करदाताको पैसामा काठमाडौंका जनप्रतिनिधिको रजाइँ, कोटमा लगाउने लोगो किन्न ३५ लाख खर्च | Khabarhub Khabarhub

करदाताको पैसामा काठमाडौंका जनप्रतिनिधिको रजाइँ, कोटमा लगाउने लोगो किन्न ३५ लाख खर्च



काठमाडौं– काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले जनताले तिरेको करबाट उठेको रकम दुरुपयोग गरेको अर्को विषय सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकाअन्तर्गत ३२ वटा वडाका अध्यक्ष, वडा सदस्यहरु र नगरकार्यपालिकाका सदस्यले एउटा लोगो खरिदका लागि मात्रै साढे ३४ लाख रुपैयाँ सिध्याएका छन् ।

काठमाडौं महानगरपालिकाका ३२ वडाका अध्यक्षले कोटमा लगाउने लोगोका लागि नगरपालिकाको बजेटबाट प्रतिव्यक्ति ३२ हजार रुपैयाँ खर्च गरेको तथ्य खबरहबलाई प्राप्त भएको छ । ३२ वडाका वडाध्यक्षले ३२ हजारका दरले लागो बनाउँदा १० लाख २४ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै ८ जना नगर कार्यपालिका सदस्यले पनि लोगो बनाउन भनेर जनही ३२ हजार रुपैयाँ बुझेका छन् । नगरकार्यपालिका सदस्यका लागि २ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ ।

महानगरपालिकाका सबै वडा सदस्यका लागि लोगो बनाउन प्रतिव्यक्ति १७ हजार रुपैयाँ खर्च गरिएको छ । वडा सदस्यका लागि लोगो बनाउन २१ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ ।

कार्यपालिका सदस्यला‍ई दिएको खर्च समेत जोड्दा काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिलाई लोगो बाँड्न मात्रै ३४ लाख ५६ हजार रुपैयाँ खर्च गरेको छ । यो रकम मेयर र उपमेयरले लिए भन्दा बाहेकको हो ।

सुविधाभोगी जनप्रतिनिधि

यसअघि ३२ वटै वडाका अध्यक्षहरुलाई मोबाइल सेट वितरण गर्ने विषय पनि विवादित बनेको थियो ।

जनप्रतिनिधिलाई आवश्यकताभन्दा बढी मूल्यको मोबाइल खरिद गर्न लागिएको भन्दै आलोचना हुँदा पनि महानगरपालिकाकाले २०७४ को असारमा वडाध्यक्षहरुलाई ९ लाख ६० हजार रुपैयाँको मोबाइल किनिएको थियो ।

मोबाइल खरिदका लागि एकजना वडाध्यक्षलाई ३० हजार रुपैयाँ प्रदान गरिएको थियो । मोबाइल खरिदमा फजुल खर्च गरिएको विषय सेलाउन नपाउँदै जनप्रतिनिधिहरुले करदाताको पैसाबाट महँगो मूल्यमा लोगो खरिद गरेका हुन् ।

काठमाडौंका जनप्रतिनिधिले आफ्नो कोटमा लगाउने लोगो । वडाध्यक्षले लगाउने यो लोगोको मुनि ‘अध्यक्ष’ लेखिएको छ ।

कस्तो छ लोगो ?

सामान्य नागरिकले कोट लगाउँदा नेपालको झन्डा अंकित लागो लगाउँछन् । बजारमा उक्त लोगो २ सयदेखि ५ सय रुपैयाँसम्म तिरेर किन्न पाइन्छ । यस्तो लोगो पित्तल र ढलौटबाट बनाइएको हुन्छ ।

यस्तै संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई पनि संसद सचिवालयले लोगो उपलब्ध गराउँछ । व्यवस्थापिका संसदको लोगो बनाउँदा सुन, चाँदी, पित्तल र ढलौटको प्रयोग हुन्छ । लागोमा अंकित नेपालको नक्सा सुनबाट बनाइएको हुन्छ भने अन्य भागमा चाँदी, पित्तल र ढलौट प्रयोग गरिएको हुन्छ ।

संघीय संसद सचिवालयले २०७४ को निर्वाचन पछि लोगो बनाउँदा प्रतिगोटा ४ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको लागो भने केही फरक छ । काठमाडौंका जनप्रतिनिधिले लगाउने लोगो सांसदहरुले लगाउनेभन्दा आकारमा केही ठूलो पनि छ ।

उक्त लोगोमा चाँदी र सुन प्रयोग गरिएको जनप्रतिनिधिहरु बताउँछन् । लोगोको बीचमा स्तुपाको आकार छ, जो सुनबाट बनाइएको जनप्रतिनिधिहरु बताउँछन् । स्तुपापछि प्यागोडा शैलीको मन्दिर देखिने आकार बनाइएको छ । मन्दिरमा चाँदी प्रयोग गरिएको देखिन्छ ।

स्तूपा र मन्दिरको बाहिर गोलाकारमा ‘काठमाडौं महानगरपालिका १९७६’ लेखिएको छ । जसमा सुनको जलप रहेको जनप्रतिनिधिहरु बताउँछन् ।

जनप्रतिनिधिमध्ये वडाध्यक्ष, नगरकार्यपालिका सदस्य र वडासदस्यले लगाउने लोगोमा फरक फरक खर्च भएको विषयमा खबरहबको जिज्ञासामा एक जनप्रतिनिधिले भने, ‘अध्यक्षको लोगोमा बढी सुन हुन्छ, सदस्यको लोगोमा कम हुन्छ ।’

यद्यपि मात्रात्मक हिसावले कसको लोगोमा कति सुन हुन्छ भन्ने प्रश्नमा भने उनले आफूलाई पूर्ण रुपमा जानकारी नभएको प्रतिक्रिया दिए ।

पहिचान जनाउन लोगो

काठमाडौं महानगरपालिकाका प्रवक्ता एवम् १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलले महानगरपालिकाका जनप्रतिनिधिका लागि लोगो बनाउने निर्णय गरिएको बताए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोल आफूले कोटमा लगाएको लोगो देखाउँदै ।

‘पहिले पहिले कार्यक्रममा जाँदा समेत हामीले आफ्नो परिचय दिँदा हैरान हुन्थ्यो । अहिले लोगो लगाएर जाँदा जनप्रतिनिधि भनेर सजिलै चिन्छन्,’ डंगोलले खबरहबसँग भने, ‘लोगोको संकेतले व्यक्तिलाई महानगरको जनप्रतिनिधि भनेर चिनाउँछ ।’

लोगो निर्माणको खर्च पारदर्शी रुपमा भएको दावी गरेका डंगोलले खर्च विवरण भने सार्वजनिक गर्न मानेनन् ।

‘लोगोमा स्वयम्भूनाथ र पशुपतिनाथलाई संकेत गरेर स्तुपा र मन्दिरको आकृति अंकित गरिएको छ,’ डंगोलले भने, ‘लोगो बनाउँदा अनियमित तरिकाले खर्च भएको छैन, सबै पारदर्शी नै छ ।’

रकम लगे तर किनेनन् लोगो

महानगरपालिका स्रोतका अनुसार, वडाअध्यक्षहरुले महानगरपालिकबाट लिएको रकम भन्दा धेरै कम मुल्यमा आफैंले लोगो किनेर प्रयोग गरेको भएपनि अधिकांश सदस्यहरुले भने लोगो नै किनेका छैनन् । तर, उनिहरुले गत असोजमै महानगरपालिकाबाट लोगोका नाममा रकम भने बुझिसकेका छन् ।

लोगोका नाममा मात्र यति धेरै खर्च गर्नुपर्ने आवश्यक नै नभएको विज्ञहरु बताउँछन् । महानगरको विकास र जनताको काम गर्नुपर्ने समयमा लोगोका नाममा मात्र लाखौं रकम खर्च गर्नु अस्वभाविक भएको विज्ञहरुले प्रतिक्रिया दिए ।

मेयर र उपमेयरलाई १५०० बैठक भत्ता, सदस्यलाई १ हजार

अहिले काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि १५ सय रुपैयाँ बैठक भत्ता दिन्छ । त्यसैगरी कार्यपालिकाका सदस्य र आमन्त्रित सदस्यहरुलाई १ हजार रुपैयाँ भत्ता दिंदै आएको छ ।

यसबाहेक पनि बैठकमा आउँदा १ हजार यातायात खर्च समेत दिने गरेको छ । यद्यपि यातायात सुविधा लिएका जनप्रतिनिधीले भने यातायात खर्च पाउँदैनन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ५० बजे

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए