रंगशालामा फुटबल हुन ३२ दिन बाँकी, मैदान निमार्णाधिन अवस्थामा | Khabarhub Khabarhub

रंगशालामा फुटबल हुन ३२ दिन बाँकी, मैदान निमार्णाधिन अवस्थामा



काठमाडौं–दैनिक हजारौं यात्रु ओहोर–दोहोर गर्ने त्रिपुरेश्वर चोकै छेउमा छ, दशरथ रंगशाला । पछिल्लो ४ बर्ष शुनसान रहेको रंगशालामा अहिले चहल पहल बढ्दो छ । रंगशालाको चहलपहल खेलाडीको भने होइन । अहिले पुनर्निर्माणको काम जारी रहेकाले काम गर्ने श्रमिकको हो ।

खेलाडीको चहलपहल हुनु पर्ने ठाउँमा श्रमीकहरुको चहल पहल बढ्नुका पछाडी, मंसिर १५ गतेदेखि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) रहेको छ । सागको उद्घाटनस्थल यही रंगशाला हुनेछ ।

मैदान तयार भए आगामी मंसिर ३ गते यहिँ रंगशालामा फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत नेपाली फुटबल टोलीले कुवेतविरुद्धको ‘होम गेम’ हुनेछ । यो प्रतियोगिता अबको ३२ दिनमा हुनेछ ।

त्रिपुरेश्वर चोकबाट हेर्दा प्रवेशद्वारमा लेखिएको ‘दशरथ रंगशाला’का अक्षरहरु नै सडकको धुलोले ‘कुरुप’ भइसकेका छन् । गेटभित्र छिरिसकेपछि दाँयापट्टी रंशालामा काम गर्ने मान्छेहरुका मोटरसाइकल पार्किङ गरिएका छ ।

अगाडि देखिन्छ, शहिद दशरथ चन्दको शालिक । यतिबेला शालिक पनि धुलाम्मे भइसकेको छ । शालिकको कालो जलपलाई सडकको धुलोले बेरुप बनाएको छ ।

त्यहाँबाट अलि अगाडि गइसकेपछि भेटिन्छन्, रंगशालाको भिआईपी प्याराफिटको छानोका लागि ल्याइएका ठूला ठूला पिलरहरु । त्यहिँ छेउमा केही श्रमीकहरुले ‘ओल्डिङ’ गरिरहेका छन् ।

भीआईपी प्याराफिटको छानो राख्न अवश्यक पर्ने फलाम त्यहाँ ओल्डिङ गर्ने काम भइरहेको छ । अहिले ओल्डिङमा २०–२२ जना श्रमिकहरुले काम गरिरहेको देख्न सकिन्छ ।

केही दिन अघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा रंगशाला अवलोकनका लागि त्रिपुरेश्वर पुगेका थिए । उनी त्यहाँ पुग्दा ठेकेदारहरुलाई काम जतिसक्दो छिटो सक्न आग्रह गरे ।

मन्त्रीको उक्त अवलोकनपछि ठेकेदार दबाबमा रहेको त्यहाँ काम गर्ने एक श्रमिकले भने । ‘अस्ति खेलकुद मन्त्री आउनु भएको रहेछ । त्यसपछि ठेकेदारले हामीलाई पनि काम छिटो–छिटो गर्न दबाब दिइरहेका छन्,’ नाम नबताउने शर्तमा एक श्रमिकले खबरहबसँग भने ।

त्यहाँबाट रंगशाला भित्र छिर्दा मैदान प्रवेशको अर्को गेट त्यहाँ बन्दैछ । त्यो, गेट पार गर्दै भित्र प्रवेश गर्दा भीआईपी प्यारापिट मुनी पट्टीको पार्किङ स्थलमा ‘टाइल’ राख्ने काम भइरहेको छ । टाइल राख्ने काममा ६–७ जना श्रमिक काम गरिरहेका छन् ।

पार्किङ एरियाबाट अगाडि बढेपछि बाँयापट्टी भीआईपी प्यारापिटको तल्लो तलाका ४ कोठालाई फुटबलका लागि छुट्याइएको मैदान व्यवस्थापक दिलीप रजकले देखाएका बताए । ड्रेसिङ रुम, म्याच कमिस्नर रुम, कन्फ्रेन्स रुम लगायत सबै तयार भइसकेका छन् ।

रंगशाला भित्र छिर्दा कुनै न कुनै काममा श्रमिकहरु व्यस्त छन् । साग तोकिएकै समयमा गर्न जतिसक्दो छिटो काम ठेकेदारले भनेको बताउँछन् ।

भीआईपी प्यारापिटको बाँया पट्टीबाट मैदान प्रवेशका लागि ट्रयाकमा कार्पेट विछ्याइएको छ । त्यहीँ हुँदै मैदानमा काम गर्ने एन्फा टोली मैदान प्रवेश गर्छ ।

मैदान व्यवस्थापक दिलिप रजक मैदानको काम शुरु गर्दा निकै ढिला भएकाले मंसिर ३ गते मैदान तयार गर्ने प्रयारमा रहेको बताउँछन् ।

मैदानमा हरियो दुवो छ । यसलाई राम्ररी उमार्ने र धुवो मार्ने झार पलाउन नदिने रजक बताउँछन्।

‘साउनमा मैदानको काम शुरु गर्न पाएको भए राम्रो हुन्थ्यो । तर, भदौंको पनि ढिला गरिमात्रै मैदानको काम भएकाले समय अलि कम भयो,’ रजकले भने,‘अब जसरी भए पनि मैदान जतिसक्दो छिटो बनाउन एन्फाले भनेको छ ।’

मैदानमा दुबो काट्ने मेसिन लगाइएको छ । महिला श्रमिकहरु काटेको दुबो उठाइरहेका छन् भने २ जनाले घाँस काटिरेहका छन् ।

यसअघिको भन्दा मैदान धेरै राम्रो भइसकेको बताउने रजकले अब मैदानमा दुवोको चपरी बिछ्याउने, मल हाल्ने र ‘लेभल’ मिलाउने काम बाँकी रहेको बताए ।

‘रंगशाला निर्माणका क्रममा यहाँ गिट्टी बालुवा, रड र टिपरहरु यहीँ मैदानमा राखिएका थिए । त्यसले यसको हालात नै विगारेको थियो । अहिले त एक लेभलमा आइसक्यो,’ रजकले भने, ‘१ महिना त झार फाल्नै लाग्यो । मैदानको मिलाउन लागेको त खास २० दिन पनि भएको छैन् ।’

दशरथ रंगशालाको मैदान खेल्ने बनाउन काठमाडौं उपत्यका वरिपरीका ठाउँबाट दुबो ल्याउने रजक बताउँछन् । ‘छम्की–चुलीखेल, टिका भैरव साइड, मञ्छेगाउँ र चोभार लगायतका ठाउँबाट दुबो ल्याउँछौं । मैदानका लागि ८० –९० ट्रक दुबो आवश्यक पर्छ । यसको व्यवस्थापन भइसकेको छ ।’

मैदानको काममा तल्लीन रजक आफै पनि मैदान ३ गतेका लागि तयार गर्ने गरी प्रयास गरिरहेको बताउँछन् । मैदानमा रहेका ठूलठूला खाल्डा देखाउँदै उनले भने, ‘ल हेर्नुस् यस्ता खाल्डा छन् । अनि यसमा समय नलागेर के लाग्छ ? यसमा माटो हालेर मिलाउन पर्छ । त्यसले धेरै समय खान्छ ।’

रजक सबैभन्दा ठूलो चुनौति नै कम समय हुनुलाई बताउँछन् । साउनमा मैदानको काम शुरु गर्न पाएको भए अहिलेसम्म मैदान खेल्न लायक भइसक्थ्यो ।

‘मैदान सम्याउन धेरै गाह्रो छ । माटो आउँदैछ । अब २०/३० जना मानिस परिचालन गरेर यसको सतह मिलाउँछौं,’ उनले भने ।

रजकको यो भनाईले मंसिर ३ गते हुने भनिएको स्थगित होला की भन्ने शंका छ । मंसिर ३ गतेका लागि नेपाल र कुवेतबीच हुने तय भएको खेल जसरी पनि हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले बताए ।

‘कसले के भने भन्ने कुराले अर्थ राख्दैन् । विश्वकप छनोट अन्तरगतको खेल दशरथ रंगशालामै हुन्छ,’ सदस्य सचिव सिलवालले खबरहबसँग भने ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) टोली त्रिपुरेश्वरस्थित रंगशाला पुगेको थियो । एन्फा टोली रंगशालामा काम गर्दा आवश्वयक पर्ने सामाग्री राख्ने ठाउँका लागि राखेपसँग कुरा गर्न त्यहाँ पुगेको थियो तर, राखेपका इन्जिनियर अरुण उपाध्यायले कोठा अगाडि टाइल राख्ने काम भएकाले केही दिन कुर्न भने ।

रंगशालामा राखेप, एन्फा र चिनियाँ पक्षले काम गरिरहेका छन् । चिनियाँ कम्पनीले मैदान बरीपरीको सेन्थेटिक ट्रयाक, फ्लड लाइट,डिजिटल स्कोर बोर्ड र साउण्ड सिस्टमको जिम्मा पाएको थियो । उनीहरु भिआईपी प्याराफिटमा साउण्ड सिस्टम राख्ने बाहेक सबै काम सिध्याइ सकेको राखेपका इन्जिनियर उपाध्यायले बताए ।

उपाध्यायले पूर्वाधार नभएका कारण अब साग नरोकिने स्पष्ट पारेका छन् । उपाध्यायले भीआईपी प्यारापिटको छानो राख्ने र मैदान बनाउने बाहेक अधिकाशं काम सकिइसकेको बताएका छन् । प्यारापिटको छानो राख्ने काम मंसिर ३ गतेसम्म नसकिएपनि फुटबल खेलाउने तयारी भइरहेको बताएका छन् ।

7 7

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  १० : ४० बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन