान्थें ।

भनिन्छ, ‘बिरामीहरुको आधा रोग डाक्टरको व्यवहारले निको पार्छ । तर आजभोली डाक्टरहरु बिरामीको रिपोर्ट हेर्छन् र त्यही अनुसार कम बोल्छन् ।

प्याकुरेल २०४५ सालमा एमबीबीएस पढाइ सकेर रेडियोलोजीस्टबाट डाक्टर बने । डाक्टर बनेपछि उनी मेडिकल काउन्सिलबाट डाक्टरको लाइसेन्स पाए । सरकारको एक्सरे टेक्निसियन पदमा काम गरेका प्याकुरेलले एमबीबीएस अध्ययन पश्चात मेडिकल अफिसरको रुपमा भोजपुरमा काम गर्न पाए । डा प्याकुरेलले अर्को वर्ष लोकसेवाकै मेडिकल अफिसरको पदमा नाम निकाल्न पनि सफल भए ।

‘म नेपाल सरकारको एक्सरे टेक्निसियन पदमा कार्यरत थिए, एमबीबीएस पास गरेपछि सरकारले नै मेडिकल अफिसरमा अस्थायी बनाएर २०४६ सालमा भोजपुरमा खटायो, म भोजपुर गएँ’ डा प्याकुरेलले भने, ‘अर्कोवर्ष नै मैले मेडिकल अफिसर पदमा स्थायी रुपमा नाम निकाले ।’
लोकसेवा पास गरेर सरकारी मेडिकल अफिसर भएपछि उनी २०४७ सालमा दोलखाको जिरी अस्पतालमा खटिए ।

प्याकुरेल दोलखामै रहेका बेला २०५० सालमा जिल्ला अस्पताल र जिल्लास्वास्थ्य कार्यालय गाभिने भयो । त्यतिबेला डा प्याकुरेल जिल्ला स्वास्थ्य कार्यालयको प्रमूखको रुपमा काम गर्न पाए । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा एकवर्ष काम गरेपछि डा प्याकुरेलले विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा बैंककमा एमपीएच ( पब्लिक हेल्थमा मास्टर्स) पढ्न गए ।

पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययन पुरा गरेर सरकारी सेवामा फर्किएपछि डा प्याकुरेललाई सरकारले २०५२ तेह्रथुम जिल्ला स्वास्थ्य कार्यालयमा पठाएको थियो ।

उनले त्यसपछि तेह्रथुममा २०५४ सालसम्म काम गरेपछि उनले नुवाकोटमा पनि जिल्ला अस्पतालका प्रमूख तथा जिल्ला स्वास्थ्य कार्यालयको प्रमूखका रुपमा काम गरे । २०६२ सालमा उनले गोरखाको जिल्ला स्वस्थ्य प्रमूखको रुपमा काम गरे ।

डा प्याकुरेलको २०६२ सालमा ९ तहमा बढुवा भयो । उनले फेरी विभिन्न जिल्लाहरुमा जिल्ला स्वास्थ्य प्रमूख तथा जिल्ला अस्पतालको प्रमुखको रुपमा काम गरे ।

२०६४ सालदेखि २०६९ सालसम्म डा प्याकुरेलले जिल्ला अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यलय प्रमूखको रुपमा तनहुँमा काम गरे । त्यसपछि डा प्याकुरेलको २०६९ सालमा एक तह बढुवा भयो । ११ औं तहमा बढुवा भएपछि उनी क्षेत्रिय स्वास्थ्य कार्यलयहरुको क्षेत्रिय निर्देशक भए । यस्तै २०७४ साल मंसिर ८ गते उनी १२ औं तहमा बढुवा भएर स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आए ।

स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत डा प्याकुरेल स्वास्थ्य मन्त्रालयमा सचिव हुने दौडाहामा पनि थिए । स्वास्थ्य सचिव पुष्पा चौधरीलाई गतवर्ष प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि डा प्याकुरेल करिब डेढ महिना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित्त सचिव पनि भए ।

तर सरकारले स्वास्थ्य मन्त्रालयमा अन्य मन्त्रालयकै सचिवलाई तानेपछि डा प्याकुरेल गत असार १८ गतेदेखि स्वास्थ्य सेवा विभागको जिम्मेवारमा पाए । भदौं २२ गते उमेरहदका कारण डा प्याकुरेलले सरकारी सेवाबाट अवकाश भएका छन् ।

५० सालपछि सुधारिएको जिल्ला अस्पताल

डा प्याकुरेलले लामो समय जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुमा काम गरे ।

उनीसँग नेपालका विकट ग्रामिण क्षेत्रको स्वास्थ्य अवस्था र मानिसको चेतनाबारे राम्रो ज्ञान र अनुभव छ । ती अनगिन्ती अनुभव नियालेका प्याकुरेलका अनुसार २०५० सालभन्दा अगाडि जिल्ला अस्पतालको सेवा नाम मात्रकै थियो । जब जिल्लाहरुमा स्वास्थ्य कार्यलय स्थापना भयो त्यसपछि भने सरकारले जिल्ला अस्पतालमा चिकित्सक र भौतिक पूर्वाधार विकासका लागि बजेटहरु पठाउन थाले ।

‘२०५० साल अभि त जिल्ला अस्पतालहरुको अवस्था पनि दयानीय थियो, सरकारले दिएको पैसाले हाजिरी कापी किन्न पनि नसकने अवस्थामा थियो ।’ डा प्याकुरेलले भने, ‘२०५० सालपछि स्वास्थ्य कार्यलय बनाएपछि जिल्ला अस्पतालमा पनि बजेट गयो । बिरामीले सेवा पाउन थाले ।’

अहिले त रोग पनि नयाँ नयाँ आउन थाल्यो

समयसँगै नेपालीहरुमा रोगहरु पनि बढ्दै गएको डा प्याकुरेल बताउँछन् ।

‘हामीले एमबीबीएस पढ्दा नेपालमा एड्स रोगबारे सुनिँदैनथ्यो, नेपालमा यो रोग नै थिएन, डेंगु रोग पनि थिएन,’ उनी भन्छन्, ‘अहिले त रोगहरु पनि नयाँ नयाँ आउन थाल्यो । अनुसन्धानहरु पनि हुनथाल्यो, प्रविधिहरु पनि आयो । नेपालको स्वास्थ्य क्षेत्र परिवर्तन भएको छ ।’

बिरामीसँग कुरा गर्ने डाक्टर स्वाभाव नै हरायो

भनिन्छ, ‘बिरामीहरुको आधा रोग डाक्टरको व्यवहारले निको पार्छ । तर आजभोली डाक्टरहरु बिरामीको रिपोर्ट हेर्छन् र त्यही अनुसार कम बोल्छन् । चिकित्सा क्षेत्रमा आएको नयाँ प्रविधि र विकासले समेत डाक्टरको भावनामा प्रभाव पारेको डा प्याकुरेलको तर्क छ ।

‘पहिला पहिला त बिरामीसँग धेरै समय कुरा गरेर रोग पत्ता लगानुपर्ने हुन्थ्यो, त्यसैले पनि डाक्टर विरामीसँग धेरैकुरा सोधेर उपचार गर्थे अहिले त त्यो बानी पनि चिकित्सकमा हराउन थालेको छ,’ डा प्याकुरेल भन्छन्, ‘अहिले त प्रविधिले एकैपटक रोग पत्ता लगाउछ त्यसै अनुसार उपचार हुन्छ । यसले डाक्टरलाई त सहज भयो तर बिरामीको स्वास्थ्य सेवामा खर्च बढेको छ ।’


भर्खर

0